कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विदेशियाहरूको बात

चन्द्रकिशोर

उसको नाम विदेशिया हो । देहाततिर बस्छ । दस–बाह्र वर्षको विदेशियाको कामै आफ्नो घरपरिवारलाई सघाउनु हो । दिनचर्या उही— घाँस काट्नु, भैंसी चराउनु । तर ऊ जे काम पनि मन लगाएर गर्छ । तन्मयताले दूध दुहुँदा उसका औंलाहरू यति लयबद्ध हुन्छन् कि, हेर्नेहरू पनि छक्क पर्छन् । ऊ गफ पनि रमाइलो गर्छ । ‘विदेशिया, तिमी स्कुल जाँदैनौ ?’ भनी कसैले सोधे, ऊ तुरुन्त जवाफ दिन्छ, ‘यो त अल्छीहरूको काम हो । जोसंग काम हुँदैन, उही स्कुल जान्छ ।’ 

विदेशियाहरूको बात

उसले पक्कै घरमा यस्तो कुरा सुनेको हुनुपर्छ । ऊ आफू कमासुत (काम गर्ने) भएकामा दंग रहन्छ । त्यही प्रश्न उसका बुबालाई सोधियो भने सोझो जवाफ हुनसक्छ, ‘स्कुल पठाएर के हुन्छ ? पढेर कसले रोजगारी पायो ? पाइयो भने पनि कति पैसा पाउला ?’ थप कोट्याउनुभो भने उनले अगाडि थप्लान्, ‘गुजारा गर्नको लागि जेजति सिक्नुपर्ने हो, त्यो त विदेशियाले घरगृहस्थीको कामबाटै सिकिहाल्छ ।’ तपाईंको अर्को जिज्ञासामा उनले भन्लान्, ‘जुन पढाइ–लेखाइले पेट पाल्ने नौकरी दिन सक्दैन, त्यस्तो पढाइले बरु यस्तो रोजीरोटी चल्ने धन्दालाई हेला गर्न सिकाउँछ ।’ विदेशिया पढ्न थाल्यो भने पहिले उसले घरपरिवारमा गर्दै आएको धन्दालाई छाड्न सक्छ, त्यो काम गर्नुमा आफ्नो गरिमा हराएको ठान्न सक्छ र आफ्ना बुबालाई ‘गंँवार’ ठान्न सक्छ !


गाउँ–देहातमा विदेशिया र उसका बुबाजस्तै मान्छेहरू कम छैनन् । कतिपय यस्ता विदेशियाहरू विदेसिएका पनि छन् । यो कथाले ठूलो आबादीको प्रतिनिधित्व पक्कै गर्छ, जसको जीवनचक्र, अस्तित्वरक्षाका लागि जारी जीवन संघर्ष र जिजीविषासंँग जोडिएको उसको समझदारी अक्षर ज्ञानको आकांक्षी छैन । यो समूह प्रदेश वा समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक संरचना वा सञ्चालनका निम्ति एउटा अभिन्न साझेदार हो । अब यो आबादीले प्रश्न गर्दै छ— लेखपढ किन गर्ने ? यो आबादीलाई बाँच्नका निम्ति स्वयंको परिवार र जिन्दगीले जे सिकाउँछ, त्यो शिक्षाले दिन्छ भन्ने लाग्दैन । विदेशियाको कथा हाम्रो वर्तमानको त्रासदी हो, जसले एकै पटक कैयौं संकटतर्फ संकेत गर्छ । यसले साक्षर नेपालको संकल्पलाई समेत गिज्याउँछ ।


तपाईंका वरिपरि विदेशिया जस्तै पल्टु, सोनफी, बटेसर, इस्माइल हुन सक्छन्, जो स्कुल जान पाएका छैनन् । विद्यालय समाजकै सानो रूप हो । त्यहाँ समाजको कुन तप्का पुगेको छ, कसरी पुगेको छन् वा त्यहाँ पुग्नुलाई कसरी लिइरहेको छ, यसले विद्यार्थी–विद्यालय सम्बन्धलाई देखाउँछ । स्कुल छेवैको बच्चाले पढ्न पाएको छैन, त्यसबाट लाभ लिन सकेको छैन वा पढाइको विरुद्धमा सोचाइ बनाएर बसेको छ भने त्यो कसको असफलता हो ? कुनै तप्काले स्कुल नगए पनि आफ्नो जिन्दगीको गाडी गुडेकै छ भन्ने ठान्नु र स्कुलबाट दूरी राख्न चाहनु त्यो तप्काको मात्र होइन, स्कुल र स्थानीय सरकारकै असफलता हो । स्कुल भनेको समाजसंँग समुदायविशेषको अन्तरक्रिया पनि हो । स्कुलको अवस्था, त्यसबारे जनसामान्यको बुझाइले स्कुलको भूमिका निर्धारण हुन्छ । अब त यसले घरछेउको सरकारको अनुहारलाई समेत प्रस्ट्याउँछ ।


भुइँतहमा व्याप्त यस्तै मनोविज्ञानले विदेशियाहरू वैदेशिक रोजगारीतर्फ धकेलिएका छन् । अभिभावकहरू उमेर बढाएर भए पनि बच्चालाई चाँडो कमाउन पठाउने ध्याउन्नमा हुन्छन् । अरूका त्यही उमेरका बच्चा स्कुल दौडिरहेका बेला आफ्ना बच्चा घरकै काममा लागिरहँदा वा अलि ठूलो भएपछि कमाउन बाहिरिँदा अभिभावक दंग पर्ने मनोविज्ञानको विकास भयो कसरी ? आर्थिक अवस्था कमजोर भएकै कारण यस्तो तात्कालिक लाभको सोचाइ उब्जिएको हो ? तुरुन्त तृप्त हुने मनोविज्ञानका पछाडि कुन खालको आर्थिक–सामाजिक विन्यासले काम गरिरहेको छ ? भुइँतहमा व्याप्त यस्तो मनोविज्ञानका लागि दोषी को हो ? यस्ता प्रश्नहरूको उत्तर नखोजेसम्म स्कुलभित्र सिंगो समाजको प्रतिनिधित्व हुन पाउँदैन । एउटा तप्का स्कुलबाट टाढिइरहने परिस्थिति उब्जिरहन्छ ।


विदेशिया जस्ताका बाबुको एउटा चिन्ता जायज देखिन्छ । त्यो हो— लेखपढ गर्न थालेपछि खेतीकिसानीलाई उपेक्षाको दृष्टिले हेरिनु; पढेपछि घरकै काममा सहयोग गर्न लाज मान्न थाल्नु र अहिलेको शिक्षाले रोजगारी दिन नसक्नु । यो अवस्था आयो कसरी ? कसले यसका बारे खोजीनिती गर्ने ? यस्ता बुझाइ रहेसम्म कृषिमा रूपान्तरणको कामलाई मूर्त रूप दिन सकिन्न । मान्छेले सधैं केही न केही सिकिरहेको हुन्छ, आजीविका चलाउन । यसले उसलाई बाँच्ने सामर्थ्य दिन्छ, साहस दिन्छ । हामी जसलाई लेखपढ गराउने भन्दै छौं, उसलाई पनि त्यसै अनुरूप ढाल्नुपर्छ, ताकि उसले त्यो आबादीलाई लेखपढ पनि आजीविकाका लागि जरुरी हुन्छ भन्ने अनुभूति गराउन सकोस् । जबसम्म यस्तो गरिँदैन, हाम्रो बाह्रखरीले त्यो आबादीलाई आकर्षित गर्दैन । साक्षरताको कार्यक्रमले त्यसलाई पहिचान र गरिमा दिन्छ । आफू सार्वभौम भएको अनुभूति दिलाउँछ । के बिर्सनु हुन्न भने, प्रत्येक आन्दोलन अधिकार र स्वतन्त्रतासँंग अनिवार्य रूपमा जोडिएको हुन्छ । त्यस्तो अधिकार र स्वतन्त्रताप्राप्तिको सम्भावनाको ढोका खोल्ने अक्षरलाई त झन् जनआन्दोलनको विषय बनाउनुपर्छ ।


स्वाधीनता र कल्पनाशीलताको सम्भावनाले नै अक्षरहरूलाई अक्षर वा अमर बनाउँछ । जब मान्छे स्वयं पढ्न–लेख्न थाल्छ, तब उसले सोच्न थाल्छ, निर्णय लिन थाल्छ, जुन मुक्तिको दिशामा, दिमागको स्वतन्त्रताको दिशामा ठूलो फड्को हुन्छ । पढाइ–लेखाइबिना पनि कसैले कमाइ त गर्न सक्छ, तर पढेपछि कमाइ थप सुरक्षित हुन्छ । घरकै कामकाजबाट आय आर्जन गर्न पनि पढ्नुपर्छ भन्ने बुझाइ भुइँतहमा विस्तार गर्न जरुरी छ । विदेशिया र उसका बाबुले विभेद र बन्धकीको अर्थ बुझ्छन् र पक्कै त्यसको जाँतोमा पिल्सिन चाहँदैन भने स्कुलसँंग तिनको साइनो जोडिदिनैपर्छ । किनकि सामाजिक–आर्थिक अवस्था कमजोर भएकाहरू मात्रै स्कुलबाट टाढिएका छैनन् । कसैले लेखपढमाथि नै किन प्रश्न उठाउँछ भन्ने बुझ्न समग्रतामा यसको केस्रा–केस्रा केलाउनुपर्छ । सरकारले निरक्षरता उन्मूलन गर्न यस्ता भुइँ यथार्थबारे ध्यान दिनैपर्छ ।


अर्को कोणबाट पनि हेरौं । निरक्षरता उन्मूलनका नाममा हामी तिनलाई लेखपढ गर्न सिकाउँदै छौं, जसले जीवनलाई हामीभन्दा बढी बुझेका छन् । जबसम्म स्थानीय ज्ञान, परम्परा र उत्पादनलाई सगोलमै राखेर अहिलेका सरकारी उपक्रम अगाडि बढ्दैनन्, तबसम्म ठूलठूला नाराहरूले सार्थकता पाउँदैनन् । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुंच र सार्थक प्रतिनिधित्वका लागि समावेशी शिक्षा चाहिन्छ र त्यसको प्रत्याभूति गर्ने प्रारम्भिक जिम्मेवारी स्थानीय सरकारको हो । फरक क्षमता भएका बालबालिकालाई छेउकै स्कुलसंँग कसरी जोड्ने र तिनमा हुर्किंदै गरेको भिन्न हुँ भन्ने बुझाइलाई कसरी हटाउने, त्यसतर्फ स्कुलहरूलाई अभिप्रेरित गराउन ढिलो हुँदै छ ।



आफ्नै वरिपरि रोजगारी र उद्यमशीलताका अवसरहरू विकसित गर्न सके गाउँ रित्तिने अवस्थामा कमी आउँथ्यो । तर के भइरहेको छ भने, घरनजिकको सरकार रोजगारमूलक तालिमका नाममा स्थानीय आवश्यकता, माग र सम्भावनामाथि जोड दिनुको साटो कर्मकाण्डी तालिममा अल्झिएको छ । स्थानीय सरकारहरूको सफलता र सार्थकता रित्तिँदा गाउँमा जीवन फर्काउनुमा हुन्छ । अनि पो कृषि संस्कृतिसंँग जोडिएको फागु पर्वका बेला खुसी र समृद्धिको कामनासाथ गाइने ‘सदा आनन्द रहे एही दुआरे, मोहन खेले होरी हो’ ले सही अर्थ पाउँथ्यो । अहिले त फागुका लागि भारत र खाडी मुलुकबाट घर फर्कंदै गरेका अनपढ विदेशियाहरू सामान्य लेखपढ गर्न नजानेकै कारण रोजगारी स्थलमा बेहोर्नुपरेका हैरानीका माझ गाइरहेका छन्—

भइवा रे, हमको मिला धक्का,

धक–धक धक्का

हम तनिको न घबराए,

न हुए हम हक्का–बक्का

जोगिडा सारारारा... ...

प्रकाशित : फाल्गुन २२, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?