कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आसेपासे लोकतन्त्र

सम्झना वाग्ले भट्टराई

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको अनियमितताको नालीबेली र शिवरात्रिका लागि पशुपति क्षेत्रमा सिँगारिएको फूलको लुछाचुँडीका समाचार मिडियामा लगातार जस्तै आए । यी दुवै परिघटना आजको नेपाली समाजको चरित्र बुझ्ने आँखीझ्याल हुन् ।

संघीय राजधानी काठमाडौंका यी प्रसंगका विविध स्वरूप र आकार सबैजसो प्रदेश र पालिकासम्म देख्न सकिन्छ । उदाहरण बग्रेल्ती छन् ।


शासकहरू के गर्थे, गर्छन् ? हामीले राणाा शासकका प्रवृत्तिबारे पढ्यौं । तिनीहरू र तिनका आसेपासेले गरेका राज्यस्रोतको दोहनबारे पढ्यौं । पञ्चायतकालका राजा र पञ्चका प्रवृत्ति र व्यवहारबारे आज पनि अग्रजहरू लेखिरहन्छन् । अहिले राजनीति गर्नेहरू तिनै विषयलाई राजनीतिक मसला बनाइरहन्छन् । यसबारेका विविध तथ्य–कथ्य हामीले पढेसुनेका छौं । प्रजातान्त्रिक तथा गणतान्त्रिक लोकतन्त्रका शासकहरू, उनीहरूका व्यवहार र शासनशैली हामीले देखेभोगेकै छौं । साक्षीहरू जीवित छन्, सम्झनाहरू ताजा छन् । तथ्यहरूले पुष्टि गर्छन्— शासकहरू समान चरित्रका हुने रहेछन् ।


राणाकालमा पनि तिनका आफन्त, आसेपासेलाई स्वर्णयुग थियो । पञ्चहरूलाई पञ्चायतकालमा त्यस्तै थियो । भनिरहन परोइन, २०४६ सालपछिको कालखण्डमा कांग्रेस र एमालेका नेता, तिनका आफन्त तथा नेतृत्ववरिपरि झुम्मिइरहने अवसरवादीहरूलाई वास्तविक प्रजातन्त्र आएको थियो । त्यस अवधिमा आफ्नो आर्थिक–सामाजिक जीवनमा भएको उपलब्धिका कारण त्यसलाई युगकै उत्कृष्ट कालखण्डका रूपमा चित्रण गर्दै अभिभूत हुनेहरू अझै प्रशस्त छन् । पछिल्लो गणतान्त्रिक युगको परिदृश्य हामीसँग ताजा छ । समृद्ध नेपालका सुखी जनतालाई तपाईं, हामी प्रशस्तै भेट्न सक्छौं । ती सुखी र समृद्ध नेपालीको जरो–किलो खोज्न थाल्नुभयो भने एकै ठाउँ पुग्नुहुन्छ ।


शासकका गोत्रभित्र नपर्ने आम मान्छेको अवस्था कस्तो छ त ? मेरै अनुभव प्रस्तुत गर्छु । एक काका हुनुहुन्छ, जसले २०४३ मा एसएलसी पास भएपछि जिल्लाकै दुर्गम गाउँको विद्यालयमा पढाउन थाल्नुभयो । झन्डै ३ वर्ष पञ्च सरकारको तलब बुझ्नुभयो । त्यसपछि प्रजातान्त्रिक सरकारको नुन पर्‍यो, उहाँको मुखमा । केही वर्षदेखि गणतान्त्रिक सरकारले तलब दिइरहेको छ । जागिरका अन्तिम वर्षहरूमा उहाँसँग मेरो प्रश्न थियो, ‘तीन किसिमका राजनीतिक व्यवस्था ब्यहोर्नुभयो । फेरिंदो राजनीतिसँगै के–के फरक महसुस गर्नुभयो त ?’ उत्तर थियो, ‘जुनै व्यवस्था आए पनि पढाएरै तलब लिने हो क्यारे ! राजनीति गर्नेहरू, नेताका आफन्तहरू घरपायक सरुवा मिलाएर आए, नपढाएरै पनि तलब बुझे । हामीलाई त उस्तै हो, ठाउँमा आफ्नो भन्ने कोही थिएन ।’


काकाले भनेजस्तै ‘ठाउँमा आफ्नो नभएकालाई’ परिवर्तित व्यवस्था र त्यसका सञ्चालक आफ्ना हुन किन सकेनन् ? राजनीतिको अग्रपङ्क्तिमा रहेकाहरू, तिनका आफन्त तथा नेताहरूलाई विविध कमिसनको ‘अफर’ गर्ने ल्याकत भएकाहरूको संख्या देशमा कति होला ? तीबाहेक जीवन बिताउन सोझो ढंगले पेसा, व्यवसाय तथा श्रम गर्ने विशाल जनसंख्याको भोगाइ पनि काकाको भन्दा फरक छैन होला । यस कित्ताका मान्छेले फेरिंँदो सत्ता, शासन र व्यवस्थालाई साँच्चै फरक महसुस गरेका होलान् ? अनुभव गर्न सकिने उपलब्धि के दिएका छन् त परिवर्तित सत्ता सञ्चालकले ?


भारतको दिल्लीमा केजरीवाल सरकारले पानी, बिजुली, यातायात, स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा गरेका सुधारले शासकले चाहेमा केके गर्न सक्ने रहेछन् भन्ने देखाएका छन् । यस्ता सुधारका लागि संविधानमै ‘समाजवाद–उन्मुख’ नलेखे पनि हुने रहेछ कि ? यस्तो काम गर्न हाम्रो शासन संयन्त्रलाई केले रोक्यो होला ?


देशमा सकारात्मक परिवर्तन नभएकै त होइन । परिवर्तन आएको छ, तर किस्ता–किस्तामा । झन्डै सय वर्षको विगत हेर्दा पनि, नेपालमा देखिएका चार किसिमका शासन व्यवस्था तत्तत् शासक, तिनका आफन्त तथा आसेपासेका स्वर्णिम युग थिए, छन् । तत्तत् व्यवस्थाका पुजारीहरूको आर्थिक तथा सामाजिक हैसियत बढेको थियो, छ । त्यस्ता शासकको गुणगानमा राणाकालमा चन्द्रशमशेरको ‘रामराज्य’ लेखिएकै हो । त्यसपछिका हरेकजसो शासकले त्यसका नयाँ–नयाँ संस्करण लेखेका छन्, लेखाएका छन् । तिनका नयाँ संस्करण खोज्न कुनै इतिहास पल्टाउनुपर्दैन ।


निश्चित व्यक्ति र समूहलाई सरकारले दिएको व्यावसायिक अवसरका आधारमा राज्यको चरित्रलाई ‘क्रोनी क्यापिटलिजम’ भन्ने गरिएको छ । कर्मचारी सरुवा–बढुवा, राजनीतिक नियुक्ति लगायतका विषयमा पनि राज्यको चरित्र उस्तै छ । शक्ति र सत्तानिकटलाई कानुनले नछोएका केही ताजा दृष्टान्तका आधारमा देशमा अभ्यास भैरहेको लोकतन्त्रलाई ‘क्रोनी लोकतन्त्र’ अर्थात् ‘आसेपासे लोकतन्त्र’ को नाम दिनु उपयुक्त नै होला । यस्तो ‘आसेपासे लोकतन्त्र’ ले छुट्टै खाले सामाजिक मानोविज्ञान निर्माण गर्ने रहेछ । यस्तो मनोविज्ञानले आम मान्छेलाई पार्टीमा आबद्ध हुन मनोवैज्ञानिक दबाब दिएको छ । परिणामत: हरेक व्यक्ति आफ्नो कर्म, पेसा, व्यवसायभन्दा पनि पार्टीमा आबद्ध हुन र राजनीतिलाई व्यवसाय बनाउने अभ्यासमा लागेको छ ।


पार्टीमा आबद्ध भएपछि प्राप्त हुने संरक्षणले सबैजसोलाई आकर्षित गरेको छ । त्यस्तो अवसरप्राप्त व्यक्तिबाट अर्को पनि प्रेरित हुन्छ, जसलाई मनोविज्ञानमा ‘ह्यालो इफेक्ट’ भनिन्छ । आफूलाई पार्टीकरण गर्न लालायित आममान्छे मात्र होइन, इतिहासदेखि वर्तमानसम्मका नेपाली शासकका प्रवृत्ति विश्लेषण गर्दा यस्तो प्रभाव छर्लङ्ग देखिन्छ । राजतन्त्र होस् वा गणतन्त्र, शासकहरूको व्यवहार, शैली र लोभ एकै किसिमको देखिनु ‘ह्यालो इफेक्ट’ नै हो । त्यस्तै सिकाइले त होला, हामीले भोगिरहेका शासकहरू पनि इतिहासमा पढेका शासकहरूजस्तै भएका !


यही मनोविज्ञानका कारण सबैजसो राजनीतिक दलका शक्ति र सत्ताप्राप्तिका बाटाहरू झन्डै उस्तै लाग्छन् । मूलधारका हुन् वा वैकल्पिक राजनीतिका अभ्यासी, सबै कर्ममा होइन भाषणमा केन्द्रित छन् । अघिल्ला शासकको शासकीय चरित्रविरुद्ध आगो ओकल्नेहरू शासकीय जिम्मेवारीमा पुगेपछि ‘आमाभन्दा छोरी बोक्सी’ हामीलाई लाग्दैन र ? शासकीय जिम्मेवारीप्राप्त कतिपय युवा नेता अघिल्लो पुस्ताभन्दा चर्का लाग्दैनन् र ?


शासकहरू आफैले औंल्याएको अघिल्लो पुस्ताका कमजोरी सुधार्नभन्दा त्यही दोहोर्‍याउन उद्यत छन् । सायद शक्तिको उन्मादले उनीहरूमा ‘मैले चाहे जे पनि गर्न सक्छु’ भन्ने मनोविज्ञान देखिन्छ । कलियुगको यो वयस्क कालखण्डमा पनि चक्रवर्तीहरूझैं ‘अश्वमेध यज्ञ’ गर्ने वा कुनै अमुक व्यक्तिलाई देखाएर संविधान संशोधन गराउनेसम्मको सोच आउनु त्यस्तै मनोविज्ञान हो । राज्यको बजेटलाई निजी स्वार्थमा उपयोग गर्न पनि यस्तै मनोविज्ञानले मलजल गरेको हुन्छ । यो मनोविज्ञानको प्रधान आधार भने पशुपतिमा सिँगारिएको फूलमा हात लम्काउने र तिनलाई काँध दिने जिम्मेवार नागरिकहरू नै हुन् ।

waglem.samjhana@gmail.com


प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५९

प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री कार्यालयको चिया !

बिनु सुवेदी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पहिलो तला उक्लिँदा हरेक पटक प्रधानमन्त्रीको कार्यकक्षतिर हेर्छु । थाहा छ, प्रधानमन्त्रीज्यू अत्यावश्यक बैठकबाहेक सिंहदरबारको कार्यालयमा जानुहुन्न, ठ्याक्कै उसै गरी जसरी २०६२/६३ को जनआन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जानुहुन्थेन ।

कोइराला र ओलीको अरू कुरा पनि मिल्छ, जस्तो कि मन्त्रिपरिषद्को बैठक बालुवाटारभित्रै हुन्छ । कतिपय सार्वजनिक कार्यक्रम प्रधानमन्त्री निवासमै गरिन्छ, किनभने प्रधानमन्त्री ओलीलाई पनि त्यतिखेर कोइरालालाई झैं गरी बिमारले सताइरहन्छ । ओली र कोइरालाकै कुरा किन निकालेकी हुँ भने मैले राजनीतिक रिपोर्टिङ थाल्दा कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले ओली हुनुहुन्छ ।

तर प्रधानमन्त्रीज्यू, सिंहदरबार गए पनि नगए पनि मलाईचाहिँ तात्त्विक फरक पर्ने होइन, किनभने त्यहाँ गइरहने मैले उहाँ त्यहाँ भए नै पनि भेट्ने र बातचित गर्ने सम्भावना रहँदैनथ्यो । अझ पहिले–पहिले त त्यही भवनमा पनि छिर्ने काम त्यति धेरै हुँदैनथ्यो । किनभने प्रधानमन्त्रीज्यूले हामी प्रेससँग ‘डिल’ गर्न तोक्नुभएका तत्कालीन प्रेस सल्लाहकार कुन्दन अर्यालको कार्यकक्ष नै ऊर्जा मन्त्रालयको भुइँतलामा थियो, म प्राय: त्यतै गइरहन्थें । अहिले प्रधानमन्त्रीज्यूको प्रेस सल्लाहकारको कार्यकक्ष फेरिएको छ । म पनि हप्ताको कम्तीमा दुई दिन कडा सुरक्षा चेकजाँचसहित उहाँका प्रेस सल्लाहकार सूर्य थापालाई भेट्न सिंहदरबार गइरहन्छु, गइरहन्थें नै भनूँ न अब त !

जसरी प्रधानमन्त्रीको प्रेस हेर्न उहाँ खटिनुभएको छ, उसै गरी प्रेस (म आबद्ध सञ्चार माध्यम) ले प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा मलाई दिएको छ । यो हिसाबमा उहाँ र मेरा बीचमा छलफल र भेटघाट भइरहनुपर्ने हो, संवाद नटुट्नुपर्ने हो । यही सिलसिलालाई पछ्याउँदै म आइतबार पनि थापालाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा गएँ । मसँगै जाने भनेर सल्लाह गरेका अरू दुई पत्रकार साथीहरू पहिले नै त्यहाँ पुगेर बसिसकेका थिए ।

माहोल भरिभराउ थियो, पत्रकारहरूको भीडभाड थियो, छेउको सोफामा बसियो, प्रधानमन्त्रीज्यूको जन्मदिनमा केन्द्रित गफगाफ थियो । थापाले प्रधानमन्त्रीसँगै उहाँको जन्मदिन मनाउन तेह्रथुमको आठराई को–को गए भन्ने जानकारी दिनुभयो, बिहान बालुवाटारमा मनाइएको जन्मदिनबारे बताउनुभयो । त्यही सिलसिलामै उहाँले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई विशेष जिम्मेवारी आइलागेको भन्दै बधाई दिएको पनि बताउनुभयो । त्यो भीडमा उहाँले त्यसबारे अरू थप बोल्नुभएन । संविधान संशोधनबारे नेम्वाङलाई केही न केही जिम्मेवारी दिने निर्णय भएको अपुष्ट खबर बिहानै सुनिसकेकाले थापाले भनेको त्यो कुरामा म अलि चनाखो भएँ । तर तत्काल अरू कुरा कोट्याइएन, किनभने एक छिनपछि त उहाँसँग बाँकी संवाद गर्नु नै थियो ।

कुराको विषय प्रधानमन्त्रीज्यूको जन्मोत्सवबाट भर्खरै कानुनमन्त्री बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेतिर मोडियो । उहाँले कानुनमन्त्रीलाई अरूका कुरा सापटी लिएर महिला अधिकारका कुरा नगर्न सुझाव दिएको सगौरव बताउनुभयो । ‘अरू भन्नाले विन्दा पाण्डे, पाण्डेको कुरा सापटी लिएर दिदी (तुम्बाहाङ्फे) महिला अधिकारकर्मी बन्नुभएको छ ।’ थापाले भनेको कुरा हो यो । यो कुरा मैले यहाँ नलेखेकी भए पनि हुन्थ्यो, तर महिलाका विषयमा नेकपा र बालुवाटार कति निर्मम छ भन्ने दलिल पेस गर्न पनि कुरा खोल्नैपर्ने बाध्यता भयो । थापा त देशको सबभन्दा ठूलो पार्टी नेकपाको केन्द्रीय सदस्य र प्रचार विभाग उपप्रमुख पनि हो नि !

मलाई जस्तै त्यहाँ उपस्थित अरू केही पुरुष पत्रकार साथीलाई पनि उहाँको कुरा चित्त बुझेको रहेनछ, तीमध्ये सेतोपाटीका सञ्जीव बगालेले आफैले महिला आन्दोलन र महिलाको अवस्थाबारे पीएचडी गरेकी तुम्बाहाङ्फेले महिलाका विषय मौलिक रूपमै उठाउन सक्ने तर्क गरे । बगालेको तर्कमा त्यहाँ भएकामध्ये केही अग्रज पत्रकार सहमत हुन सकेनन्, थापाजस्तै । ‘त्यतिखेर मैले तपाईंको अनुहार हेरिरहेको थिएँ, बोल्न खोजुँला झैं गरेर पनि बोल्न सक्नुभएन,’ त्यो कोठामै भएका अर्का पत्रकारले साँझ फोनमा भने, ‘त्यो कुराले त महिलामाथि उनीहरूको दृष्टिकोण के रहेछ भन्ने देखाउँछ नि !’

हो, मलाई नि ठ्याक्कै त्यही लागेको छ, तर हलेदो भनेर चिनिसकेपछि कोट्याउनुको कुनै अर्थ रहन्न होला, त्यसकारण चुपचाप बसें । बरु मेरो मनमा केही दिनअघि मात्रै कान्तिपुरकै सहप्रकाशन साप्ताहिकका लागि अन्तर्वार्ता लिँंदै गर्दा कानुनमन्त्री तुम्बाहाङ्फेले सुनाएको ४० वर्षीय राजनीतिक जीवनको उतार–चढाव, उनले गरेको आन्दोलन र भोगेको विभेदको चित्र घुमिरहेको थियो ।

जे होस्, सोचहरू यस्तै छन्, यिनै सोचले संरचना बनाउने हुन्, जुन हामीले देखेका छौं नै । कुराकानीको बिट मार्दै त्यहाँ बसेका आधाभन्दा बढी पत्रकार निस्किए, हामीमध्ये केहीसँग प्रश्नहरू बाँकी नै थिए, हामी बस्यौं । जसै भरिभराउ कार्यकक्ष खुकुलो भयो, थापाजीको तीर मतिर सोझियो । ‘बिनुजी, तपाईं आइहाल्नुभयो, चिया खानुभयो, अब जानुस्,’ उहाँले जुन शैली र दम्भका साथ यो कुरा भन्नुभएको थियो, यहाँ शब्दमा लेख्दा मैले उहाँको त्यो दम्भ उतार्न असमर्थ भएँ, यहाँहरूले पढ्दा त्यो कुरा थापाजीकै शैलीमा पढिदिनुहोला । मैले उहाँसँग सोध्नुपर्ने केही कुरा रहेको बताएँ । तर उहाँले अरू पत्रकारको नामै किटेर भन्नुभयो, ‘तपाईं, तपाईं, तपाईं बस्नुस्, बिनुजीसँग मेरो काम छैन, तपाईं जानुस् ।’ त्यति भनेर उहाँ गोप्य कार्यकक्षमा अरू कोहीलाई भेट्न छिर्नुभयो । म त्यहाँबाट निस्किएँ । भित्र रहेका एक साथीले म्यासेज गरे, ‘उनको व्यवहारले हामीलाई पनि दु:ख लागेको छ । कतै बस्दै गर, हामी आइहाल्छौं ।’

मलाई उहाँले त्यस्तो व्यवहार किन गर्नुभयो, अहिले पनि मनमा सवाल उठिरहेको छ । हामीले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकार र पार्टीलाई चित्त नबुझ्ने समाचार लेखेकाले हो ? त्यसो हो भने त त्यहाँ त्यस्ता कुनै सञ्चारकर्मी थिएनन्, जो आबद्ध सञ्चार माध्यमले ओलीको प्रशंसा गरेको होस् । यदि त्यही नै हो र हाम्रा विषयवस्तुसँग चित्त बुझेको छैन भने पनि प्रेस सल्लाहकारले डिल गर्ने तरिका त्यो हो र ? म प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईसँग पनि कुराकानी गर्ने गर्छु । उहाँहरूले त त्यस्तो हैकम कहिल्यै देखाउनुभएन । चिया नै खान नपाएर प्रधानमन्त्री कार्यालय पुगेको झैं व्यवहार त झेल्नुपरेको छैन । असन्तुष्टि विषयवस्तुमा पो पोखिन्छ, व्यक्तिमाथि त्यो हदको व्यवहार गर्न मिल्छ ?

थापा हामी पत्रकारकै प्रश्नहरूको जवाफ दिने गरी प्रेस सल्लाहकार तोकिनुभएको हो, उहाँको जिम्मेवारीको सम्मान गर्नु मेरो कर्तव्य हो । तर गत आइतबार थापाले जुन खालको दम्भ देखाएर अपमानजनक रूपमा कार्यकक्षबाट निस्किन बाध्य पार्नुभयो, त्यो उहाँको पदीय आचरण अन्तर्गतको कुरै होइन । यसै पनि म उहाँको घरमा त गएकी थिइनँ, सरकारी कार्यालयमा गएर व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै थिएँ ।

उसो त थापाका यसअघिका यस्ता खाले तौरतरिका नभोगिएको हैन । केही सोध्न फोन गर्दा पनि तपाईंको पत्रिकाको सिनियर पत्रकारहरूसँग राम्रो सम्बन्ध छ भन्दै धम्क्याइरहनुहुन्थ्यो । हरेक पटक उहाँलाई फोन गर्दा आज के गाली खाइन्छ भन्ने भय उत्पन्न भइरहन्थ्यो । मैले त्यो शैलीबारे उहाँनिकट अरूलाई नसोधेकी पनि होइन । तर शैली त्यस्तै हो, मनका सफा छन् भनेर मलाई ‘कन्भिन्स’ गरियो । उहाँको हरेक क्षुद्रता भोगिसकेपछि आफूलाई सम्झाउँथें, ‘सूर्य थापा मनको सफा हुनुहुन्छ ।’ तर हामीलाई उहाँको सफा मनभन्दा शालीन व्यवहार चाहिएको हो, देखिएन । बरु झन्–झन् हेपाहा शैली ब्यहोर्दै जानुपर्ने भयो । त्यो मलाई मात्रै होइन, हरेक स्वाभिमानी पत्रकारलाई पच्दैन, नपच्नुपर्ने हो ।

२०६३ का प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्मका हरेक प्रधानमन्त्रीका प्रेस सल्लाहकारहरूसँग मैले संवाद गरेकी छु, सूचना लिएकी छु र समाचार लेखेकी छु । स्वयं सूर्य थापा २०६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार हुँदा पनि उहाँमा यो हदको दम्भ थिएन । अहिले दुईतिहाइको मुखमुखमा पुगेको सरकारका प्रधानमन्त्रीको सल्लाहकार भएर हो कि, दम्भको ग्राफ टुप्पोमा पुगेछ, जसले काम बोकेर कार्यकक्षमा छिरेको पत्रकारलाई ‘चिया खानुभयो, अब जानुस्’ भनेर कुरै नसुनी निकाल्ने आँट गरेको छ ।

चिया खान पाइन्छ भनेर उहाँलाई कहिल्यै भेटिएन र भेटिनेछैन पनि, तर एक कप चियाका निम्ति प्रधानमन्त्रीज्यूको प्रेस सल्लाहकारको कार्यकक्षमा गएको झैं गरी जुन व्यवहार प्रदर्शित भयो, त्यसको अर्थ मैले कसरी लगाऊँ ? राज्यकै खर्चमा खाएको त्यो चियाको मूल्य मैले कसरी तिरूँ ? अहिलेलाई यति मात्रै भन्छु— म एक कप चियाका निम्ति एक चिम्टी आत्मसम्मान साट्न प्रधानमन्त्री कार्यालय पुगेकी थिइनँ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×