नयाँ राजाको शुभजन्मोत्सव

राजेन्द्र महर्जन

हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँथेँ म पनि । स्कुलमा बिदा पनि हुने, पढ्ने झ्याउलो पनि नहुने, ट्रकमा बसेर हेडसरसँग टुँडिखेल र रंगशाला घुम्न जान पाइने, बरफ र खाजा खान पनि पाइने ! यति धेरै खुसी पाइने पुस १४ गते राजाको जन्मदिन मेरा लागि पनि उत्सवमय हुन्थ्यो ।

पञ्चायतकालीन राज्यले राजा वीरेन्द्रको जन्मदिनलाई शुभ र उत्सवमय बनाउने क्रममा तीन दिनसम्मको सार्वजनिक बिदा दिँदै, स्कुल प्रशासनमा उर्दी जारी गर्दै, गाडीको सुविधा दिँदै हजारौं विद्यार्थीलाई टुँडिखेल र रंगशालामा उतार्थ्यो । सडक र चौरमा लाइन लगाएर कलिला ओठबाट मौसुफ सरकारको जयजयकार गराई राजा, राजतन्त्र र पञ्चायती व्यवस्थाको चिरायु हुने महान् भ्रम पाल्दै बस्थ्यो ।


मौसुफ सरकारको शुभ–जन्मोत्सव मनाउँदै, राजा र व्यवस्थाकै प्रशंसामा लेखिएका ‘राष्ट्रगान’ गाउँदै, महेन्द्रमाला पढ्दै हुर्केको मैले जब राजा, राज्य व्यवस्था र देश एउटै होइनन् भन्ने थाहा पाएँ, तिनको आर्थिक भार आमजनताको टाउकामाथि थोपरिएको चेतना पाएँ, स्कुलेकालमै राजा र राजतन्त्रविरोधी (सरकारी भाषामा ‘अराष्ट्रिय तत्त्व’) बन्न पुगेँ । राजा, राज्य व्यवस्था र देशलाई एकाकार गर्ने खालका भाष्य (न्यारेटिभ्स) का आधारमा आमजनताको दोहन–शोषण जारी राखेकै कारण ‘वीरे चोर देश छोड्’ नारा पनि लगाउने भएँ ।


‘गणतान्त्रिक पञ्चायत’ र जन्मोत्सव

आज न तीन–तीन दिन जन्मोत्सव मनाउने राजा बाँचेका छन्, न ‘कू देता’ गरेर भए पनि राजतन्त्र बचाउन खोज्ने उनका भाइ नै सिंहासनमा छन्, न त उनीहरूका राजतन्त्र र राज्य व्यवस्था नै अस्तित्वमा छन् । तैपनि हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्रमा ‘नयाँ राजाहरू’ भने शाहवंशीय राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाकै विद्रूप सांस्कृतिक अभ्यासको ‘क्यारिकेचर’ गर्दै छन्, व्यक्तिविशेषको जन्मदिनलाई राज्यका कामकारबाहीसँग नत्थी गर्दै ! प्रधानमन्त्री

खड्गप्रसाद शर्मा ओलीको जन्मदिनलाई जन्मोत्सव बनाउने र ओलीको जयजयकार गर्ने सांस्कृतिक उद्यममा पुराना मौसुफहरूको शुभ–जन्मोत्सव मनाउने राजसी दुर्गन्ध व्याप्त देखिन्छ ।


चाहे शुभ–जन्मोत्सव आयोजना गर्ने होस् या विवाहको स्वर्णजयन्ती मनाउने, मार्क्सवादीबाट मार्सीवादी भएका नयाँ राजा, तिनका आसेपासेलाई मार्क्सको भनाइ पक्कै हेक्का हुनुपर्छ । ‘दी एट्टिन्थ ब्रुमेर अफ लुई बोनापार्ट’ मा मार्क्सले फ्रान्सको गणतान्त्रिक क्रान्तिका सेनापतिबाट सम्राट् बनेका नेपोलियन बोनापार्टको नक्कल गर्ने चार्ल्स–लुई बोनापार्टको पश्चगामी अभ्यासलाई राजनीतिक मजाकका रूपमा उडाएका थिए, ‘इतिहासले स्वयंलाई दोहोर्‍याउँछ ः पहिलो पटक त्रासदीका रूपमा, दोस्रो पटक प्रहसनका रूपमा ।’ व्यक्तिविशेषको जन्मदिन सम्झने निहुँमा पार्टीका प्रथम अध्यक्ष, देशका प्रधानमन्त्रीको पद, उनको नेतृत्वमा चल्ने सरकार र सिंगो राज्य व्यवस्थालाई एउटै गाँठोमा बाँधेपछि लोकतान्त्रिक गणतन्त्र नै ‘गणतान्त्रिक पञ्चायत’ बन्न पुगेको छ र निरंकुश सर्वसत्तावादले लाखेनाच नाच्न थालेको छ ।


हुन त प्रधानमन्त्री ओली आफ्नो जन्मोत्सव मात्रै होइन, धर्मभीरु नै हुन् भने मरणोत्सव मनाउन पनि स्वतन्त्र छन् एक व्यक्तिका रूपमा, तर उनी कम्युनिस्ट र गणतन्त्रवादी नभए पनि आम व्यक्ति होइनन् । उनी प्रधानमन्त्री पनि भएकाले यस्ता उत्सवमा देखिने राजसी चरित्रमाथि भने गम्भीर प्रश्न उठ्छ नै । कुनै गैरकम्युनिस्ट र गैरगणतन्त्रवादी व्यक्तिलाई आफ्नो जन्मदिनलाई शुभ–जन्मोत्सव बनाउने जोस र रुचि भए महाराजा शैलीमा सबै देशवासीलाई भोजभतेर खुवाए पनि कसैको आपत्ति हुँदैन । जन्मोत्सवलाई राजसी ठाँटबाँटसाथ महोत्सव नै बनाउने जाँगर, ज्यान र पैसा भए चन्द्रमामा यात्रा गर्दै ‘बर्थ डे केक’ काटे पनि कसैको गुनासो हुँदैन ।


प्रशंसक र चाटुकारबाट सयौं किलोको मालाले पुरिए पनि, युट्युब भिडियोको स्तुति र ‘ह्याप्पी बर्थ डे’ गीत सुनेर मखलेल भए पनि कसैबाट आलोचना हुँदैन । तर, जब देशका प्रधानमन्त्रीले राज्यका स्रोत–साधन, कर्मचारी प्रशासन, निर्वाचित संस्था, जनप्रतिनिधि र विद्यार्थीलाई प्रयोग गर्दै आफ्नो जयजयकार गर्न लगाउँछन्, तब पद, पैसा र तन्त्रको दुुरुपयोग गरेकामा विरोध हुन थाल्छ नै । खड्गप्रसाद शर्मा ओलीले पाएको प्रधानमन्त्री पद, खर्च गरेको जनताको पैसा, राजस्व, घोडाजस्तै चढेको गणतन्त्र व्यक्तिविशेषको बिर्ता र अपुताली रकम नभएकै कारण तीव्र आक्रोश पोखिएको हो ।


शक्ति, स्रोत र साधनको दुरुपयोग

जब ओलीले जन्मदिन जस्तो नितान्त व्यक्तिगत कार्यव्यापारलाई प्रधानमन्त्री पद र हैसियतसँग नत्थी गर्छन्, आफ्नो राजसी जन्मोत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा दिन लगाउँछन्, गाउँपालिकाकै पहलमा आठराईस्थित आफ्नो निवासनेर हेलिप्याड बनाउन लगाउँछन्, चारचार वटा हेलिकप्टरबाट जन्मघर यात्रामा संघीय र प्रादेशिक मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री र नेताहरूलाई सारथि बनाउँछन्, गाउँमा सरकारी, गैरसरकारी र पार्टीका चाकडीवाल अधिकारीहरूका गाडीको ताँती लगाउँछन्, पद, शक्ति र राज्यकोषको चरम दुरुपयोगको मात्रै होइन, भ्रष्ट आचरण र अलोकतान्त्रिक व्यवहारबारे प्रश्न उठ्छ नै ।


जन्मघरमा गरिएको राजसी जन्मोत्सव समारोहलाई छोपछाप गर्न ओलीले सडक शिलान्यासदेखि खानेपानी आयोजना वा बैंक शाखाको उद्घाटनजस्ता सामान्य सरकारी औपचारिक कामलाई निहुँ बनाए पनि उनका भ्रष्ट आचरण र अलोकतान्त्रिक व्यवहार नराम्ररी उजागर भएका छन्, जसले गर्दा सामाजिक सञ्जालमा उनको जन्मोत्सवसमेत गाली, आलोचना र विरोधको दिवसमा फेरिएको छ ।

झापाबाट तेह्रथुम लगिएको क्याटरिङमा ५–६ हजार मानिसलाई भोज खुवाउनु सरकारको सदाचार नीति र पार्टीको आचारसंहितालाई मेचीमा बगाउने ओली शैली होला । उद्घाटनको बहानामा पार्टीका प्रथम अध्यक्ष र देशका प्रधानमन्त्रीको ‘शुभ–जन्मोत्सव’ मनाउन दुई–तीन महिनादेखि खटिने स्थानीय नेता–कार्यकर्तामा सदाचार नीति र आचारसंहिताबारे, भोजभतेरको आर्थिक स्रोतबारे, माथिको आदेश–निर्देश आँखा चिम्लेर पालना गर्ने दासत्वबारे सन्देहसमेत नउठ्नु ओली शैलीकै व्यापकता होला । यस्तो ओली शैलीभन्दा कम दुःखद छैन, खाना–नाना, कापी–कलम र ‘विकास’ का लागि प्रधानमन्त्रीसामु हात थाप्नुपर्ने विवशताबीच आम जनतालाई आसेहरूको निरीह भीड बनाउने काम र प्रवृत्ति । चाहे खाना होस् या विकास, दान गर्ने त दानी र दयालु नै कहलिन्छन् ।


दान प्राप्त गर्नेहरूको दयनीय मनस्थिति र निरीह परिस्थितिले नै कसैलाई दयालु र दानी बन्ने मौका दिइरहने हो । दयनीय मनस्थिति र निरीह परिस्थितिबीच नै सुख, समृद्धि र समाजवादको बाँसुरी बजाएर जनतालाई भीडका रूपमा एकोहोर्‍याउने र यति समूहजस्ता आसेपासे साहूलाई पोस्ने ओलीजस्ता शासक जन्मिने हुन् ।


अरूको दीनतामा रमाउने ‘सर्वसत्तावादी चरित्र’

शासकहरूको मनोविश्लेषण गर्न सक्ने कोही भए ओलीको मनस्थितिको चिरफार गरे गज्जबको तथ्य निस्कन सक्छ । ट्र्याक्टरमा चढेर, घण्टौं हिँडेर आएका लगभग २ हजार विद्यार्थीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा र आफ्नै चहकिलो अनुहारअंकित डायरी र कलम बाँड्न पाउँदा ओलीलाई सुखानुभूति भएको हुनसक्छ । आफ्नो आयुजत्तिकै ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्लेक्स र ६९ वटा कलश बोकेर आफ्नो स्वागतमा लहरै उभिएका बालबालिका देखेर, उनीहरूले जयजयकार गरेको सुनेर उनमा राजसी आनन्द आएको पनि हुन सक्छ ।


यसरी प्रधानमन्त्री ओलीमा पनि अरूका आज्ञाकारिता, आत्मसमर्पण र निरीहता–शक्तिहीनतामा रमाउने प्रवृत्ति बढेको हो भने हेक्का रहोस्, यस्तो प्रवृत्तिलाई जर्मन मनोविश्लेषक एरिक फ्रम ‘सर्वसत्तावादी चरित्र’ (अथोरिटेरियन क्यारेक्टर) भन्ने गर्छन् । सर्वसत्तावादी चरित्र भएका शासकले बाँड्ने सुख, समृद्धि र विकासको मात्रै होइन, समाजवादको पनि आधारभूत चरित्र जनमुखी र लोकतान्त्रिक हुँदैन, बरु त्यो सुख, समृद्धि र समाजवादको नारामा आसेपासेलाई पोस्ने खालको पुँजीवाद (क्रोनी क्यापिटलिजम) कै पुनरावृत्ति हुन्छ ।


‘गणतान्त्रिक पञ्चायत’ का नयाँ राजाको शुभ–जन्मोत्सवमा पनि क्रोनी क्यापिटलिजमको नग्न प्रहसन देखिएको छ, जबकि धेरैजसोको ध्यान भने नेपालको नक्साअंकित केकको कटाइ र खवाइको नौटंकीमा केन्द्रित भएको छ । आफूलाई पोस्दै आएका प्रधानमन्त्रीलाई बधाई दिन यति समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा अलग्गै हेलिकप्टरमा भव्य केक लिएर चाकडी गर्न गएका थिए । उनीहरूले उपहार दिएको १५ किलोको केक मज्जासँग खाने–खुवाउने कामलाई वास्तवमा शासक र साहूले अर्कोलाई पोस्ने–पोसाउने खेलको अनुपम नमुना मान्न सकिन्छ ।


राष्ट्रवादी नाराले देश र जनता मोहित भएका बेला संघीय अधिकारका लागि संघर्षरत जनतालाई होच्याउँदै महान् राष्ट्रवादी नेता ओलीले भनेका थिए, ‘देश कसैको जन्मदिनको केक होइन, टुक्रा–टुक्रा पारेर बाँड्न ।’ जब ओली र ओलीको जयजयकार गर्ने भीडले जसरी केकमा अंकित ‘नेपाल’ लाई काटेर आनन्दसँग खाए, ओलीजस्ता शासक र यतिका साहूहरूले यस देशका स्रोतसाधन र सम्पत्तिलाई बर्थ डे केकजस्तै काट्दै खाँदै आएको तथ्य गोकुल बाँस्कोटा प्रकरणबाट थप जाहेर भएको छ । तर, नेपालको नक्साअंकित केक खाँदा देशै काटेर खाएको भन्दै भावनामा बगेर उत्तेजित र आक्रोशित भएर कोकोहोलो मच्चाउनुको सट्टा शासक र साहूको अवैध सम्बन्ध र ओलीका शब्दमा ‘लुटिङ फेसिलिटी’ माथि जब्बर प्रश्न गर्नु जरुरी छ ।


झन्डाले बाँधिएको राष्ट्रवाद

नेपालको नक्साअंकित केक काटेर खाएको दृश्य देखेर आक्रोशित भएको नेपाली राष्ट्रवाद (टेरिटोरियल नेसनालिजम) का आँखा खासमा राष्ट्रिय झन्डाको पट्टीले अझै बाँधिएका छन् । यसैले यस्ता राष्ट्रवादीले देशभित्रको उत्पीडन, शोषण र दोहनलाई हेर्दैनन्, देश, राष्ट्र, संविधानका नाममा स्वदेशीहरू मारिँदा पनि देख्दैनन् । राष्ट्रिय झन्डाले छोपेर शासक वर्गका आसेपासे साहूहरूका लागि मात्रै सुख, समृद्धि र समाजवाद सुनिश्चित गरिँदा पनि कोही आन्दोलित हुँदैनन् ।


जन्मोत्सवका नाममा भएको राजनीतिक नौटंकीले राष्ट्रवादीहरूसामु हामीले नै निर्वाचित गरेका प्रधानमन्त्रीको छुच्चो बोली, थोत्रा उखान–टुक्का, हवाइ सपनासँगै तुहिएका वाचा–वचन र खेर गएका दुई वर्षको कालखण्डलाई उजागर गरेको छ । अब राष्ट्रिय झन्डाले बाँधिएका आँखा खोलेर हेर्न सकिएमा प्रस्टै देखिनेछ— सुख, समृद्धि र समाजवादको नाराको बलमा प्रधानमन्त्री भएका एक पार्टीका नेता कसरी सर्वसत्तावादी हुँदै छन् ? लोकतान्त्रिक गणतन्त्रलाई गणतान्त्रिक पञ्चायतमा फेर्ने सर्वसत्तावादविरुद्ध राजनीतिक–सांस्कृतिक प्रतिरोध गरिएन भने शाही झूतले शासन सुदृढ गर्नेछ ।

ट्वीटर : @rmaharjan72 प्रकाशित : फाल्गुन १३, २०७६ ०८:०७

प्रतिक्रिया
पठाउनुहोस्

अन्योलमा झापा गोल्डकप

पर्वत पाेर्तेल

काँकडभिट्टा — अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक प्रतियोगिता क्यालेन्डरअनुसार झापा गोल्डकप फागुन १६ देखि हुनुपर्ने हो । तर प्रतियोगिता आयोजनाको सुरसारै छैन ।

चौथो संस्करणसम्म आयोजित प्रतियोगिता यो वर्ष हुँदैन कि भन्ने धेरैले लख काट्न थालेका छन् । झापा फुटबल क्लबका संरक्षक जलकुमार गुरुङ केही दिनभित्रमा प्रतियोगिताबारे टुंगो लाग्ने बताउँछन् । उनी भन्छन्, ‘एन्फाको क्यालेन्डर अनुसार चाहिँ नहुने पक्का हो । तर प्रतियोगिता नगर्ने भन्ने हैन ।’ प्राविधिक समस्याले प्रतियोगिता समयमा हुन नसकेको सुनाए ।

२०७२ सालमा झापा गोल्डकप सुरु भएको थियो । पहिलो संस्करणमा त्रिभुवन आर्मी क्लब विजेता बनेको थियो । आयोजक झापालाई हराउँदै आर्मीले ६ लाख पुरस्कार जितेको थियो । दोस्रो संस्करण मनाङले जित्यो । तेस्रो र चौथो संस्करण पुनः आर्मीको पोल्टामा पर्‍यो ।

तेस्रो संस्करण आइपुग्दा पुरस्कार राशि झन्डै दोब्बर भएको थियो । विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पाएका । चौथो संस्करणमा विजेता र उपविजेता राशिमा ५–५ हजार वृद्धि गरिएको थियो । गोल्डकप अन्योलमा परेपछि झापाली फुटबलप्रेमीहरू चिन्तित छन् । ‘झापा गोल्डकप देशकै प्रतिष्ठाको खेलकुद हो,’ झापा फुटबल टिमका पूर्व प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘निरन्तरता दिइनुको विकल्प छैन ।’

जिल्ला फुटबल संघ झापाका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक भगिरथ आलेका अनुसार प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा पार्न आफूले सिफारिस गरेको बताउँछन् । उनले भने, ‘हुँदैन कि भन्ने हल्ला सुन्दैछु, यो महत्त्वपूर्ण प्रतियोगिता हो, निरन्तरता दिइनुपर्छ ।’
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले प्रतियोगितालाई अझ बढी महत्त्वसाथ गर्ने योजना बनिरहेको बताए । ‘प्रतियोगितालाई सार्क राष्ट्रस्तरको बनाउने योजनामा छौं,’ उनले भने, ‘मुलुककै प्रतिष्ठित प्रतियोगिता बनाउने योजना छ ।’ उनले कहिलेदेखि प्रतियोगिताले निरन्तरता पाउने भन्नेबारे खुलाएनन् ।

खेलाडी अन्यत्रै
झापा गोल्डकपको अन्योल भएसँगै झापा फुटबल क्लबसम्बद्ध खेलाडी र प्रशिक्षक अन्यत्रै आबद्ध हुन थालेका छन् । ती खेलाडीहरू विभिन्न ‘ए’ डिभिजन क्लबमा आबद्ध भएका छन् । सहिद स्मारक लिगसँगै आइतबरा सताक्षी गोल्डकप जितेको मछिन्द्र क्लबमा प्रशिक्षकसहित ७ झापाका खेलाडी आबद्ध छन् । विशाल राई, देवेन्द्र तामाङ, योगेश गुरुङ, रेजिन सुब्बा, विमान राईलगायत छन् । प्रशिक्षक प्रवेश कटुवालले मछिन्द्रको प्रशिक्षण जिम्मेवारी सम्हालेका छन् ।

झापाका फरवार्ड कर्ण लिम्बू संकटामा आबद्ध भइसके । पूजन उपरकोटी मनाङ, संजोग राई र निशान खड्का थ्रीस्टार, दिलेन लोक्ताम जावलाखेल र गिल्सन कन्दङ्वा हिमालयन शेर्पासँग अनुबन्धित छन् । प्रशिक्षक कटुवालका अनुसार प्रायः ‘ए’ डिभिजन क्लबहरूमा झापाका खेलाडी छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×