कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस र असंवेदनशील हामी

कोरोना भाइरसबाट बच्ने चीनबाट फर्केकाहरु स्वदेशवासीको सहानुभूति र स्‍नेहको अपेक्षामा थिए । तर तिनले अनपेक्षित रुपले असहिष्णु र असंवेदनशील स्वरहरु सुन्‍नुपर्‍यो, जबकि तिनीहरु संक्रमित पनि होइनन् ।
मल्ल के. सुन्दर

सुरुमा बुद्धकालीन घटनामा आधारित एउटा कथा -


भिक्षु उपगुप्त बुद्धका शिष्यहरूमध्ये अति विलक्षण प्रतिभाका थिए, त्यति नै चित्ताकर्षक पनि । मथुरामा भिक्षाटनका लागि हिंँड्दै गर्दा उनी एउटा भव्य महलअगाडि पुगे । उनलाई देखेर घरधनी वासवदत्ता दौडेर ढोकासम्म आइन् । वास्तवमा उनी भिक्षु उपगुप्तको यौवन तथा रूपबाट मोहित भएर उनको सामीप्यको अपेक्षामा छटपटाएकी थिइन् । नभन्दै उनले भिक्षुलाई आलिसान महलभित्र आउन निम्तो दिइन् । नगरवधूका रूपमा चर्चित वासवदत्ता अति कामुक, सुन्दर तथा भर्खरकी थिइन् । उनीसँग क्षणभर बिताउन शाही परिवार तथा धनाढ्यहरू मरिहत्ते गर्थे । त्यसैले आफूले निम्त्याएपछि भिक्षु पनि सहजै भित्र आउनेमा उनी विश्वस्त थिइन् । तर, भिक्षुले भने, ‘म तिम्रो निमन्त्रणा स्विकार्छु । तिम्रोमा आउँछु, तर समय आएपछि मात्रै ।’


वासवदत्ता अत्यन्त खुसी र उत्साहित भइन् । भिक्षु उपगुप्तसँग बिताउन पाउने रातबारे कल्पिँदै उनी प्रतीक्षारत हुन थालिन् । तर, उनको आकांक्षा अनुसार भिक्षु आइपुगेनन् । प्रतीक्षामै बिते कैयौं दिन, महिना र वर्ष । भिक्षु आएनन् नै । धैर्यले सीमा नाघेपछि वासवदत्ताले उनलाई बोलाउन दूत पठाइन् । फेरि पनि उत्तर आयो, ‘समय भएपछि पक्कै आउँछु ।’


वर्षौं बिते । अब वासवदत्तामा त्यो कामुकता, यौवन र आकर्षण रहेन । अन्ततः उनलाई कुष्ठरोगले गाँज्यो । अंग–प्रत्यंग कुरूप बने । सबैबाट तिरस्कृत र अपहेलित हुन थालिन् उनी । यस्तैमा एक दिन बिहानै भिक्षु उपगुप्त उनी भए ठाउँमा पुगे । भिक्षुलाई देखेर दुःखित हुँदै उनले भनिन्, ‘जुन बेलासम्म ममा तिमीलाई अर्पण गर्ने सौन्दर्य र यौवन थियो, त्यस बेला आएनौ । अहिले मसँग दिने केही छैन ।’ शान्त, सौम्य भिक्षुले भने, ‘म आइपुग्नुपर्ने समय यही हो । तिमीलाई सबभन्दा बढी मेरो आवश्यकता यही समय छ ।’ निकै करुण भिक्षु हृदयदेखि नै वासवदत्ताको सेवामा लागे । वासवदत्ता पूर्ण स्वस्थ भइन् । अनि बौद्ध करुणाबाट प्रभावित भई उनी आफै भिक्षुणी बनिन् ।


पीडा, यातना, कष्ट, रोगव्याधिका बेला मानिसलाई सबभन्दा आवश्यक भनेको ऊनिकट मानिसको करुणा, स्नेह र सहयोग नै हो । मानवता यसैको नाम हो; यही नै हो धर्म अनि सेवा । उपर्युक्त कथाको मूल सन्देश यही हो । कोरोना भाइरसले यत्रतत्र आतंक मच्चाइरहेका बेला हामीबीच स्वास्थ्य सुरक्षा सम्बन्धी सतर्कताको त चर्चा छ, सही उपचार विधिबारे पनि चासो देखिन्छ, तर यस खाले महामारीमा समाजमा आपसी सद्भाव, सहयोग तथा स्नेह र करुणाको जुन भाव व्याप्त हुनुपर्ने हो, त्यो अहिले देखिएन ।


चीनबाट प्राप्त सूचना अनुसार, कोरोना भाइरसबाट सयौंको ज्यान गइसकेको छ । झन्डै ८० हजार मानिस संक्रमित छन् । यो रोग चीनको सीमा काटेर दुई दर्जनभन्दा बढी मुलुकसम्म पुगिसकेको छ । चिन्ताको कुरा के छ भने, यस रोगको कारणअझै पत्ता लाग्न सकेको छैन, औषधी पनि बन्न सकेको छैन । यो रोग सर्नबाट बच्नु नै अहिलेसम्मको एक मात्र उपाय भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, संक्रमित व्यक्तिबाट कम्तीमा एक मिटर टाढा बस्दा, उपयुक्त मास्क लगाउँदा, नियमित रूपमा साबुन–पानीले हात–मुख धुने गर्दा कोरोना भाइरस सर्ने सम्भावना हुँदैन ।


यति हुँदाहुँदै, रोगग्रस्त भएर होइन कि केवल कोरोना भाइरस महामारी फैलिरहेको चीनबाट फर्केका कारण नेपाली विद्यार्थीहरूप्रति असहिष्णुता र असंवेदनशीलता प्रदर्शन गर्न काठमाडौं उपत्यकाका एक तप्काका मानिस लागिपरेका छन् । चीनको त्यो सन्त्रासपूर्ण वातावरणबाट बच्दै तनावपूर्ण स्थितिमा फर्केकाहरू स्वदेशवासीको सहानुभूति र स्नेहको अपेक्षामा थिए । तर, त्यस्तो देखिएन । राज्यले आवश्यक व्यवस्थासहित सतर्कता र सुरक्षाका लागि दुई साता क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको प्रशिक्षण केन्द्र छनोट गरेको समाचार नआउँदै उदेकलाग्दो गरी असंवेदनशील स्वरहरू गुन्जिन थाले । क्वारेन्टाइनमा राखिएका कोही पनि संक्रमित होइनन्, उनीहरूका कारण रोग सर्दैन, सुरक्षात्मक व्यवस्था मात्र गरिएको हो भन्ने थाहा हुँदाहुँदै पनि स्थानीय बासिन्दाहरूच्याँट्ठिए, ‘हाम्रा घरसँगै क्वारेन्टाइन क्याम्प राखेकोले हामी घर छाडेर अन्तै हिँड्न बाध्य भयौं ।’ भक्तपुरकै एक जना प्रतिनिधिसभा सदस्यले संसदमा शून्य समयमा बोल्दै चीनबाट फर्केकाहरूलाई त्यहाँ नराख्न खबरदारी गरे । अरू त अरू, भक्तपुरवासी राष्ट्रिय स्तरका एक नेताले पनि क्वारेन्टाइन क्याम्प भक्तपुरमा राखेकामा आपत्ति जनाए । यस्तो संवेदनशील मुद्दामा पनि राजनीति गर्नमै रमाए नेताहरू । आफन्तहरूलाई पीडामा हुँदा, समस्यामा पर्दा सद्भावको हात बढाउनु, स्नेहपूर्ण व्यवहार गर्नु अनि आवश्यक परे सक्दो सहयोग गर्नु पो हो सभ्य समाजको चरित्र हो ! मानवता पनि यही हो !


चीन त्यत्रो संकटमा छ, कुन बेला को संक्रमित हुने हो, थाहा छैन । कसैले पनि सुरक्षित अनुभूति गर्न सकिरहेको छैन । तैपनि चिनियाँहरू आत्मकेन्द्रित भएर सुरक्षाको नाउँमा परपर सरेका छैनन्, बरु ज्यानकै बाजी थापेर देशका विभिन्न प्रान्त र क्षेत्रबाट हजारौं स्वास्थ्यकर्मी, चिकित्सक कोरोना उत्पत्तिस्थल हुवेईको वुहानमा ओइरिएका छन् । कतिपय रेस्टुरेन्ट र होटलहरूले दिनहुँ निःशुल्क खानपिनको व्यवस्था गरिरहेका छन् । धनाढ्य र उद्योगपतिहरूले दिल खोलेर आर्थिक सहयोग खन्याइरहेका छन् । समाजसेवी, स्वयम्सेवक तथा गैरसरकारी संस्थाहरू पनि त्यसै गरी लागिपरेका छन् । सबैले सामुदायिक भावना देखाइरहेका छन् ।


यस्तो भावना हामीकहाँ दुर्लभ हुँदै गएको छ । बेइजिङमा पढ्दै गरेका टेकनबहादुर थापालाई चिनियाँ हितैषीहरूले घर फर्किन सल्लाह दिए । प्लेन टिकट उनीहरूले नै किनिदिए । ती विद्यार्थी चीनबाट त फर्किए । तर यहाँ बसिखान पाएनन् । चीनबाट फर्केको भनेपछि भोलिपल्टै उनका डेरावरपरका मानिसहरूले हकारे, गाली गरे, छिःछिः दुरदुर गरे । अनि वडास्थित प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी पनि हाले । स्मरणीय छ, बेइजिङ कोरोना भाइरसबाट पीडित क्षेत्र होइन । ती विद्यार्थीमा संक्रमणको कुनै लक्षण पनि थिएन । आफ्नो कुनै अपराध नभए पनि उनलाई प्रहरीले फोनबाट हप्कीदप्की गर्दैर् थानामा उपस्थित हुन बाध्य बनायो, ‘चीनबाट किन फर्किस्’ भन्दै केरकार गर्‍यो । अस्पताल गई आफू पूर्ण स्वस्थ रहेको कागज बनाएर ल्याई पेस गर्दा पनि उनले उन्मुक्ति पाएनन् । हामी सद्भाव र संवेदनाशून्य हुँदै गएको योभन्दा क्रूर दृष्टान्त अर्को के होला ?


सन् १८१६ मा उपत्यकामा बिफर फैलियो । त्यस बेला शासनसत्तामा थिए— रणबहादुर शाह । आमजनता त्यस रोगबाट कति पीडित थिए, कति मरे, कति दुःखद अवस्था थियो, त्यो राजाको चिन्ताको विषय थिएन । सामन्त उनको सरोकार र चिन्ता आफू र आफ्नो परिवारभित्र सीमित थियो । बिफरबाट दरबारलाई कसरी सुरक्षित राख्ने भन्ने एक मात्र ध्याउन्न थियो उनको । आफन्तमोह र स्वकेन्द्रित मानसिकताका उनले बिफर लागेका उपत्यकावासी बालबालिकासहित सबैलाई सेना लगाएर तामाकोशीपारि पुर्‍याइदिए । कोसौं परसम्म भोक–प्यास केही नभनी हिँड्नुपर्दा धेरै जना त बाटैमा मरे । दुनियाँले अत्यन्त दुःख पाए । त्यति गर्दा पनि राजाले आफ्नी मन पर्ने रानीको कोखबाट जन्मेका युवराज गीर्वाणयुद्धलाई बिफरबाट बचाउन सकेनन् । त्यसै वर्ष उनी बिते ।


कोरोना भाइरसबाट जोगिन चीनबाट फर्केका नेपाली दाजुभाइ, दिदीबहिनीप्रति समाजमा अहिले किन रणबहादुर प्रवृत्ति प्रबल भइरहेको छ ? किन भिक्षु उपगुप्तको करुणा र संवेदनाको भाव अंकुरित हुन सकिरहेको छैन ? प्रकाशित : फाल्गुन १२, २०७६ ०९:०७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

साढे तीन सय बिघामा लगाएको मकैमा दाना लागेन

राजु चौधरी

काठमाडौँ — बारा जिल्लामा किसानले लगाएको मकैमा दाना नलाग्ने समस्या देखिएको छ । ६ हजार हेक्टर मकै खेतीमध्ये साढे ३ सय बिघा खेतीमा दाना नलागेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

‘सिमरा उपमहानगरपालिकामा ३ सय बिघा, कलैया उपमहानगरपालिकामा करिब २० बिघा र प्रसौनी गाउँपालिकामा २० बिघामा समस्या देखिएको छ,’ ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले भने, ‘कर्मचारी फिल्डमा खटाएका छौं । तथ्यांक थप बढ्न सक्छ ।’

मकैमा घोगा नलाग्ने समस्या देखिएपछि केन्द्रले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई बोधार्थ गरी कृषि विकास निर्देशनालय धनुषालाई समेत पत्र पठाएको छ । पत्रमा हाइब्रिड जातका मकैको घोगामा दाना नलागी धान चमरमा दाना लागेको उल्लेख छ । ‘हाइब्रिड जातको मकैको घोगामा दाना नलागी मकैको धान–चमरमा दाना लागेर समस्या देखापरेको छ । तसर्थ त्यहाँ कार्यालयबाट विज्ञहरूको टोली खटाई सो समस्याको कारण पत्ता लगाउन तथा किसानलाई आवश्यक प्राविधिक परामर्श प्रदान गर्न सहयोग गरिदिनहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

किसानले ती क्षेत्रमा आठ जातका मकै लगाएको केन्द्र प्रमुख यादवले बताए । जसमध्ये दुई जात मात्रै सूचीकृत छन् ।भन्सार छली गरी आयात गरिएका जातका कारण पनि समस्या भएको हुन सक्ने केन्द्रले जनाएको छ । यीबाहेक वातावरण परिवर्तनले पनि केही समस्या भएको हुन सक्ने जानकार बताउँछन् । ‘किसानले लगाएका केही जात सूचीकृत छैनन् । भन्सार छलेर ल्याएका पनि छन्,’ यादवले भने, ‘यीबाहेक अहिले मकैमा देखिएको समस्या मौसमका कारण पनि हुन सक्छ ।’ थप अध्ययनका लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद्लाई आग्रह गरेको उनले बताए ।

अवलोकन गरेपछि मात्रै यकिन तथ्यांक आउने बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र प्रमुख मदन थापाको भनाइ छ । मकैबारे अध्ययन गर्न अर्को साता टोली खटाइने उनले बताए । ‘बीउबिजन केन्द्रका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबाट प्रारम्भिक अध्ययन भइरहेको छ,’ उनले भने, ‘अर्को साता केन्द्रबाट पनि जान्छौं ।’
मकैका ८५ जात स्वीकृत छन्, तीमध्ये २७ जात नेपालमै उत्पादित छन् । ५८ जात बाहिरबाट आयात हुँदै आएका छन् । खुला सीमाका कारण सूचीकृत नभएका जात पनि प्रशस्त भित्रिने गरेको छ । बाराका किसानले एनएमएच (श्रेष्ठा) र ९५१ सुपर जातका मकै लगाएका थिए । सरकारले सूचीकृत गरेको ती जातमा पनि समस्या देखिएको केन्द्रको भनाइ छ । श्रेष्ठा ०६९ सालमा सूचीकृत भएको थियो । यो जातको मकै १ सय १५ दिनमा पाक्ने केन्द्रले जनाएको छ । यसको उत्पादन क्षमता प्रतिहेक्टर ७.९२ टन हो । श्रेष्ठा जात नारायणी नदीपूर्वका भित्री मधेस तथा तराईमा सिफारिस गरिएको छ ।

९५१ सुपरलाई ०७४ सालमा स्वीकृति दिइएको थियो । यसको पाक्ने अवधि १ सय ५५ देखि १ सय ६० दिन हो । केन्द्रले यो जातलाई समुद्री सतहदेखि ७ सय मिटर उचाइसम्मको नारायणी नदीपूर्वका तराई र भित्री मधेसमा हिउँदे सिजनका लागि सिफारिस गरेको छ । दुवै बीउ पञ्जीकृत हुन् । यी जातका मकैको बीउ नेपालमा उत्पादन नभएकाले आयातमै भर पर्नुपरेको केन्द्रले जनाएको छ । ‘कम्पनीहरू जात सूचीकृत गरेपछि दायित्व सकियो भन्ने सोच्छन्,’ बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंले भने, ‘मौसम परिवर्तनले पनि समस्या हुन सक्छ । गत वर्ष शीतलहर थिएन । यो वर्ष करिब एक महिना चल्यो ।

यसले पनि समस्या पारेको हुन सक्छ ।’ कृषि अनुसन्धान परिषद्का प्रवक्ता मनोज ठाकुरले पनि मकैमा समस्या देखिएको स्विकारे । खुला सिमानाकै कारण अवैध रूपमा भित्रिँदा किसान मर्कामा परेको उनको बुझाइ छ । खुला सीमाकै कारण साइकल, ट्र्याक्टरमा पनि सूचीकृत नभएका मकैको बीउ आयात हुने गरेको उनले बताए । औपचारिक र अनौपचारिक गरेर वार्षिक ३ अर्बको आयात हुन्छ । व्यवसायीले बिल जारी नगर्ने र किसानसँग पनि बिल नहुँदा कारबाहीमा पनि समस्या भएको केन्द्र प्रमुख थापाको भनाइ छ ।

खुला सीमाका कारण नक्कली बीउ आयात भए पनि नियामक निकायले भने अनुगमनमा चासो दिएको छैन । बीउबिजनबारे अनुगमन एवं अध्ययन नार्क र केन्द्रले नै गर्नुपर्ने हो । तर यी निकायकै बेवास्ताका कारण नक्कली बीउ भित्रिने गरेको सरोकारवाला बताउँछन् । जसको मारमा किसान परेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×