मिर्गौला र कोरोना भाइरस- विचार - कान्तिपुर समाचार

मिर्गौला र कोरोना भाइरस

डा. पुकारचन्द्र श्रेष्ठ

विश्वभर करिब ८५ करोड मानिस मिर्गौला रोगबाट पीडित रहे पनि यो नसर्ने रोग हो । प्रत्येक १० जनामध्ये १ जना दीर्घकालीन मिर्गौला रोगको सिकार छन् । विश्वभर यसबाट प्रभावित हुने संख्या बढ्दो छ र सन् २०४० सम्म यो रोग मृत्युको प्रमुख पाँचौँ कारक हुने अनुमान छ ।

मिर्गौला रोगको रोकथाम गर्न सकिन्छ । समयमै सही निदान र उचित उपचारबाट मिर्गौला फेल हुने गतिलाई कम गर्न सकिन्छ । सर्वसाधारण, व्यावसायिक समूह र नीति निर्माताहरूमाझ यसबारे व्यापक चेतना जगाउनु आवश्यक छ । यस वर्षको विश्व मिर्गौला दिवसले विश्वभर द्रुतगतिमा बढिरहेको मिर्गौला रोग र समग्र स्वास्थ्यबारे जनचेतना अभिवृद्धिको प्रमुख उद्देश्य राखेको छ । यो रोगको रोकथाम तीन किसिमबाट गर्न सकिन्छ— रोग लाग्नु अगावै सचेत भएर, रोगको सुरुकै अवस्थामा तत्काल निदान र उपचार गरेर अनि रोगले आक्रान्त पारेको अवस्थामा थप क्षति हुन नदिन नियन्त्रणका उपायहरू अपनाएर ।


अहिले त झन् विश्व नै कोरोना भाइरसको त्रासमा रहेकाले मिर्गौलालाई कुनै कैफियत नहोस् भनी हामी बढी नै सचेत रहनुपर्छ । यो भाइरसले मुख्यत: श्वास–प्रश्वास प्रणालीमा आक्रमण गर्ने भए पनि मिर्गौलालाई पनि समस्यामा पार्न सक्छ ।


श्वास–प्रश्वास प्रणालीमा समस्या भएकाहरूको मिर्गौला पनि अस्वस्थ रहने सम्भावना हुन्छ । केही वर्षअघि हङकङमा गरिएको अध्ययनमा श्वास–प्रश्वासका ६.७ प्रतिशत बिरामीमा मिर्गौला समस्या पनि पाइयो । श्वास–प्रश्वास प्रणाली र मिर्गौलाको कार्यक्षमतामै प्रभाव परेकामध्ये ९१.७ प्रतिशतको मृत्यु भएको थियो । जबकि मिर्गौलामा कुनै असर नभई श्वास–प्रश्वास प्रणालीमा मात्र समस्या भएकामध्ये ८.८ प्रतिशतको मात्रै मृत्यु भएको थियो । उक्त अध्ययनमा श्वास–प्रश्वास सम्बन्धी गम्भीर समस्या बढी उमेरका बिरामीहरूमा धेरै पाइएको थियो । यसबाट कोरोना भाइरसले मिर्गौलालाई आक्रमण गर्ने सम्भावना कम देखिए पनि श्वास–प्रश्वास प्रणालीसहित मिर्गौलामा पनि आक्रमण भए अति उच्च दरमा मृत्यु हुने गरेको पाइन्छ ।


हामीमध्ये जोकोही कुनै प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनसक्छौं, तापनि धेरैजसोमा यो संक्रमण साधारण रुघाखोकीमा सीमित हुने गर्छ । कोरोना भाइरस संक्रमणको सुरुआतमा रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, कपाल दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । तर संक्रमण गम्भीर भए जाडो हुने, पूरा शरीर दुख्ने, निमोनिया हुने, श्वास–प्रश्वास प्रणालीसँगै मिर्गौला फेल भई मृत्यु हुने सम्भावना रहन्छ । यस्तो गम्भीर अवस्थामा मुटु र छातीका बिरामीहरू तथा मिर्गौला प्रत्यारोपित, साना केटाकेटी र वृद्धवृद्धा जस्ता प्रतिरक्षा प्रणाली कमजोर भएकाहरू विशेष जोखिममा पर्ने सम्भावना रहन्छ ।


चीनका महामारी विज्ञ झाङ नान्सानले कोरोनाको वैश्विक महामारी आगामी जून महिनासम्म रहने अनुमान गरेका छन् । यो भाइरसको मृत्युदर इटालीमा ५ प्रतिशत तथा दक्षिण कोरियामा ०.६ प्रतिशत रहेको पाइएको छ । हाल विश्वको औसत मृत्युदर ३.५ प्रतिशत छ । संक्रमित र मृत्यु भएकाको संख्याका हिसाबले चीन पहिलो नम्बरमा भए पनि मृत्यु अनुपातका हिसाबले इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । इटालीका सेना प्रमुख पनि संक्रमित भएका छन् । इटाली र दक्षिण कोरिया दुवै देशमा संक्रमितको संख्या ७,००० कटेको छ र दक्षिण कोरियाका तुलनामा इटालीमा सात गुणा बढी संक्रमितको ज्यान गएको छ । दक्षिण कोरियाले प्रतिदिन १०,००० भन्दा बढीमा भाइरसको परीक्षण गरेर विश्वसामु नमुना पेस गरेको छ । उक्त देशको प्रयोगशालाको उत्कृष्ट क्षमताको विश्वभर प्रशंसा भएको छ ।


कोरोना भाइरसबाट चौथो सबैभन्दा प्रभावित मुलुक इरान हो । त्यहाँ हालसम्म ६,५६६ जनामा संक्रमणको पुष्टि भएको छ र २३७ जनाले ज्यान गुमाएका छन् । इरानका उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्री तथा सांसदहरू भाइरसको सिकार बनेका छन् र एक सांसदको ज्यानसमेत गएको छ ।


नेपाललाई तीनतिरबाट घेरेको भारतमा ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा जोखिम वृद्धि हुने भएकाले नेपालको ध्यान मूलत: भारततर्फै केन्द्रित हुनुपर्छ । नेपालमा अहिलेसम्म संक्रमण नदेखिनु सुखद भए पनि यसको सत्यता हाम्रा प्रयोगशाला लगायतको क्षमता र जाँच गर्ने प्रक्रियालाई विश्वसनीय बनाइराख्नु जरुरी छ ।


मानव–मानवबीच प्रसारण

कोरोना भाइरस संक्रमणपछि रुघाखोकीमा जस्तै लक्षण हुने भएकाले यसको रोकथाम र जाँचमा गम्भीर चुनौती थपिएको छ । यो भाइरस तीव्र गतिमा सर्ने खालको हुन्छ । संक्रमितको श्वास, खोकी र हाच्छ्युँबाट सर्न सक्छ । कोरोना भाइरस श्वास–प्रश्वास प्रणालीको तल्लो भाग (रुद्रघण्टीभन्दा मुनि) सम्म फैलिएमा निमोनिया लगायतको जटितलता उत्पन्न भई संक्रमितको अवस्था गम्भीर हुनसक्छ । यो भाइरस संक्रमितले खोक्दा र हाच्छ्युँ गर्दामात्रै सर्ने नभई नजिकैको सम्पर्क (जस्तै— छुँदा वा हात मिलाउँदा) पनि सर्न सक्छ । त्यस्तै भाइरस रहेको कुनै वस्तुलाई छोएको हात नधोई नाक, मुख र आँखा छुँदा पनि भाइरस सर्ने सम्भावना रहन्छ ।


विश्व स्वास्थ्य संगठनको चेतावनी

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन नियमित रूपमा हात धुने, मास्क लगाउने र खोक्दा या हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने तथा मासु र अन्डा राम्ररी पकाएर मात्रै खाने गर्नुपर्छ । साथै रुघाखोकी लागेका र श्वास–प्रश्वास समस्या भएका व्यक्तिहरूसँग सम्पर्कमा नआउनु बेस हुन्छ । भीडभाड, सभा–सम्मेलन र भोजभतेरमा सहभागी नहुनु नै सर्वथा उचित हुन्छ ।


श्रेष्ठ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक हुन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

मुद्दा मन्थन

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरौं । निर्वाचनलाई प्रभावकारी बनाउन संविधानमै ‘नो भोट’ र ‘राइट टु रिकल’ को व्यवस्था गरौं । 
केशव दाहाल

नेपाली समाजका पछिल्ला मुद्दाके–के हुन् ? विषय प्रवेश गर्न एउटा गरिब बस्तीको चित्र खिचौं । सानो बस्ती छ । मान्छेहरू भोकै छन् । भन्ट्याङभुन्टुङ बच्चाहरू । शरीरमा लुगा छैन । झुप्रो चुहिन्छ । रोजगारी छैन । दु:खको भारीले ज्यान थिलथिलो छ । त्यही बस्तीमा कुनै बिहान एउटा ‘प्रभुभक्त’ आइपुग्छ र सोध्छ, ‘तिमीहरू किन भोकै छौ, थाहा छ ?’ ऊ प्रभुका अनेक लीला सुनाउँछ ।

प्रभुको अलौकिक शक्तिको महिमा गाउँछ । भन्छ, ‘मूर्ख मनुवाहरू, विलम्ब नगर । आओ, प्रभुको शरणमा । तिम्रा सबै दु:ख हरण हुन्छन् ।’ त्यसपछि मान्छेहरूले आफूलाई प्रभुको शरणमा अर्पण गरिदिन्छन् । खुसीले गदगदहुँदै भक्त गुनगुनाउँछ, ‘आमिन!’

त्यही बस्तीमा अर्को समय गेरुरङको धोती बेरेर नयाँ अनुहार प्रवेशगर्छ । ऊ भन्छ, ‘ए निर्धाहरू हो, लौ बित्यास पर्‍यो ! हाम्रो सभ्यता, संस्कार र संस्कृति सबै सखाप भयो । धर्म नासियो । त्यसैले सर्वत्र बरबाद छ । यो बरबादीबाट उन्मुक्ति पाउने उपाय गर । आओ, दरबारको गजुरमा पहेँलो झन्डा चढाऔं र धर्मराज्य स्थापना गरौं ।’ सबै मक्ख । मान्छेहरू गाउँछन्, ‘हरहर महादेव!’

बस्तीमा भाग्यविधाताहरू आउने–जाने क्रम चलिरहन्छ । कहिले कम्युनिस्टहरू आउँछन् । बूढा मार्क्सको तस्बिर देखाउँदै ‘लालसलाम’ गर्न सिकाउँछन् । अर्को दिन प्रजातन्त्रवादीहरू आउँछन् । उनीहरू हाम्रै गोलार्धको पश्चिम पाटाको ‘रजगज’को कथा सुनाउँछन् । फेरि मधेशवादी आउँछन् । पहाडवादी आउँछन् । वामपन्थी आउँछन् । दक्षिणपन्थी आउँछन् । सबैले आ–आफ्नो ‘जादु’ देखाउँछन् । दुर्भाग्य, कसैले भोकको कुरा गर्दैन । कसैले रोगको कुरा गर्दैन । कसैले रोजगारीको कुरा गर्दैन । यसरीनै समय बित्दै जान्छ र कालान्तरमा त्यो बस्तीले आफ्नो भोक, रोग र गरिबी बिर्सिन्छ । यस्तो हुन्छ कि, त्यहाँबाट कोही कट्टर इसाई भएर निस्किन्छ, कोही कट्टर हिन्दु । कोही लालसलाम गर्दै निस्किन्छ, कोही जयनेपाल । कोही मधेशलाई धारेहात लगाउँदै निस्किन्छ, कोही पहाडलाई । अन्तत: बस्तीको मुद्दा बर्गेलिन्छ र लोकतन्त्र तमासा बन्छ । यो हाम्रो राजनीतिको आजको कथा हो ।

खासमा नेपाली समाजको आजको मुद्दा के हो ?सीमान्तकृतहरूलाई चाहिएको के हो ? महिला, दलित र जनजातिलाई चाहिएको के हो ? भाग्यविधाताहरू आफ्नो सजिलोकालागि आफ्नै खाले निष्कर्षहरू निकाल्छन् । कोही भन्छन्, ‘हिन्दु अधिराज्य’ । कोही ‘पहिचान’ । कसैले नारा लगाउँछ, ‘राष्ट्रवाद’ । अर्कोले भन्छ, ‘मधेश’ । ‘म भोकै छु, प्रभु’ भनेर बस्ती चिच्याइरहँदा उसलाई भोकको औषधी के हो, कसैले बताउँदैन, न त रोग र अपमानको रहस्य बताइन्छ । समस्या एउटा छ, निष्कर्ष अर्को निकाल्दै कठमुल्लावादीहरू सडकमा कुर्लन्छन्, ‘जनता जिन्दावाद!’ कस्तो विचित्र, बस्तीलाई चाहिएको छ— खाना, नाना र छानाÙ कृपानिदानहरू बाँड्छन्— ‘धर्म, जात र राष्ट्रवाद’का पुरियाहरू ! खासमा सोच्नुपर्ने कुरा एउटा छ, ख्वामितहरू सोच्छन् अर्कै । गाउनुपर्ने लय एउटा छ, गाउँछन् अर्कै । नाच्नुपर्ने चाल एउटा छ, दोषलाउँछन् आँगनलाई र खुट्टा हल्लाउँछन् अर्कै तालमा । नेपाली राजनीतिको पछिल्लो द्विविधा यही हो ।

निश्चयनै राजनीतिक परिवर्तनको प्रक्रियामा धर्म, जात र राष्ट्रवादको बहस चल्छ । जब राजनीतिक आन्दोलनहरू हुन्छन्, स्वभावत: राज्यलाई कस्तो बनाउने, यसको उपरी संरचना कस्तो हुने, आधारहरूलाई कसरी उठाउने, राज्यको चरित्र कस्तो हुन्छ लगायतका यावत् प्रश्नमाथि मन्थन हुन्छ । त्यसैले हिजो यस्ता प्रश्नहरू थिए । यिनै प्रश्नलाई सम्बोधन गर्न ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापना भयो । यो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रा सपनाहरूको राजनीतिक अभिव्यक्ति हो । अझ भनौं, यो हाम्रो रगतको मसीले लेखेका सपनाहरूको ताजा चित्र हो ।

नेपालको संविधान–२०७२ जारी भएसंँगै राजनीतिको एउटा कोर्स मूलत: पूराभयो । भनौं, ‘नेपालकालागि संघीय लोकतान्त्रिक गणतन्त्रको नक्सा तयार भयो ।’ घर त बन्यो, अब के गर्ने ? अब के गर्ने भन्ने प्रश्नभित्र नेपाली राजनीतिले सम्बोधन गर्नुपर्ने अनेक ताजा मुद्दाहरूको लर्को छ । जस्तो— घर त बन्यो, चुलो बाल्ने कसरी ? बिरामीहुँदा उपचार गर्ने कसरी ? शिक्षादीक्षा दिने कसरी ? रोजगारी दिने कसरी ? विकास गर्ने कसरी ? न्याय दिने कसरी ? यसको अर्थ के भने, राजनीतिक रूपमा हामीले ठूलठूला उपलब्धिहरू त प्राप्तगर्‍यौं, तर आर्थिक–सामाजिक समस्याहरू डेग चलेनन् । हाम्रा आर्थिक–सामाजिक संकटहरू छिमल्ने कसरी ? अब सोचौं, यतातिर । विकल्प खोजौं, यतातिर । अन्यथा ७० वर्ष लगाएर बनाएको घरलेनै ओत दिएनभने के हुन्छ ? पश्चगामीहरू नाच्नेछन् र इतिहासले धिक्कार्ने छ ।

राजनीतिक मुद्दा
प्रत्येक युगका आफ्नै राजनीतिक मुद्दाहरू हुन्छन् । राजनीतिक दलले तिनलाई देख्नुपर्छ । तीमुद्दामाथि विमर्शगर्न समाजलाई सचेत गर्नुपर्छ । निश्चयनै मुद्दाहरू हेर्न इतिहास–चेतना, सामाजिक दृष्टि र भविष्यबोध चाहिन्छ । जस्तो कि— हामी आज जहाँ छौं, त्यहाँ कसरी आइपुग्यौं ? अब अगाडि जाने कता ?यी प्रश्नको कसीबाट हेर्दा पछिल्ला राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने हामीसँग कुनै विकल्प छैन । न त जात र धर्मका नाममा राजनीतिलाई गिजोल्ने विकल्प छ, न इतिहासलाई सराप्ने हक ।

प्रश्न आउँछ, त्यसोभए विकल्प के त ? उत्तर सजिलो छ, राजनीतिक उपलब्धिहरूलाई समृद्ध बनाउने पहिलो विकल्प हो । यसकालागि केहीमुद्दामा मन्थन थालौं । जस्तो— शासकीय स्वरूपमा परिवर्तन एउटा मुद्दा हो । अत: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाले लोकतन्त्रलाई अझ गहिरो बनाउँछ । यसले जनतामा नयाँ उत्साह थप्ने पक्का छ । निर्वाचनमा सुधार अर्को मुद्दा हो । भनिन्छ, निर्वाचन लोकतन्त्रको आधार हो । तर फगत निर्वाचनमात्र लोकतन्त्रको आधार होइन । बरु प्रभावकारी निर्वाचनलेमात्र लोकतन्त्रलाई सबल बनाउँछ । निर्वाचनलाई प्रभावकारी बनाउन संविधानमै ‘नो भोट’ र ‘राइट टु रिकल’को व्यवस्था गरौं । लोकतन्त्रमा जनता मालिक हुन् भने जनप्रतिनिधिहरूमाथि जनताको अविच्छिन्न निगरानी बढाऔं । निर्वाचनलाई सुशासित बनाउन निर्वाचन आचारसंहितालाई नैतिक नभई कानुनी प्रश्न बनाऔं। निर्वाचित कार्यकारी पदहरूलाई एक व्यक्ति दुई कार्यकालमा सीमित गरौं । साथै जनचासोका आवश्यक(?) मुद्दाहरूमा जनमतसंग्रहगर्न उदार बनौं ।

आर्थिक–सामाजिक मुद्दा
आर्थिकमुद्दाहरूलेजनतालाई प्रत्यक्ष प्रभावितगर्छन् । यसर्थनै आर्थिक न्यायलाई लोकतन्त्रको आधार मानिन्छ । यसकालागि किसान, मजदुर, सीमान्तकृत समुदाय, न्यून बेतनधारी वर्ग र ग्रामीण जीवनलाई कसरी आर्थिक न्याय दिने ? त्यसको मोडल के हो ? मन्थन गरौं ।

आर्थिक न्यायलाई सुनिश्चित गर्न गर्नैपर्ने केही काम बाँकी छन् । जस्तो— जमिनको राष्ट्रियकरण, पुनर्वितरण र भूमिसुधारको काम । त्यसैगरी आवासको ग्यारेन्टी । ग्रामीण अर्थतन्त्रको उद्वेलन । किसानलाई उत्प्रेरितगर्न सरल कृषि अनुदानको व्यवस्था । त्यसकालागि अनुदान आयोगको गठन । कृषि, ऊर्जा र पर्यटन उद्योगलाई अनुदान, सस्तो ऋण र दीर्घकालीन ऋणको प्रबन्धन । यसले उत्पादन क्षेत्रमा आशाको सञ्चार गर्छ । विज्ञहरू भन्छन्— यसोगर्दा कृषि, उद्योग, पर्यटन, पूर्वाधार र सेवा क्षेत्रमा वार्षिक १० लाख नयाँ रोजगारी सिर्जनागर्न सकिन्छ, जसले एक दशकभित्र वैदेशिक रोजगारीको पछिल्लो दरलाई १० प्रतिशतमा झार्छ । जबआर्थिक न्याय सुदृढ बन्छ, तब न लोकतन्त्रले काम गर्छ !

यसैगरी उदार पुँजीवादले सीमान्तकृत समुदायलाई प्रतिस्पर्धा गर्नैनसक्नेगरी थला बसाउँदैछ । अत: सामाजिक सुरक्षाको मुद्दा हाम्रालागि निकै महत्त्वपूर्ण छ । यसकालागि विशेषत: गरिबीको रेखामुनि रहेका जनतालाई दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत छुट पाउनेगरी रासनकार्डको व्यवस्था गरौं ।

आपत्मा परेका एकल महिला, वृद्धवृद्धा र बालबालिकाको जीवन सुरक्षाकालागि विशेष प्रबन्ध होस् । भूकम्प, बाढी, पहिरो, डुबान, कटानजस्ता समस्याका पीडितहरूलाई रेखदेखगर्न बीमा कार्यक्रम ल्याऔं । शिक्षा र स्वास्थ्य पूर्णत: नि:शुल्क गरौं ।

सुशासनका मुद्दा
लोकतन्त्रलाई परिणाममुखी बनाउने महत्त्वपूर्ण कडी हो— सुशासन । भ्रष्टाचारमा शून्य सहनशीलता । सेवा प्रवाहमा सुधार । कानुनी शासनको प्रत्याभूति । यसकालागि२०४६ पछिका प्रधानमन्त्री, मन्त्री, संसद, राजनीतिक नियुक्ति पाउनेहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरौं । हामीसँग अख्तियार, सम्पत्ति शुद्धीकरण र सतर्कता केन्द्रजस्ता महत्त्वपूर्ण अंग छन् । तर यी अंगमाथि जनताको विश्वास घट्दो छ । अत: यिनलाई स्वायत्त र विश्वासिलो बनाउन संरचनागत सुधार गरौं । शक्तिशाली लोकपालको गठन अर्को उपाय हुनसक्छ । यसैगरी जथाभावी राजनीतिक नियुक्ति बन्द गरौं । राज्यबाट बेतनलिने कर्मचारी, शिक्षक र प्राध्यापकका दलीय संघ–संगठन खारेजहोऊन् । स्थायी निजामती सेवालाई करारमा रूपान्तरित गरौं ।

के यावत्मुद्दामा बहसगर्न हाम्रो राजनीति तयार छ ?हाम्रो सरकार जनताको जीवनसँग जोडिने यस्ता विषयमा तत्काल कामथाल्न तयार छ ? अन्यथा लोकतन्त्रमाथि उठेका प्रश्नहरूको जवाफ कहाँ खोज्ने ? अन्यथा गाउँ–बस्तीहरूमा घुमिहिँड्ने ख्वामितहरूका उटपट्याङ कथ्यहरूबाट लोकतन्त्रलाई कसरी बचाउने ?

केही मान्छे भन्छन्— संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रले काम गरेनन्; यिनलाई उल्ट्याउनुपर्छ । ७० वर्ष लडेर ल्याएका उपलब्धिहरूलाई उल्ट्याउने हो भने त्यसपछि कता जाने ? पञ्चायततिर । लोकतन्त्रले गडबड गर्छ भने राम्रोचाहिँ केले गर्छ ? राजतन्त्रले । नेपाली राजनीतिको पछिल्लो असफलता संघीय लोकतान्त्रिक गणतन्त्रको असफलता हो कि राजनीतिक अकर्मण्यताको ? अन्यथा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प के हो ? पञ्चायत, जनतन्त्र, साम्यवाद । अत: व्यवस्थाका कमजोरीहरू केलाउनेतिर बहस केन्द्रित नगरौं । कुरा गरौं, यसलाई सफल बनाउने कडीहरूको । कुरागरौं, फरक राजनीतिको । चिहान उधिन्नुभन्दा राम्रो हुन्छ बगैंचा बनाउनु । किनभने फूलहरूले आशा जगाउँछन् । आशाहरू जागृत भएपछि मात्र हामी अगाडि बढ्नसक्छौं । बढ्नु त अगाडि नै छ । पछाडि हिँडेर लक्ष्य प्राप्त हुँदैन ।
dahal.kemshab@gmail.com

प्रकाशित : फाल्गुन २९, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×