१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ओलीको दह्रो आत्मनिर्णय

किशोर नेपाल

नेपालको समाचार–संसार र सामाजिक सञ्जालको दृष्टि केही समययता सरकारमा, खास गरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा केन्द्रित छ । यो अनौठो कुरा होइन । प्रधानमन्त्री ओलीको शरीरमा नयाँ र जवान मिर्गौला प्रत्यारोपण गर्नु छ । बाह्र वर्षअघि नयाँ दिल्लीको अपोलो हस्पिटलमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेको छ । प्रधानमन्त्री ओली यसबारे सचेत थिए । उनले नयाँ मिर्गौला प्रत्यारोपण अमेरिकाको अस्पतालमा गर्न खोजेका थिए । 

ओलीको दह्रो आत्मनिर्णय

अमेरिकी अस्पतालको खोजीमा उनका निजी चिकित्सक र प्रमुख सल्लाहकार त्यता गए पनि । स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिएको पदमा बस्ने मानिसको उपचार सामान्य अस्पतालमा गर्ने कुरा आएन । उसै पनि संसारको सर्वाधिक राम्रो मानिएको अस्पतालमा उपचार गराउनु नेपालका राजनीतिकर्मीहरूको आकांक्षा हो । प्रधानमन्त्री ओली उपचारका लागि दलबलसहित विदेश गएको देखेका छन्, नेपाली जनताले । यस पटक भने उनले मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्ने निर्णय लिए । उनको यो दह्रो आत्मनिर्णयको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । यति बेला उनी आफ्नै मामिलामा अपवाद साबित भएका छन् । यसका लागि नेपाली जनताले उनलाई धन्यवाद दिनैपर्छ । पूर्णकालीन राजनीतिमा लागेका सबै नेताका लागि प्रधानमन्त्री ओली उदाहरण बन्न सकून् । उनले स्थापित गरेको उदाहरण सबैले पछ्याऊन् ।


संसदमा झन्डै दुईतिहाइ मत पाएर शक्तिशाली सरकार बनाउने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूले ‘सुपरम्यान’ का रूपमा हेरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई सामान्य मानिसका रूपमा नभई ‘चामत्कारिक’ नायकका रूपमा हेरिरहेका छन् । प्रधानमन्त्री ओलीको शिरमा भारतले नेपालविरुद्ध गरेको नाकाबन्दीलाई निरस्त गरेको जस छ । यो जस कति सही हो र कति जायज हो ? यसको लेखाजोखा भएको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंँगको उनको मित्रता घनिष्ठ र प्रभावशाली छ । तर, यो प्रभावको राजनीतिक विस्तार हुन सकेको छैन ।


नेपाल र भारतका बीच लिपुलेकदेखि मानेभन्ज्याङसम्मका भूमिमा विवाद छरिएका छन् । यी विवादको समाधान अहिलेसम्म खोजिएको छैन । नेपालले आफ्नो स्वाधीन र स्वतन्त्र अस्तित्वका लागि अत्यधिक महत्त्व दिंँदै आएको १९५० को नेपाल–भारत सन्धिको खारेजी पनि त्यत्तिकै अलपत्र परेको छ । आर्थिक विकासका क्षेत्रमा पनि नेपाल–भारत सम्बन्ध लरखरिएको छ । नेपालको टड्कारो आवश्यकताका रूपमा रहेको हुलाकी मार्गको निर्माणले गति लिएको छैन । यस्ता अनेक द्विपक्षीय विषय त्यत्तिकै लटकिएका छन् । भारतसँग सल्टाउनुपर्ने अरू पनि यस्ता धेरै विषय छन्, जसको अभिलेख परराष्ट्र मन्त्रालयले राखेको होला । नेपाल–भारत सम्बन्धमा ‘ओली–मोदी’ मित्रताको भरपर्दो योगदान केलाई मान्ने हो ? सम्भवतः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग यसको जवाफ होला ।


प्रसंगमा, यो भन्नु समीचीन ठहरिनेछ— प्रधानमन्त्री ओलीले मोदीसंँगको मित्रतालाई नेपाल–भारतबीच आर्थिक विकासका एजेन्डा तय गर्ने काममा प्रयोग गर्नुपर्छ । व्यक्तिगत सम्बन्धको घनिष्ठताले राष्ट्रिय स्वार्थको परिपूर्ति गर्न सक्यो भने त्यसले नेताको कीर्ति अक्षुण्ण राख्न पनि मद्दत गर्नेछ । व्यक्तिगत सम्बन्ध जतिसुकै घनिष्ठ भए पनि नीति निरपेक्ष भयो भने त्यसले कुनै फल दिन सक्दैन । नेपालमा हुने राजनीतिक गतिविधिहरूलाई भारतले राजनीतिक तहमा होइन, सुरक्षा तहमा राखेर पर्यवेक्षण गर्ने गरेको छ । यसको जानकारी यहाँका प्रत्येक नेतालाई छ । तर पनि यो विसंगत अवस्था हटाउन नेपाल सरकारले कुनै प्रयास गरेको देखिएको छैन । आन्तरिक राजनीतिमा व्यस्त भएर होला, प्रधानमन्त्री ओलीको ध्यान यतातिर खिचिएको देखिँदैन । सरकारले भारतसंँग राजनीतिक स्वार्थअनुकूल व्यवहार गर्न सकेको छैन । भारतमा अहिले भाजपाको सरकार छ, जसका नेताहरू नेपालबाट राजतन्त्रको उन्मूलन भएकामा प्रसन्न छैनन् भन्ने विश्वास गरिएको छ । भाजपा नेपाललाई धर्मनिरपेक्ष देश होइन, हिन्दु राष्ट्रका रूपमा हेर्न चाहन्छ भन्ने विश्वास स्थापित गर्न नेपालका राजनीतिकर्ताहरू नै लागेका छन् ।


संविधानसभाले एक दशकसम्म ‘गहन’ छलफल गरेर बनाएको तथा पारित गरेको संविधान संक्रमणमा पर्नु पक्कै पनि दुर्भाग्य हो । संविधानलाई संक्रमणबाट बाहिर ल्याउन नसक्नु राजनीतिक खेलाडीहरूको बौद्धिक दरिद्रता हो । यो दरिद्रताका कारण देशका कतिपय जाति र जनजाति संविधानमा समेटिएका छैनन् । संविधान जारी भएको दुई वर्ष पनि पूरा नहुँदै हिन्दु राज्यको कुरा उठ्न थालेको छ । छिमेकमा हिन्दुवादी दलको सत्ता हुनेबित्तिकै नेपालमा पनि त्यसको प्रभाव देखिनुपर्छ भन्ने मानसिकताले स्थितिलाई बिथोल्छ । भाजपाको मूल सिद्धान्त हिन्दुत्व हो भने नेपाल त्यसको अनुयायी हुनुपर्छ भन्ने केही छैन ।


सदा सनातनदेखि यो देशमा बहुसंख्यक हिन्दुहरूको बास छ । उनीहरू बडो संयमपूर्वक आफ्नो सनातन धर्मको पालना गरेर बसेका छन् । यसमा कसैको विमति नहोला । नेपाल धर्मनिरपेक्ष देश भएकै कारण यहाँ बुद्ध धर्मको उत्तिकै सम्मान छ । बुद्ध वा हिन्दुसँंग जोडिएका स्थानीय धर्मको बाक्लो उपस्थिति छ, यो देशमा । ‘होली वाइन’ का समारोह पनि भएका छन्, यो देशमा । जनकपुरधाम र अयोध्याधामबीच सुसम्बन्ध अहिले पनि जारी छ । जसले जति कराए पनि नेपाल अहिले लोकतन्त्रको बाटामा एकाग्र हुन खोजिरहेको छ । तर, सरकारले स्थानीय तहमा अनावश्यक मुद्दामामिला बढाएको छ । उदाहरणका लागि, कैलालीका थारुविरोधी मुद्दा टुंग्याइएको छैन । यो मुद्दा टुंग्याउँदा देशले फाइदा पाउँछ । थारु जाति नेपालको धरोहर हो । यो सत्यलाई सरकारले आत्मसात् गर्नुपर्छ ।


निश्चय पनि प्रधानमन्त्री ओलीको दृढ आग्रहका कारण चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरे । यो एक किसिमको उपलब्धि थियो, नेपालका लागि । सीको भ्रमणले नेपालीहरूको आकांक्षाको नक्सामा धेरै ठूलो विस्तारको रेखा खिच्यो । चिनियाँ रेलले केरुङ बजारलाई विशाल चिनियाँ बजारको एक विन्दुका रूपमा स्थापित गर्नेबित्तिकै केरुङदेखि काठमाडौंसम्म र त्योभन्दा पर रेलको लिक बनाइदिने राष्ट्रपति सीको वचन यथासमय पूरा हुने नै छ । एक थरी नेपालीले भारतले नाकाबन्दी गरेका बेला पनि नेपालका लागि चीनको बजार खोलेकामा प्रसन्नता जनाएका छन् । उनीहरूले चीनलाई भारतको वैकल्पिक बजारका रूपमा हेरेका छन् । चीनको भ्रमण गरेर व्यापार र पारवहनको बाटो खोलेपछि प्रधानमन्त्री ओलीको लोकप्रियता बढेको हो । देशमा अहिले जुन पार्टीको शासन चलेको छ, त्यसमा नेतृत्वको लोकप्रियता बढाउने काम पहिलो मानिन्छ । हामी नेपालीहरूले अहिलेसम्म ताली नै बजाएका छौं । किनभने हामी ताली बजाउन खप्पिस छौं । हो, चीनबाट केरुङको बाटो रेल आएपछि हाम्रा सन्तानले झन् ठूलो उत्साहका साथ त्यसको स्वागत गर्नेछन् ।


प्रधानमन्त्री ओली अस्पतालको शय्यामा पल्टिएको अवस्थामा यस्ता विचार नपचाउने धेरै होलान् । तर, यसमा त्यस्तो विभेद केही गरिएको छैन । यो भन्नु कि ‘सरकारले नारा बढी लगाएको र काम थोरै गरेको छ,’ नारा होइन यथार्थ हो । जुन परिस्थितिमा लोकतान्त्रिक व्यवस्थाको परिचालन भएको छ, त्यसले सबै नेपालीको हुर्मत लिएको छ । राजनीतिक दलहरूबीच हरेक क्षेत्रमा भएका भागबन्डाले सबै सार्वजनिक संस्था निर्जीव भएका छन् । योग्यता, क्षमता र दायित्वबोध गर्न नसक्ने मानिसहरूको भीड लागेको छ, देशमा । अयोग्यको दबदबा छ । भ्रष्टाचार पाइला–पाइलामा भेटिएको छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो राज्य व्यवस्थाका रूपमा चुनेका छौं । तर, संघीय शासनलाई कमजोर बनाउने काम निरन्तर जारी छ ।


यो परिस्थितिमा प्रधानमन्त्री ओली बडो उच्च मनोबलका साथ मुस्कुराउँदै अस्पताल छिरेका छन् । उनले अस्पताल पस्दापस्दै भनेका छन्, ‘सपना अलपत्र पारेर म अलप हुन्नँ ।’ प्रधानमन्त्री ओलीका तर्फबाट यो जनतालाई दिइएको ‘दिलासा’ हो । सपना अलपत्र पारेर उनी अलप हुनेछैनन् । तर, सपना त सपना नै हुन्छ । अहिलेसम्म पनि अँध्यारोमा बस्न बाध्य भएको नेपाली समाजको रूपान्तरण गर्न उनको फूलजस्तो सुवासित सपनाले केही न केही काम त पक्कै गर्ला ! अपरेसन थिएटरबाट निस्किएका प्रधानमन्त्री ओलीलाई छिटो आराम होस्, शुभकामना !

प्रकाशित : फाल्गुन २२, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?