कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सत्ता, शक्ति र भ्रष्टाचार

टीकाराम भट्टराई

सत्ताले शक्ति पैदा हुन्छ र शक्तिले भ्रष्टाचार गर्न उत्प्रेरित गर्छ । भ्रष्टाचारका अनेक अर्थ रहे पनि यो लेखमा यसलाई आर्थिक अपराधका रूपमा मात्र उल्लेख गरिएको छ । आर्थिक अपराधका उत्प्रेरक तत्त्व नै सत्ता, शक्ति, पहुँच र संगठन हुन् । शक्तिमा नरहेको व्यक्तिले आर्थिक भ्रष्टाचार गर्न असम्भवप्रायः हुन्छ । 

सत्ता, शक्ति र भ्रष्टाचार

विभिन्न मुलुकका सत्ता र शक्ति प्राप्त विभिन्न व्यक्ति, जसले आर्थिक भ्रष्टाचार गरेका छन् वा गर्ने प्रयत्न गरेका छन्, उनीहरूको उत्प्रेरक तत्त्व नै उनीहरूका पछाडि रहेको शक्ति वा सत्ता हो । आर्थिक भ्रष्टाचार सत्ताबाट अलग हुनै सक्दैन भन्ने उदाहरण हो— चीन । त्यहाँ भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड जस्तो कठोर सजाय दिइन्छ, तैपनि भ्रष्टाचारको चुनौती निरन्तर बढिरहेको छ । आर्थिक भ्रष्टाचारको मूल स्रोत शक्ति र सत्ता भएपछि, निःसन्देह, जो–जो जुन–जुन बखत सत्ता र शक्तिमा हुन्छन्, तिनैले गर्ने आर्थिक अपराध हो— भ्रष्टाचार । कार्यपालिका वा व्यवस्थापिकामा मात्र होइन, न्यायपालिकामा हुने भ्रष्टाचार पनि सत्ताबाटै संरक्षित हुन्छ । आवधिक निर्वाचनका माध्यमबाट पालैपालो सरकारमा जाने दलका नेताहरू नै भ्रष्टाचारको अभियोगमा मुछिने, चोखिने वा सजायको भागी हुने भएकाले यो निरन्तरको प्रक्रिया पनि हो । यसर्थ सत्ता, शक्ति र भ्रष्टाचार अन्योन्याश्रित छन् भनिएको हो ।


तर सत्तामा जानेबित्तिकै सबै नेता भ्रष्ट हुन्छन् भन्ने निष्कर्षचाहिँ गलत हुनेछ र दलको नामै लिएर फलानो दल भ्रष्ट र फलानो दल निष्कलंक भन्न पनि निकै गाह्रो हुन्छ । सत्ता र शक्तिको आडमा गरिने भए पनि मूलतः व्यक्तिमा अन्तर्निहित आपराधिक मनोवृत्ति नै भ्रष्टाचारको कारक तत्त्व हो । विश्वमा र नेपालमा पनि कैयौं त्यस्ता व्यक्ति छन्, जसले सत्ता र शक्तिलाई दुरुपयोग गरेनन् र निष्कलंक रही सत्ताबाहिर आउन सफल भए ।


मन्त्री वा शक्तिशाली कुनै पदमा निर्वाचित वा मनोनीत वा नियुक्त आफ्ना मित्र वा आफन्तहरूलाई शुभकामना र बधाई दिने क्रममा मैले जहिल्यै एउटै वाक्य प्रयोग गर्ने गरेको छु, ‘त्यो पदमा पुगेपछि पनि तपाईंको कुमारित्व कायम नै रहोस्, शुभकामना छ ।’ नेपालमा शक्ति र सत्तामा पुगेर पनि आर्थिक अपचलन नगरिकन कार्यकाल बिताउनेहरूको संख्या न्यून नै हुन्छ । कतिपय घटना सतहमा आएका होलान्, कतिपय नआएका होलान् । रीत पुर्‍याएर गरिएका भ्रष्टाचारहरू सतहमा आउने सम्भावना न्यून हुन्छ । आफ्नै घर, गाडी र बैंक ब्यालेन्स नभएका कतिपय व्यक्तिको व्यवहार र खर्च भने ती सब हुनेहरूको भन्दा बढी देखिने गरेको छ । निश्चय नै त्यस्ता व्यक्तिहरू रीत पुर्‍याएर भ्रष्टाचार गर्ने श्रेणीमा पर्छन् । यसरी रीत पुर्‍याएर भ्रष्टाचार गर्नेहरू सतहमा नआउने भए पनि तिनको आर्थिक अनुशासनको कुमारित्व भने नष्ट भएकै हुन्छ ।


केही घटनालाई हेरौं । विगतमा राजनीतिक वृत्तमा सक्रिय वा कर्मचारीतन्त्रमा कार्यरत जजसलाई करोड वा सोभन्दा बढीको भ्रष्टाचारको आरोप वा मुद्दा नै लागेको छ वा सफाइ मिलेको छ, ती सबैजसो सत्ता र सत्ताभित्रको पनि विशेष सत्तामा क्रियाशील व्यक्तिहरू नै रहेको देखिन्छ । यो तथ्यले के पुष्टि गर्छ भने, आर्थिक भ्रष्टाचारमा संलग्न वा आरोपित व्यक्ति सत्ता र शक्तिकै आडबाट निःसृत भएर आपराधिक मनोवृत्तिमा लिप्त हुन पुग्छन् । परम्परादेखि नै चलिआएको ‘सत्ताको उन्मादले व्यक्तिलाई अन्धो बनाउँछ’ भन्ने भनाइसँग असहमत हुने अवस्था आजसम्म देखिएको छैन ।


सत्ताको उन्माद चढ्दै गएपछि आफ्नो पछाडि रहेको सत्ता वा शक्तिले आफ्नो आपराधिक क्रिया वा मनोवृत्तिलाई संरक्षण गर्छ वा निगरानी संयन्त्र वा अदालतले समेत केही गर्न सक्दैन भन्ने मनोविज्ञान व्यक्तिविशेषमा क्रमशः विकास हुन थाल्छ । एक पटक स्मरण गरौं त, विगतमा राजनीतिक वृत्तमा काम गर्ने जजसलाई करोडौं–करोडको अपचलनको आरोप लाग्यो वा पुष्टि भयो वा कतिपय मुद्दा अदालतमा विचाराधीन छन्, ती कुन–कुन शक्ति र सत्ता वा सत्ताभित्रको पनि विशेष सत्तामा पहुँच र प्रभाव राख्ने व्यक्तिहरू थिए ? यो प्रश्नको जवाफ हिजो पनि एउटै थियो, आज पनि एउटै छ र भोलि पनि एउटै रहनेछ । यसर्थ निःसंकोच भन्न सकिन्छ, सत्ता र शक्तिको अहंकार नै भ्रष्टाचारको कारक तत्त्व हो ।


आर्थिक भ्रष्टाचार सत्तामा रहनेहरूले नै गर्ने आपराधिक कार्य हो । जो सत्तामा छ, त्यसैको वरपर यो आपराधिक कार्य घुमिरहन्छ । पालैपालो सत्तामा गएका वा भविष्यमा जाने व्यक्तिहरू नै भ्रष्टाचारका पात्र र प्रवृत्ति हुने भएकाले आवधिक निर्वाचनबाट सत्ताको परिवर्तन भए पनि भ्रष्टाचारको अन्त्य हुँदैन, पात्र र प्रवृत्तिहरू मात्रै फेरिने हुन् ।


यसर्थ कुन पात्र वा प्रवृत्तिलाई भ्रष्टाचारको अभियोग वा आरोप लाग्यो भन्ने प्रश्न त्यति महत्त्वपूर्ण र औचित्यपूर्ण प्रश्न होइन । हाम्रो जस्तो मुलुकका लागि यो नियमित प्रक्रियाजस्तै हो । त्यसरी आरोप वा अभियोग लागेका व्यक्तिहरूलाई स्वतन्त्रतापूर्वक अनुसन्धान र अभियोजन गर्ने कार्यमा सरकारको सहयोग हुन्छ कि हुँदैन, अहं प्रश्नचाहिँ यो हो । विगतमा हामीले भ्रष्टाचारको आरोपमा अदालतमा बयान दिन फूलमाला लगाएर जाने व्यक्तिहरू पनि देख्यौं । त्यति मात्रै होइन, पार्टीविशेषका झन्डा बोकेका सयौं नेता–कार्यकर्ता त्यस्ता व्यक्तिका पछिपछि हिँडेको पनि देख्यौं ।


यस्तो लज्जास्पद दृश्य कम्तीमा केही वर्षयता देखिन छाडेको छ । यसले राजनीति र अपराधको भिन्नता छुट्याउन युवा पुस्ता सक्षम हुँदै गएको संकेत गर्छ । तर भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएको प्रतिकारस्वरूप संसद अवरुद्ध गरेको दृश्य नेपाली नागरिकले केही हप्ताअघिसम्म देख्नुपर्‍यो । भ्रष्टाचारको आरोप लागेर मुद्दा दर्तासमेत भइसकेका व्यक्तिहरूका पछिपछि देखिने जुलुस वा भीड वा तिनलाई संरक्षण गर्न संसद नै अवरोध गर्ने प्रवृत्ति कायम रहेसम्म सत्ता र शक्तिको आडमा हुने भ्रष्टाचारलाई अप्रत्यक्ष रूपमा सहयोग र सद्भाव नै मिल्छ । आफ्नो दलको समर्थक वा नेता वा कार्यकर्तालाई भ्रष्टाचारको मुद्दा लाग्दा ढाडस दिने र उसको समर्थनमा संसद नै अवरुद्ध गर्ने दलले अर्को दलको नेता वा कार्यकर्तालाई आरोप लाग्दा औंलो ठड्याउने नैतिक साहस राख्दैन ।


भ्रष्टाचार वा आपराधिक कृत्य विशुद्ध सम्बन्धित व्यक्तिको आपराधिक मनोवृत्तिको परिणाम हो भन्ने हेक्का सबैले राख्न सक्नुपर्छ । त्यस्तो आपराधिक मनोवृत्तिलाई ढाडस दिने वा संरक्षण दिने कार्यबाट सम्बन्धित दलको साखमा मात्र होइन, नियतमै प्रश्न उठ्छ ।


आरोप वा मुद्दा लाग्दैमा आरोपित व्यक्ति वा अभियुक्त अपराधी हुँदैन । त्यो त केवल आरोप वा अभियोग मात्र हो । त्यस्तो आरोप वा अभियोगबाट सफाइ लिनु व्यक्तिविशेषको निजी जवाफदेहिता वा जिम्मेवारी हो । आरोप वा अभियोग लागेको व्यक्तिलाई स्वच्छ सुनुवाइको मौका दिएर अनुसन्धानको दायरामा ल्याउने र मुद्दा हेर्ने अदालतलाई प्रभाव र दबाबबिना मुद्दाको फैसला गर्न सहयोग गर्ने कामसम्म सरकारको हो । विधिको शासन र स्वतन्त्र न्यायपालिका भएको मुलुकमा आरोप लाग्ने र सफाइको मौका पाउने विषय सम्बन्धित व्यक्तिमै छाडिदिनुपर्छ ।


सरकारको कर्तव्य र दायित्व पनि यही हो । व्यक्तिको निजी क्रिया वा आपराधिक मनोवृत्तिबाट जन्मने अपराधलाई राजनीतिक दल वा सत्ता वा शक्तिले संरक्षण गर्नु हुँदैन भन्ने हेक्का हरेक राजनीतिक दलमा हुनुपर्छ । आरोपित वा अभियुक्तलाई संरक्षण गर्ने कार्यले अपराध त बढ्छ नै, त्योभन्दा बढी राजनीतिमा आपराधीकरणको ढोका खुला हुन्छ । परिपक्व, पुराना र स्थापित राजनीतिक दलहरूले कुनै पनि आवरणमा वा सत्ता र शक्तिको आडमा हुने अपराध वा आपराधिक मनोवृत्तिलाई ढाकछोप वा संरक्षण गर्ने कार्य अविलम्ब बन्द गर्नुपर्छ । होइन भने ती दलको अस्तित्व भ्रष्टाचारको भाइरसले समाप्त पार्ने निश्चित छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?