१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

इतिहास कति सपना हो ?

अभि सुवेदी

फागुन महिनाको पहिलो हप्ता नेपालमा दुईपटक इतिहासका सम्झना भए । माओवादीले २०५२ देखि २०६२ सम्म चलाएको युद्धलाई १ गते सम्झना गरियो भने नेपाल राणा शासनबाट २००७ सालमा मुक्त भएको दिनलाई ७ गते सम्झना गरियो । 

इतिहास कति सपना हो ?

पहिलो ‘जनयुद्ध’ सुरु गरेको दिनको सम्झना थियो भने ‘प्रजातन्त्र दिवस’ राणा शासनबाट मुक्त भएको अथवा समापन गरेको दिनको सम्झना थियो । अर्को अर्थमा जहानियाँ राणा शासनको अन्त्य गरेर नेपालको ढोका विश्वसामु खोलिदिएको दिन हो, फागुन ७ गते ।


हामी अँध्यारो मध्ययुगीन अवस्थाबाट पहिलोपटक बाहिर निस्केको दिन हो त्यो । कवि लक्ष्मीप्रसाद देवकोटाले अब हामी ‘विश्व गोल सदनका अंशियार हौं’ भनेर उद्घोष गरे । कवि सिद्धिचरण श्रेष्ठले ‘गिरी गह्वरले भिन्न भै अब मनुज बस्न कै छैन सम्भव’ भनेर लेखे । जनयुद्धको सम्झना यो आरम्भ भएको मितिले गन्दा संघर्षका १० वर्षको कालखण्डको सम्झना हो । २००७ सालको आन्दोलन आरम्भ गरेको दिनको सम्झना हुँदैन । यो क्रान्ति सम्पन्न भएको दिनसम्म आइपुग्न नेपालमा धेरै साना–ठूला आन्दोलन भए, जसका अनेकौं तिथिहरू छन् । त्यसैले यो आन्दोलन नेपालको आधुनिकतातिरको आन्दोलन थियो, जसका निम्ति नेपालीका धेरै वर्ष बिते । सफलता र असफलता भन्ने कुरा परिभाषाका विषय भए । कुनै आन्दोलन अमूक तिथि र घटनाबाट आरम्भ हुन्छन् । कुनै मितिमा कुनै सम्झौता वा जित–हारबाट तिनको अन्त्य पनि हुन्छ । यसरी कालखण्ड मिलेका आन्दोलन र क्रान्तिहरूलाई सहज अवतरण भएका घटना मान्नुपर्छ, इतिहासमा । नेपाली जनयुद्ध त्यस्तै तार्किक, राजनीतिक र सम्झौताबाट अवतरण भएको आन्दोलन थियो, जसले अनेकन कुँडाकर्कट छाड्यो, जुन मिलाउन अहिलेसम्म राजनीतिज्ञ, सरकार र अरुहरू लागिपरेकै छन् । सत्यनिरुपण र मेलमिलाप आयोग त्यही मिलाउने खण्डको महारूप हो, जसको उचित व्यवस्था गरिएको छैन, जसको निम्ति उजुरीहरू धेरै छन्, तर निराकण गर्नका निम्ति कानुन बनेकै छैनन् ।


माथि भनेका यी दुईथरी आन्दोलनहरू नेपाली इतिहासमा नित्य अलग–अलग हिँड्ने इतिहासका खण्ड होइनन् । देखिएको छ, इतिहास त्यस्तो हुँदैन । इतिहासका प्रत्येक घटना जोडिएका हुन्छन् । त्यसैले अमूक आफूलाई मनपर्ने घटनालाई मात्र उजागर गर्ने अरु घटनालाई गौण वा नगन्य मान्ने व्याख्याले काम नगरेका उदाहरण हामीले इतिहासमा भेटेकै छौं । उदाहरणको निम्ति २००७ को क्रान्तिको पछिल्लो रूप २०४७ साल हो, किनभने संसदीय व्यवस्था, बहुदल, गणेशमान सिंह, किसुनजी, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला आदि राजनीतिक पात्रहरू जोडिएको क्रान्ति खण्ड थियो, त्यो ।


किसुनजीले त संविधान बनाउने र प्रयोगमा ल्याउने जस्ता महत्त्वपूर्ण कर्मसमेत सम्पन्न गरेको अवस्था थियो । तर अर्को पुस्ताका नेता मदन भण्डारी र मित्रहरूको प्रवेश पनि भैसकेको हुनाले इतिहास पछिल्लो पुस्तासँग जोडिएको देखिने आधार देखियो । १० वर्षको माओवादी युद्धले अघिल्लो इतिहासका पात्र, आइडियोलोजी र काम गर्ने पद्धतिसँग इतिहासका कालखण्डको सम्बन्ध हुन्छ भन्ने कुरा प्रमाणित गर्‍यो । केही ऐतिहासिक घटना भए । मंसिर ७ गते ०६२ को १२ बुँदे समझदारी, त्यही ०६२–६३ सालमा भएको संयुक्त जनआन्दोलन र मंसिर ५ गते ०६३ मा भएको विस्तृत् शान्ति सम्झौताले माथि भनिएका इतिहासका दुईवटा धारलाई सँगै ल्याएर काम गर्ने आधारहरू आफैं सिर्जना गरिदिए ।


आन्दोलनहरूले नेता वा नायक जन्माउने अनि तिनको विषयमा ग्रन्थ र आलेखहरू प्रकाशित गर्ने एउटा स्वाभाविक चलन हो । २००७ सालको क्रान्तिका नायकहरूमाथि खासै कसैले किताब लेखेनन् । बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’मा बीपी कोइराला र अरु नायकहरूमाथि विस्तृत रूपमा लेखियो । बीपी कोइराला आफैं लेखक भएका हुनाले उनले आत्मसंस्मरण लेखे, जुन अलिक पछि प्रकाशित भयो । तर ०४६ सालको परिवर्तनपछि नायकहरूमाथि फिल्म बनाउने, किताबमा संस्मरण लेख्ने काम भए । त्यसमा प्रमुख रूपमा गणेशमान सिंहमाथि लेखिएका ग्रन्थहरू थिए । कवि केदारमान व्यथितले नेपाली लेखकहरूको जमघटमा घरमा रात्रिभोजनमा गणेशमान सिंहलाई पनि बोलाएका थिए, जहाँ उनी साथीहरूले छिट्टै राजालाई लगेर प्रजातन्त्र दिन्छन् भनेर खुलेर रोएका थिए । पछि नभन्दै राजा ज्ञानेन्द्रले शक्ति हातमा लिएका थिए ।


केही खासै विधि नपुगेका फिल्म अनि केही अतिशयोक्ति गरेर लेखिएका नेताका जीवनीहरू प्रकाशित भए । यसरी संस्मरण र जीवनी लेख्ने विधा राजनीतिक रूपमा पनि प्रयोग गर्न सकिने रहेछ भन्ने सोच आयो । पहिलेका निरंकुश पञ्च अनि अवकाशप्राप्त सैनिक अधिकारीहरूका संस्मरण निस्किनु र तिनको राजनीतिक प्रभाव सिर्जना गर्न प्रयोग गर्नु त्यही नयाँ लहरको प्रभाव हो । पञ्चहरू र पहिलेको पञ्चायतकालका खम्बाहरूले मोटामोटा किताब निकालेको शृङ्खलामा प्रधानमन्त्री र पहिलो राजनीतिक धारका अग्रणी गिरिजाप्रसाद कोइरालाको मसिनो ‘माई सिम्पल कन्भिक्सन’ (२०६३) मण्डला बुकबाट प्रकाशित भयो । यसको विमोचनको वक्ताको रूपमा मैले महत्त्वपूर्ण श्रोताहरूमाझ यस्ता मोटा किताब र गिरिजाबाबुको यो सानो तर तेजिलो संस्मरणको तुलना गर्दै प्रजातन्त्रवादीका संस्मरण र प्रकाशनका आयामहरू सैद्धान्तिकीकरण गर्ने प्रयास गरेको थिएँ ।


माथि भनेका दुई धारहरूको संस्मरण गर्ने यो हप्तामा माओवादी जनयुद्ध भन्ने कि नभन्ने विषयको पूर्वएमाले र माओवादी बीचको जेठ ३ गते ०७५ को एकता सन्धिपछि कुरा हराए पनि यही फागुन २ को स्मृति दिवसमा एमालेका वरिष्ठ नेताहरू उपस्थित नभएको कारणले निकै चर्चा पायो । तर मेरो चाख अलिक साहित्यजनिन बढी हुने भएकोले पूर्वमाओवादीको आन्दोलनका स्मृतिका धारहरूबाट आएका कुरा अत्यन्त ध्यान दिनलायक थिए । ती थोरै थिए तर सपना र आत्मालोचनाले रञ्जित थिए । जनयुद्ध कालको सबैभन्दा धेरै माया गरेर लेखिएको लेख रातो घरमा बस्नु खतरनाक हुनेरहेछ भनेर प्रकारान्तरले माओवादी होइन, कम्युनिष्ट धार नै छोडेका बाबुराम भट्टराईको थियो । यो लेख नयाँ पत्रिका फागुन १ गते निस्किएको हो । यो लेखमा डा. भट्टराईले अरु कुनै माओवादीले भन्दा तीव्र, भावात्मक रूपमा त्यो जनयुद्ध कालको संस्मरण गरेको पढ्दा केही चाख, केही उत्सुकता र केही कौतुहल उब्जिन्छन् ।


मलाई त यसमा रहेको साहित्यिक गुणको संस्मरण मनपरेको हो । यो लेख र अरु नेताका लेख र मिडियामा निस्केका भाषिका पढ्दा भने लाग्छ, बाबुराम चाहिँं माओवादी नेता हुन् र अरु अलग धार समातेर निस्केका मानिसहरू हुन् । त्यो जनयुद्धकाल उनको सपनामा आउँछ । उनी निद्राबाट ब्युँझिएर उठ्छन् । ‘यो बुढेसकालमा पनि यो दिमाग किन यसरी क्रान्तिकारी वेगमा कुदिरहेको हो ?’ भन्ने प्रश्नको उत्तर हिसिलाले पनि दिन नसकेको तर हार्वर्ड विश्वविद्यालयका मनोविज्ञानशास्त्री स्टिफन पिंकरले यो क्रियाशीलता लाभदायक हुन्छ भनेपछि ढुक्क भएको अवस्था भएका बाबुरामले लेखको पछिल्लो खण्डमा आफ्ना देश निर्माण गर्ने सोचहरू त्यही आन्दोलनले जन्माएका दर्शन र धारणाहरूको वरिपरि राखेका छन् । त्यस संस्मरणमा प्रचण्डको स्तालिन शैलीको चरित्र उद्भव हुनलागेको कुरा उनले लेखेका छन् ।


तर नेपाली माओवादी जनयुद्ध माओले नेतृत्व गरेका एक लाख कार्यकर्ता ६ हजार माइलको यात्रा गर्ने क्रममा मारिएर बीस हजारमात्र बाँचेर फर्केको लङमार्चको कथा होइन । त्यो जनयुद्ध मूलतः एउटा राजनीतिक आन्दोलन थियो । त्यसका पछिल्ला गतिविधि, इतिहासभित्र गरिएका र गर्नुपर्ने सम्झौताहरू हेर्दा जसरी भए पनि, जस्तो रूपमा भए पनि अगाडि गइरहेको अवस्था नै त्यस जनयुद्धको पनि इतिहास हो । त्यो बेलाका सपना मिले कि मिलेनन् अथवा त्यसमा को कसरी टिके भन्ने इतिहासकै छलफल हो । क्रान्तिको इतिहास मज्जाले सपना रञ्जित हुन्छ । क्रान्तिकारीहरू असफल हुन्छन् । सफलता पनि सापेक्ष कुरा रहेछ, इतिहासमा । मार्क्सले ‘द क्लास स्ट्रगल इन फ्रान्स’मा भनेका छन्, क्रान्तिकर्मीहरू हार्छन्, तर क्रान्ति भने अगाडि गइबस्छ ।’ अग्रगामी क्रान्तिका चरित्र अनेकौं हुन्छन् । नेपालको अगाडि गइबस्ने क्रान्ति भनेको अहिलेको लोकतान्त्रिक व्यवस्था नै हो ।


बाबुराम भट्टराईका भावरञ्जित संस्मरण, मोहन वैद्यको एउटा क्रान्तिको अवसान भएको उक्ति र अरु अनेकौं लेख र समाचार अत्यन्त शिक्षाप्रद छन् । तर ‘विद्रोह गरिरहेको भए गोन्जालोको जस्तो हालत हुन्थ्यो’ (कान्तिपुर २ फागुन, पृष्ठ १३) भन्ने प्रचण्डको आत्मस्वीकृतिमूलक भनाइबाट बुझिने प्रस्ट कुरा यस्तो छ– प्रचण्डले लगेको दिशामा जुन राजनीतिक धार गएको छ, जनयुद्धको नेपालको इतिहासभित्र पसेको धार त्यही हो । प्रचण्डले मोजेजले यहुदीलाई इजिप्टबाट बाहिर निकालेर लगेजस्तै माओवादी धार लिएर आए । पुल भत्कियो, अब फर्किने ठाउँ छैन भने । कुनै आन्दोलनको परिणतिलाई लिएर जानेका भाष्य र कर्म त्यस्तै हुन्छन्, माओवादी जनयुद्धको त्यो ‘लिगेसी’ लिएर हिँडेका व्यक्ति प्रचण्ड नै देखिए । अर्को अर्थमा यो आन्दोलन कता गयो, सही भयो कि भएन भन्ने कुरा इतिहासले भन्छ । त्यसैले यो हप्ता खासै उत्साहविना मनाइएका फागुन ७ र फागुन २ गतेका धारहरूको संगम उचित अभ्यासमा समस्या देखिए पनि असोज ३ गते २०७२ मा जारी संविधान र लोकतान्त्रिक व्यवस्था नै हो ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?