अंकल सामको चर्खा गीत

चन्द्रकिशोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले विश्वकै ध्यान तान्यो । अमेरिकी राष्ट्रपति प्रायः एकभन्दा बढी देशको यात्रामा निस्किन्छन्, तर यस पटक उनी अमेरिकाबाट सोझै गुजरातस्थित अहमदाबाद ओर्ले । त्यहाँ भव्य आयोजना गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई अभिनन्दन गरे ।

अंकल सामको चर्खा गीत

जब मोदीसँगै ट्रम्प शान्तिपूर्ण संघर्ष र सामुदायिक सामञ्जस्यका लागि महात्मा गान्धीद्वारा गरिएका कतिपय प्रयोगहरूको साक्षी सावरमती आश्रम पुगे, उनीहरूले गान्धी दृष्टिको प्रतीक ‘चर्खा’ संगै खिचाएको तस्बिरले संसारभरिकै मिडियामा ठाउँ पायो । अहिले ट्रम्प र मोदीबीच आत्मीय आकर्षण पाइन्छ । शासन प्रमुखहरूबीचको सम्बन्धले तिनका मुलुकहरूबीचको सम्बन्धमा समेत प्रभाव पार्छ ।


चर्खा हस्तचालित यन्त्र हो, जसबाट धागोको उत्पादन गरिन्छ । गान्धीको प्रयोगले चर्खालाई अर्थशास्त्रीय अवधारणाका रूपमा खडा गरेको छ । गान्धी चर्खालाई भुइँमान्छेको आशाको प्रतिनिधि मान्थे । सामान्यजनको स्वतन्त्रतालाई उनी चर्खाभित्र हेर्थे । गान्धी भन्थे, ‘अहिंसाको रचना कारखानाहरूको सभ्यताको जगमा हुन सक्दैन, त्यो शान्तिपूर्ण गाउंहरूको जगमा सम्भव छ ।’ चर्खा अर्थव्यवस्थाले शोषणको बहिष्कार गर्छ । शोषण नै हिंसाको सारतत्त्व हो । चर्खाले स्वावलम्बी बनाउँछ, जो स्वतन्त्रताका लागि अपरिहार्य हुन्छ ।


भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा श्रमप्रतिको सम्मानलाई वैयक्तिक र सार्वजनिक जीवनमा व्यक्त गर्न चर्खा चलाउने परम्परा बसाइएको थियो । गान्धीले गर्दा नै चर्खा विचारका रूपमा समेत विकसित हुँदै आयो । रोचक पक्ष के देखियो भने, सावरमती आश्रमको आगन्तुक पुस्तिकामा ट्रम्पले महात्मा गान्धीको नामै उल्लेख गरेनन् । त्यहां उनले आफ्ना खास मित्र मोदीलाई धन्यवाद मात्र लेखे । ट्रम्पको यो सुनियोजित लेखाइको आर्थिक–राजनीतिक अर्थ छ । यस सन्दर्भमा भारतभित्र जुन व्यापकतासाथ विमर्श हुनुपर्थ्यो, ‘गोदी’ मिडियाका कारण त्यो हुन सकेन ।


अमेरिकी राष्ट्रपतिलाई कतिपयले ‘अंकल साम’ वा ‘चचा साम’ ले पनि सम्बोधन गर्छन् । यसको एउटा पृष्ठभूमि छ । वास्तवमा ‘अंकल साम’ न्युयोर्कको एक व्यापारी स्यामुअल विल्सनसंग गांसिएको छ, जसलाई अंकल साम विल्सन पनि भनिन्थ्यो । स्यामुअल इमानदार, विश्वासी र देशका लागि समर्पित व्यक्ति थिए । सन् १८१२ मा अमेरिकी युद्धका बेला उनी सेनाका लागि मासु सप्लाई गर्थे, जसमाथि ‘युएस’ को मोहर लागेको हुन्थ्यो, जसले सरकारी माल भन्ने दर्साउँथ्यो । बिस्तारै–बिस्तारै अंकल साम विल्सन केवल ‘अंकल साम’ मा परिणत हुन पुगे ।


सन् १८३०–६१ मा कार्टुनिस्टहरूले ‘अंकल साम’ लाई अमेरिकी फौजको प्रतीकका रूपमा प्रशस्त प्रयोग गरे । पहिलो विश्वयुद्धका क्रममा अमेरिकी सेनामा भर्तीका लागि जेम्स मोन्टगोमरी फ्ल्यागले एउटा पोस्टर बनाए, जसमा अंकल सामको तस्बिरसँंगै लेखिएको थियो, ‘आई वान्ट यु फर अमेरिकन आर्मी’ । दोस्रो विश्वयुद्धका क्रममा समेत यस प्रकारको पोस्टरको खुब प्रयोग गरियो । यस प्रकार अंकल साम र अमेरिकी फौजबीच अटुट नाता कायम हुन गयो । दुइटै एकअर्काको पर्याय बन्दै गए ।


आफ्नो सैन्यशक्तिकै बलबुतामा अमेरिकाले पूरै विश्वमाथि हैकम चलाउँदै आएको छ । यसको सिङ्गो अर्थव्यवस्था नै हतियारको कारोबारमा टिकेको छ र अमेरिका भनौं वा अमेरिकी राष्ट्रपति यसै कारोबारलाई अगाडि बढाउन प्रयासरत रहन्छन्, जो अहिले पनि देखियो । राष्ट्रपति ट्रम्पले यस पटक भारतसंँग ३ अर्ब डलर बराबरको सैनिक हेलिकप्टर र उपकरण खरिद सम्झौता हुने घोषणा गरेका छन् ।


सआदत हसन मन्टोले अमेरिकी राष्ट्रपतिलाई हतियारको सौदागरका रूपमा देखे र उनलाई अंकल साम (चचा साम) नै भनेर सम्बोधन गरे । मन्टो प्रसिद्ध दक्षिण एसियाली साहित्यकार हुन् । उनले सात दशकपूर्व चचा सामलाई सम्बोधन गर्दै पत्रहरूको लामो शृंखला लेखे । त्यसमा लेखिएका कतिपय कुरा आज पनि भविष्यवाणीझैं साबित हुँदै गएका छन् ।


अमेरिकी राष्ट्रपतिका नाममा लेखिएका ती चिठीमा मन्टोले तत्कालीन साहित्यिक, सामाजिक, सांस्कृतिक उठापटक र अन्तर्राष्ट्रिय राजनीतिक–आर्थिक चालबाजीको भयानक तस्बिर कोरेका छन्, जसबाट अमेरिका कसरी फल्दै–फुल्दै गएको छ भन्ने थाहा हुन्छ । व्यंग्यात्मक शैलीमा लेखिएको त्यो चिठी शृंखला राजनीतिक, आर्थिक र साहित्यको बेजोड नमुना हो । अहिले मन्टो बांचेका भए यस क्षेत्रमा बढ्दो गरिबी, असमानता र साम्प्रदायिक तनावमाझ फस्टाउँदो हतियार कारोबारलाई लिएर फेरि चचा सामलाई चिठी लेख्थे ।


अमेरिकी राष्ट्रपतिको भारत यात्राकै क्रममा दिल्लीमा दंगा चर्कियो । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूमा समेत त्यसको चिन्ता र चासो छचल्कियो । दुई पुराना समुदायबीचको तनावको बाछिटा दक्षिण एसियाभरि नै पर्ने गरेको छ । भारतमा दंगाको इतिहास पुरानो छ, त्यसको आफ्नै पृष्ठभूमि छ । तर अहिले कसरी हुन गयो ? अमेरिकी राष्ट्रपतिको भ्रमणको मौका छोपेर भारतको आन्तरिक तनावलाई अन्तर्राष्ट्रियकरण गर्न देशी–विदेशी उक्साहटमा त्यो भएको एउटा सानो वृत्त बताउँछ । तर कतिपय यसलाई समग्रतामा नियाल्नुपर्ने आग्रह राख्छन् ।


भारतको केन्द्रीय सरकारले ल्याएको नागरिकता संशोधन कानुनसँंग असहमति राख्नेहरू विभिन्न किसिमले आन्दोलन चलाउँदै थिए । यसै पृष्ठभूमिमा भारतीय सुप्रिम कोर्टका न्यायाधीश दीपक गुप्ताले भनेका छन्, ‘असहमतिको अधिकार लोकतन्त्रका लागि आवश्यक हो । सरकार र देश दुई अलग चीज हुन् । देशको आलोचना नगरेर पनि सरकारको आलोचना गर्न सकिन्छ ।’ जस्टिसको भनाइ त्यतिखेर आएको छ, जतिखेर असहमतिको अधिकार र तरिकालाई लिएर भारतीय समाज विभाजित हुँदै छ ।


दंगालाई लिएर भारतभित्रै केही गम्भीर प्रश्न खडा भएका छन् । शान्तिपूर्ण विरोध गर्ने दाबी गरिए पनि सोका लागि चाहिने नैतिक–मानसिक तयारी यसका कर्ताहरूमा भएन कि ? त्यसै गरी सरकारी संरक्षणमा गरिएको भड्काउ भाषणले एउटा पक्ष उत्तेजित भयो कि ? बहुमतको शासनले असहमत पक्षको रक्षा गर्न सकेन कि ? हिंसाको सुरुआत कसरी भयो ? के दंगाको जन्म फरक पक्षमाथिको घृणा, अफवाह र भड्काउ भाषणले हुँदैन ? दंगा हुन्छ कि गराइन्छ ? के दंगा आफैमा बजार आधारित राजनीति हो ? प्रत्यक्ष युद्धभन्दा दंगाजस्ता आन्तरिक द्वन्द्वको निर्यात अहिलेको नयां सामरिक रणनीति हो ? यी प्रश्नको जबाफको खोजीमा भारतीय राजनीति विभाजित देखिएको छ ।

दंगाले सबैभन्दा बढी सामाजिक बनोटलाई नोक्सान गर्छ । एक पटक चर्किएको मन जोड्न वर्षौं लाग्छ । उर्दुको एउटा शेर नै छ—


आग का क्या है पल दो पल में लगती है
बुझते बुझते एक जमाना लगता है ।


दंगाका कारण भुइँतहका मान्छेहरू सबैभन्दा बढी पीडित हुन पुग्छन् । दंगापीडित वा दंगा गर्नेहरू प्रायः कमजोर आर्थिक–सामाजिक वर्गका हुन्छन्, उक्साउनेहरू जहिले पनि पछाडि हट्छन् । दंगामा सबैभन्दा बढी नोक्सान उदारवादी समूहको हुन्छ, जसले जहिले पनि मेलमिलाप र संवादको कुरा गरिरहेको हुन्छ ।


दुवैतर्फका उत्तेजित जमातले तिनको उपेक्षा गर्छन्, कतिपयले दोषी नै ठहर गर्छन् । यसका बावजुद दिल्लीमा कैयौं टोलका मध्यमार्गीहरूले सद्भाव जुलुस निकालेका छन् । उदारवादी समूहको परीक्षा यस्तै बेला हुने हो । जस्तोसुकै कठिन परिस्थितिमा पनि मानवतालाई जोगाउनैपर्छ । सामुदायिक तनाव र दूरीमा जब पक्षविशेषले राजनीतिक लाभ खोज्न थाल्छ, त्यतिखेर सबैभन्दा घोचपेच उदारवादी समूहमाथि नै हुन्छ । सार्वजनिक बुद्धिजीवीहरू सबैतिरका कट्टरपन्थीहरूको निसाना र चेपुवामा पर्छन् । अहिले दिल्लीमा त्यही देखिएको छ ।


भारत फेरि ती समस्याहरूको सामना गर्दै छ, जोसँग महात्मा गान्धी जीवनपर्यन्त जुझिरहे । कुनै पनि लोकतन्त्र असहिष्णुताले चल्न सक्दैन । शान्तिपूर्ण सहअस्तित्वबाटै लोकतन्त्रले सञ्जीवनी पाउँछ । गणतन्त्र र सभ्य समाजको मूल पहिचान यही हो । यसको पहिलो प्रत्याभूति सरकारी पक्षले दिन सक्नुपर्छ । के गान्धीलाई बिर्सेर भारत आफ्ना चुनौतीहरूबाट जोगिन सक्छ ? धार्मिक कट्टरवाद, अन्धराष्ट्रवाद र उपभोक्तावादले चारैतिर संकट निम्त्याउँदै छ ।


भय, अविश्वास र अनिश्चितताको माहोलमा भारतको लोकतन्त्र र समाजले स्थिरता पाउन सक्दैन । चचा सामको आफ्नै चर्खा गीत छ, जसको गायनमा लोभिइरहे भारत मौलिक परम्परा र पहिचानबाट पछाडि पर्दै जाने निश्चित छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?