कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

आपत्तिजनक प्रतिक्रिया

सम्पादकीय

काठमाडौँ — हाम्रो सहप्रकाशन ‘दि काठमान्डु पोस्ट’ को विचार पृष्ठमा मंगलबार प्रकाशित एसिया न्युज नेटवर्कअन्तर्गत ‘कोरिया हेराल्ड’ बाट साभार एउटा लेख र त्यसमा प्रयुक्त चित्रलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले जनाएको प्रतिक्रिया आपत्तिजनक छ । पत्रपत्रिकामा प्रकाशित समाचार तथा विचारमाथि असहमति जाहेर गर्ने अधिकार जोकोहीलाई छ ।

आपत्तिजनक प्रतिक्रिया

तर चिनियाँ दूतावासको प्रतिक्रिया यतिमै सीमित छैन । उसले पोस्टका सम्पादकको नामै किटी नियतमाथिसमेत लान्छना लगाएर धम्कीपूर्ण (‘थप कारबाही गर्ने अधिकार राख्छु’ भन्दै) प्रतिक्रिया दिएको छ, जसको हामी भर्त्सना गर्छौं । दूतावासको यस्तो धम्कीले एउटा सार्वभौम मुलुकको स्वतन्त्र प्रेसको मानमर्दन मात्र गरेको छैन, सामान्य कूटनीतिक मर्यादाको समेत उल्लंघन गरेको छ ।


पोस्टमा प्रकाशित विचार र चित्रमाथि आफूलाई लागेको टीकाटिप्पणी गर्न सकिन्छ, नेपाली नागरिक मात्र होइन, विश्वका जुनसुकै निकाय तथा व्यक्ति यसमा स्वतन्त्र छन् । तर्क–वितर्क तथा वाद–विवाद नै बौद्धिक बहस र ज्ञान निर्माणका अभिन्न पाटा हुन्, जसमा नेपाली सञ्चारमाध्यमले आफ्नो हिसाबले टेवा पुर्‍याइरहेका पनि छन् । यस प्रक्रियामा व्यवधान आउन नदिन नेपालको संविधानले वाक् तथा स्वतन्त्रताको अधिकार प्रदान गरेको छ, जसलाई हर नेपाली नागरिक र प्रेस जगत्ले अविच्छिन्न प्रयोग गर्दै आएका छन् । यस अवस्थामा सञ्चारकर्मीलाई धम्क्याउँदै आएको दूतावासको प्रतिक्रियाले हाम्रो संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध धावा बोलेको छ । नेपाली प्रेस जगत्लाई नै लल्कार्न खोजिएको दूतावासको यो शैली आफैंमा आपत्तिजनक छ ।


एउटा लोकतान्त्रिक देशका स्वतन्त्र सञ्चारमाध्यमहरू आफूले के प्रकाशन/प्रसार गर्ने भन्नेमा सधैं स्वतन्त्र हुन्छन् । यस अर्थमा हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी आफ्नो संवैधानिक हक प्रयोग गर्न जति प्रतिबद्ध छौं, नेपालको संवैधानिक सीमाप्रति पनि त्यति नै सचेत छौं । र, चीनसम्बन्धी उक्त प्रकाशन हाम्रो संवैधानिक सीमाभन्दा बाहिर नरहेकोमा हामीलाई कुनै द्विविधा छैन । त्यस्ता सामग्रीप्रति चित्त नबुझेमा चिनियाँ दूतावासले नेपाली प्रेसले अंगिकार गरेको विश्वव्यापी अभ्यास अनुसार शिष्ट भाषामा असहमति वा खण्डन पठाएको भए, त्यसलाई सहजतापूर्वक लिइने थियो । आफ्ना सामग्रीप्रति हुने स्वस्थ आलोचना र खण्डनको नेपाली प्रेसले सदैव स्वागत गर्ने गरेको छ ।


चीन नेपालका लागि सधैं मित्रवत् मुलुकका रूपमा रहिआएको छ । सीमाका अग्ला हिमालहरू नाघेरै भए पनि दुई देशबीच जनस्तरको सम्बन्ध शताब्दीयौंदेखि अक्षुण्ण छ । लामो समयसम्म चीन नेपालका झिनामसिना आन्तरिक विषयहरूमा चासो नराख्ने मित्र मुलुकका रूपमा नेपालीबीच प्रशंसित रहँदै आएको पनि हो । त्यसैले पनि चिनियाँ दूतावासबाट नेपाली पत्रिकामा प्रकाशित एउटा सामग्रीमाथि यस किसिमले आएको आक्रामक प्रतिक्रिया हाम्रा लागि अत्यन्त अस्वाभाविक छ ।


चीन र चिनियाँ जनताले हाल भोगिरहेको कोरोना भाइरसको संकटप्रति हामी अत्यन्त संवेदनशील छौं । त्यसबारे सत्यतथ्य सामग्री सम्प्रेषण गर्दै आएका पनि छौं । चीनको महामारीलाई राजनीतीकरण गर्ने हाम्रो कुनै ध्येय छैन । कुनै अमुक राष्ट्रको अमुक सञ्चारमाध्यमले त्यस्तो नियत राखेको छ भने पनि त्यसलाई हामीले कहिल्यै सदर गरेका छैनौं, र गर्दैनौं पनि । तर, लोकतन्त्रमा विश्वास राख्ने हामी हाम्रा सामग्रीमाथि हुने वाद–प्रतिवादका कार्यमा पनि लोकतान्त्रिक अनुशीलनको अपेक्षा राख्छौं । हाम्रा समाचार/विचारमा चित्त नबुझाउने, असहमति व्यक्त गर्ने व्यक्ति तथा संस्थाको सम्मान गर्छौं । र, त्यसमा खण्डन गर्न मन लागेमा आवश्यक उचित विधि पछ्याइयोस् भन्ने चाहन्छौं । चीनभित्रका अखबारहरू कसरी सञ्चालन हुने, त्यो चीनको सरोकारको विषय हो । तर नेपाली अखबारहरू नेपालको संवैधानिक सीमाभित्र बसेर सञ्चालन हुन्छन्, चिनियाँ कूटनीतिक नियोगलाई के रुचि होला, के नहोला भनेर होइन ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?