कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहास कति सपना हो ?

अभि सुवेदी

फागुन महिनाको पहिलो हप्ता नेपालमा दुईपटक इतिहासका सम्झना भए । माओवादीले २०५२ देखि २०६२ सम्म चलाएको युद्धलाई १ गते सम्झना गरियो भने नेपाल राणा शासनबाट २००७ सालमा मुक्त भएको दिनलाई ७ गते सम्झना गरियो । 

पहिलो ‘जनयुद्ध’ सुरु गरेको दिनको सम्झना थियो भने ‘प्रजातन्त्र दिवस’ राणा शासनबाट मुक्त भएको अथवा समापन गरेको दिनको सम्झना थियो । अर्को अर्थमा जहानियाँ राणा शासनको अन्त्य गरेर नेपालको ढोका विश्वसामु खोलिदिएको दिन हो, फागुन ७ गते ।


हामी अँध्यारो मध्ययुगीन अवस्थाबाट पहिलोपटक बाहिर निस्केको दिन हो त्यो । कवि लक्ष्मीप्रसाद देवकोटाले अब हामी ‘विश्व गोल सदनका अंशियार हौं’ भनेर उद्घोष गरे । कवि सिद्धिचरण श्रेष्ठले ‘गिरी गह्वरले भिन्न भै अब मनुज बस्न कै छैन सम्भव’ भनेर लेखे । जनयुद्धको सम्झना यो आरम्भ भएको मितिले गन्दा संघर्षका १० वर्षको कालखण्डको सम्झना हो । २००७ सालको आन्दोलन आरम्भ गरेको दिनको सम्झना हुँदैन । यो क्रान्ति सम्पन्न भएको दिनसम्म आइपुग्न नेपालमा धेरै साना–ठूला आन्दोलन भए, जसका अनेकौं तिथिहरू छन् । त्यसैले यो आन्दोलन नेपालको आधुनिकतातिरको आन्दोलन थियो, जसका निम्ति नेपालीका धेरै वर्ष बिते । सफलता र असफलता भन्ने कुरा परिभाषाका विषय भए । कुनै आन्दोलन अमूक तिथि र घटनाबाट आरम्भ हुन्छन् । कुनै मितिमा कुनै सम्झौता वा जित–हारबाट तिनको अन्त्य पनि हुन्छ । यसरी कालखण्ड मिलेका आन्दोलन र क्रान्तिहरूलाई सहज अवतरण भएका घटना मान्नुपर्छ, इतिहासमा । नेपाली जनयुद्ध त्यस्तै तार्किक, राजनीतिक र सम्झौताबाट अवतरण भएको आन्दोलन थियो, जसले अनेकन कुँडाकर्कट छाड्यो, जुन मिलाउन अहिलेसम्म राजनीतिज्ञ, सरकार र अरुहरू लागिपरेकै छन् । सत्यनिरुपण र मेलमिलाप आयोग त्यही मिलाउने खण्डको महारूप हो, जसको उचित व्यवस्था गरिएको छैन, जसको निम्ति उजुरीहरू धेरै छन्, तर निराकण गर्नका निम्ति कानुन बनेकै छैनन् ।


माथि भनेका यी दुईथरी आन्दोलनहरू नेपाली इतिहासमा नित्य अलग–अलग हिँड्ने इतिहासका खण्ड होइनन् । देखिएको छ, इतिहास त्यस्तो हुँदैन । इतिहासका प्रत्येक घटना जोडिएका हुन्छन् । त्यसैले अमूक आफूलाई मनपर्ने घटनालाई मात्र उजागर गर्ने अरु घटनालाई गौण वा नगन्य मान्ने व्याख्याले काम नगरेका उदाहरण हामीले इतिहासमा भेटेकै छौं । उदाहरणको निम्ति २००७ को क्रान्तिको पछिल्लो रूप २०४७ साल हो, किनभने संसदीय व्यवस्था, बहुदल, गणेशमान सिंह, किसुनजी, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला आदि राजनीतिक पात्रहरू जोडिएको क्रान्ति खण्ड थियो, त्यो ।


किसुनजीले त संविधान बनाउने र प्रयोगमा ल्याउने जस्ता महत्त्वपूर्ण कर्मसमेत सम्पन्न गरेको अवस्था थियो । तर अर्को पुस्ताका नेता मदन भण्डारी र मित्रहरूको प्रवेश पनि भैसकेको हुनाले इतिहास पछिल्लो पुस्तासँग जोडिएको देखिने आधार देखियो । १० वर्षको माओवादी युद्धले अघिल्लो इतिहासका पात्र, आइडियोलोजी र काम गर्ने पद्धतिसँग इतिहासका कालखण्डको सम्बन्ध हुन्छ भन्ने कुरा प्रमाणित गर्‍यो । केही ऐतिहासिक घटना भए । मंसिर ७ गते ०६२ को १२ बुँदे समझदारी, त्यही ०६२–६३ सालमा भएको संयुक्त जनआन्दोलन र मंसिर ५ गते ०६३ मा भएको विस्तृत् शान्ति सम्झौताले माथि भनिएका इतिहासका दुईवटा धारलाई सँगै ल्याएर काम गर्ने आधारहरू आफैं सिर्जना गरिदिए ।


आन्दोलनहरूले नेता वा नायक जन्माउने अनि तिनको विषयमा ग्रन्थ र आलेखहरू प्रकाशित गर्ने एउटा स्वाभाविक चलन हो । २००७ सालको क्रान्तिका नायकहरूमाथि खासै कसैले किताब लेखेनन् । बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’मा बीपी कोइराला र अरु नायकहरूमाथि विस्तृत रूपमा लेखियो । बीपी कोइराला आफैं लेखक भएका हुनाले उनले आत्मसंस्मरण लेखे, जुन अलिक पछि प्रकाशित भयो । तर ०४६ सालको परिवर्तनपछि नायकहरूमाथि फिल्म बनाउने, किताबमा संस्मरण लेख्ने काम भए । त्यसमा प्रमुख रूपमा गणेशमान सिंहमाथि लेखिएका ग्रन्थहरू थिए । कवि केदारमान व्यथितले नेपाली लेखकहरूको जमघटमा घरमा रात्रिभोजनमा गणेशमान सिंहलाई पनि बोलाएका थिए, जहाँ उनी साथीहरूले छिट्टै राजालाई लगेर प्रजातन्त्र दिन्छन् भनेर खुलेर रोएका थिए । पछि नभन्दै राजा ज्ञानेन्द्रले शक्ति हातमा लिएका थिए ।


केही खासै विधि नपुगेका फिल्म अनि केही अतिशयोक्ति गरेर लेखिएका नेताका जीवनीहरू प्रकाशित भए । यसरी संस्मरण र जीवनी लेख्ने विधा राजनीतिक रूपमा पनि प्रयोग गर्न सकिने रहेछ भन्ने सोच आयो । पहिलेका निरंकुश पञ्च अनि अवकाशप्राप्त सैनिक अधिकारीहरूका संस्मरण निस्किनु र तिनको राजनीतिक प्रभाव सिर्जना गर्न प्रयोग गर्नु त्यही नयाँ लहरको प्रभाव हो । पञ्चहरू र पहिलेको पञ्चायतकालका खम्बाहरूले मोटामोटा किताब निकालेको शृङ्खलामा प्रधानमन्त्री र पहिलो राजनीतिक धारका अग्रणी गिरिजाप्रसाद कोइरालाको मसिनो ‘माई सिम्पल कन्भिक्सन’ (२०६३) मण्डला बुकबाट प्रकाशित भयो । यसको विमोचनको वक्ताको रूपमा मैले महत्त्वपूर्ण श्रोताहरूमाझ यस्ता मोटा किताब र गिरिजाबाबुको यो सानो तर तेजिलो संस्मरणको तुलना गर्दै प्रजातन्त्रवादीका संस्मरण र प्रकाशनका आयामहरू सैद्धान्तिकीकरण गर्ने प्रयास गरेको थिएँ ।


माथि भनेका दुई धारहरूको संस्मरण गर्ने यो हप्तामा माओवादी जनयुद्ध भन्ने कि नभन्ने विषयको पूर्वएमाले र माओवादी बीचको जेठ ३ गते ०७५ को एकता सन्धिपछि कुरा हराए पनि यही फागुन २ को स्मृति दिवसमा एमालेका वरिष्ठ नेताहरू उपस्थित नभएको कारणले निकै चर्चा पायो । तर मेरो चाख अलिक साहित्यजनिन बढी हुने भएकोले पूर्वमाओवादीको आन्दोलनका स्मृतिका धारहरूबाट आएका कुरा अत्यन्त ध्यान दिनलायक थिए । ती थोरै थिए तर सपना र आत्मालोचनाले रञ्जित थिए । जनयुद्ध कालको सबैभन्दा धेरै माया गरेर लेखिएको लेख रातो घरमा बस्नु खतरनाक हुनेरहेछ भनेर प्रकारान्तरले माओवादी होइन, कम्युनिष्ट धार नै छोडेका बाबुराम भट्टराईको थियो । यो लेख नयाँ पत्रिका फागुन १ गते निस्किएको हो । यो लेखमा डा. भट्टराईले अरु कुनै माओवादीले भन्दा तीव्र, भावात्मक रूपमा त्यो जनयुद्ध कालको संस्मरण गरेको पढ्दा केही चाख, केही उत्सुकता र केही कौतुहल उब्जिन्छन् ।


मलाई त यसमा रहेको साहित्यिक गुणको संस्मरण मनपरेको हो । यो लेख र अरु नेताका लेख र मिडियामा निस्केका भाषिका पढ्दा भने लाग्छ, बाबुराम चाहिँं माओवादी नेता हुन् र अरु अलग धार समातेर निस्केका मानिसहरू हुन् । त्यो जनयुद्धकाल उनको सपनामा आउँछ । उनी निद्राबाट ब्युँझिएर उठ्छन् । ‘यो बुढेसकालमा पनि यो दिमाग किन यसरी क्रान्तिकारी वेगमा कुदिरहेको हो ?’ भन्ने प्रश्नको उत्तर हिसिलाले पनि दिन नसकेको तर हार्वर्ड विश्वविद्यालयका मनोविज्ञानशास्त्री स्टिफन पिंकरले यो क्रियाशीलता लाभदायक हुन्छ भनेपछि ढुक्क भएको अवस्था भएका बाबुरामले लेखको पछिल्लो खण्डमा आफ्ना देश निर्माण गर्ने सोचहरू त्यही आन्दोलनले जन्माएका दर्शन र धारणाहरूको वरिपरि राखेका छन् । त्यस संस्मरणमा प्रचण्डको स्तालिन शैलीको चरित्र उद्भव हुनलागेको कुरा उनले लेखेका छन् ।


तर नेपाली माओवादी जनयुद्ध माओले नेतृत्व गरेका एक लाख कार्यकर्ता ६ हजार माइलको यात्रा गर्ने क्रममा मारिएर बीस हजारमात्र बाँचेर फर्केको लङमार्चको कथा होइन । त्यो जनयुद्ध मूलतः एउटा राजनीतिक आन्दोलन थियो । त्यसका पछिल्ला गतिविधि, इतिहासभित्र गरिएका र गर्नुपर्ने सम्झौताहरू हेर्दा जसरी भए पनि, जस्तो रूपमा भए पनि अगाडि गइरहेको अवस्था नै त्यस जनयुद्धको पनि इतिहास हो । त्यो बेलाका सपना मिले कि मिलेनन् अथवा त्यसमा को कसरी टिके भन्ने इतिहासकै छलफल हो । क्रान्तिको इतिहास मज्जाले सपना रञ्जित हुन्छ । क्रान्तिकारीहरू असफल हुन्छन् । सफलता पनि सापेक्ष कुरा रहेछ, इतिहासमा । मार्क्सले ‘द क्लास स्ट्रगल इन फ्रान्स’मा भनेका छन्, क्रान्तिकर्मीहरू हार्छन्, तर क्रान्ति भने अगाडि गइबस्छ ।’ अग्रगामी क्रान्तिका चरित्र अनेकौं हुन्छन् । नेपालको अगाडि गइबस्ने क्रान्ति भनेको अहिलेको लोकतान्त्रिक व्यवस्था नै हो ।


बाबुराम भट्टराईका भावरञ्जित संस्मरण, मोहन वैद्यको एउटा क्रान्तिको अवसान भएको उक्ति र अरु अनेकौं लेख र समाचार अत्यन्त शिक्षाप्रद छन् । तर ‘विद्रोह गरिरहेको भए गोन्जालोको जस्तो हालत हुन्थ्यो’ (कान्तिपुर २ फागुन, पृष्ठ १३) भन्ने प्रचण्डको आत्मस्वीकृतिमूलक भनाइबाट बुझिने प्रस्ट कुरा यस्तो छ– प्रचण्डले लगेको दिशामा जुन राजनीतिक धार गएको छ, जनयुद्धको नेपालको इतिहासभित्र पसेको धार त्यही हो । प्रचण्डले मोजेजले यहुदीलाई इजिप्टबाट बाहिर निकालेर लगेजस्तै माओवादी धार लिएर आए । पुल भत्कियो, अब फर्किने ठाउँ छैन भने । कुनै आन्दोलनको परिणतिलाई लिएर जानेका भाष्य र कर्म त्यस्तै हुन्छन्, माओवादी जनयुद्धको त्यो ‘लिगेसी’ लिएर हिँडेका व्यक्ति प्रचण्ड नै देखिए । अर्को अर्थमा यो आन्दोलन कता गयो, सही भयो कि भएन भन्ने कुरा इतिहासले भन्छ । त्यसैले यो हप्ता खासै उत्साहविना मनाइएका फागुन ७ र फागुन २ गतेका धारहरूको संगम उचित अभ्यासमा समस्या देखिए पनि असोज ३ गते २०७२ मा जारी संविधान र लोकतान्त्रिक व्यवस्था नै हो । प्रकाशित : फाल्गुन १०, २०७६ ०८:४१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामाजिक सञ्‍जाल र शङ्‍का 

कृष्णबाबु श्रेष्ठ

सभ्यताको विकासक्रमसँगै मानव समाजले आफ्ना पुराना र गलत मान्यतालाई भत्काउँदै नयाँ मान्यता स्थापित गर्दै अघि बढ्न सिकेको छ । समाज अहिले जहाँ, जसरी, जुन अवस्थामा छ, सभ्यताको उच्चतम उपलब्धिका साथ छ । वास्तवमा मानिसलाई प्राप्त यस्ता उपलब्धिहरूका मुख्य आधार उनीहरूको शंका र आलोचना गर्ने द्वन्द्वात्मक गुण हुन् ।

समाज विकासको लागि आलोचनात्मक दृष्टिकोण आवश्यक र अपरिहार्य हुन्छ । मानिसको सामाजिकता (भेला हुने, गफ गर्ने, कुरा काट्ने संस्कृति) यस्ता दृष्टिकोण अभिव्यक्त हुने मुख्य अवसर हो । गफिनु, कुरा काट्नुलाई अंग्रेजीमा ‘गस्सिपिङ’ भनिन्छ र सामाजिकतासँग अलग गरेर हेर्न नमिल्ने कुरा काट्ने प्रवृत्तिलाई समाजले नकारात्मक रूपमा बुझ्दै र स्वीकार्दै आएको छ । तर धेरै अनुसन्धानपश्चात वैज्ञानिकहरूले तथ्य र कारणसहित मान्छेको यस्तो चरित्रलाई सकारात्मक रूपमा अङ्गीकार गर्नुपर्ने सुझाएका छन् ।

रबिन दन्बार अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्रका प्राध्यापक हुन् । सन् २००४ मा ‘रिभ्यु अफ जनरल साइकोलोजी’ जर्नलमा प्रकाशित उनको अनुसन्धानले भन्छ— ‘कुरा काट्ने प्रवृत्ति (गस्सिपिङ) ले मान्छेलाई ठूलो दायरामा सूचना फैलाउन सहयोग गर्छ ।’ साउथ फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक जेनिफर बोस्सोनको सन् २००६ मा प्रकाशित अर्को अध्ययनमा ‘अर्काको नकारात्मक बानी र कामको टिप्पणीले सकारात्मक काम गर्नुपर्ने सन्देश फैलाइरहेको हुन्छ’ भन्ने जिकिर गरिएको छ । फुर्सदको समयको ठूलो हिस्सा मान्छेले समाजमा अरुसँग बिताउँछ । जब अरुसँग समय बिताउनुछ, उसलाई अन्तरक्रिया गर्नैपर्छ । यस्तो अन्तरक्रियाका लागि मान्छेले अनेकौं मञ्चहरूको उपयोग गर्दै आएको छ । गाउँका चियापसल लोग्नेमान्छेका अखडाको रूपमा परिचित छ । सहरीकरण बढेसँगै प्रचलित गफ गर्ने थलोको रूपमा परिचित पँधेराहरू हराउँदै गए । महिलाहरू पँधेरामा भेला भई मनमौजी गफ गर्ने पुरानो चलन हो ।

कफी घरहरूले युरोपमा विद्रोहका केन्द्रका रूपमा काम गरेका थिए । सेरा जिलानीद्वारा ‘द इकोनोमिस्ट’मा प्रस्तुत लेखलाई आधार मान्दा ग्रिस (१८२१), सर्बिया (१८३५) र बुल्गेरिया (१८७८) को अट्टोमन साम्राज्य विरुद्धको स्वतन्त्रता आन्दोलनमा कफी घरहरूको ठूलो भूमिका थियो । कफी घर नै यस्ता अखडा थिए, जहाँ पढेलेखेका, जान्ने–सुन्नेहरू भेला हुन्थे, अखबार पढ्थे, चर्चा–परिचर्चा गर्थे भने अन्य सर्वसाधारण तिनका कुरा सुन्न त्यहाँ जान्थे । कफी घरहरूमार्फत विद्रोहका स्वरहरू फैलन थालेपछि सम्राटहरूले त्यहाँ जासुस पठाउने र बन्द गराउनेसम्मको प्रयास गरे ।
यस्ता चिया र कफी गफहरूमा देश र समाजभित्रका अनेकन ताता विषयबारे छलफल हुन्छन् । र तिनले समयक्रममा विचारको स्रोत, विद्रोहको मुस्लो वा आन्दोलनको मूलधार बन्ने ल्याकत राख्छन् । मान्छेका यस्ता भेलामा कतिपय नकारात्मक कुरा हुनु अस्वाभाविक होइन । त्यसैको आधारमा यस्तो भेला र गफको अवसरलाई हाम्रो समाजले नकारात्मक विम्बको रूपमा मात्रै प्रयोग गर्दै आए र त्यो मानसिकता अद्यापि निमिट्यान्न भएको छैन ।

हिजोका चौतारी, पँधेरा, चिया वा कफी घरहरूको जमघटले अहिलेको युगमा डिजिटल ‘सामाजिक सञ्जाल’को रूप ग्रहण गरेको छ । त्यसैले आजको सामाजिक सञ्जाल मान्छेले युगौँदेखि अभ्यास गर्दै आएको विविध मञ्चको फरक रूपमात्र हो । यहाँ टिकाटिप्पणी र नकारात्मक कुरा हुनु अन्यथा होइन । मान्छेमा निहित चरित्र भएका कारण यस्तो कार्यलाई हाउगुजीको रूपमा लिन उपयुक्त हुँदैन । यद्यपि सामाजिक सञ्जालको दायरा हिजोको तुलनामा कैयौं गुणा फराकिलो छ । सञ्जालका थुप्रै आयाम छन्, त्यसमध्ये यसले प्रदान गरेको अभिव्यक्तिको अवसरचाहिँं सबैभन्दा महत्त्वपूर्ण हो । यो लेख सामाजिक सञ्जालको वैचारिक योगदानको पक्षलाई खोतल्ने झिनो प्रयासमात्र हो ।

अभिव्यक्ति विचारको निकास हुने माध्यम हो, जुन मानिसका लागि अपरिहार्य छ । सञ्जालमार्फत मानिसका लागि खुल्ला अभिव्यक्तिको अवसर प्राप्त भइरहेको छ, जुन सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । आज विश्वका करोडौंमानिसले एकसाथ आफ्नो अभिव्यक्ति, मनमा लागेका कुरा बिना अंकुश र बिना सङ्कोच राखिरहेका छन् । जस्तो— कुनै समय, कुनै तप्काबाट कुनै विषयको उठान हुन्छ, त्यसको प्रतिक्रियास्वरुप हरेक सचेत नागरिकको मस्तिष्कमा त्यसबारे सोच, धारणा वा प्रतिक्रिया उत्पन्न हुन्छन् र ती प्रतिक्रिया यहाँ अभिव्यक्त हुन्छन् । ती प्रतिक्रियाले थप प्रतिक्रियाको पनि माग गर्छन् । यस प्रकार सञ्जालमार्फत नै विचारको वा अवधारणाको एउटा प्रस्ट र आवश्यक धार निर्माण हुने अवसर प्राप्त भइरहेको छ । आज विश्वका धुरन्धर बौद्धिकहरूको ताजा अभिव्यक्ति क्षणभरमा आफ्नो खातामा पढ्न सकिन्छ । ताता विचार वा निर्णय र समाचारहरू निमेषमै संसारका हरेक मान्छेको खल्तीमा पुग्छन् ।

सञ्जालले विचारको पहुँचलाई सबै तह र तप्कामा पुर्‍याइदिएको छ । हरेक देशमा पढेलेखेको, जाने–बुझेको, चिन्तन गर्न सक्ने, हरेक विषय र घटनामाथि आलोचनात्मक दृष्टिकोण राख्न सक्ने जागरुक नागरिकको समूहले यो अवसरलाई सिर्जनात्मक उपयोग गरिरहेका छन् । समाज र राज्यका परिवर्तन र सुधारका प्रक्रियासँग सबैभन्दा बढी सरोकार राख्ने यो समूहको सिर्जनात्मक क्रियाकलाप राज्यको सम्पत्ति हो । साथै संस्थापनमा बसेकाहरूको कामका लागि ठूलो पृष्ठपोषक पनि हो । दिन–प्रतिदिन आफै परिपक्व र विस्तार हुँदै गएको यस्तो विशाल मञ्चको महत्त्वलाई बुझ्ने दृष्टिकोण अत्यन्त सकारात्मक र सिर्जनात्मक हुनैपर्छ ।

नेपालको हकमा त वर्तमान परिवेशमा सञ्जालको महत्त्व झन् टड्कारो महसुस हुन्छ । दलहरूमा आन्तरिक लोकतन्त्र क्षीण देखिन्छ, खास विधिले काम भइरहेको छैन, नियमित बैठक हुँदैन र गम्भीर राष्ट्रिय महत्त्वका विषयहरूमा नेताहरूबीच छलफल विरलै भएको देखिन्छ । यदाकदा भइहाले पनि निष्कर्ष निस्कने ढङ्गले छलफल हुने वातावरण छैन । संसदमा जनप्रतिनिधिहरूले समेत मातृ दलका इमानदार र ‘ह्विप’ अनुसार चल्ने रबरछाप कार्यकर्ताको भन्दा फरक छवि देखाउनसकेका छैनन् । यस्तो अवस्थामा नागरिकहरू भने सञ्जालमा महत्त्वपूर्ण विषयमा निर्भीक रूपमा प्रश्न उठाइरहेका छन् र घनिभूत छलफल गरिरहेका देखिन्छन् । यस्तो प्रतीत हुन्छ, वर्तमानमा राष्ट्रिय महत्त्वका विषयहरूमा विशेष बहस हुने थलो सामाजिक सञ्जालमात्र हो ।

आज दिन–प्रतिदिन धेरैभन्दा धेरै मान्छे सञ्जालमा आबद्ध हुँदै गैरहेका छन्, जसले पारदर्शी समाज निर्माणमा टेवा पुगेको छ । पारदर्शी समाजमा मानिसहरूको गलत काम आफै नियन्त्रित हुन्छन् । आज समाजमा हुने ससाना अनियमित क्रियाकलाप पनि लुकाउन सकिने अवस्था छैन । क्षणभरमा त्यो सतहमा छताछुल्ल हुन्छ, जसले गर्दा मानिसहरू आफै सतर्क र सजग हुँदै गइरहेका छन् । जिम्मेवारीमा बसेकालाई अहिले आफ्ना कदम र भूमिकाबारे छिनछिनमा प्रतिक्रिया प्राप्त हुने र कमजोरी महसुस भए सच्याएर अघि बढ्ने अवसर मिलेको छ । सरकारका केही एजेन्डा बाहिर आउँछन्, संगतिपूर्ण नभएको अवस्थामा त्यसको व्यापक विरोध हुन्छ । सरकार पछि हट्न बाध्य हुन्छ र समयमै कम क्षतिसहित उसलाई सच्चिने अवसर मिलेको छ । यसरी सामाजिक सञ्जालले समाज र राज्यको प्रतिरक्षा प्रणालीको रूपमा काम गरेको छ ।

सामाजिक सञ्जालमा आम नागरिकको सक्रियता बढ्नु लोकतान्त्रिक सरकारलाई फाइदाजनक कुरा हो । आलोचनात्मक चेतसहितको सक्रिय जनताको निगरानीमा आफ्नो कामलाई सतर्कतासाथ अघि बढाउन पाउनुलाई सरकारले महत्त्वपूर्ण र सकारात्मक अवसरको रूपमा बुझ्नुपर्छ । तर केही फाटफुट खराब परिणामको हवाला दिँंदै मूलतः अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको सामाजिक सञ्जाललाई कथित स्वस्थ र अनुशासित बनाउने नाममा सरकारबाट साँघुरो वा कुण्ठित बनाउने प्रयास भयो भने दुर्भाग्य ठहरिनेछ । मनोवैज्ञानिक र समाज वैज्ञानिकहरूका अनुसार मान्छेको कुरा काट्ने वा टिकाटिप्पणी गर्ने (गस्सिपिङ) बानीले अरुलाई हानि पुर्‍याउने मात्रा भनेको ३/४ प्रतिशतमात्र हो । तसर्थ ठूलो हल्लाखल्ला भइरहे पनि सामाजिक सञ्जालको नकारात्मकभन्दा सकारात्मक योगदान कैयौं गुणा बढी छ भन्न धक मान्नु पर्दैन । नियमनको नाममा अभिव्यक्ति र आलोचनाको अवसरलाई खुम्च्याउनु भनेको समाजलाई नियन्त्रित र अपारदर्शी बनाउन खोज्नु हो । यस्तो प्रयासले समाजलाई तुलनात्मक रूपमा मौनतातर्फ धकेल्न सक्छ । मौनता स्वस्थ समाजको परिचायक होइन ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×