१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसारकै उच्च भू–भागबाट...

लिसा होनान, निकोला पोलिट

हामी दुवै नेपाल आएदेखि नै जलवायु परिवर्तनको वास्तविक असर हिमाल र नदीहरूमा मात्र नभई सबैभन्दा बढी मानिसहरूमा परेको देखेर अचम्मित भएका छौं । किसानले बालीनालीमा नयाँनयाँ रोग देखेका छन्, पहाडी र हिमाली समुदायहरूले पहिरोको सामना गरेका छन्, सहरका बासिन्दाले डेंगुजस्ता नयाँ रोगको सामना गरेका छन्, तराईका बासिन्दा बाढीपीडित भएका छन् ।

संसारकै उच्च भू–भागबाट...

अहिले जलवायु परिवर्तन सबैका लागि यथार्थ भएको छ । त्यसैले संयुक्त अधिराज्य बेलायत नेपाललाई जलवायु संकटको सामना गर्न र महत्त्वाकांक्षी योजना अगाडि बढाउन आफूले गरेको प्रयासबारे जानकारी दिँदै ‘संसारकै उच्च भू–भागबाट’ जलवायु परिवर्तन सम्बन्धी आफ्नो कथा भन्ने प्रयासमा सहयोग गर्न चाहन्छ ।


नेपाल जलवायु परिवर्तनको सबैभन्दा उच्च जोखिममा रहेका २० मुलुकहरूमा पर्छ । नेपालको ६० प्रतिशत जनसंख्या जलवायु परिवर्तनको जोखिममा छ र यसका हिमनदीहरू वर्षको ६० मिटरको दरले साँघुरिँदै छन् । फलस्वरूप जोखिमपूर्ण हिमतालहरू बन्दै छन् । गत वर्ष काठमाडौंको तापक्रम विश्वव्यापी औसत वृद्धिभन्दा दोब्बर दरमा बढेकाले यहाँसमेत डेंगु रोग देखा पर्‍यो । अप्रत्याशित मौसमी घटनाहरू सामान्यजस्तै भइसकेका छन् । नेपालको इतिहासमै पहिलो पटक थाहा पाइएको चक्रवातले ३५ जनाको ज्यान लियो । त्यसैले जलवायु सुरक्षाको काम नेपालका लागि ज्यादै महत्त्वपूर्ण छ । संयुक्त अधिराज्यले नेपालको विपद् पूर्वसूचना प्रणालीमा सुधार ल्याउनमा र विपद् व्यवस्थापन सम्बन्धी नयाँ निकाय स्थापनामा सहयोग गर्दै आएको छ । हामीले नेपालमा अझै जलवायुमैत्री भौतिक पूर्वाधार बनाउन, मानिसहरूलाई विपद्पछि सहयोग गर्ने थप राम्रा उपाय पहिल्याउन अनि जोखिमपूर्ण क्षेत्र र जोखिमपूर्ण जीविकोपार्जनबाट उनीहरूलाई स्थानान्तरण हुन सहयोग गरिरहेका छौं ।


करिब ८० किलोमिटरको चौडाइमा, समुद्री सतहबाट ८० मिटरको उचाइदेखि ८,००० मिटरसम्म पुग्ने नेपाल जलवायु प्रयोगशाला पनि हो । जलवायु परिवर्तनका चुनौती हेर्ने र समाधान पर्गेल्ने मौलिक अवसर नेपाललाई छ । नेपाल भ्रमण वर्षमा र पर्या–पर्यटनमा सामुदायिक वनदेखि, पानी व्यवस्थापन, जलवायुमैत्री कृषिसम्ममा चुनौतीहरू छन् र समाधान परीक्षणको मौका पनि छ । खास गरी नेपालको मौलिक भूपरिधि/भूपरिदृश्य जोगाएर जलवायु परिवर्तनबाट बचाउन सकिने प्रकृतिमा आधारित समाधानहरूबारे नेपालले विश्वलाई धेरै सिकाउन सक्छ । संयुक्त अधिराज्यले किसानहरूलाई सौर्य ऊर्जा प्रयोग गरी पानी तान्ने पम्पको निर्माण, स्थानीय अनुकूलन योजना तर्जुमा, स्याउ कृषकहरूका लागि मौसम बिमा र मौसम भविष्यवाणी सुधार गर्न विश्वस्तरीय जलवायु मोडलिङका लागि सहयोग लगायतका यस्ता केही समाधान विकास गर्न नेपालसंँग मिलेर काम गरेको छ ।


अत्यन्त न्यून उत्सर्जन, निर्माणाधीन जलविद्युत् परियोजनाहरू, सहज सौर्य ऊर्जा र विश्वमा कीर्तिमान राख्न सफल वन व्यवस्थापन र प्राकृतिक संसाधनहरूले गर्दा नेपाल जलवायु आकांक्षामा अगाडि छ । आफ्नो हरित अर्थतन्त्रले कसरी आर्थिक वृद्धि प्रबर्द्धन गर्न सक्छ, गरिबी न्यूनीकरण गर्न सक्छ वा भारतजस्ता छिमेकी मुलुकको समेत उत्सर्जन कसरी घटाउन सक्छ भन्ने देखाई नेपालले यो क्षेत्र र विश्वलाई यस विषयमा बाटो देखाउन सक्छ । त्यसैले पनि संयुक्त अधिराज्यले नेपालसंग मिलेर अरुण ३ र त्रिशूली जलविद्युत् परियोजनाबाट यसको प्राकृतिक स्रोतको विकास गर्न र सौर्य ऊर्जा सम्बन्धी कार्यक्रममा नवीनता ल्याउन अनि वन विकास कोष (फरेस्ट डिभलपमेन्ट फन्ड) को स्थापना गर्न मिलेर काम गरेको छ ।


क्षेत्रीय उत्कृष्ट आयोजक : नेपाल एसियाको ‘वाटर टावर’ भनिने हिमालहरूको काखमा अवस्थित छ । यी हिमालबाट बग्ने नदीहरूको पानीमा १ अर्ब ६५ करोड मानिस निर्भर छन् । यसको विकास उपयुक्त क्षेत्रीय सहयोगमा भर पर्छ । त्यस्तै वायुको गुणस्तर, ऊर्जा व्यापार र हिमनदीहरूको क्षयीकरणलाई प्रभावकारी रूपमा सम्बोधन गर्न क्षेत्रीय स्तरका उपायहरू चाहिन्छन् । यसै सन्दर्भमा हिन्दुकुश हिमालयको ‘कल टु एक्सन’ लाई व्यवहारमा लागू गर्न यो क्षेत्र र त्यसभन्दा परसम्म प्रभाव पार्न महत्त्वपूर्ण रूपमा लिइएको ‘सगरमाथा संवाद’ मा नेपाललाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।


उच्च महिला जलवायु नेतृत्व : जलवायु संकटसंग जुध्न राष्ट्रपतिदेखि जोखिमपूर्ण समुदायसम्ममा महिलाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । मानवनिर्मित यो समस्या समाधान गर्न काम गर्नुपर्छ भनी महिलाहरूले बुझेका छन् र परिवर्तनका लागि उनीहरू शक्तिशाली पनि हुन्छन् । त्यसैले यस वर्ष ‘संसारकै उच्च स्थानबाट आएको विचार’ मा तय भएका विषयहरूमा थप विस्तृत खोजी गरी जलवायु परिवर्तन सम्बन्धी थप आकांक्षा र कामबारे नेपाली महिलाहरूले उठाएको आवाजमा हामी पनि नेपाल र संयुक्त अधिराज्यका संयुक्त कार्यक्रम र लेखहरूको शृंखलामार्फत आफ्नो आवाज मिसाउन प्रतिबद्ध छौं ।


जलवायु लगानी परिचालनमा अगाडि : जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न पैसा चाहिन्छ । जलवायु सुरक्षा निर्माण गर्न र नेपालको हरित अर्थतन्त्रमा वृद्धि ल्याउन जलवायु लगानीका लागि सार्वजनिक, निजी, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी नेपालमा भित्रिँदै छ । हालसम्मको १ अर्ब अमेरिकी डलर (१ खर्ब ११ अर्ब रुपैयाँ) भन्दा बढीको लगानीमध्ये संयुक्त अधिराज्यको हिस्सा ३० करोड अमेरिकी डलर (३३ अर्ब रुपैयाँ) भन्दा धेरै छ । संयुक्त अधिराज्यको योगदान नेपालका जलवायु चुनौतीहरू सम्बोधन गर्न र यसले हरित अर्थतन्त्रबाट धेरैभन्दा धेरै लाभ लिन सकोस् भन्नेतर्फ लक्षित छ । तर अझै धेरै गर्न बाँकी छ । त्यसैले संयुक्त अधिराज्यले नेपाललाई यसको महत्त्वाकांक्षी योजनालाई सघाउ पुर्‍याउन ग्रिन क्लाइमेट फन्डबाट र सिटी अफ लन्डनका हरित लगानीकर्ता जस्ता लगानीकर्ताहरूबाट थप लगानी भित्र्याउन सघाइरहेको छ ।


जलवायु परिवर्तनसँग जुध्न र यसै वर्षको नोभेम्बरमा संयुक्त अधिराज्यले आयोजना गर्ने जलवायु परिवर्तन सम्मेलन (कोप २६) मा संसारकै उच्च स्थानबाट उठाइएको आवाज प्रस्ट र टड्कारो सुनिनेछ भनी सुनिश्चित गर्न संयुक्त अधिराज्य नेपालसँग काँधमा काँध मिलाएर उभिएको छ । नेपालको आवाज र जलवायु परिवर्तनसंग जुध्ने महत्त्वाकांक्षी प्रतिबद्धता त्यहाँ सुनियोस् भन्ने हामी चाहन्छौं ।


लिसा होनान डीएफआईडीकी नेपाल प्रमुख र निकोला पोलिट नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत हुन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?