कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

चुनौतीको बाटामा राजनीति

प्रधानमन्त्रीले लगाएको प्रत्येक नाराको पछाडि–पछाडि दौडिने ‘पछुवा’ प्रेसको चाहना राख्ने सरकार लोकतन्त्रवादी हुन सक्दैन । साम्यवादी र अधिनायकवादी समाजमा मात्र निर्देशित हुन्छ प्रेस ।
किशोर नेपाल

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको तन र मनबीच गज्जबको सन्तुलन देखिन्छ । उनको मनले उनको तन (शरीर) लाई आफ्नो कब्जामा लिएको छ । त्यसैले हो, उनी तीनचार घण्टा चल्ने बैठकहरूमा अलिकति पनि नआत्तिई बस्न सक्छन् । धाराप्रवाह बोल्न सक्छन् । उनी आफ्नो तनले दिएको सकस कतै प्रतिविम्बित हुन दिँदैनन् ।

चुनौतीको बाटामा राजनीति

उनमा कठोर इच्छाशक्ति छ । यो क्षमताको कारण हो— उनले निरन्तर अभ्यास गरेको तन र मनको अनुशासन । नत्र भने यो कुरा सबैलाई थाहा छ, प्रधानमन्त्री ओली बिरामी छन् । यही साता उनको एन्जियोग्राफी गरिएको छ । चिकित्सकहरूले भनेजस्तो यो उनको ‘नियमित जाँच’ थिएन । वरिष्ठ चिकित्सक डा. मधु घिमिरेका अनुसार ‘कोरोनरी एन्जियोग्राफी’ कहिल्यै नियमित मेडिकल जाँचभित्र पर्दैन ।


बैठकमा लामो समय बस्न सक्ने र बोल्न सक्ने क्षमता भए पनि हिजोआज प्रधानमन्त्री ओलीका भनाइहरू असन्तुलित र प्रतिक्रियात्मक सुनिन थालेका छन् । उनी नेपाली प्रेससंँग निकै क्षुब्ध लाग्छन् । आफ्नो नेतृत्वमा देशले ‘यति धेरै’ विकास गर्दा पनि नेपाली प्रेसले त्यसको सराहना गर्न नसकेको कुरा उनले पटक–पटक सुनाएका छन् । देशका प्रधानमन्त्रीजस्तो सर्वोच्च कार्यकारी पदमा रहेको व्यक्तिबाट यस्ता प्रतिक्रियात्मक अभिव्यक्तिको आशा राखिँदैन । प्रेस झरिलो भएन भने त्यसको उपादेयता नै रहँदैन । प्रधानमन्त्रीले लगाएका प्रत्येक नाराको पछाडि–पछाडि दौडिने ‘पछुवा’ प्रेसको चाहना राख्ने सरकार लोकतन्त्रवादी हुन सक्दैन । साम्यवादी र अधिनायकवादी समाजमा मात्र निर्देशित हुन्छ, प्रेस । दार्चुला जस्तो दुर्गम जिल्लामा ‘तुइन’ हटाउने कामले प्राथमिकता पाउनैपर्ने हो । त्यस्तो प्राथमिकता दिन नसक्नु सरकारको असक्षमता हो । प्रेसले तुइनको फोटो खिचेर प्रकाशन गर्नु स्वाभाविक सन्दर्भ हो । त्यसलाई इंगित गरेर बोल्नु प्रधानमन्त्रीका लागि शोभनीय कुरा होइन ।


पछिल्लो समयको राजनीतिमा प्रधानमन्त्री ओली अलमलिएका छन् । राष्ट्रियसभा निर्वाचनको प्रसंगमा भएको राष्ट्रिय जनता पार्टीसँंगको सम्झौता कार्यान्वयन हुन सकेको छैन । राजपाका केही नेताहरू सत्तामा मिसिन आतुर देखिएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूलाई सत्तामा समायोजन नगरेपछि उनीहरू बराबर दिल्ली र लखनउको चक्कर लगाइरहेका छन् । यो मामिलामा प्रधानमन्त्री ओलीको रणनीति नराम्रोसँग चुकेको छ । पार्टीभित्रको उनको गुट कमजोर भएकोले उनी पहिलेको जस्तो निर्णय लिइहाल्ने स्थितिमा देखिँदैनन् । प्रधानमन्त्री ओलीको शक्तिको पहिलो वृत्तमा उनका मानिस देखिन छाडेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य बिगि्रँदै गएकाले त्यही आधारमा पार्टीभित्र उनको आलोचना बढ्न थालेको छ । पार्टीभित्रको उनको ‘आधार’ कमजोर भएकाले पनि पार्टीभित्रका विभिन्न गुटसँग खेल्ने उनको ‘विशेषता’ संकटमा परेको छ । उनको नेतृत्वमा पार्टीले संसदीय चुनावमा भाग लियो, एमाले–माओवादीको मिलन भयो । नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । संसदमा उसको बहुमत स्थापित भयो । त्यो घटनाक्रमको दुई वर्ष पूरा भएको छ । यो दुई वर्षमा प्रधानमन्त्री ओलीले विकासका यस्ता धेरै कुरा सुनाएका छन्, जसको हैसियत ‘उधारो’ छ । सरकारले गरेकाभन्दा गर्न नसकेका कामको थुप्रो ठूलो छ । यो सत्यलाई कसैले होइन भन्न सक्दैन ।


बितेका दुई वर्षसम्म नेकपाभित्रको माओवादी ‘न्याम्म’ परेको थियो । अहिले त्यो अवस्थामा परिवर्तन आएको छ । नेकपाका नेता वामदेव गौतमले शक्ति आर्जन गरेका छन् । पार्टी विधानलाई नै संशोधन गरेर उपाध्यक्ष पदमा भएको उनको मनोनयन अहिलेको नेकपामा एउटा छलाङ हो । संसदको सभामुख पदमा अग्नि सापकोटाको विजय प्रधानमन्त्री ओलीका विरोधीहरूको पक्षमा थियो । यसबाहेक नेकपाका माधव नेपाल र झलनाथ खनालजस्ता नेता प्रधानमन्त्री ओलीका पक्षमा छैनन् । उनीहरूको असन्तोष लुकेको छैन । मन्त्रिपरिषदभित्र पनि असहमतिको आवाज नभएको होइन । तर, त्यो आवाज दबेको छ । भ्रष्टाचार फैलिएको छ । कतिपय काण्डमा स्वयं प्रधानमन्त्री ओलीको संलग्नता अकाट्य देखिएको छ । सरकारका लागि यो अवस्था सुखद होइन । यति बेला यो भन्न सकिन्छ कि यी विभिन्न कारणले नेपाल कम्युनिस्ट पार्टीभित्र नेतृत्वले कोल्टे फेर्न थालेको छ । न्याम्म परेका माओवादीहरूको अनुहारमा चमक आउनु भनेको यसैको लक्षण हो ।


नेकपाभित्र शक्तिको हस्तान्तरण कति सहज होला ? सत्ता राजनीतिमा आउँदो तीन महिनाको समय निकै रोचक हुने देखिन्छ । यति बेला देशमा प्रधानमन्त्री ओली शारीरिक हिसाबले होइन, राजनीतिक हिसाबले नै सत्ताबाट बाहिरिनुपर्ने परिस्थितिको निर्माण हुँदै छ । यसका कारक पुष्पकमल दाहाल प्रचण्ड नै हुन्, जो दक्ष रणनीति निर्माता मानिन्छन् । उनलाई नेपाली जनताको छटपटी र अधैर्य स्वभावको जानकारी छ । विगत दुई वर्षको अवधिमा जनतालाई जति पनि सपना देखाइएका छन्, त्यो नेकपाकै लागि प्रत्युत्पादक हुने निश्चित छ । सत्तरी वर्षदेखि विकास पर्खेर बसेको जनतालाई अझै विकास पर्खेर बस भन्न कुनै सरकारले पनि सक्दैन । विकास र समृद्धिको नारा लगाउँदै सरकारमा आएको कम्युनिस्ट सरकारले त त्यसो भन्न सक्ने कुरै भएन । यो भन्नु अत्युक्ति हुनेछैन, सरकारमाथि सामान्य जनताको भरोसा टुटिसकेको छ ।


नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्षका रूपमा प्रचण्डले प्रधानमन्त्री ओलीको घेराबन्दी सुरु गरिसकेका छन् । राजनीतिका ‘चालबाज’ खेलाडी हुन्, प्रचण्ड । उनलाई राजा महेन्द्रका सहयोगी स्वर्गीय डा. तुलसी गिरी जत्तिकै चालबाज भने पनि अत्युक्ति हुँदैन । प्रचण्डलाई यो कुराको राम्रो ज्ञान छ कि यति बेला नेकपाका नेताहरू माधव नेपाल र झलनाथ खनाल तथा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा सत्ताबाट प्रधानमन्त्री ओलीको विस्थापन चाहन्छन् । यही प्रसंगमा, प्रचण्डको प्रदेश भ्रमणको रफ्तार बढेको छ । नेकपाका अधिकांश सांसदहरूसँग उनको हिमचिम पनि बढेको छ ।


युद्धको राजनीतिबाट शान्तिको राजनीतिमा उनले जसरी छलाङ मारेका थिए, अहिले फरक प्रसंगमा, त्यसको सम्झना गर्नु रोचक हुनेछ । उनी अहिलेको अवस्थामा पनि त्यस्तै छलाङको तयारीमा रहेको अनुमान लगाउन सकिन्छ । राजनीतिमा खतरा मोल्न सक्ने मान्छे नतिजामा पुग्छ । जो खतरा मोल्न सक्दैन, त्यो कहीं पुग्न सक्दैन । प्रचण्डमा खतरा मोल्न सक्ने भरपूर क्षमता छ । अहिले उनलाई जसले जे भनेर आलोचना गरे पनि अन्ततः एउटा सानो कम्युनिस्ट पार्टीलाई संगठित गरेर दशक लामो हिंसात्मक संघर्षको नेतृत्व उनैले गरेका हुन् । जुन हिसाबले उनले हिंसात्मक संघर्षलाई नेपालको शक्ति र सत्ताको वृत्तमा अवतरण गराए, त्यो आफैमा एउटा सबल उदाहरण हो ।


संसारका सबै समाज शक्ति र सत्ताकेन्द्रित हुन्छन् । जुन व्यक्ति शक्ति र सत्ताको केन्द्रमा हुन्छ, उही सर्वाधिक शक्तिशाली मानिन्छ । सामन्तवाद, अभिजात्यवाद र पुँजीवादको मात्रै कुरा होइन यो । साम्यवाद र समाजवादसँग मात्रै गाँसिएको विषय पनि होइन यो । विकास, अन्वेषण, अनुसन्धान र दर्शनसँंग पनि यसको सान्दर्भिकता छैन । नेपालको मात्र होइन, संसारका सबै देशमा सत्ताको खेल यस्तै पहेलीहरूको आधारमा खेलिएको हुन्छ । नेपालमा यो खेल धेरैपटक खेलिए पनि यसले अहिलेसम्म कुनै प्रकारको उपलब्धि दिन सकेको छैन । केलाई यसको उपलब्धि मान्ने ? त्यसको पनि समुचित परिभाषा आउन सकेको छैन ।


नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइ बहुमतको सरकार चलायो । नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको नेतृत्वमा पहिलोपटक २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाइको सरकार बनाएको थियो । त्यो सरकारलाई राजा महेन्द्रले १८ महिनामा विस्थापित गरे । अब अहिले दोस्रोपटक नेकपाले यो अवसर पाएको छ । तर यो अवसरको सदुपयोग भएन । प्रधानमन्त्री ओलीले रेल, पानीजहाज र सुरुङमार्गको सपना त देखाए । ती सपनाले जनताको अतृप्ति मेटिने कुरा थिएन ।

आखिर जनतालाई चलायमान राख्ने भनेको त अर्थतन्त्र र बजारले नै रहेछ । अहिले जनता जुन सकस भोगिरहेका छन्, मूल्यवृद्धिको समस्या जसरी विकराल बनिरहेको छ, त्यसको समाधान प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दिनसकेको छैन । सरकार दुईतिहाइको भएर मात्रै राजनीतिक स्थायित्व आउने होइन, त्यसका लागि जनताले सुलभ हिसाबले दानापानी र सामान्य सुविधा उपभोग गर्न पाउनुपर्छ । दुईतिहाइको सरकारले दुई वर्षको चुनौतीरहित अवसर निरर्थक बिताएको छ । राजनीति फेरि एकपटक चुनौतीपूर्ण बन्दै छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?