प्रधानमन्त्रीका मनका चिन्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कार्यकारी प्रमुखका रूपमा दुई वर्ष पूरा गरेका छन् । लामो राजनीतिक अस्थिरताको पृष्ठभूमि भएको देशमा उनले लगातार दुई वर्ष पदासीन भइरहन पाउनु निश्चय नै एक स्मरणीय र उल्लेख्य उपलब्धि हो । यसलाई स्वयं उनले पनि उपलब्धि नै भनेका छन् । तथापि यस उपलब्धिका बावजुद उनी सन्तुष्ट छैनन् ।
उल्टै चिन्ताग्रस्त छन् । उनका चिन्ताका अनेक कारण छन् । तिनमा तीन कारणलाई प्रमुख मान्न सकिन्छ । विदितै छ, कोही पनि अकारण चिन्तित हुँदैन । चिन्ताका कारण हुन्छन् । ओलीका पनि कारण छन् । कतिपय मानिस एउटै कारणले पनि चिन्तित हुन सक्छन् (केही भने कारण–अकारण चिन्तित भएर डिप्रेसनमै जान्छन्) । ओलीका सामु त झन् तीन प्रमुख कारण भएकाले उनी चिन्तित हुनु म स्वाभाविक मान्छु र आशा गर्छु, मेरा प्रिय पाठक तपाईंहरू पनि स्वाभाविक नै मान्नुहुन्छ । कहिलेकाहीं तर अकारण पनि कारणजस्ता देखिन्छन्, यद्यपि । ती तीन प्रमुख कारण यस प्रकार छन्—
उनले चिन्तित हुनुपर्ने पहिलो कारण हो, मिडिया उनलाई तपाईं नभनेर तिमी भन्छ (कस्तो सकेको होला !) । सञ्चारको भाषामा आदरार्थी सम्बोधन हराउँदै गएकामा उनलाई नमीठो, नमजा लागिरहेको छ । किनभने प्रधानमन्त्री भनेको धेरै ठूलो पद हो (हो पनि) र उनलाई लाग्छ, त्यो पदमा बस्ने मानिस झन् ठूलो हो । पदभन्दा पनि मान्छे ठूलो हो । हुन त यो भ्रम हो, तर होमो सेपियनमा यस्तो भ्रम हुने गर्छ । यति ठूलो मानिसलाई कसरी तिमी भन्न सकेको होला, अचम्म ! यो प्रश्नले उनलाई निरन्तर पछ्याइरहेको छ, तर कसैले समुचित उत्तर दिएको छैन ।
ओली चिन्तित हुनाको दोस्रो कारणचाहिँ यतिका राम्रा काम भएका छन्, तैपनि जस नदिएर अपजसै मात्र दिन्छन् । फेसबुके, ट्वीटेहरूको त कुरै छाडौं, ती त उरन्ठेउलै हुन् । सम्पादकहरूको झन् प्रशंसा गर्ने मुटु नै छैन । विश्लेषक, स्तम्भकारहरू पनि राम्रा कामतर्फ हेर्दै हेर्दैनन् । ओलीका दृष्टिमा काम राम्रै–राम्रा भएका छन्, मिडियावाला ती देख्दैनन् । नराम्रा–नराम्रा खोज्दै, कहाँबाट ल्याउँछन् कुन्नि ! कहिले अडियो त कहिले भिडियो ल्याउँछन् । राम्रा काम नदेख्ने कस्ता आँखा भएका बुद्धिजीवी हुन् यी, कस्ता पत्रकार र स्तम्भकार, विश्लेषक हुन् ! यो उनका लागि भयंकर चिन्ताको विषय भएको छ । यस्ता चिन्तै–चिन्ताले यतिसम्म सताउँछ, उनलाई कहिलेकाहीं मरूँ–मरूँ, मरिदिऊँ झैं लाग्छ । यो कुरा त उनले यस्तो–उस्तो ठाउँमा होइन, संसदमै भनिदिएका हुन् ।
हालै गृहजिल्ला अर्थात् झापा भ्रमणका क्रममा उनैले भने अनुसार उनको तेस्रो चिन्ताको कारण ‘चाइने जो’ सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ भन्ने हो । बितेका दुई वर्ष उपलब्धिपूर्ण ढंगले चलेर यतिका ठूलठूला सपना साकार पार्ने दिशातर्फ उन्मुख सरकार ढाल्ने प्रयत्न नहुनुपर्ने, किन भइरहेको हो, यसमा उनी चिन्तित छन् । सरकार ढाल्ने षड्यन्त्र भइरहेको विषयमा उनमा चिन्ता कहाँ, कसरी, कुन प्रसंगले उत्पन्न भयो, त्यो कतै खुलस्त भएको छैन । संविधानमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने प्रावधान छ । सम्भवत: चिन्ता यसैकारण हो, किनभने अब अविश्वास प्रस्ताव पेस हुनसक्छ । यतिन्जेल ढुक्क थियो, तर अब भने दुई वर्ष कटिसकेको छ । अर्थात्, अविश्वास प्रस्ताव निषेधकाल कटिसकेका कारण सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन मार्गप्रशस्त हुनु उनका लागि चिन्ताको विषय भएको हुन सक्छ ।
यथार्थमा चाहिंँ उल्लिखित तीनै कारण चिन्ता गर्नुपर्ने विषय नै होइनन् । ती आफैमा कारणको श्रेणीमै पर्दैनन् । केवल उनका मनका बाघ हुन् । मिडियाले तिमी भन्नु अनादर होइन । मानिस बोलचालमा तँ नै भनिरहेका हुन्छन् । ‘ओलीले यस्तो गर्यो, त्यस्तो गर्यो’ भनिरहेका हुन्छन् । नपत्याए प्रधानमन्त्रीले भेष बदलेर सुटुक्क चोकको चियापसलमा गएर कुरा सुने हुन्छ । त्यस्तै, मिडियाको काम कसैको भजन गाउने होइन, सरकारको त झनै होइन । मुलुकमा बिग्रेको देखाउने, सच्याउन प्रेरित गर्ने हो । नसच्चिए त्यो पनि देखाउने हो । साथै जहाँसम्म सरकार ढाल्ने कुरा छ, झन्डै दुईतिहाइको सरकार छ, त्यो जोगाउने काम प्रधानमन्त्रीको आफ्नै हो । यो सुनाउँदै हिँड्ने कुरै होइन ।
यसो भनिरहँदा के पनि विचार गर्नुपर्छ भने, भन्न त सजिलो छ, तर चिन्ता लाग्नेलाई लागिसकेपछि चिन्ताको कारणै छैन भनेर पन्छिन पाइँदैन । शंका, आशंका र चिन्ताको समाधान खोजिनैपर्छ । यी विषय मनोविज्ञानको अध्ययन क्षेत्रभित्र पर्छन् र स्वस्थ चिन्तनका लागि यस्ता चिन्ताका विषयको पनि समाधान खोज्नैपर्छ ।
यसर्थ यस विषयको गहिराइसम्म पुग्नु वाञ्छनीय हुन आउँछ । हुन त म मनोविश्लेषक नभएर राजनीतिक विश्लेषक भनेर चिनिएको छु, तैपनि यहाँ एक राजनीतिक व्यक्तिको मनस्थितिको विषय भएकाले यस आलेखमा ओली किन चिन्ताग्रस्त छन् भन्नेबारे म उल्लिखित तीनै कारणमाथि समीक्षा गर्दै छु ।
नेपालीमा चार किसिमका सम्बोधन छन्— तँ, तिमी, तपाईं र मौसुफ (मौसुफको आयु सक्किइसक्यो, पूर्वदरबारियाहरू अझै भन्दा हुन्) । अब रहे— तँ, तिमी र तपाईं । प्रधानमन्त्री ओलीको लगातारको चिन्ता तपाईं नभनेर किन तिमी भनेको भन्नेमा केन्द्रित छ । तिमी नेपाली भाषामा उपलब्ध सर्वाधिक मायालु सम्बोधन हो । जसलाई धेरै माया गरिन्छ, अत्यन्त नजिक मानिन्छ, उसैलाई तिमी भनिन्छ र यो समानताको द्योतक लोकतन्त्रसम्मत सम्बोधन हो । तिमी सम्बोधन भयो भने बुझ्नुपर्छ, परस्परमा प्रगाढ माया छ, स्नेह छ, खुलस्त संवाद हुनसक्छ । अरू त अरू, भगवान्लाई समेत अधिकांशत: तिमी नै भनेर सम्बोधन गरिन्छ ।
अब दोस्रो चिन्ताको समाधान खोजौं । ओलीलाई लागेको छ, यतिका राम्रा काम भइरहेका छन्, तैपनि प्रशंसा छैन । आलोचना मात्रै छ । खोट मात्रै देखाइन्छ । निश्चय नै राम्रै–राम्रो भएको नदेख्ने मनुष्यको मूलभूत स्वभाव हो । किनभने भनिन्छ, प्रायश: मनुष्यका भावनाहरू अझै १२ हजार वर्ष पहिलाकै जस्ता छन् र सोच अझ पनि मध्ययुगीन छ, जबकि उसका सामु चुनौती भने भविष्यको छ । यसर्थ भइसकेका उपलब्धितर्फ सामान्यतया मानिसको ध्यान जाँदैन । सात साल देखेका पुस्ता भन्ने गर्छन्— नेपाल कहाँ यस्तो थियो र ! जंगला मुलुकजस्तो थियो, त्यति बेला । साक्षरता नै करिब ५ प्रतिशत थियो । आज साक्षरता करिब ७० प्रतिशत छ । ७० वर्षको अन्तरालमा ७० प्रतिशत नै उपलब्धि हासिल भएको छ ।
साक्षरता सय प्रतिशत पुग्नुपर्ने, किन पुगेन, यसको समीक्षा यतातर्फ हुन्छ र हुनु पनि यही पर्छ । यस्ता समीक्षालाई उपलब्धिको अवमूल्यन भन्न मिल्दैन । यस्तोमा उपलब्धिलाई बुझबुझारथ भइसकेको भनेर बुझ्नुपर्छ ।
त्यस्तै, कतै अनियमितता भइरहेको छ, त्यसलाई मिडियाले देखाउँछ । देखाउनु भनेको अन्यथा होइन, यथार्थमा राज्यलाई सही काम गर्न सहयोग गरेको हो । प्रधानमन्त्री चोखा होलान् (होलान् नै), तर उनका मन्त्रीहरू सबै चोखै छन् भन्न मिल्दैन र उनका आँखा सबैतिर पुग्दैनन् । बिटुलिएका मन्त्री, नेता जतिसुकै नजिक भए पनि तिनको त्याग गर्न सक्नुपर्छ । त्यस्तै, राज्य संयन्त्रमा काम गर्ने अरू पात्र चोखा छन् भनेर किटान गर्न मिल्दैन, सकिँदैन । मिडियाको कामै हो, राज्य संयन्त्रको आँखा नपुगेका ठाउँहरू देखाउने, गलत नियत र अनियमितता औंल्याउने, राज्यका जिम्मेवार निकायलाई त्यहाँ पुर्याउने र कार्य प्रदर्शन गर्न उत्प्रेरित गर्ने । यसर्थ स्वतन्त्र मिडिया प्रशंसा गर्नबाट सकेसम्म बच्छ । आलोचना नै गर्छ, गर्नैपर्छ । यथार्थ देखाउँछ साथै कार्यशील लोकतन्त्रमा सञ्चार माध्यमहरूबीच कसले छिटो समाचार सार्वजनिक गर्ने भन्ने प्रतिस्पर्धा पनि हुन्छ र यस्तो प्रतिस्पर्धाले माध्यमहरूलाई आफू कसरी बढी प्रामाणिक हुने भन्ने हुटहुटी हुन्छ । यस प्रकारका हुटहुटीले सत्य उद्घाटित गर्न मद्दत गरिरहेको हुन्छ ।
पत्रकारितासमेत कुनै पनि अरू कामजस्तै गर्दै सच्चिँदै जाने विधा हो । कार्य–कर्म हो । निश्चय नै यो जीविकोपार्जनको माध्यम मात्रै होइन । जिम्मेवारी पनि हो । यसमा दुईमत छैनÙ पत्रकार, सञ्चारगृह, विश्लेषक, स्तम्भकारहरूको नियत सफा हुनुपर्छ निश्चय नै । तर नियत सफा हुनुपर्छ भनेर पाठ पढाउने काम सरकारको होइन । सरकारको आफ्नो चाहिंँ नियत सफा हुनुपर्छ । झुठा, अप्रामाणिक सामग्रीहरू प्रकाशन गरे सर्वप्रथम त माध्यमकै विश्वसनीयता कम हुँदै त्यो आफै पाठकहरूमाझ अस्वीकार्य हुन जान्छ । अन्यथा गरे र गरिरहे अदालत छ । अन्य कसैले गरेका अनियमितताजस्तै सञ्चारकर्मी र सञ्चारगृहका अतिशयोक्तिहरूमाथि न्यायपालिकाले छानबिन गर्छ, गर्न पाउँछ । यसर्थ प्रधानमन्त्रीले प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन् भनेर चिन्ता गर्ने विषय होइन । उनी आफूले भने प्रशंसनीय काम गर्ने हो, अझ प्रशंसनीय काम गर्न यत्न गर्ने हो ।
अब जाऔं, प्रधानमन्त्रीका मनको तेस्रो अर्थात् सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ भन्ने चिन्तातर्फ । ओलीको सरकार नेपालमा बनेका सर्वाधिक शक्तिशाली सरकारहरूमध्येको एउटा हो । आज संसद नै प्रकारान्तरमा प्रतिपक्षशून्य जस्तो अवस्थामा छ । यस्तोमा कसले सरकार ढाल्ने प्रयत्न गर्दै छ ? गर्दै छ भने त्यस्तो तत्त्व अन्यत्र होइन, उनको आफ्नै दलभित्र छ । आफ्नै दलमा खोट छ भने षड्यन्त्र हुँदै छ भनेर कसलाई सुनाएको ? त्रिशंकु संसदबाट बनेको, अर्को कुनै दलको बैसाखी टेकेको सरकार होइन यो । पूर्ण बहुमतसहित आफ्नै गोडामा छ । यस सन्दर्भमा सरकार ढाल्ने षड्यन्त्रको कुरा किमार्थ पाच्य लाग्दैन । बरु हुनसक्छ, उनको दलमा आन्तरिक कचपच छ र उनी त्यसको व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
यसरी समीक्षा गर्दा के देखिन्छ भने, कसैले तिमी भनोस्, तपाईं भनोस्, यसको ख्याल गरेर बस्ने काम प्रधानमन्त्रीको होइन । प्रशंसा कामको हुन्छ र पद अनुरूप नै कामको अपेक्षा गरिन्छ । आलोचनात्मक चेत भएका सञ्चार माध्यम हुनु प्रसन्नताको विषय हो, क्लेशको होइन । साथै सरकार ढाल्ने षड्यन्त्र भइरहेको भए, उनको आफ्नै पार्टीमा खोट छ । त्यो उनी आफैले सच्याउनुपर्छ । चिन्ताका विषय अरू नै छन्, यी कुनै चिन्ताका विषय नै होइनन् ।
प्रकाशित : फाल्गुन ९, २०७६ ०८:३८