कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पुनर्लिखित चकलेट

उज्ज्वल प्रसाई

आख्यानकार नयनराज पाण्डेको ‘चकलेट’ शीर्षक रोचक कथा छ । काठमाडौंको स्थायी बासिन्दा बनेका मन्त्री आफ्नो स्वकीय सचिवसहित जन्मगाउँ जान्छन् । गाउँ पुग्ने बाटामा पजेरो गुड्दैन । धेरै वर्षपछि गाउँ फर्केका उनले गाउँको बाटो भुलिसकेका हुन्छन् । कहिले कुन वडा, कहिले कुन टोल पस्दै उनको समय बित्छ ।

पुनर्लिखित चकलेट

पुर्ख्यौली घर नपुग्दै मन्त्रीलाई थकाइ लाग्छ । एकसाथ पजेरो, वातानुकूलित कार्यालय, सहायक मन्त्रीले गरिरहेको कमिसनको मोलमोलाइ इत्यादि सम्झेर घर नपुग्दै काठमाडौं फर्कने हतारो जाग्छ । गाउँको धूलेबाटामा पैदल फर्कंदा उनले गोजीमा बोकेका चकलेट गाउँले केटाकेटीलाई बाँड्छन् । कथा सकिन्छ ।


साहित्यमा उत्तरआधुनिक प्रयोगमार्फत पुराना कथा पुनर्लेखन गर्ने चलन छ । आख्यानकार पाण्डेसँग अनुमति नमागेरै नेपाली राजनीतिले उनको कथालाई पुनर्लेखन गरिदिएको छ । सम्भवत: पुनर्लिखित कथाको शीर्षक ‘बर्थडे केक’ हुनेछ । पुनर्लेखनमा प्रयोग भएको व्यवहारवादी उत्तरआधुनिकताबारे समालोचनाका शोधार्थीले बिस्तारै अनुसन्धान गर्लान् । विश्वविद्यालयका साहित्य र भाषा विभागले अनुसन्धानका लागि एउटा नयाँ प्रयोग पाएका छन् । प्रयोगधर्मी आख्यानकार ध्रुवचन्द्र गौतमका उपन्यासमा गरिएका भन्दा यो बृहत् तर भिन्न भएकाले शोध आफैमा रोचक हुनसक्छ ।


पुनर्लिखित कथामा काठमाडौंका मन्त्री गाउँ पुगे, जुत्तासहित हेलिकप्टर चढेर । गाउँ पुगेर गोजीमा बोकेका चकलेट होइन, अत्याधुनिक भतेरको व्यवस्था गरेर केटाकेटी, वयस्क र बूढाबूढीलाई ‘थाली’ खुवाए । जन्मघर पुग्ने अवसर मन्त्रीको आफ्नै जन्मोत्सव थियो । खस नेपाली भाषाका जटिल शब्दको राम्रो उच्चारण गर्न नजान्ने गैरखस नेपालीभाषी केटाकेटी ‘मन्त्रीको जन्मशोक’ मनाउन हिँडेको भन्दै ट्र्याक्टर चढे । गाउँपालिकाले बिदा घोषणा गरेकाले उनीहरू अतिरिक्त हर्षित थिए । पुरानो कथामा भन्दा फरक, केटाकेटीले मन्त्रीको तस्बिरअंकित खाता र कलम पाए । बूढाबूढीले गलबन्दी र टोपी ।


पुनर्लिखित कथामा काठमाडौंका व्यापारीले हेलिकप्टरमा उडाएर लगेको यामानको ‘बर्थडे केक’ थियो । मन्त्रीका निकटतम ती व्यापारीले ‘बर्थडे केक’ को रूपाकृति मन्त्रीकै विचारधारा अनुरूप बनाउन लगाएका थिए । आफ्ना निकटतम व्यापारी, स्वकीय सचिव, सल्लाहकार एवं विज्ञसमेतको योजनामा मन्त्री गाउँ पुगेका थिए । नयनराजको कथामा जस्तो मन्त्री गाउँको बाटामा अलमलिने सम्भावना थिएन । त्यसैले योजना अनुसारको बाटोबाट निर्दिष्ट गन्तव्यमा पुगे, योजना मुताबिकको काम फत्ते गरे अनि बासस्थान फर्के । पुरानो कथाबाट पुनर्लिखित यो आख्यानमा जस्ताको तस्तै साभार गर्न सकिने आधा वाक्य यस्तो छ, ‘गाउँमा धेरै समय खेर फाल्नुभन्दा देश फर्कनु बेस ।’

गाउँमा ‘जन्मशोक’ मनाएर समयमै ‘देश’ फर्केका मन्त्रीले लगत्तै दुई गम्भीर वाक्य बोले । एक, ‘रियाक्सनरी एलिमेन्ट’ ले सरकारको बदनामी गर्न खोजिरहेका छन् । दुई, पार्टी सचिवालयका केही नेता व्यापारीको प्रभावमा परेर सरकार ढाल्ने षड्यन्त्र रच्दै छन् । यी दुई वाक्यको अर्थ उक्काउन, अन्तर्यमा छिपेको गम्भीरता पर्गेल्न र तिनको प्रभाव बुझ्न समय लाग्छ । मन्त्रीमध्ये पनि प्रधान भएकाले उनले बोलेका वाक्य अर्थहीन ठट्टा हुँदैनन् । अर्थका पत्र उक्काउँदै कथाको पुनर्लेखन गर्ने क्रम जारी छ । समय एवं स्थान अभावका कारण अहिलेलाई कथाले लिएको पछिल्लो मोडमा अडिनु ठीक हुन्छ ।


‘चकलेट’ कथामा मन्त्रीका गोजीमा अटेका करिब एक दर्जन चकलेटको आर्थिक स्रोतमा पाठकको ध्यानाकर्षण हुँदैन । कारण, एक दर्जन मिठाइको हिसाब कुनै हिसाब नै होइन । पक्की सडकसम्म पुगेको पजेरोमा पनि उति ध्यानदृष्टि अड्दैन, किनभने त्यो अति सामान्य घटनाका रूपमा नेपाली पाठकको मस्तिष्कमा छापिइसकेको तथ्य हो । यस्ता स–साना घटनाभन्दा सिंगो कथाको प्रभावबारे नेपाली पाठकले गम खाए । खास गरी प्रजातन्त्र कालमा काठमाडौंका नेता र गाउँको यथार्थबीच बढेको दूरी नै पाठकको मनमा गढ्यो । त्यो दूरी मेट्ने प्रयत्न कसैले गरे क्रान्तिमा सघाउ पुर्‍याउने मनसुबा राखेर कथालाई संग्रहमै रहन दिए ।


पुनर्लिखित कथाका भने सबैजसो स–साना घटनाले सामान्य पाठकको ध्यानाकृष्ट गरे । गाउँ पुगेका हेलिकप्टर कति थिए ? ‘थाली’ को संख्या कति थियो ? केटाकेटीलाई बाँडिएका खाता र कलम कति थान थिए र गुणस्तर कस्तो थियो ? गाउँपालिकाले सार्वजनिक बिदा घोषणा कसरी गर्‍यो ? विचारधारा अनुरूपको केक बनाउने कलाकार को होला ? एक थरी पाठक विचारधाराको कोण–प्रतिकोणसँग केक कति मिल्दोजुल्दो छ भनेर लेखाजोखा गर्न थाले । एकातिर च्याब्रुङ नृत्य, अर्कातिर हिन्दु धार्मिक रीत अनुसार स्वस्तिवाचन, यो बहुल ‘सत्य’ हरूको गठजोड पनि कौतूहलको विषय बन्यो । पुनर्लिखित कथाका पानामा यी मसिना प्रश्नले अनेक नृत्य देखाएका कारण सामान्य पाठकलाई कथाको उत्तरआधुनिक प्रयोग जटिल लाग्यो ।


पाठकमध्ये सर्जक–मति भएकाहरू कथामा अप्रकट उपकथाको खोजी गरिरहेका हुन सक्छन् । केही पृष्ठको छोटो कथाको पुनर्लेखनमार्फत खासमा महाख्यान नै रचिएको बुज्रुग पाठकले महसुस गरे । महाख्यानलाई समग्रतामा बुझ्न खोज्नेका मनमा मूलत: दुई प्रश्न उठेका छन् । पहिलो प्रश्न महाख्यानको आर्थिक आयाममा केन्द्रित छ । दोस्रो प्रश्न महाख्यानको असली रचयिताको अनुमानमा आधारित छ ।


आर्थिक प्रश्न यस्ता छन्— ‘बर्थडे केक’ बनाउन लगाउने व्यापारी को हुन् ? उत्सव आयोजनाको खर्च कसले बेहोर्‍यो ? मन्त्री–नेतृत्वको सरकारले वा मन्त्रीको निजी कोषले ? सरकारी कोष हो भने कस्तो प्रक्रियामार्फत यो आयोजना गरियो ? निजी कोष हो भने त्यत्रो स्रोत जुटाउने उद्यम के हो ? केक बनाउन लगाउने व्यापारी र मन्त्रीको निजी कोषमा लगानी गर्ने व्यापारी एकै हुन् वा भिन्न छन् ? आर्थिक महत्त्वका प्रश्न यतिमै सकिँदैनन् । कारण, ‘देश’ फर्केपछि प्रधानमन्त्रीले बोलेका वाक्यमा तीन मुख्य पात्र छन्, ‘प्रतिक्रियावादी तत्त्व’, व्यापारी र नेता । ती प्रतिक्रियावादी तत्त्वमा व्यापारी पर्छन् कि पर्दैनन् ? पर्छन् भने ती को हुन् ? कस्ता व्यापारी हुन् ? केक बनाउन लगाउने व्यापारीबाहेक सबै प्रतिक्रियावादी हुन् ? कोही व्यापारी प्रतिक्रियावादी हुने र कोही प्रगतिशील हुने आधार र दायरा के होलान् ? प्रबुद्ध पाठकको लखकटाइ अद्यापि चलिरहेको छ ।


महाख्यानबारे गम्भीरतापूर्वक सोचिरहने पाठकका मनमा उठेको अन्तिम र सर्वाधिक महत्त्वको प्रश्न असली रचयिताको पहिचानसँग सम्बन्धित छ । सतहमा नेपाली राजनीतिलाई नै महाख्यानको मूल सर्जक मानिएको छ । सो बुझाइलाई अझ मूर्त रूप दिँदै, केही पाठक सोच्छन्— यो आख्यानको नायक नै यसका सर्जक हुन् । अर्थात्, आख्यानका सबै अवयव भएको मन्त्रीको आत्मकथा हो यो । तर, यस्तो निर्क्योलमा सबैको सहमति छैन, किनभने पात्रको ‘स्व’ बोधमा अति नाटकीयता छ । अति नाटकीयताले गहिरो सन्देह उब्जाएको छ ।


नयनराजको कलममार्फत लेखिएका ती नायक आखिर प्रजातन्त्रकालका राजनीतिक नेता नै त हुन् । गोजीमा चकलेट बोकेर गाउँ पुगेका ती नायक र उनका स्वकीय सचिवमा अति नाटकीयता छैन । आखिर उनको कथा पनि नेपाली राजनीति नै त हो । त्यसो भए मूलकथा र नयाँ कथामा यति धेरै फरक कसरी ? पुनर्लिखित कथामा उत्तरआधुनिक प्रयोग गरिएका कारण यसका सर्जक बहुल हुन सक्छन् । सतहमा देखिएको नेपाली राजनीतिका पनि सुपर–सर्जकहरू अरू हुन सक्छन् । नेपथ्यमा बसेर ‘फिक्सन डिजाइन’ गरिरहेका ती बहुल सर्जकहरू आखिर को हुन् ?


प्रबुद्ध पाठकका मनमा प्रश्न छ— के ती नेपथ्यका सर्जकहरू व्यापारी हुन् ? प्रगतिशील पनि तिनै र प्रतिक्रियावादी पनि तिनै ? त्यसो भए के राजनीतिक समीकरण भत्काउने र बनाउने, सुल्झाउने र जटिल बनाइदिने सबै तिनै हुन्, जसले नेपाली राजनीतिमा ‘चकलेट’ को पुनर्लेखन गरिरहन्छन् ?

प्रकाशित : फाल्गुन १६, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?