पाठ्यपुस्तकमा यौनिक तथा लैंगिक अल्पसंख्यक

बिना राई

केही समयअघि साथीहरूसँगको भेटघाटमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रसंग उठ्दा एक मित्रले टिप्पणी गर्नुभयो, ‘म आफ्नो परिवारमा तेस्रोलिंगी सदस्यको परिकल्पनै गर्न सक्दिनँ ।’ महिला अभियन्ताकै मुखबाट यस्तो कुरा सुन्दा म छक्क परेँ, दुःख पनि लाग्यो ।

शिक्षित भन्नेहरूले पनि छोरीहरू मात्र भएका दम्पतीलाई छोरा जन्माउन दिएको सुझाव हामीले प्रायः सुन्दै आएकै छौं । समाज परिवर्तनको संवाहकले नै यौनिक तथा लैंगिक सवालमा स्वयंलाई परिष्कृत गर्न नसक्नुको एउटा कारण हो— पितृसत्तात्मक शिक्षा व्यवस्थाले विद्यमान ‘इन्टर्नलाइज्ड’ सोच बदल्नभन्दा स्थापित गराउन बल दिनु ।


विद्यालय स्तरमा लिङ्ग निर्धारण प्रक्रिया, लैंगिक झुकाव र समाजको दायित्वजस्ता विषयमा पर्याप्त छलफल नहुँदा व्यक्तिविशेषले केसम्म भोग्नुपर्छ भन्ने तथ्य मैले चिनेका एक युवकको घटनाले प्रस्ट्याउँछ । केटीको जस्तो गुण र व्यवहार रहेको भन्दै किशोरावस्थामै उनको विवाह भएछ । करिब आठ वर्षको दाम्पत्य जीवनमा, अनेक औषधोपचारका बावजुद सन्तान हुन नसकेपछि रहस्योद्घाटन भएछ— उनीहरूबीच यौन सम्पर्क नै हुन सकेको रहेनछ । ती युवक अझै आफ्नो यौनिक र लैंगिक पहिचानको निर्क्योल गरिनसकेको अवस्थामा रहेछन् । परिवार र समाजले उनीहरूबाट सन्तानको अपेक्षा गरेको गर्‍यै गरेपछि मात्र यो तथ्य बाहिरियो । परिवार र समाजले थोपरेको लैंगिक भूमिका निर्वाह गर्दैगर्दा भोग्नुपरेका तनाव सम्बन्धित व्यक्तिबाहेक अन्यले महसुस गर्न सक्लान् ?


यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संविधानले सम्बोधन गरे पनि सामान्यतया हाम्रो समाजले स्त्री र पुरुषको अस्तित्वलाई मात्र स्विकार्छ । तसर्थ यी दुईबीचको विवाह, सन्तान र सन्तानमा पनि छोराको चाहना हाम्रो समाजका केही आधारभूत अपेक्षा हुन्, जसलाई परिपूर्ति गर्न नसक्दा समाजशास्त्रीय भाषामा ती व्यक्तिहरू विचलित (डिभिएन्ट) कहलिन्छन् । भविष्यका कर्णधार भनिनेहरूलाई नै यस्ता सवालहरू बुझाउन नसक्दा शिक्षाको समयानुकूल सामाजिकीकरणको कार्य विफल भएको छ । किनकि हालको एकरूपीय शिक्षा व्यवस्थामा यौनिक अल्पसंख्यकका सवालहरूलाई ठाँवै दिइएको छैन । परम्परागत लैंगिक पहिचानबारे मात्र ज्ञान दिने शिक्षा प्रणालीका कारण फरक लैंगिक पहिचानका बालबालिकाले एकातर्फ मनोवैज्ञानिक पीडा सहनुपरेको हुन्छ भने, अर्कातर्फ सहपाठी र कहिलेकाहीं शिक्षकबाटै अपहेलित हुनुपरेको छ । साँचो अर्थको समावेशी शिक्षा प्रणालीमार्फत यस्ता लैंगिक सवालहरूलाई सम्बोधन गरिहाल्नुको विकल्प छैन ।


मानवशास्त्रमा प्रकृति (वंशाणु) वा पालनपोषण (सामाजिकता) मध्ये कुनले मानवजातिको व्यवहार, सोचविचार आदिलाई बढी प्रभाव पार्छ भन्ने बहस पुरानो हो । जैविक मानवशास्त्रीहरूका अनुसार, सन्तानको भौतिक र जैविक गुणहरू (छाला, कपाल आदिको रङ तथा उचाइ) मा बाबुआमाका गुणहरूको प्रभाव हुन्छ । कतिपय अवस्थामा सन्ततिहरूमा बाबुआमाको रोग पनि सर्ने गर्छ । तथापि प्रत्येक शुक्रकीट र अण्डले पृथक् गुण बोक्ने हुँदा गर्भधारणका बेला आनुवंशिक पुनःसंयोजन (जेनेटिक रिकम्बिनेसन) का कारण एकै बाबुआमाबाट जन्मेका सन्तानहरूमा पनि प्रशस्त जैविक असमानता हुन सक्छन् ।


गर्भधारणका बेला ‘मायोसिस’ भनिने कोष विभाजनका क्रममा बाबु र आमाका २३ जोडी क्रोमोजोमबाट आधाआधा गरी २३ जोडीको क्रोमोजोमसहित भ्रूण बन्छ । लिङ्ग निर्धारक क्रोमोजोम पुरुषसँग मात्र हुने भए पनि कसैको चाहना बमोजिम यो सम्भव भने हुँदैन । छोरो जन्मेन भनेर महिलालाई दोष लगाउनु र हिंसा गर्नुचाहिँ महिलामाथिको नियन्त्रणका लागि पुरुषसिर्जित मिथ्या बहाना मात्र हो । सन्तानको असल व्यवहारको स्वामित्व बाबु र खराब व्यवहारको श्रेय आमालाई दिने पितृसत्तात्मक राजनीतिले सन्तानमा बाबुआमा दुवैका गुण सर्ने गर्छन् भन्ने तथ्यलाई बेवास्ता गर्दै आएको छ । हाम्रो समाजले पनि यौनिक अल्पसंख्यकमा पर्ने सन्तान पनि बाबुआमाका जिनहरूको मिलनबाटै जन्मेको हो भन्ने नबुझे जस्तो गर्दै आएको छ ।


यौनिक अल्पसंख्यक विभिन्न खाले हुन्छन्, जसलाई अंग्रेजीमा एलजीबीटीआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेन्डर र इन्टर सेक्स) का माध्यमले बुझाइन्छ । कुनै महिला महिलाप्रति मात्रै आकर्षित हुन्छे भने ऊ ‘लेस्बियन’ (महिला समलिंगी) हो । पुरुषसँग मात्रै आकर्षित हुने पुरुष ‘गे’ (पुरुष समलिंगी) हो । महिला र पुरुष दुवैतर्फ आकर्षित हुने व्यक्तिलाई ‘बाइसेक्सुअल’ (द्विलिंगी) भनिन्छ । पुरुष गुप्तांगसहित जन्मेको तर आफूलाई महिला अनुभूति गर्ने वा महिला जानेन्द्रियसाथ जन्मे पनि आफू पुरुष रहेको ठान्ने व्यक्ति ‘ट्रान्स जेन्डर’ (तेस्रोलिंगी) हो । लिङ्ग परिवर्तनपछि ‘ट्रान्स जेन्डर’ लाई ‘ट्रान्स सेक्सुअल’ भन्ने गरिन्छ । महिला र पुरुष दुवैको जननेन्द्रिय लिएर जन्मेको व्यक्ति ‘इन्टर सेक्स’ (अन्तरलिंगी) हो । कतै–कतै एलजीबीटीक्यु पनि प्रयोग हुन्छ, जसमा ‘क्यु’ को अर्थ हुन्छ— ‘कोय’ वा ‘क्वेस्चनिङ’ । विभिन्न यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समग्रमा बुझाउन पनि ‘कोय’ को प्रयोग हुन्छ । ‘क्वेस्चनिङ’ को आशय लिङ्ग पहिचान गर्न नसकेको अवस्थाको व्यक्ति भन्ने हुन्छ ।


अन्तर्राष्ट्रिय स्तरमै एलजीबीहरूको यौनिकता सामाजिक या वंशानुगत के हो भन्ने प्राज्ञिक बहसले अझै बिट मार्न सकेको छैन । भविष्यमा अरू अध्ययन र प्रमाणले थप पुष्टि गर्लान्, तथापि जिन आफैले वा जिनले गर्भाशयको वातावरणमा अवस्थित ‘लिङ्ग हर्मोन’ सँग गर्ने अन्तरक्रियाद्वारा व्यक्तिको यौनिक झुकाव निर्धारित हुन्छ भन्ने तर्क विश्वसनीय देखिन्छ । अधिकांश मानवशास्त्री मानिसको व्यवहार समाजसँंगसंँगै वंशानुगत गुणहरूबाट पनि प्रभावित हुन्छ भन्ने मत राख्छन् । यस आधारमा महिला र पुरुषबाहेकका यौनिक तथा लैंगिक विशिष्टता स्वाभाविक र प्राकृतिक हुन् भनी स्वीकार गर्नुपर्छ ।


स्वाभाविक मानिआएको भन्दा पृथक् यौनिक र लैंगिक प्रवृत्तिको कारक तत्त्व जैविक भए पनि यसप्रतिको दृष्टिकोण भने समाजसिर्जित मूल्यमा आधारित हुन्छ । जेन्डरलाई हिन्दु दर्शनबाट विश्लेषण गर्दै मानवशास्त्री सुभद्रा मित्रले एक पुस्तकमा दक्षिण एसियामा तेस्रोलिंगीको सांस्कृतिक र संस्कारगत महत्त्व रहेको तर्क प्रस्तुत गरेकी छन् । समग्रमा, महिला तथा यौनिक अल्पसंख्यकहरूलाई पुरुषहरूले पितृसत्ताको बलमा बिस्तारै आफ्नो नियन्त्रणमा ल्याएको र दमन गरेको उनको तर्क छ । त्यसै गरी नेपालको पितृसत्तात्मक समाजले एलजीबीटीआईको पहिचान र अस्तित्वलाई सामाजिक स्वीकार्यता दिइसकेको छैन । माथि नै भनियो, शिक्षित कहलिएका कतिपयले नै यौनिक अल्पसंख्यक सदस्यको परिकल्पनासम्म सकेका छैनन् । यस्तो अवस्थामा यी समुदायका सदस्यहरूले घरपरिवार, छरछिमेक, विद्यालय, सार्वजनिक सेवाप्रदायक निकाय, कार्यस्थल लगायतमा कस्तो भेदभाव र सकस बेहोर्नुपरिरहेको होला, सहजै अनुमान लगाउन सकिन्छ ।


माध्यमिक तहको स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षामा प्रजनन तथा परिवार योजनाका सवालहरू समावेश छन् । सामाजिक शिक्षामा छुवाछूत, छाउपडी, दाइजो, मानव बेचबिखन जस्ता मुद्दा उठाइएका छन् । तर यी दुवै विषय यौनिक तथा लैंगिक अल्पसंख्यकबारे मौन छन् । अंग्रेजी पाठ्यपुस्तकमा पनि यसबारे कुनै सामग्री छैन । फरक यौनिक तथा लैंगिक पहिचानलाई ठम्याउन नसकिरहेका किशोरकिशोरीका अन्तर्द्वन्द्वलाई सम्बोधन गर्न र मैत्रीपूर्ण वातावरण निर्माण गर्न विद्यालय तहमा यसबारे छलफल आवश्यक छ । साथसाथै सचेतनामूलक श्रव्य–दृश्य सामग्रीमार्फत आम समाजमा यसबारे प्रचार–प्रसार गर्नु आवश्यक छ । यही क्रमले आउँदो पुस्तालाई सामाजिकीकरणको प्रक्रियामा लान सके यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको सामाजिक अन्तरघुलन पनि सहज हुन सक्छ ।


राई लैंगिक अध्ययनकी शोधार्थी हुन् । प्रकाशित : फाल्गुन १३, २०७६ ०७:५०

प्रतिक्रिया
पठाउनुहोस्

केटाले जस्तै केटीले गर्न किन नहुने ?

बिना राई

काठमाडौंको गौशालाबाट म कोटेश्वरतर्फ जाँदै थिएँ । त्रिभुवन विमानस्थल पुग्नै लाग्दा ट्याक्सीले मेरो स्कुटरलाई ठक्कर दियो । म बीस फिट पर पछारिएँ । तत्काल उद्धार गर्न कोही अघि सरेन । अलि पछि एक जना महिलाले उठ्न सघाउनुभयो ।


उहाँ मेरो पछिपछि स्कुटरमै आउनुभएको रहेछ । उहाँले मलाई भरथेग मात्रै गर्नुभएन, ट्याक्सी चालकसँग चर्काचर्की गर्नुभयो र मेरा श्रीमान् घटनास्थलमा आइनपुगुन्जेल साथ पनि छोड्नुभएन । यसमा उहाँले एउटै कारण दिनुभयो, ‘छोरीमान्छेलाई हेप्छन् क्या ! त्यही भएर म बसिरहेको ।’

स्कुटर दुर्घटनाको भोलिपल्टै मैले श्रीमान्को उपचारार्थ चार दिन धुलिखेल अस्पताल बस्नुपर्‍यो । त्यहाँ एक दिन कैदीलाई उपचारार्थ ल्याएका प्रहरीसँगको गफगाफमा थाहा भयो– उनी कार्यरत कारागारमा अधिकांश कैदी करणी मुद्दाका रहेछन् ।

यही बेला सामाजिक सञ्जालमा एउटा श्रव्यदृश्य सामग्री चर्चामा रह्यो, जसमा गाडी भाडामा विवादपछि एक सहचालकले एक महिलालाई दुर्व्यवहार गरेको दृश्य छ । यस घटनामा पनि मूकदर्शक प्रशस्तै देखिन्छन् ।

भनिन्छ, हाम्रो संविधानले महिला अधिकारको सवालमा एसियामै नमुनायोग्य कानुनहरू तर्जुमा गरेको छ । केही व्यक्ति त यस्तो पनि दाबी गर्छन्, मानौं नेपालमा महिला र पुरुषको स्तर र हैसियत समान भइसकेको छ तर यथार्थमा यस्ता दाबी वाहियात र अलमल्याउने खालका लाग्छन् । गत साताका उपर्युक्त तीन घटनाले पनि यस्तै उजागर गर्छन् ।

यी प्रतिनिधि घटनाहरूले के प्रस्ट पार्छन् भने हाम्रो समाजमा महिला हिंसा खुलेआम हुँदै आएका छन् र तिनमा प्रायः पुरुष रमिते मात्रै बन्ने गरेका छन् । यस्ता अनुभव भोगेका, सुनेका, पढेका वा देखेका महिलाले यस्तो हुँदा कस्तो कदम चाल्नुपर्ला भन्नेबारे महिला अधिकारकर्मी र आम महिलाबीच बहस हुँदै आएको छ ।

एउटा धार, विशेष गरी युवा पुस्ताकाहरू पुरुषसँग बराबरीका लागि ’छोरी’ भनेर प्रतिबन्ध लगाइएका कार्य र व्यवहार झन् गर्नुपर्ने तर्क राख्छन् । उनीहरू भन्छन्— पुरुष राति ढिलो घर फर्कंदा खासै आपत्ति नहुने समाजमा अब महिलाले घर फर्किन हतार गर्नु भएन । पुरुषले झैं अपशब्द बोल्न, धूमपान र मद्यपान गर्न धकाउनु भएन । ती काम केटाले गर्न हुन्छ भने केटीले गर्न किन नहुने ?

अर्को धारका महिलाहरू यस्ता छन्, जो आफूमाथिको विभेद र हिंसालाई स्वाभाविकै ठान्छन् । मार्क्सको भाषामा भन्नुपर्दा यो धारका महिला चेतना नभएको समूहमा पर्छन्, जो पुरुषसामु सम्पूर्णतः दासीकै रूपमा समर्पित हुन्छन् । प्रत्येक समाजमा महिला र पुरुषबीच घरेलु, सांस्कृतिक, संस्कारगत र सामाजिक–आर्थिक कामकर्तव्य र कार्यगत विभाजन भएको हुन्छ । महिला र पुरुषको भूमिका र क्षेत्राधिकार छुट्याइएको हुन्छ तर मानवशास्त्रीय दृष्टिकोणमा, संस्कृति परिवर्तनशील बहुआयामिक व्यवहारहरूको समष्टि हो, जुन सामाजिक अन्तरक्रियाका क्रममा पुस्तान्तरण हुँदै जान्छ ।

उत्तराधुनिक मानवशास्त्रीले भन्दा दशकौंअघि पनि महिलावादीहरूले संस्कृतिभित्रका विवादास्पद पक्ष र संस्कृति निर्माण प्रक्रियाको राजनीतिलाई केलाउन सक्नुपर्छ भन्नेमा जोड दिएको पाइन्छ । यस अर्थमा दोस्रो धारका महिलाले महसुस गर्न नसकेको पक्ष हो– संस्कृति निर्माणभित्रको लैङ्गिक विभेद र बन्देज ।

लामो सामाजिकीकरणका क्रममा सिर्जना गरिएको यस्तो भ्रममा परेका महिलाहरू लैङ्गिक आधारमा गरिने महिला–पुरुष चित्रणलाई अङ्गीकार गर्ने मात्रै होइनन्, लैंगिक हिंसाको सिकार हुँदा पनि चलिआएको परम्परा भनी सहेरै बस्ने गरेका छन् । कहिलेकाहीँ त कस्तोसम्म हुन्छ भने कुनै महिलाले आफू पुरुषबाट पीडित भएको अनुभव सुनाए, उनलाई उल्टै थप सहनशील हुन सुझाव दिने गरिन्छ !

तेस्रो धारले चाहिँ महिलाको मानव अधिकारमा जोड दिन्छ । कानुन, संविधान, मानव अधिकार, समानता र सामाजिक न्यायको वकालत गर्छ । यो धारको एउटा सबल पक्ष के हो भने महिलामाथिको असमान व्यवहारलाई नियन्त्रण वा कम गर्न कानुनले सघाउँछ भन्ने मान्छ ।

मैले माथि उल्लेख गरेका घटनाले उठाउने अनि पहिलो र तेस्रो धारले सम्बोधन गर्न नसक्ने पक्ष हो– पुरुषले महिलाप्रति राख्ने सोच । महिलाप्रति तुच्छ सोच सुरुमा व्यक्ति मानसिकतामै उत्पन्न हुने हो । समय बित्दै जाँदा यो सामाजिक यथार्थ बन्दै जान्छ । सोच हामी हुर्केको सामाजिकीकरण प्रक्रियामा निर्भर हुने गर्छ ।

तसर्थ महिलाप्रति पुरुषको दृष्टिकोण र महिला स्वयंको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सामाजिकीकरणको त्यो पाटो आवश्यक हुन्छ, जहाँ छोरीले गर्न नहुने भनिएको व्यवहार नगर्न छोरालाई पनि बाध्य पार्न सकिन्छ । ‘छोरा’ भनेर दिइएको स्वतन्त्रता र छुटले अङ्गीकार गरेको बानी–व्यवहारको सिको गर्नुभन्दा ‘छोरी’ का नाममा खडा गरिएको अवरोध र कडाइ छोरामाथि पनि लगाउन सक्नुपर्छ ।

महिलाप्रति पहिलो धारको आधारभूत समस्या भनेको गलत र असामाजिक व्यवहार महिला या तेस्रोलिंगी कसैले पनि पछ्याउन हुन्न भन्ने मान्यतालाई आत्मसात् गर्न नसक्नु हो । कुनै काम महिलाले गर्दा गलत हुन्छ भने पुरुषले गर्दा पनि ठीक मानिनु भएन ।

संस्कार, संस्कृति वा परम्पराका नाममा महिला र पुरुषबाट समाजले अपेक्षा राख्ने व्यवहार र आचरणभित्रको लैङ्गिक विभेदीकरणको पाटोलाई चिर्ने क्रममा हामीले कुन पक्षलाई आधार बनाउने भन्ने निर्क्योल गर्न सक्नुपर्छ । कतिपय विज्ञ तेस्रो धारको तर्कमा मात्र सीमित हुन्छन् । कानुनले अधिकार सुनिश्चित गरिदिँदाका पक्कै पनि धेरै सहजता छन् तर महिला, पुरुष, तेस्रोलिङ्गी आदि सामाजिक अन्तरक्रियामा आउँदा उत्पन्न हुने परिस्थिति र हामीले आउँदो पुस्तालाई कस्तो शिक्षा दिँदै छौं भन्ने पक्ष बढी महत्त्वपूर्ण हुन्छ ।

हक–अधिकार प्राप्तिको दिशामा हामीकहाँ बेलाबखत सुनिने भनाइ हो– ‘कानुन त राम्रो छ तर कार्यान्वयन फितलो छ ।’ यसको महत्त्वपूर्ण कारक महिलापुरुष सवालमा मनुवाहरूको मस्तिष्कमा गहिरो जरा गाडेको सोच नै हो । त्यसैले नैतिकतावान् समाजको पुनर्निर्माण गर्न लैङ्गिक विभेद अन्त्य गर्ने प्रयासमा सबै लिङ्गका व्यक्तिबाट असल, अनुशासित, नैतिक र सर्वमान्य व्यवहार अपेक्षा गरिनुपर्छ एवं सामाजिकीकरणको प्रक्रिया पनि सोहीबमोजिम अघि बढाउन सक्नुपर्छ । लैंगिक आधारमा सही वा गलत कार्य–व्यवहारको वर्गीकरण गर्ने परिपाटीको अन्त्य गराउनुको विकल्प छैन ।

लेखक लैङ्गिक अध्ययनकी शोधार्थी हुन् ।

प्रकाशित : असार ८, २०७६ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×