कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोनासँग कति डराउने ?

जीवन क्षत्री

सन् १९१८–२० को विश्वव्यापी इन्फ्लुएन्जा महामारी सकिएको ठ्याक्कै सय वर्षपछि अहिले हामी इन्फ्लुएन्जाको अर्को वैश्विक महामारीको संघारमा छौं । ऊ बेलाभन्दा सूचनाको प्रवाह अहिले अत्यन्त तीव्र छ, तर यस क्रममा सहीसँगै गलत सूचना पनि प्रवाह भइरहेका छन् । त्यसैले खास गरी आम नागरिकका लागि कोरोना भाइरस संक्रमण (कोभिड–१९) र महामारीबारे सही सूचनाको महत्त्व अहिले पनि त्यत्तिकै छ । 

कोरोनासँग कति डराउने ?

कति डराउने ?

चीनभित्र भन्दा बाहिर धेरै नयाँ संक्रमित देखिन थालेसँगै चीन र सीमित अरू देशमा मात्रै संक्रमण रोकिने सम्भावना अब लगभग समाप्त भएको छ । नेपालमा पनि अब आउला कि भन्ने प्रश्नभन्दा आएको अवस्थामा कसरी जुध्ने भन्ने प्रश्न बढी सान्दर्भिक भइसकेको छ । उसो भए महामारी भित्रिएको अवस्था कत्तिको डरलाग्दो होला त ?


चीनमा सुरुका ४५ हजार बिरामीमा गरिएको अध्ययन अनुसार, कोभिड–१९ भाइरसको मृत्युदर २.३ प्रतिशतजति छ । त्यो यसअगाडिको सार्स (१० प्रतिशत) र मर्स (३० प्रतिशत) भन्दा कम हो, तर इन्फ्लुएन्जाकै अरू प्रजातिले गराउने मौसमी रुघाखोकी (बढीमा ०.१ प्रतिशत) भन्दा निकै बढी हो । स्पेनिस फ्लुको मृत्युदर पनि २.५ प्रतिशत हाराहारी मात्रै थियो । तर झन्डै ५० करोड मानिसलाई संक्रमित गरेकाले उक्त महामारीका कारण करोडौं मानिस मारिएका थिए । कोभिड–१९ को सबैभन्दा डरलाग्दो पक्षचाहिँं यसको तीव्र सर्ने क्षमता हो ।


व्यावहारिक रूपमा भन्दा, हाम्रो देशमा महामारी भित्रिएर ठूलो भूभागलाई प्रभावित गर्‍यो भने ३०० जना चिनारु हुने मानिसका छ वा त्योभन्दा बढी परिचितको मृत्यु हुन सक्नेछ । तीमध्ये सबैभन्दा बढी जोखिममा वृद्धवृद्धा र रोगप्रतिरोधी क्षमता कम भएका तथा धूमपान लगायतका कारण फोक्सो कमजोर भएका मानिसहरू हुनेछन् । तुलनात्मक रूपमा बच्चाहरू र ३० वर्षमुनिका युवामा संक्रमणका जटिलता कम हुने गरेको चीनमा हाल देखिएको छ ।


नेपालमा अझ केही साता ढिलो गरेर संक्रमण भित्रियो भने मौसम हाम्रा लागि अनुकूल हुन सक्नेछ, किनकि कोरोना भाइरसको फैलावट र जटिलता जाडोमा बढी हुने गर्छ । सन् १९१८ को वसन्त ऋतुमा सुरु भएको स्पेनिस फ्लु गर्मी र वर्षात्भर सुषुप्त रहेर हिउँदमा भीषण रूपमा फर्केसँगै संक्रमण र मृत्युदर चुलिएको थियो । यसपल्ट चीनले चिसोमा फैलिन भ्याएको संक्रमणको दुर्भाग्य भोगिसकेको छ । आधुनिक औषधि विज्ञानका कारण यो हिउँद छलिसकेका देशहरूले चाहिँ अर्को हिउँदसम्ममा महामारीको प्रतिरोध गर्ने क्षमता उल्लेख्य बढाउन सक्ने अपेक्षा गर्न सकिन्छ । नेपाल जस्तो अस्तव्यस्त स्वास्थ्य प्रणाली भएको देशले पनि कैयौं महिनाको तयारी गर्न पाए महामारीको क्षति कम हुन सक्नेछ ।


स्पेनिस फ्लुको भयावह पक्ष के पनि थियो भने, अध्येता जेफ्री टबेनबर्गरका अनुसार, मृत्यु हुनेमध्ये आधा मानिस २० देखि ४० वर्षसम्मका थिए । स्वस्थ युवाहरूमा गम्भीर जटिलता देखिने दर झन् धेरै थियो । महामारीको पहिलो वर्षमा अमेरिकाको सरदर आयु नै १२ वर्षले घटेको थियो । हालसम्म युवा जनसंख्यामा कोभिड–१९ को जटिलता र मृत्युदर कम छ । यसको डरलाग्दो पक्ष के छ भने, आधुनिक औषधि विज्ञानको यत्रो फड्कोका बावजुद भेन्टिलेटर जस्ता अत्याधुनिक सुविधा पाउने बिरामीहरूको मृत्युदर पनि उल्लेख्य छ । खास गरी युवा उमेरका त्यसमाथि स्वस्थ डाक्टर र स्वास्थ्यकर्मीहरूकै मृत्युले त्रास थपेको छ ।


नेपालमा सघन उपचार सेवाको ‘रिजर्भ’ शून्यप्राय: भएको र भेन्टिलेटर सेवा अत्यन्त न्यून संख्यामा रहेका कारण मृत्युदर चीन र अन्य विकसित मुलुकमा भन्दा बढी हुने सम्भावना छ । त्यस्तै अस्तव्यस्त सार्वजनिक यातायातका कारण रोग छिटो फैलिने र भौगोलिक कठिनाइका कारण समयमा बिरामीलाई अस्पताल पुर्‍याउन नसक्ने जस्ता समस्याहरू पनि छन् । सहरमा चाहिँं चर्को वायु प्रदूषणका कारण पहिल्यै एलर्जीजन्य समस्या देखिएका कम उमेरकै मानिसहरूमा पनि संक्रमणको जटिलता दर बढी हुने सम्भावना छ ।

के गर्ने र नगर्ने ?

महामारी सुरु भइहाल्नुअगाडि सुसूचित हुने, अफवाहहरूको पछाडि नलाग्ने । कति मदिराप्रेमीहरूबीच ‘रक्सीले कोरोनाबाट बचाउँछ’ भन्ने अफवाह अहिल्यै फैलिसकेको पाइन्छ । मानिसको डर जति बढ्दै जान्छ, त्यति नै सामाजिक सञ्जालमा ‘क्लिक’ र विज्ञापनको खेती गर्नेहरूले यस्ता अफवाहको बाढी ल्याउने निश्चित छ । महामारीबारे अद्यावधिक सूचनाका लागि विश्व स्वास्थ्य संगठनको आधिकारिक पृष्ठ हेर्नु उचित र पर्याप्त हुन्छ । महामारीबारे थप सूचना र जानकारीका लागि विश्वासिला स्वदेशी वा विदेशी सञ्चार माध्यम जुन हेरे पनि हुन्छ । अंग्रेजी माध्यमका विदेशी सञ्चार माध्यममध्ये बेलायतको ‘द गार्डियन’ ले यो महामारीको निकै विस्तारित र अद्यावधिक कभरेज गरिरहेको छ ।


यो समयमा ध्यान दिनुपर्ने अर्को कुरा भनेको बन्दोबस्ती हो, जसले चीनको हुवेईमा जस्तो यातायात निषेध भएको अवस्था झेल्न हामीलाई सघाउँछ । कस्तो बन्दोबस्ती गर्ने भन्नेमा विज्ञहरूको अनुभवसिद्ध मत छ । अन्नपात र पानीको जोहो केही महिनाका लागि गर्ने । मुटुरोग, मधुमेह र रक्तचाप लगायत नियमित खाइरहनुपर्ने औषधि पनि केही महिनाका लागि पुग्ने गरी किनिराख्ने । तर अनुहारको मास्क किनेर थुपार्नतिर चाहिँं नलाग्ने । त्यसो गर्दा अहिले नै देखिइसकेको मास्कको अभाव झन् भयावह हुन्छ । त्यो नभई नहुने स्वास्थ्यकर्मीहरू मास्कबाट वञ्चित हुन्छन् र महामारीको उपचार नै प्रभावित हुन्छ ।


बन्दोबस्तीपछिको दोस्रो काम हो— रोग पत्ता नलागिसकेको व्यक्तिबाट आफूलाई रोग सर्ने सम्भावनाको न्यूनीकरण । अहिले रोग फैलिरहेका भनिएका कुनै पनि देश नगएका र तिनबाट फर्केका कसैलाई नभेटेका अमेरिकीलाई क्यालिफोर्नियामा कोभिड–१९ को संक्रमण देखिएसँगै अहिले महामारीको त्रास झन् बढेको छ । अहिलेसम्म संक्रमण हुने र लक्षण देखिने समयबीचको अन्तर (इन्क्युबेसन पिरियड) १४ दिन मानिंँदै आएकामा २७ दिनपछि समेत लक्षण देखिएकाले पनि थप जटिलता उत्पन्न भएको छ । एक बिरामीलाई संक्रमण भएर निको भएर परीक्षणले नेगेटिभ देखाएको केही समयमा पुन: संक्रमण पोजिटिभ देखिएकाले कोरोना भाइरसबारे धेरै कुरा अझै जान्न बाँकी भएको पनि देखिन्छ ।


खास गरी संक्रमितहरूमध्ये ८० प्रतिशतमा सामान्य लक्षण मात्रै देखिने, तीमध्ये केहीलाई कुनै पनि लक्षण नदेखिन सक्ने हुँदा संक्रमण रोक्न अतिरिक्त सावधानी अनिवार्य छ । त्यसका लागि खास गरी सहरी क्षेत्रहरूमा हुने ठूला भेटघाट रोक्ने वा कम गर्ने, हात नमिलाउने, बारम्बार साबुनले हात धुने, सम्भव भएसम्म भीडभाड हुने साधनहरूमा यात्रा नगर्ने जस्ता उपायहरू अपनाउन सकिन्छ ।

यति गर्दागर्दै संक्रमण फैलिहाल्यो वा नजिकको मानिसलाई संक्रमण भइहाल्यो भने के गर्ने ? सावधानी बढाउने तर नआत्तिने । संक्रमण न्यूनीकरणको हरेक उपाय अपनाउने तर संक्रमितहरूलाई अवहेलना र दुरदुर नगर्ने । परिवारका वृद्धवृद्धा, दीर्घरोगी र फोक्सोको समस्या हुने सदस्यहरूको विशेष ख्याल राख्ने ।

सधैंका लागि के सिक्ने ?

पछिल्लो शताब्दीमा आधुनिक चिकित्साले निकै ठूलो फड्को मारेको छ । कोभिड–१९ लाई मार्ने औषधि वा रोक्ने भ्याक्सिन विकसित नभइसके पनि पहिले कहिल्यै नभएका सहायक उपचारविधि अहिले हामीसँग छन् । भाइरसपछि दोहोरो ब्याक्टेरियाको संक्रमण रोक्ने एन्टिबायोटिकदेखि श्वास–प्रश्वासमा फोक्सोलाई सघाउने भेन्टिलेटरहरूसम्मले यो महामारीको मृत्युदर कम गर्न चीनमा निकै मद्दत गरेका छन् । त्यसैले सस्तो र प्रभावकारी भ्याक्सिन नबन्दासम्मका लागि कुनै पनि देशले गर्नसक्ने अधिकतम काम भनेको स्वास्थ्य प्रणालीलाई मजबुत गरेर अस्पतालहरूलाई यस्ता संकट झेल्न सक्ने बनाउनु हो ।


खास गरी नेपालले ज्यानकै जोखिम मोलेर भाइरसविरुद्धको युद्धमा अग्रपंक्तिमा खडा हुने स्वास्थ्यकर्मीको पर्याप्तता, क्षमता विकास र उत्प्रेरणाको दिशामा धेरै काम गर्न बाँकी छ । चैत–वैशाखको गर्मीले हामीलाई तत्काल संक्रमणको ठूलो तरंगबाट बचाउन सक्यो भने खास गरी सघन उपचार क्षमता विस्तारमा ठूलो लगानी र मेहनत गर्नु आवश्यक छ । नागरिक स्तरबाट चाहिं कोभिड–१९ र यस्तै श्वास–प्रश्वासका महामारीसँग जुध्न समयमै सावधानी अपनाउने, अफवाहहरूको पछाडि नलाग्ने, धूमपान र प्रदूषण घटाउने जस्ता दीर्घकालीन उपाय अपनाउनु जरुरी छ । त्यसका लागि जीवनशैली परिवर्तनदेखि व्यवस्थित सहर विकाससम्ममा सबैको ध्यान पुग्नु जरुरी छ ।


चौतर्फी महामारीबारे समाचार सुन्दा अत्यधिक त्रास र निराशा भयो भने चित्त बुझाउन इतिहासकै भयानक महामारीलाई याद गरे हुन्छ— चौधौं शताब्दीको महाप्लेग वा ‘ब्ल्याक डेथ’ भनिने महामारीका कारण युरोपको ३० देखि ६० प्रतिशतसम्म जनसंख्या सखाप भएको थियो र युरोपको जनसंख्या फेरि उत्ति पुग्न अरू दुई सय वर्ष लागेको थियो ।

प्रकाशित : फाल्गुन २१, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?