पुनर्लिखित चकलेट

उज्ज्वल प्रसाईं

आख्यानकार नयनराज पाण्डेको ‘चकलेट’ शीर्षक रोचक कथा छ । काठमाडौंको स्थायी बासिन्दा बनेका मन्त्री आफ्नो स्वकीय सचिवसहित जन्मगाउँ जान्छन् । गाउँ पुग्ने बाटामा पजेरो गुड्दैन । धेरै वर्षपछि गाउँ फर्केका उनले गाउँको बाटो भुलिसकेका हुन्छन् । कहिले कुन वडा, कहिले कुन टोल पस्दै उनको समय बित्छ ।

पुर्ख्यौली घर नपुग्दै मन्त्रीलाई थकाइ लाग्छ । एकसाथ पजेरो, वातानुकूलित कार्यालय, सहायक मन्त्रीले गरिरहेको कमिसनको मोलमोलाइ इत्यादि सम्झेर घर नपुग्दै काठमाडौं फर्कने हतारो जाग्छ । गाउँको धूलेबाटामा पैदल फर्कंदा उनले गोजीमा बोकेका चकलेट गाउँले केटाकेटीलाई बाँड्छन् । कथा सकिन्छ ।


साहित्यमा उत्तरआधुनिक प्रयोगमार्फत पुराना कथा पुनर्लेखन गर्ने चलन छ । आख्यानकार पाण्डेसँग अनुमति नमागेरै नेपाली राजनीतिले उनको कथालाई पुनर्लेखन गरिदिएको छ । सम्भवत: पुनर्लिखित कथाको शीर्षक ‘बर्थडे केक’ हुनेछ । पुनर्लेखनमा प्रयोग भएको व्यवहारवादी उत्तरआधुनिकताबारे समालोचनाका शोधार्थीले बिस्तारै अनुसन्धान गर्लान् । विश्वविद्यालयका साहित्य र भाषा विभागले अनुसन्धानका लागि एउटा नयाँ प्रयोग पाएका छन् । प्रयोगधर्मी आख्यानकार ध्रुवचन्द्र गौतमका उपन्यासमा गरिएका भन्दा यो बृहत् तर भिन्न भएकाले शोध आफैमा रोचक हुनसक्छ ।


पुनर्लिखित कथामा काठमाडौंका मन्त्री गाउँ पुगे, जुत्तासहित हेलिकप्टर चढेर । गाउँ पुगेर गोजीमा बोकेका चकलेट होइन, अत्याधुनिक भतेरको व्यवस्था गरेर केटाकेटी, वयस्क र बूढाबूढीलाई ‘थाली’ खुवाए । जन्मघर पुग्ने अवसर मन्त्रीको आफ्नै जन्मोत्सव थियो । खस नेपाली भाषाका जटिल शब्दको राम्रो उच्चारण गर्न नजान्ने गैरखस नेपालीभाषी केटाकेटी ‘मन्त्रीको जन्मशोक’ मनाउन हिँडेको भन्दै ट्र्याक्टर चढे । गाउँपालिकाले बिदा घोषणा गरेकाले उनीहरू अतिरिक्त हर्षित थिए । पुरानो कथामा भन्दा फरक, केटाकेटीले मन्त्रीको तस्बिरअंकित खाता र कलम पाए । बूढाबूढीले गलबन्दी र टोपी ।


पुनर्लिखित कथामा काठमाडौंका व्यापारीले हेलिकप्टरमा उडाएर लगेको यामानको ‘बर्थडे केक’ थियो । मन्त्रीका निकटतम ती व्यापारीले ‘बर्थडे केक’ को रूपाकृति मन्त्रीकै विचारधारा अनुरूप बनाउन लगाएका थिए । आफ्ना निकटतम व्यापारी, स्वकीय सचिव, सल्लाहकार एवं विज्ञसमेतको योजनामा मन्त्री गाउँ पुगेका थिए । नयनराजको कथामा जस्तो मन्त्री गाउँको बाटामा अलमलिने सम्भावना थिएन । त्यसैले योजना अनुसारको बाटोबाट निर्दिष्ट गन्तव्यमा पुगे, योजना मुताबिकको काम फत्ते गरे अनि बासस्थान फर्के । पुरानो कथाबाट पुनर्लिखित यो आख्यानमा जस्ताको तस्तै साभार गर्न सकिने आधा वाक्य यस्तो छ, ‘गाउँमा धेरै समय खेर फाल्नुभन्दा देश फर्कनु बेस ।’

गाउँमा ‘जन्मशोक’ मनाएर समयमै ‘देश’ फर्केका मन्त्रीले लगत्तै दुई गम्भीर वाक्य बोले । एक, ‘रियाक्सनरी एलिमेन्ट’ ले सरकारको बदनामी गर्न खोजिरहेका छन् । दुई, पार्टी सचिवालयका केही नेता व्यापारीको प्रभावमा परेर सरकार ढाल्ने षड्यन्त्र रच्दै छन् । यी दुई वाक्यको अर्थ उक्काउन, अन्तर्यमा छिपेको गम्भीरता पर्गेल्न र तिनको प्रभाव बुझ्न समय लाग्छ । मन्त्रीमध्ये पनि प्रधान भएकाले उनले बोलेका वाक्य अर्थहीन ठट्टा हुँदैनन् । अर्थका पत्र उक्काउँदै कथाको पुनर्लेखन गर्ने क्रम जारी छ । समय एवं स्थान अभावका कारण अहिलेलाई कथाले लिएको पछिल्लो मोडमा अडिनु ठीक हुन्छ ।


‘चकलेट’ कथामा मन्त्रीका गोजीमा अटेका करिब एक दर्जन चकलेटको आर्थिक स्रोतमा पाठकको ध्यानाकर्षण हुँदैन । कारण, एक दर्जन मिठाइको हिसाब कुनै हिसाब नै होइन । पक्की सडकसम्म पुगेको पजेरोमा पनि उति ध्यानदृष्टि अड्दैन, किनभने त्यो अति सामान्य घटनाका रूपमा नेपाली पाठकको मस्तिष्कमा छापिइसकेको तथ्य हो । यस्ता स–साना घटनाभन्दा सिंगो कथाको प्रभावबारे नेपाली पाठकले गम खाए । खास गरी प्रजातन्त्र कालमा काठमाडौंका नेता र गाउँको यथार्थबीच बढेको दूरी नै पाठकको मनमा गढ्यो । त्यो दूरी मेट्ने प्रयत्न कसैले गरे क्रान्तिमा सघाउ पुर्‍याउने मनसुबा राखेर कथालाई संग्रहमै रहन दिए ।


पुनर्लिखित कथाका भने सबैजसो स–साना घटनाले सामान्य पाठकको ध्यानाकृष्ट गरे । गाउँ पुगेका हेलिकप्टर कति थिए ? ‘थाली’ को संख्या कति थियो ? केटाकेटीलाई बाँडिएका खाता र कलम कति थान थिए र गुणस्तर कस्तो थियो ? गाउँपालिकाले सार्वजनिक बिदा घोषणा कसरी गर्‍यो ? विचारधारा अनुरूपको केक बनाउने कलाकार को होला ? एक थरी पाठक विचारधाराको कोण–प्रतिकोणसँग केक कति मिल्दोजुल्दो छ भनेर लेखाजोखा गर्न थाले । एकातिर च्याब्रुङ नृत्य, अर्कातिर हिन्दु धार्मिक रीत अनुसार स्वस्तिवाचन, यो बहुल ‘सत्य’ हरूको गठजोड पनि कौतूहलको विषय बन्यो । पुनर्लिखित कथाका पानामा यी मसिना प्रश्नले अनेक नृत्य देखाएका कारण सामान्य पाठकलाई कथाको उत्तरआधुनिक प्रयोग जटिल लाग्यो ।


पाठकमध्ये सर्जक–मति भएकाहरू कथामा अप्रकट उपकथाको खोजी गरिरहेका हुन सक्छन् । केही पृष्ठको छोटो कथाको पुनर्लेखनमार्फत खासमा महाख्यान नै रचिएको बुज्रुग पाठकले महसुस गरे । महाख्यानलाई समग्रतामा बुझ्न खोज्नेका मनमा मूलत: दुई प्रश्न उठेका छन् । पहिलो प्रश्न महाख्यानको आर्थिक आयाममा केन्द्रित छ । दोस्रो प्रश्न महाख्यानको असली रचयिताको अनुमानमा आधारित छ ।


आर्थिक प्रश्न यस्ता छन्— ‘बर्थडे केक’ बनाउन लगाउने व्यापारी को हुन् ? उत्सव आयोजनाको खर्च कसले बेहोर्‍यो ? मन्त्री–नेतृत्वको सरकारले वा मन्त्रीको निजी कोषले ? सरकारी कोष हो भने कस्तो प्रक्रियामार्फत यो आयोजना गरियो ? निजी कोष हो भने त्यत्रो स्रोत जुटाउने उद्यम के हो ? केक बनाउन लगाउने व्यापारी र मन्त्रीको निजी कोषमा लगानी गर्ने व्यापारी एकै हुन् वा भिन्न छन् ? आर्थिक महत्त्वका प्रश्न यतिमै सकिँदैनन् । कारण, ‘देश’ फर्केपछि प्रधानमन्त्रीले बोलेका वाक्यमा तीन मुख्य पात्र छन्, ‘प्रतिक्रियावादी तत्त्व’, व्यापारी र नेता । ती प्रतिक्रियावादी तत्त्वमा व्यापारी पर्छन् कि पर्दैनन् ? पर्छन् भने ती को हुन् ? कस्ता व्यापारी हुन् ? केक बनाउन लगाउने व्यापारीबाहेक सबै प्रतिक्रियावादी हुन् ? कोही व्यापारी प्रतिक्रियावादी हुने र कोही प्रगतिशील हुने आधार र दायरा के होलान् ? प्रबुद्ध पाठकको लखकटाइ अद्यापि चलिरहेको छ ।


महाख्यानबारे गम्भीरतापूर्वक सोचिरहने पाठकका मनमा उठेको अन्तिम र सर्वाधिक महत्त्वको प्रश्न असली रचयिताको पहिचानसँग सम्बन्धित छ । सतहमा नेपाली राजनीतिलाई नै महाख्यानको मूल सर्जक मानिएको छ । सो बुझाइलाई अझ मूर्त रूप दिँदै, केही पाठक सोच्छन्— यो आख्यानको नायक नै यसका सर्जक हुन् । अर्थात्, आख्यानका सबै अवयव भएको मन्त्रीको आत्मकथा हो यो । तर, यस्तो निर्क्योलमा सबैको सहमति छैन, किनभने पात्रको ‘स्व’ बोधमा अति नाटकीयता छ । अति नाटकीयताले गहिरो सन्देह उब्जाएको छ ।


नयनराजको कलममार्फत लेखिएका ती नायक आखिर प्रजातन्त्रकालका राजनीतिक नेता नै त हुन् । गोजीमा चकलेट बोकेर गाउँ पुगेका ती नायक र उनका स्वकीय सचिवमा अति नाटकीयता छैन । आखिर उनको कथा पनि नेपाली राजनीति नै त हो । त्यसो भए मूलकथा र नयाँ कथामा यति धेरै फरक कसरी ? पुनर्लिखित कथामा उत्तरआधुनिक प्रयोग गरिएका कारण यसका सर्जक बहुल हुन सक्छन् । सतहमा देखिएको नेपाली राजनीतिका पनि सुपर–सर्जकहरू अरू हुन सक्छन् । नेपथ्यमा बसेर ‘फिक्सन डिजाइन’ गरिरहेका ती बहुल सर्जकहरू आखिर को हुन् ?


प्रबुद्ध पाठकका मनमा प्रश्न छ— के ती नेपथ्यका सर्जकहरू व्यापारी हुन् ? प्रगतिशील पनि तिनै र प्रतिक्रियावादी पनि तिनै ? त्यसो भए के राजनीतिक समीकरण भत्काउने र बनाउने, सुल्झाउने र जटिल बनाइदिने सबै तिनै हुन्, जसले नेपाली राजनीतिमा ‘चकलेट’ को पुनर्लेखन गरिरहन्छन् ? प्रकाशित : फाल्गुन १६, २०७६ ०७:५६

प्रतिक्रिया
पठाउनुहोस्

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी : कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

एजेन्सी

जेनेभा — बिहीबार विभिन्न ७  देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ ।

प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देश ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोभिड-१९ भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ। कोभिड-१९ ले बोर्डरको मतलब राख्दैन।साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयतको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताए।

चीनमा तुलनात्मक रुपमा कोभिड-१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए। बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोभिड१९ को संक्रमण पहिलो पटक देखिएको छ।

हामी एकदमै निर्णायक मोडमा रहेका छौं,’ महानिर्देशक गेहब्रेयससले भने, ‘इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले कोभिड१९ कति खतरनाक छ भनेर देखाएको छ।इरान, इटाली र दक्षिण कोरियामा अचानक संक्रमण बढेपछि चिन्ता बढेको पनि उनले बताए। महानिर्देशक गेहब्रेयससले सही ढंगले सतर्कता र रोकथामका उपाय अपनाए यसलाई रोक्न सकिने पनि बताए। सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि, अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने उनले बताए। एउटा केस र सयवटा केसको पूर्वतयारी एउटै नहुने भन्दै सबै देश त्यसका पूर्ण रुपमा तयार भएर बस्नुपर्ने चेतावनी पनि उनले दिए।

विश्वभर कोरोना त्रास

अन्य मुलुकमा कोभिड१९ को संक्रमण दरले चीनलाई उछिनेको छ । बिहीबारसम्म भाइरसको संक्रमण कम्तीमा ५० देशमा पुगेको छ ।

डिसेम्बरमा भाइरस देखिएयता चीनबाहिर हजारभन्दा बढीमा संक्रमण पाइएको छ भने ७० जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ८८ जनाको मृत्यु हुनुका साथै ७८ हजार सय ३२ संक्रमित भएका छन् । कोभिड१९ ले चीनपछि सबैभन्दा धेरै इरानमा २६ जनाको मृत्यु भएको छ भने २ सय ४५ जना संक्रमित पुष्टि भएका छन् । संक्रमितको संख्यामा वृद्धि भएपछि तेहरानले सबै सार्वजनिक क्षेत्र बन्द गरेको छ । चीनबाट आउने पर्यटकलाई निषेध गर्ने निर्णय पनि उसले गरेको छ। संक्रमित संख्याका हिसाबले चीनपछि सबैभन्दा धेरै दक्षिण कोरियामा दुई हजार २२ छ। बिहीबारसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ।

कोभिड१९ संक्रमित वृद्धि हुन थालेपछि विश्वभर यसले त्रास उत्पन्न गराएको छ। सार्वजनिक स्थलमा मानिसको उपस्थिति कम हुँदै गएको छ। धेरै देशले रोकथामका उपायमा जोड दिएका छन्। अमेरिकामा उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा प्रकोप नियन्त्रण तथा रोकथाम कार्यलाई अगाडि बढाइने घोषणा गरिएको छ। अस्ट्रेलियामा पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गर्न आदेश दिइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों स्वयं नै कोभिड१९ सम्बन्धी सचेतना र्‍यालीमा सहभागी भएका छन् ।

साउदी अरबले तीर्थयात्रु रोक्यो

इरानसहित मध्यपूर्वी देशमा कोभिड१९ संक्रमितको संख्यामा वृद्धि भएपछि साउदी अरबले मुसलमान धर्मावलम्बीका पवित्रस्थल मक्का र मदिनालगायतका धार्मिक क्षेत्रमा विदेशी तीर्थालुलाई रोक लगाएको छ। साउदी अरबमा हालसम्म कोभिड१९ को संक्रमण देखिएको छैन । विदेश मन्त्रालयले निर्णय अस्थायी भएको बताए पनि कहिलेदेखि प्रतिबन्ध हट्छ भन्नेबारे जानकारी दिएको छैन ।

अमेरिकादक्षिण कोरिया सैन्य अभ्यास स्थगित

अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सैनिकसहित दक्षिण कोरियाली सेनाका कम्तीमा २१ जनामा कोभिड१९ संक्रमण पाइएपछि अर्को सूचना जारी नभएसम्मका लागिसैन्य अभ्यास रोकिएको हो।

नगर प्रमुख नै क्वारेन्टाइनमा

कोभिड१९ संक्रमण फैलिएको इटालीको लम्बर्डी क्षेत्रका प्रमुख एट्टिलियो फोन्टाना स्वयं क्वारेन्टाइनमा गएका छन् । एक कर्मचारीमा भाइरस पुष्टि भएपछि उनी वारेन्टाइनमा गएका हुन् । अहिले मलाई कुनै संक्रमण नदेखिए पनि दुई साता आफैंलाई आइसोलनमा राख्न प्रयासरत छु,’ उनले फेसबुकमा लेखेका छन् । लम्बार्डी क्षेत्रमा मात्र ३ सयभन्दा बढीमा कोभिड१९ संक्रमण पाइएको छ र १० जनाको मृत्यु भएको छ। समग्र इटालीमा सय ५५ जना संक्रमित भएका छन् र १ जनाको मृत्यु भएको छ ।

पाकिस्तान र जापानमा विद्यालय बन्द

पहिलोपटक बुधबार दुई जनामा कोभिड१९ को संक्रमण पाइएपछि पाकिस्तानले बिहीबार केही क्षेत्रका विद्यालय बन्द गरेको छ ।

जापानले अप्रिलसम्मका लागि सबै विद्यालयहरु बन्द गर्ने भएको छ। त्यहाँ हालसम्म २०७ जनामा संक्रमण पाइएको छ भने योकोहामा रोकिएको पानीजहाजमा ७ सय ४ जनामा संक्रमित पुष्टि भएका छन् । पानीजहाजका ४ सहित जापानमा ८ जनाको कोभिड१९ ले मृत्यु भएको छ ।

त्यस्तै कोभिड-१९ कारण हङकङ र फ्रान्समा २-२, ताइवान र फिलिपिन्समा १-१ जनाको मृत्यु भएको छ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×