१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

फेरिनुपर्ने महिला बहस

साधना प्रतीक्षा

विश्वपरिवेशमा नारी अस्तित्व र पहिचानको सन्दर्भ उठान गर्दै नारीवादी चिन्तनको आरम्भ भएको दुई शताब्दी पुग्दै छ । यसै क्रममा हामीकहाँ पनि महिला उपेक्षाको नभएर महत्त्वको विषय बनेको छ । महिला हक–अधिकारका विषयमा यो महत्तम उपलब्धि हो । अहिले तुलनात्मक रूपमा पाश्चात्य जगत्का महिला पितृसत्ताको बन्धनबाट मुक्त भएर स्वतन्त्र जीवनयापन गरिरहेका देखिन्छन्, तर हामीकहाँ पितृसत्ताको दुष्प्रभाव जति छ त्यति नै नारी स्वयंले आफ्नो अस्तित्व र पहिचानबोध गर्न सकेका छैनन् ।

हाम्रो नारीवादी चिन्तन पनि दलीय राजनीतिको धारमा विभाजित भएको छ, जसका कारण महिलाका मुद्दामा राजनीतिक वृत्तका महिला एकमुख हुन सकेका छैनन् । महिलावर्ग नै विभिन्न प्रभावबाट मुक्त हुन नसक्नाले हामीकहाँ महिलाका मुद्दा ओझेलमा पर्नुका साथै उत्पीडित महिलाले सहजै न्याय पाउन सकेको पनि पाइँदैन । पुरुषभन्दा धेरै कोणबाट भएर पनि स्वयंले त्यसको पहिचान गर्न नसक्नाले अनि पुरुषका कमजोरी तथा नकारात्मक पक्षसँग मात्र प्रतिस्पर्धा गर्दै जानाले हामी महिला लक्ष्यबाट डगमगाइरहेका छौं ।


पुरुषवर्गका जेजस्ता गतिविधिका कारण परिवार मात्र होइन समाजलाई नै नकारात्मक असर परिरहेको हुन्छ, अहिले महिलाले त्यही विषयमा पुरुषसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । लाउने–खाने, मोजमस्ती, पार्टी–क्लब, रेस्टुरेन्ट, सौन्दर्य–प्रसाधन, फेसन, तडकभडक आदिजस्ता अनुत्पादक तथा विलासी कार्यमा महिलावर्गले नै अग्रता लिएको देखिन्छ । यहीँ जोडिन्छ शरीर राजनीति । हामी महिला बीचबजारको होडिङ बोर्डमा आफ्नो सौन्दर्य र यौवनको विज्ञापन देखेर मक्ख परिरहन्छौँ । हामी यति मात्र हौँ त ? त्यसैले होला उदार नारीवादी विचारक बेट्टी फ्राइडनले ‘फेमिनिन मिस्टिक’ मा अमेरिकी सम्भ्रान्त महिलाले आफ्नो सुविधासम्पन्न दैनिकीको अन्त्यमा गरेको प्रश्न ‘के महिला यति नै हो त ?’ लाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेकी छन् ।


यसै गरी आमूल नारीवादी विचारकी प्रणेता केट मिलेटले ‘सेक्सुअल पोलिटिक्स’ मा भनेकी छन्— पितृसत्तामा महिलाबारे व्याख्या गर्ने प्रतीकहरू पुरुषनिर्मित हुनाका साथै पुरुषहरूले नै महिलाका लागि सांस्कृतिक मूल्यमान्यता निर्माण गरे । यसका साथै महिला छविको परिकल्पना र उनीहरूको आवश्यकता अनुसार उपयुक्त फेसन पनि पुरुषसिर्जित नै हुन् । यी दुवै नारीवादीहरूका विचार पुँजीवादी संस्कृतिभित्र रहेको महिलाप्रतिको दृष्टिकोणमा आधारित देखिन्छ । त्यसपछि अन्य धेरै नारीवादीले नयाँनयाँ तथा अग्रगमनकारी विचारहरू प्रसारित गरिसकेको अवस्थामा पनि हामी भने पितृसत्ताकै भर्‍याङमा आफ्नो उचाइ नापेर गर्व गरिरहेका छौँ । अब पनि हाम्रो सोच, हाम्रो बहसको विषय नबदलिएर कहिले बदलिने ? पुरुषसँग बराबरी, अझ सके त अग्रताकै लागि प्रतिस्पर्धा गर्नु छ, तर केमा भन्ने छनोटमै हामी अल्झेका छौँ । हामीले पुरुषकै जस्तो भेषभूषा छान्यौं । उनीहरूको जस्तो स्वतन्त्र र स्वच्छन्द जीवनशैली अँगाल्न पनि पछि परेनौँ । उनीहरूको पेसा–व्यवसायमा पनि आफूलाई आबद्ध गरायौँ र पनि हामीमध्ये अधिकांश सही अर्थको प्रतिस्पर्धामा उत्रन सकेका छैनौँ ।


जबसम्म महिलावर्गको चेतनास्तर माथि उठ्न सक्दैन, तबसम्म परिवर्तनका प्रयासहरू सार्थक बन्न सक्दैनन् । जबसम्म महिला आफूलाई शरीर र सौन्दर्यका रूपमा हेर्न छाड्दैनन्, सम्भ्रान्त वर्गका महिला भोगविलास र मनोरञ्जनबाट मुक्त भएर देश र समाजका बारेमा सोच्न थाल्दैनन्, आम महिला पुरुषका नकारात्मक पक्षसँग मात्र प्रतिस्पर्धा गर्न छाड्दैनन्, फुर्सदिला महिलाहरू व्यस्त महिलाको टीकाटिप्पणी गरेर समय बिताइरहन्छन् अनि राम्रा महिलाहरू पुरुषनिर्मित मनोरञ्जन र व्यापारको बजारमा मुस्कुराइरहन्छन्, तबसम्म महिला अग्रगमनले सही बाटो लिन सक्दैन । साथै यो बाटो गाउँ–बस्तीका चेतनविहीन अनि शोषित–उत्पीडित महिलासमक्ष पुग्न पनि सक्दैन ।

प्रकाशित : फाल्गुन २८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?