१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उड्ने अजिंगरको प्रेमालिंगन

सीके लाल

साहित्यमा कटूपहास विधाका प्रणेताहरूमध्ये एक मानिने पहिलो शताब्दीका रोमन कवि जुवेनलले सार्वजनिक हितका मुद्दाहरूबारे सामान्यजनमा व्याप्त उदासीनतालाई उल्याउँदै ‘ब्रेड एन्ड सर्कस’ भन्ने वक्रोक्ति प्रचलनमा ल्याएका थिए ।

उड्ने अजिंगरको प्रेमालिंगन

वंशानुगत राजा एवं तरबारको बलमा दरबार हत्याएका अनाधिकारी (युसर्पर) सिपाहीलाई तिनका प्रजाले त्यसै पनि केही गर्न सक्दैनन् । तर, निर्वाचित जनप्रतिनिधिलाई समेत शासन गर्ने जिम्मेवारी सुम्पिएपछि नागरिक कर्तव्य टुंगिन्छ भन्ने भावनाले गर्दा मतदाता आफ्ना शासकहरूका क्रियाकलापमा निगरानी राख्न छोड्छन् । त्यसपछि सत्तामा हुनेहरूले आफ्नो वैधानिकताको निरन्तरताको स्रोत कार्यसम्पादनको अनुमोदनभन्दा पनि सामान्यजनको विरक्तिमा खोज्न थाल्छन् ।


सामान्यजनले ‘यहाँ यस्तै हो’ भन्न सुरु गरेपछि सत्तालाई हल्लाउन सक्ने शक्ति भोजन एवं मनोरञ्जनमा मग्न हुन्छन् । प्रभावशाली शासकहरूले त्यो कुरा ठम्याएका हुन्छन् । जंगबहादुरको बेलायत यात्राबारेका किंवदन्तीहरूले कोतपर्वमा उनको संलग्नताको अपराधलाई ओझेलमा पुर्‍याएका थिए । गोत्रहत्याको पापबाट मुक्त हुन चन्द्रशमशेर काठमाडौंदेखि काशीसम्म यज्ञ गर्न लगाएर प्रभावशाली पण्डितहरूको समर्थन हासिल गर्न सफल भएका थिए । राजा महेन्द्रको देशाटन एवं राजा वीरेन्द्रको विकास क्षेत्र भ्रमण भव्य प्रदर्शनका अभ्यास हुने गर्थे । समसामयिक नेपाली राजनीतिमा तमासाको महत्त्वलाई सबभन्दा राम्रोसंग ठम्याउन सफल पात्र खस–आर्य नृजातीयताका मुख्तियार एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्वेसर्वा खड्गप्रसाद शर्मा ओली हुन् ।


सर्वेसर्वा शर्मा ओली ‘सादा जीवन, उच्च विचार’ मान्यतामा विश्वास गर्दैनन् । एकबारको जुनीमा भएभरको सुखसुविधाको भरपूर उपयोग गर्नुपर्छ भन्ने भौतिकवादी सोचका प्रख्यात प्रवर्तक चीनका ‘महान् खेवनहार’ भनिने माओ त्सेतुङ स्वयं थिए । विलासिताको मामिलामा माओलाई चीनको अन्तिम सम्राट् पनि भन्ने गरिन्छ । अध्यक्ष माओको वैयक्तिक ट्रेनको भव्यता देखेर चीन भ्रमणमा रहेका बीपी कोइराला तीनछक परेका थिए । त्यसैले सर्वेसर्वा शर्मा ओलीको जन्मदिनका लागि सिंगै हेलिकप्टर चार्टर गरेर पन्ध्र किलोको ‘बर्थडे केक’ उनको जन्मघर पुर्‍याइनु वा जन्मगाउँ आठराईमा सार्वजनिक बिदा दिइनु ठूलो कुरा होइन । सत्ता पाएपछि उनले यस्तै काम गर्नेछन् भन्ने मतदातालाई पहिल्यैदेखि थाहा थियो । विप्रेषण अर्थतन्त्र भन्ने शब्दावली मात्र नयाँ हो, नेपाली जनता आफ्नो भात–रोटीको जोहो गर्न लाहुर जाने वा मुग्लान पस्ने चलन त उहिलेदेखिको हो । तिनले आफ्नो शासकमा भव्यता खोज्छन् ।


चन्द्रशमशेरले सिंहदरबार ठड्याएर चमकधमकको आकर्षण स्थापित गरेका थिए । हात्ती चढेर सहर सयर गर्ने जुद्धशमशेर ठाँटबाँटले सामान्यजनलाई प्रभावित गर्ने गर्थे । अधीनस्थ समुदायले आफ्ना अन्तर्निहित हीनभावबाट मुक्ति पाउन कमसेकम शासकबाट आक्रामक भव्यताको अपेक्षा राख्छ । देशाहंकार एवं नृजातीय राष्ट्रवादले त्यस्तो चाहना पूरा गरिदिन्छ । र, सामान्यजनलाई तमासा मन पर्छ । त्यो कुरा सर्वेसर्वा शर्मा ओलीले जत्तिको राम्रोसँग कसैले बुझेको छैन । त्यसैले उनी बेलाबेला अन्तरालिका (डाइभर्टिज्मेन्ट) मञ्चन गरिरहन्छन् । गम्भीर नाटकमा समेत दर्शकहरूको मनोरञ्जनका लागि कथासंँग असम्बद्ध गीत वा प्रहसनको अन्तरालिका प्रस्तुत गर्ने प्रचलन पुरानो हो ।


खेलका पात्र

सर्वेसर्वा शर्मा ओली क्रान्ति गरेर सत्तामा पुगेका होइनन् । विद्वान् भएकाले समाजले उनलाई पत्याएको होइन । उनको लोकप्रियताको स्रोत अपार सम्पत्ति एवं परोपकार पनि होइन । उनको पारिवारिक विरासत सम्मानित भए पनि शक्तिको स्रोत भने होइन । गृहमन्त्री एवं उपप्रधानमन्त्रीसम्म नेपालको स्थायी सत्ताको आशीर्वादले गर्दा पुग्न सफल भए पनि सन् २०१० देखि सुरु भएर २०१५ मा उत्कर्षमा पुगेको अन्तर्राष्ट्रिय शक्ति समीकरणमा देखिएको फेरबदलबेगर उनको प्रधानमन्त्री बन्ने सपना पूरा हुन सक्ने सम्भावना न्यून थियो । गोरखा भुइँचालोताका पीडितहरूको उद्धारका लागि बेलायत सरकारले नेपाल पठाएका चिनुक हेलिकप्टरहरूलाई देशभित्र प्रवेश गर्न नदिई भारतमा रोक्न लगाएर बैरङ फिर्ता पठाउने हिम्मत तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै बलबुतामा देखाएका थिएनन् । तत्काल संविधान जारी नगरे पाइएको पद गुम्ने भयदोहनले गर्दा नेपाली कांग्रेसको भविष्य समाप्त गर्ने निर्णय त्यस दलका तत्कालीन अध्यक्षले लिनुपरेको थियो ।


शक्तिशाली देशहरूको परराष्ट्र नीति आन्तरिक राजनीतिले निर्धारण गर्छ भने शक्तिहीन राष्ट्रहरू आफ्ना आन्तरिक राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरूको विद्यमान समीकरण अनुसार बदल्न बाध्य हुन्छन् भन्ने कुरा सर्वेसर्वा शर्मा ओलीले राम्ररी बुझेका छन् । सकेसम्म छिटो प्रधानमन्त्री बन्ने उनको चाहना पूरा गर्न षड्यन्त्र एवं दबाब सिर्जना गरेर राष्ट्रिय संकटको घडीमा तीव्र पथद्वारा संविधान जारी गराइएको थियो । हतारमा संविधान जारी गराएर उनलाई माथि पुर्‍याएको शक्तिको अपेक्षा पूरा नभएपछि संविधान संशोधनद्वारा उनको विकल्प खोज्न पनि कठिन हुनेछैन । आखिर ‘नेपालको कानुन, दैवले जानून्’ आहानै छ ।


कहिल्यै घाम नअस्ताउने औपनिवेशिक शक्ति रहिरहेसम्म संसारमा बेलायतको सबभन्दा वफादार तर स्वतन्त्र सेवक राणाहरूको नेपाल थियो । द्वितीय विश्वयुद्धपछि विश्व भूराजनीतिमा अमेरिकाको प्रमुखता स्थापित हुने देखेर राणाशासकहरूले आफ्नो स्वामीभक्ति लन्डनबाट वासिङ्टनतिर सार्न नखोजेका होइनन्, तर स्वतन्त्र भारतलाई चिढ्याएर निरंकुश राणापरिवारलाई रिझाउने नीति अख्तियार गर्न वासिङ्टन अनिच्छुक देखियो । नेपाल एवं अमेरिकाबीच कूटनीतिक सम्बन्धको सुरुआत सन् १९४७ मै भइसकेको भए पनि त्यसले व्यावहारिक गति १९५१ पछि मात्र लिन थालेको हो । राष्ट्रपति रोनाल्ड रेगनले ‘दूरस्थ छिमेकी’ भनेर चित्रण गरेको नेपालको अमेरिकासँगको सम्बन्ध जति नै गहिरो भए पनि बेलायतसँगको जस्तो न्यानो भने कहिल्यै हुन सकेन । त्यसका पछाडि यी दुवै शक्तिराष्ट्रबीचको चारित्रिक फरक एउटा प्रमुख कारण हुन सक्छ ।


साहित्य एवं व्यंग्यमा बेलायतको चरित्र चित्रण गर्न जन बुल भन्ने काल्पनिक पात्रको प्रयोग हुन्छ । उसलाई अधबैंसे, खाइलाग्दो जीउडाल भएको, देहाततिर बस्ने, हँसिलो एवं व्यावहारिक व्यक्तिका रूपमा देखाउने गरिन्छ । जन बुल सदाशयी छ एवं सबैको हित चाहन्छ । उसको सहज बुद्धि तीक्ष्ण भए पनि उसमा निराशा भाव व्याप्त रहन्छ ।


लगभग त्यस्तै स्वभावले गर्दा बेलायतले राणा शासकहरूलाई संसारको सबभन्दा धनी ‘गल्लावाल व्यापारी’ बन्न सघाएको थियो । अमेरिकाको काल्पनिक प्रतिनिधि पात्र अंकल सैम हो । अधबैंसे जन बुलभन्दा केही जेठो देखिने अंकल सैम सेतो कपाल पालेको एवं बोकेदाह्री भएको वृद्ध हो तथा उसको व्यक्तित्ववाट पितृसत्तात्मक शक्ति, सैनिक बल, राजकीय दम्भ एवं नियन्त्रित आक्रामकता एकसाथ झल्किन्छ । बेलायत औपनिवेशिक शक्ति भएकाले उसलाई स्थानीय शासकको अटुट निष्ठा पाए पुग्थ्यो । केही हजार नागरिक खटाएर भारतमा बेलायत संसारको सबभन्दा ठूलो सेना खडा गर्न सफल भएको थियो । अमेरिका व्यापारिक शक्ति भएकाले शासकलाई मात्र नपत्याएर वैचारिक वर्चस्वद्वारा आफ्नो आधिपत्य सुरक्षित गर्ने प्रयत्न गर्छ ।


सोभियत संघको विघटनपछि ‘प्रजातन्त्र, खुला बजार एवं वैश्विकता’ संकथनको एकाधिकारलाई सन् २००८ देखि नै चिनियाँहरूले चुनौती दिन थालेका हुन् । अमेरिकाले बढावा दिएको ‘फुलब्राइट, हाफब्राइट एवं क्वार्टर ब्राइट’ बुद्धिजीवीहरू चीनको ‘बेल्ट एन्ड रोड’ प्रस्तावनाको आकर्षणलाई कम गर्ने कथ्य गढ्न असफल ठहरिएका छन् । सन् १९५१ मा गोर्खाली सम्भ्रान्तको वफादारी लन्डनबाट वासिङ्टन सरेको थियो । सन् २०१५ पछि त्यो बेइजिङतिर मोडिएको हो । शीतयुद्धको उत्कर्षताका समेत सोभियत संघलाई वासिङ्टनले फगत सैनिक प्रतिद्वन्द्वी ठहर्‍याउने गर्थ्यो । चीनलाई भने अमेरिकाका रणनीतिकारहरूले निकट समकक्षी (नियर पियर) भनेर सम्मान गरेका छन । बेइजिङले काठमाडौंमा आफ्नो हैसियत अनुसारको प्रभाव खोज्नु अत्यन्त स्वाभाविक हो ।


नियमित नाटकीयता

बेलायतको जन बुल एवं अमेरिकाको अंकल सैम काल्पनिक भए पनि विश्वसनीय लाग्ने मानवीय पात्र हुन् । चीनलाई चित्रित गर्न भने ‘ड्रागन’ प्रतिरूप प्रयोग गर्ने गरिन्छ । सरीसृप प्रजातिको देखिने तर पखेटा भएको एवं सासबाट आगो फाले पनि स्वच्छन्द लाग्ने अजंगको काल्पनिक जन्तु ड्रागनका लागि ‘उड्ने अजिंगर’ जस्तो परस्पर विरोधी शब्दावली प्रयोग गर्न सकिने रहेछ । चिनियाँ सम्राट्हरूले उड्ने अजिंगरलाई आफ्नो सामर्थ्य, शक्ति, अलौकिकता एवं स्थायित्वको प्रतीकका रूपमा प्रयोग गर्ने गर्थे ।


पूर्वी एसियाको पौराणिक मान्यता अनुसार उड्ने अजिंगर दण्ड दिने मात्र नभएर दयालु पनि हुन्छ, तर त्यसको दानशीलता योग्य पात्रमाथि मात्र बर्सिन्छ । काठमाडौंमा एकताका बेलायत एवं अमेरिकाले अभ्यास गरेसरहको वर्चस्व कायम गर्न चिनियाँहरू लागिपरेका छन् । समस्या के भइदियो भने, उड्ने अजिंगर जतिसुकै दयालु एवं शक्तिशाली भए पनि गोर्खालीहरूले खोजेजस्तो खोट स्वीकार गर्ने मानवीय भने हुन सक्दैन ।


इस्ट इन्डिया कम्पनीको वफादार देखिनका लागि सिपाही विद्रोहलाई दबाउन मद्दत पुर्‍याएर ‘लखनउ लुट’ मच्चाएका जंगबहादुरले त्यसै युद्धका नाना साहेब एवं बेगम हजरत महलजस्ता भगौडा योद्धाहरूलाई तिनले भित्र्याएको हीरा–जवाहरातको लोभमा शरण दिएका थिए । आधारभूत वफादारीमा कुनै शंका नभएकाले जन बुलले स्वामीभक्त स्थानीय शासकको स्वच्छन्दतालाई स्वीकार गरेको थियो । सन् १९६० को शाही सैनिक सत्तापलटपछि अमेरिकीहरू शाह शासकका सबभन्दा भर पर्दा अन्तर्राष्ट्रिय संरक्षक भएर देखिएका थिए ।


कतिसम्म भने, आफ्ना राजदूतहरूलाई राजाले ‘दरबारबाट स्पष्ट निर्देशन पुग्न ढिलाइ भएमा नजिकको अमेरिकी राजदूतावाससँंग समन्वय गरी निर्णय लिनू’ भन्ने मौखिक तर स्थायी आदेश दिने गर्थे । त्यस्तो निकटताका बावजुद अंकल सैमले राजा महेन्द्र एवं अध्यक्ष माओबीचको संसर्गलाई स्वाभाविक ठहर्‍याएको थियो । हजारौं सालसम्म शक्तिसम्पन्न साम्राज्य चलाएको शासकीय संस्कृतिले होला, उड्ने अजिंगरलाई भने संशयात्मक स्थिति (ऐम्बग्युइटी) असहज लाग्ने रहेछ । चिनियाँहरूको कूटनीतिक शब्दकोशमा सहयोगी, समकक्षी एवं प्रतिस्पर्धी राष्ट्रबाहेकको चौथो प्रवर्ग ‘धूर्त राज्य’ मात्रै हो, जहाँका शासकहरूलाई पत्याउन सकिँदैन । लाग्छ, पश्चिमाहरूको विश्वास हासिल गर्ने प्रयत्नमा सर्वेसर्वा शर्मा ओलीले उड्ने अजिंगरको संरक्षण पाइरहने पात्रता सुस्तरी गुमाउँदै गइरहेका छन् ।


कूटनीतिमा संकेतहरूको महत्त्व ठम्याउनुपर्ने हुन्छ । बेइजिङमा नेपालको हितभन्दा चीनको स्वार्थलाई प्राथमिकतामा राख्ने पात्र राजदूतको कूटनीतिक मर्यादा बिर्सेर चिनियाँ कम्युनिस्ट पार्टीको सामान्य कार्यकर्तासरह मुठी उचाल्दै ऐक्यबद्धताको नारा लगाउन धक मान्दैनन् । चिनियाँहरूले आफ्ना सहयोगी राष्ट्रहरूबाट त्यस्तै प्रकृतिको स्वामीभक्ति खोज्छन् । नेपालले वुहानबाट आफ्ना नागरिकको उद्धार गरेर पाकिस्तानभन्दा कम भरपर्दो ‘मित्र’ रहेको जनाउ दिएको थियो । चिनियाँ राजदूत महामहिम होउ यान्छीलाई नेपाली कम्युनिस्टहरूको त्यस्तो अर्घेल्याइँ मन नपरेको हुन सक्छ । बेलायत भए अनदेखा गर्थ्यो । अमेरिकीहरू जिस्किन्थे । चिनियाँहरूलाई अस्पष्टता स्वीकार्य हुँदैन । राजदूतले आतिथेय देशको सरकारलाई सोझै धम्क्याउन पनि मिलेन । अनि महामहिम यान्छीले राजीनामा दिएर बाहिरिन लागेका ‘काठमान्डु पोस्ट’ का सम्पादक अनुप काफ्लेलाई ‘थप कारबाही’ गर्न सक्ने धम्की दिइन् ।


विज्ञप्ति सम्पादक काफ्लेका नाउँमा जारी गरिएको भए पनि त्यसको सही निसाना अर्कै हुन सक्छ । भनिन्छ, शक्तिशालीहरूको प्रेम तिनको द्वेषभन्दा पनि डरलाग्दो हुन्छ । सत्ता राजनीतिमा सुख र समृद्धिको कथ्य गढ्न उल्लेख्य भूमिका निर्वाह गरेको बेइजिङलाई जिस्क्याउने आँट नेपालको कुनै पनि राजनीतिक दलमा छैन । त्यसैले महामहिम यान्छीको गैरकूटनीतिक वक्तव्य अन्तिम सत्य भएर स्थापित भएको छ । यसबीच पत्रपर्ण अध्यक्ष पुष्पकमल दाहाल मिथिला गृह परिक्रमामा डोला उठाएर पुण्य कमाइरहेका छन् । नेपालको राजनीतिमा पटकथाभन्दा अन्तरालिकाहरू बढी हुने रहेछन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?