कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

वाग्मती जहिल्यै फोहर

दीप्स शाह

वाग्मती सफाइ महाअभियानको ३०० औं हप्ता पूरा हुँदाको भब्य कार्यक्रमको खबर पढेर सोचमग्न भए लगत्तै काम विशेषले वाग्मतीको किनारैकिनार हुइँंकिनुपरेको थियो । सफाइले वाग्मतीको अनुहार केही त फेरिएकै हो । तर के यसरी लगातर अभियानै चलाइरहेर मात्र वाग्मती सफा होला र ? के फोहोर व्यवस्थापनको स्थायी तरिका अरु केही हुन्न ? बाटोभरि यस्तै प्रश्नले उद्वेलित भइरहेँ । वातावरण सफाइको कुरा आउँदा एउटा आफ्नै भोगाइ उल्लेख गर्न चाहन्छु ।

वाग्मती जहिल्यै फोहर

वैदेशिक रोजगारको सिलसिलामा पहिलोपटक इजरायलको बेनगुरियन एयरपोर्ट ओर्ले लगत्तै मलाई लिन आएका फ्रान्सेली मूलका इजरायली मार्क दम्पतीको कारमा हामी हुइँकियौं, दक्षिणको मरुभूमि गाउँ फरानतिर, जहाँ मेरो रोजगार थलो किटान भएको थियो । उडानको थकान र रातिको समय भएको हुँदा म पछिल्लो सिटमा उँघिरहेको थिएँ । निद्राकै सुरमा पानी सकिएको बोतल झ्यालबाट मिल्काइदिएँ फुत्त । जुन मेरालागि अति सामान्य थियो । तर निष्पट्ट रातमा मरुभूमिको लम्बेतान चिल्लो सडकमा वेगवान बत्तिरहेको कार लगभग बल्ड्याङ खालाझैं हुत्तिएर एकाएक रोकिएसँगै जब मतिर फर्केर डोरोन मार्क जङ्गियो, ‘ह्वाट दि हेल यु डिड द्‍याट ?’

मलाई लाग्यो, केही असामान्य कुरो भइसक्यो । पहिले त मलाई विश्वासै लागेन कि केही घन्टा पहिले त्यति विनम्र र मिजासी भएर मलाई स्वागत गर्ने अनुहार त्यति विकृत देखिन सक्छ, कर्कश हुनसक्छ भनेर । म डरले लगभग काँपेँ । मलाई थाहै थिएन, ‘ह्वाट दि हेल आई डिड ?’ श्रीमती मार्क पनि किञ्चित त्रसित देखिई र विस्तारै भनी, ‘इट्स ओके डोरोन ।’ बूढो बर्सियो, ‘इट्स नट ओके एन्ड यु नो बेटर’ बर्बराउँदै डोरोन कारबाट ओर्लियो र फ्लास लाइट बाल्दै पछाडि लाग्यो । त्यतिन्जेल श्रीमती मार्कले मेरो काँध थपथपाउँदै अनावश्यक कुरो यसरी फ्याँक्दा वातावरण प्रदूषण हुने र यस्तो कुरामा ती बूढा बढी नै सजग छन् भनेर सम्झाइन् । अनि बल्ल पो मलाई थाहा भयो, डोरोन बहुलाउनुको कारण । यतिकैमा अघि मैले फ्याँकेको बोतल भेटाएर डोरोन यस्तरी फर्कियो, मानौं कोलम्बसले अमेरिका भेटाएको होस् । बोतल सिटमुनि घुसारेर एकपटक फेरि मलाई रिसाएको बाघले झैं हेर्‍यो र चुपचाप कार हुइँक्याउन थाल्यो । त्यसपछि मेरो निद्रा त गायब भैगो । बडा नरमाइलो लाग्यो । पहिलो गाँसमै ढुंगाझैं भैगो । नाथे, एउटा रित्तो बोतल त्यो पनि केही न केहीको सुनसान मरुभूमिमा फ्याँक्दा त के–के न अपराधै गरेझैं खान खोज्नेसँग बाँकी दिनहरू कस्तो बित्ला ? सम्झिँदै कहाली लाग्यो । त्यसबेला बरु मैले नेपालमा दुई दिनअघि छोडेको दुधे छोरो त्यति रोएको थिएन होला, म बाँकी यात्राभरि अँध्यारोमा पछाडिको सिटमा रोइरहेँ ।


फरान पुग्ने बित्तिकै थकाइले मलाई दिइएको आउट हाउसमा पसेर सुतिहालेँ । भोलिपल्ट बिहान मलाई तिनीहरू खासगरी बूढो डोरोनको मुख हेर्नै मन थिएन, तर जब ससानो फूलको गुच्छासहित अनुहारमा उज्यालो मुस्कान लिएर डोरोन मलाई सरी भन्न आयो, हिजो सोचेजस्तो राक्षस पनि होइन रहेछ जस्तो लाग्यो । ‘त्यसरी एक्कासी म रिसाउन हुन्थेन, तर तिमीले पनि गल्ती गर्‍यौ, एउटा ग्रोन अप ह्युमन भएर’ भन्दै फेरि त्यस्तो गल्ती नगर्नु भनी सफाइसम्बन्धी उसको लामो तर मिठो लेक्चर सुनेपछि मलाई पनि आफ्नो गल्ती महसुस भयो । उसको आशय थियो— फोहोर गरेर सफा गर्नुभन्दा फोहोरै नगर्नु अति जरुरी र बुद्धिमानी काम हो । मलाई उसको आइडिया ठिक लाग्यो । त्यसपछि इजरायल बसाइको क्रममा मैले बुझेँ, त्यहाँ डोरोनजस्ता मान्छे बस्छन् र इजरायल त्यति सफा छ । यता दीप्सहरू बस्छन् र नेपालका सहर, गल्ली जहिल्यै दुर्गन्धित छन् ।


हुन पनि हामी नेपाली जुनसुकै कुरो पनि आफै नजान्ने वा मनन नै नगर्ने, अरुले धक्का दिएपछि बल्ल झल्यास्स हुने खालका छौं । त्यस दिनदेखि म वातावरणप्रति केही सजग छु । सफा गर्न सक्दिन भने फोहोर गर्ने अधिकार पनि मलाई छैन भन्ने मान्यतामा चल्न खोजिरहेको मैले भर्खरै मात्रै कालिञ्चोक घुमफिरको क्रममा फेरि इजरायलको झ्वाँक्की डोरोनलाई सम्झिएँ । यात्राको रोमाञ्चकता र केवलकारको लम्बेतान पालो कुराइलाई मध्यनजर गर्दै हाम्रो टोली पनि हिँडेरै कुरी बजारबाट माथि माताको दर्शन गर्ने टुंगो लाग्यो । उकालोमा हामी छरियौं र कसोकसो म अरुकै हुलमा मिसिएछु । सोचे जस्तै यात्रा रोमाञ्चक त भयो नै, तर बाटामा केही बिझाउने दृश्यहरू देखिए । चिजबल, कुरकुरे, चक्लेट, जुसका प्लास्टिक जताततै छरिएर मानौं हिउँको त्यो अद्भुत सुन्दरतालाई गिज्याइरहेको थियो । उकालोमा एउटा ठिटो पसले भेटिए, जो त्यस्तै जंक फुड र जुस खिच्रिङ–मिच्रिङ बेच्दै थिए । त्यहाँ वरिपरि जताततै प्लास्टिक फ्याँकिएका थिए, तर छेवैको डस्टबिन भने खाली थियो । एक झुन्ड ठिटाठिटी गफिँदै खाँदै थिए । म भने फेरि इजरायलको त्यही डोरोन मार्कलाई सम्झिँदै ती फोहोर सफा गर्न थालेँ । डोरोनले भनेझैं फोहोर गरेर सफा गर्नुभन्दा फोहोरै नगर्नु पो उत्तम । त्यस्तो चेतना ब्यापक भइदिए यसरी हप्ता गनिगनी वाग्मती सफाइको अभियान पनि जरुरी हुन्थेन होला र हाम्रा सहर, गल्ली पनि सुकिला हुन्थे होला । फोहोर–मैलालाई तोकिएको ठाउँमै मात्र फ्याँक्ने बानी बसाल्न हामीलाई कति समय लाग्ला ?

प्रकाशित : फाल्गुन १२, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?