विषाक्त खानाको उपहार 

नेपालमा प्रत्येक वर्ष २०० टनभन्दा बढी विषादी आयात हुन्छ ।
कृष्णप्रसाद पौडेल

हाम्रो असफलताको जग हामीले सात दशकयता बिराएको बाटो हो । यो बाटो फेर्ने आँट नेतृत्वले गर्नुपर्ने हो तर अहिलेको मूल प्रवाहको राजनीतिक नेतृत्व, यसका आसेपासे यसका लागि अझै तयार छैनन् । नेपाली समाजको आधारभूत तहले यस्तो निकम्मा प्रवृत्तिविरुद्ध वितृष्णा र कुण्ठा त पालेको छ तर भेडालाई भालुले खायो भनेर धेरै पटक छलिएका नेपाली फेरि भालु आयो भनेर पत्याउन तयार छैनन् ।

विषाक्त खानाको उपहार 

सँगै यो भन्ने केटोको प्रवृत्ति फेरिएको छ भन्ने उनीहरूलाई लागेकै छैन । उनीहरूले कसरी पत्याऊन् पनि, चार दशकसम्म बारम्बार यही भालुको कथा सुनेका छन् ! अहिले हेर्दा भेडा हेर्ने गोठाला नै भालु बनेका छन् तर यसका भुक्तभोगी उनीहरूसँग अझै आक्रोश पलाएको छैन । यस्तो आँट बढाउन सघाउनुपर्ने उत्साहित युवा जमात अहिले पनि कुहिराको कागजस्तै अलमलिएको छ, वारि कि पारि भन्ने द्विविधामा अल्झेको छ ।


नेपाली समाज अन्य समाज र प्रकृतिजस्तै विविध र विशेष छ । यसको मूल मर्म आत्मसात् गर्न नसकेसम्म यसका आधारभूत आयाममा फेरबदल गर्न सकिँदैन । उदाहरणका लागि जीवन ऊर्जाका लागि आवश्यक खाद्यवस्तु उत्पादन गर्न अहिले अपनाइएको कृषि प्रणाली मुख्यतः रसायन र विषादीमा आधारित छ । यो प्रणाली अपनाउँदा उत्पादन बढाउने नाममा कृत्रिम रसायन, यसैमा आधारित विषादी, कृत्रिम हर्मोन र नसड्ने प्लास्टिकको प्रयोगले माटो, पानी र हावा मात्र विषाक्त भएका छैनन्, मानवीय ऊर्जाको मूल स्रोत खानेकुरा विषाक्त बनाउँदै मानव स्वास्थ्यमा गम्भीर संकट निम्त्याएको छ । यसले पर्यावरणीय सन्तुलन बिगारिरहेको छ, मानवीय अस्तित्वको आधारशिला समग्र प्रकृतिको संरचना र प्रणालीलाई निरन्तर खण्डित गरिरहेको छ । माटाको सूक्ष्म जीवनचक्र तहसनहस हुँदै छ अनि प्रकृति र मानव शरीरको अभिन्न अंग सूक्ष्म जीवाणुको वंशनाश हुँदै छ ।


बाह्य आक्रमणबाट जोगिन औषधि गर्ने चलन छाडेर आफनै जीवनमाथि खेलबाड गर्ने विषको प्रयोग गर्न मानिसले कसरी सिक्यो र यसले यिनमा शारीरिक र मानसिक समस्या निम्त्यायो भन्न अब धेरै अनुसन्धान गर्नै पर्दैन । हाम्रा वरिपरिकै प्रवृत्ति हेरे पुग्छ, जुन अधिकांशतः विषाक्त छन् ।


मानव सभ्यताको यो कलंक थाहा पाउन अलिकति पछाडि फर्किनुपर्ने हुन्छ । दोस्रो विश्वयुद्धभन्दा पहिल्यै नाजी साम्राज्यका बेला अन्य मुलुकबाट गरिने खाद्य आयात घटाउने रणनीतिअन्तर्गत जर्मनीले रोग किरा नियन्त्रण गर्ने उपाय खोज्न युरोपको सबैभन्दा ठूलो औषधि कम्पनी जी फार्वेनलाई लगायो । यो कम्पनीमा कार्यरत रसायनविद् गेर्हार्ड स्रोडरलाई यो कामको जिम्मा थियो । उनी डिसेम्बर १९३६ कमा फस्फोरस र साइनाइड मिलाएर एउटा विषालु यौगिक बनाउन सफल भए, जसले किरा मात्र हैन, सानाठूला जनावर पनि मार्न सक्थ्यो । त्यसैले यो विषादी किरा मार्न त प्रयोग भएन तर नरसंहारका लागि उपयोग गर्न सकिने पुष्टि भएकाले मानव इतिहास नै कलंकित बन्यो तर पहिलो र दोस्रो विश्वयुद्धमा शत्रु मार्न बनाइएका यी विषालु कृत्रिम रसायन युद्ध सकिएसँगै खेतीपातीको अभिन्न अंग बन्न पुगे । त्यसपछिका दिनमा कृषि क्षेत्र विषादीको रणभूमि बन्दै अहिले प्रकृति र मानव संकटको कारक भएको छ ।


कृत्रिम रसायन र विषादी एक किसिमले किसानलाई अन्नपात धेरै फलाउन भन्दै तथाकथित कृषि वैज्ञानिक र व्यापारीहरूले दिएको विश्वयुद्ध समापनको उपहार थियो, जसका कारण अहिले माटो, मानिस र पर्यावरण प्रदूषण बढेको छ । यसपछि निम्त्याएको विध्वंसको बयान यो सानो लेखमा समेट्न सकिन्न । थप केही चर्चा भने गरौँ ।


थायोडान भनेर चिनिने इन्डोसल्फान नामक विषादी सन् १९५४ देखि खेतीपातीमा प्रयोग गर्न थालियो । यो घातक विषादीले भारतको केरलामा मात्र ५ हजारभन्दा बढी मानिसलाई शारीरिक–मानसिक रूपमा अपांग बनायो । १९७२ मा प्रतिबन्ध लगाइएको यो विष अफ्रिका र एसियामा मात्र पठाउन अमेरिकामा अहिले पनि उत्पादन भइरहेको छ ।


अहिले खेतबारीमा प्रयोग हुने विषादी रोगकिरानाशक, कीटनाशक, झारनाशक र ढुसीनाशक गरी मुख्यतः चार खालका छन् । विश्व पर्यावरण प्रतिवेदन–२०१९ अनुसार संसारभरि गत वर्ष २५ लाख ५० हजार टन विषादी खेतीपातीमा प्रयोग भएको छ । यसरी रोग तथा किरा नियन्त्रण गर्न प्रयोग गरिने विषादीमध्ये ९८ प्रतिशतले हावा, पानी र माटो प्रदूषित गर्छन् । ६ ठूला कम्पनीले संसारको ७५ प्रतिशत विषादी उत्पादन गर्छन् ।


खाना मानव जीवनको अपरिहार्य तत्त्व हो, जसबिना हाम्रो अस्तित्वको कल्पनासम्म गर्न सकिँदैन । यो स्वच्छ र मिसावटरहित नभए हाम्रो शरीरमा अनेक खराबी देखा पर्छन् । यसै सन्दर्भमा एउटा मननीय भनाइसमेत छ— खानालाई औषधिका रूपमा सेवन गर, अन्यथा औषधि नै खानाका रूपमा खानुपर्छ तर अहिले खाइरहेको वस्तुले हामीलाई हित गरिरहेको छ कि हानि ? हामीले दैनिक प्रयोग गर्ने खानेकुराले औषधिका रूपमा काम गरिरहेको छ कि विषको ? यो उत्तिकै मननीय प्रश्न हो ।


नेपालमा विषादी र रसायन प्रयोगको इतिहास त्यति पुरानो त छैन तर खेतीपातीमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरन्तर बढ्दो छ । हाल नेपालमा १२० प्रकारका विषादी ६५० भन्दा बढी ट्रेडमार्कका माध्यमले बिक्री हुन्छन् । नेपालमा प्रत्येक वर्ष २०० टनभन्दा बढी विषादी आयात हुन्छ । यस्तो हुनुमा विषाक्त खानाले अर्धचेत नेतृत्व जिम्मेवार छ । दृष्टान्त ताजै छ । भारतीय तरकारी र फलफूलको नाकाबन्दीसँगै भान्सामा भित्रिएको विषादी बहसको परकम्प अझै सकिएको छैन । राष्ट्रवादीले दक्षिण छिमेकीलाई धारेहात लगाए, सरकारले भान्सामा विषको अनुमोदन गर्‍यो ।


प्रधानमन्त्रीदेखि सचिवसम्मले दोष सार्दै गए । सर्वोच्च अदालतले सरकारले विष खुवाउन नपाउने फैसला नै सुनायो । हुन त आयातित तरकारी र फलफूल विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुगिरहेकै थिए । यो घटनाले थप दुइटा कुराको परीक्षण भयो । पहिलो, भारतीय सरकारका अगाडि यो सरकारको राष्ट्रवादी हैसियत थाहा भयो । दोस्रो, सरकारले नै हामीलाई यस्तो विष खान बाध्य बनाउने रहेछ भनी थप केही मानिसलाई थाहा भयो साथै यस प्रसंगले नेपालको कूटनीतिक हैसियत, भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीको हैकमसमेत उजागर भयो । विभिन्न भारतीय टोलीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगित गर्न दबाब दिएबाट पनि यो कुराको पुष्टि हुन्छ ।


विषादी परिक्षणबिनै तरकारी र फलफूल खानाले लाखौं नेपालीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । यो कुरा जान्दाजान्दै सरकारले आफ्ना नागरिकको स्वास्थ्यभन्दा भारतको दबाबलाई महत्त्व दिएर विषादी परिक्षण रोक्ने निर्णय गर्‍यो ।


आफ्नो स्वास्थ्यप्रति सजग हुँदै हिमाली झरनाको तल बसेर पानीसमेत बाहिरबाट किनेर पिउनेहरूकै निर्णयमा विषादी परीक्षणबिनै फलफूल र तरकारी निर्बाध ल्याउन छुट दिनु विषाक्त मनोवृत्तिको पराकाष्ठा हो । नागरिकको स्वास्थ्यप्रति यस्तो खेलबाड गर्नु जघन्य सामाजिक अपराध हो । यसका लागि लज्जाबोध नहुनु महाराजा अहंकारको बलियो उदाहरण हो ।


सामाजिक सञ्जालमा छरपस्ट भएका समाचारले रसायन र विषादीको प्रभाव, असर र यससँग जोडिएका मूल्यमान्यतालाई थप उजागर गर्न मद्दत पुर्‍याएका छन् । सामान्य रूपमा अहिले विष पचाउने सामर्थ्य भएका र नभएका समूहको मनोवैज्ञानिक विभाजन भएको छ, जुन सबैतिर देखिँदै छ । यसलाई हामी फेरिने आँटको शुभसंकेत बनाऔं । कृत्रिम रसायन र विषादीले एकोहोरो बनाएको जीवन पद्धतिमा सजिलै फेरबदल ल्याउनु आफैंमा कठिन कार्य हो । शरीर, मस्तिष्क र मन सबै यस्ता रसायन र विषादीमा अभ्यस्त भइसकेका छन् ।


मूल प्रवाहको समाज, बजार र राज्यको व्यवहार पनि यिनै रसायन र विषादीमा आधारित जीवन पद्धतिकै पक्षमा छन् । विष सजिलै पचाउने समूह, यस्तो विषको कमाइ खान पल्केको समूह र यिनका बिचौलियाले अलिकति विष खाएर केही फरक नपर्ने भन्दै रासायनिक विष नभए खान नपाएर भोकै मर्ने जिकिर गर्ने गरेका छन् । अहिले पनि धेरै बुझक्कड यसैमा झुक्किएका छन् । हुन त बेलाबेला यस्ता रसायन र विषादीका असर र प्रभावबारे चर्चा–परिचर्चा गर्नेहरूले या अस्पतालमा नसर्ने दीर्घरोगको मेला देख्नेले या आफैं पीडित भएकाहरूले यसबारे चेतना र चासो बढाउनु बेग्लै कुरा हो तर यसको प्रभावले आक्रान्त समाज र प्रकृति जोगाउने दायित्व भने हामी सबैको हो ।

प्रकाशित : फाल्गुन १८, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?