पार्टनर, तिम्रो पोलिटिक्स के हो ?

सरिता तिवारी

भारतका एक प्रखर कविको चर्चित कविता छ, ‘अंधेरे में’ । त्यसमा एउटा खरो वाक्य छ, ‘पार्टनर, तुम्हारी पोलिटिक्स क्या हैं ?’

आजको लेख यही प्रश्नको वरिपरि घुमेको छ ।

000

लिटरेचर फेस्टिभलको मञ्चमा नाम चलेका एक लेखकको नयाँ किताब विमोचन कार्यक्रम चल्दै थियो । राजनीति कर्म र ‘जनपक्षीय’ (प्रचलित शब्दमा प्रगतिशील धारा) साहित्यमा बराबरी जोडिएका त्यस किताबका लेखकले आफ्ना ऊर्जाशील दिनहरू प्रगतिशील लेखनको विस्तार र उत्थानमा बिताएका छन् । भलै ‘प्रगतिशीलता’ अहिले दलविशेषको निरपेक्ष, अकिञ्चन समर्थक हुनु र वैचारिक दासत्व स्वीकार गर्नुसँग सरोकार राख्ने अर्थमा सीमित भएको छ, यो अर्कै कुरा हो ।


तर किताबमाथि बोल्ने एक वक्ताले सुरुमै न्यायाधीश शैलीमा सुनाए, ‘कुनै पनि लेखक आफैमा प्रगतिशील हो । लेख्नु आफैमा प्रगतिशील कदम हो । र, त्यो जेसुकै लेखे पनि हो । ...म उहाँलाई कुनै वादमा संकुचित गर्न चाहन्नँ ।’ लेखकको तारिफ गर्दैगर्दै उनले तिनको लेखनको मेरुदण्डमाथि नै प्रहार गरे । तर लेखकले यसको प्रतिवाद गर्न आवश्यक ठानेनन् । नेपालमा पछिल्लो समय प्रगतिशीलताको अर्थ खुइलिँदै गएकाले दिक्क लागेर हो वा त्यसको व्याख्या गर्ने, स्पष्टीकरण दिने ‘दुःखी’ काम गर्ने जाँगर नलागेर ? उनैलाई थाहा होला ।


दिमागमा धेरै दिनसम्म माथिका पंक्तिहरू घुमिरहे । यद्यपि यस्तो कुरा सुन्नुपरेको यही नै पहिलो मौका थिएन, न त यही नै अन्तिम होला । पटक–पटक, धेरै पटक यस्ता अभिव्यक्ति सुन्नुपर्दा यो विषयमा छलफल जरुरी छ भन्ने लागेको छ ।


लेखक भन्ने कुनै ‘उपल्लो कोटि’ प्राणीले कलम समाइदिने ‘महान् उद्यम’ गर्दिनासाथ त्यो प्रगतिशील भैदिइहाल्छ भन्ने यस्तो मतका ती वक्ता नै एक्ला पक्षधर होइनन् । लेखनमा कुनै किसिमको ‘वाद’ हुल्नु हुँदैन... लेखनमा राजनीति त झन् आउनै हुँदैन... आए पनि त्यसमा पक्षधरता हुनै हुन्न... त्यो प्राकृत र सहज हुनुपर्छ... कुनै खास पक्ष लिनु, खास विचार ‘थोपर्नु’ त्यसको नैसर्गिक चरित्रमा हस्तक्षेप गर्नु हो... इत्यादि । प्रगतिशीलताको बृहत् र खास अर्थलाई उपेक्षा गर्ने यस्तो धारणा जीवन र समाजका आधारभूत सत्यसँग भाग्ने चिन्तनको उपजभन्दा बढी केही लाग्दैन ।


केही पनि लेख्दिनासाथ कोही पनि प्रगतिशील हुन्छ भन्नु त्यति नै मूर्ख तर्क लाग्छ, जति गिदी भएकैले मान्छे बुद्धिमान् प्राणी हो भन्ने तर्क ! गिदी सूचनाका असंख्य तारहरूको समवेत गुजुल्टो मात्रै हो । मान्छे बुद्धिमान् बन्न उसले गिदीबाट प्रसारित बुद्धितत्त्वको उपयोग कसरी गरेको छ भन्ने हेर्नुपर्छ । ठीक त्यस्तै, लेखन एउटा सिर्जनशील ‘प्रयत्न’ हो । तर त्यो प्रयत्न हुनु नै प्रगतिशीलता होइन । त्यो किन, कसका लागि भएको छ भन्ने कुरा महत्त्वपूर्ण हो । यसको जाँच नगरी जेसुकै र जुनसुकै चीज कसरी प्रगतिशील हुन्छ ?


पछिल्लो समय ‘प्रगतिशील’ को अर्थ संकुचन हुँदैहुँदै दलविशेषको झन्डामा टाँस्सिएको, लेखनमा कम राजनीतिक दाउपेचमा ज्यादा सक्रिय (वा लेख्दै नलेख्नेसमेत) व्यक्ति नै प्रगतिशील हो भन्ने बनाइएको छ । जसरी हिजो राजारानीका वरिपरि घुमेर, तिनका प्रशस्ति लेखेर, तिनको जयजयकार गरेर, तिनको चाकरी गरी पद–पीठ पाउन र राज्यसंरक्षित मठाधीश बन्न सकिन्थ्यो, त्यही शैलीमा प्रशस्ति लेख्नेहरू, चाकरी गर्नेहरू नै ‘खाँटी प्रगतिशील’ मा दरिने भएपछि यो शब्द संकटमा परेको सत्य हो । त्यही भएर नै हो, प्रगतिशील लेखन र आन्दोलनमा लामो उमेर बिताएका पाका लेखक नै आफूलाई यतिखेर प्रगतिशील मान्न असुविधा प्रकट गर्छन् । केही समयपहिले प्रगतिशील लेखक संघले आयोजना गरेको सम्मान ग्रहण कार्यक्रममा खगेन्द्र संग्रौलाको व्यंग्योक्ति आएको थियो, ‘आजदेखि म पनि प्रगतिशील भएँ !’


संग्रौलाको यो एक वाक्यले आजको प्रगतिशील आन्दोलनको संकट के हो भन्ने बताउँछ । यस्तो संकट चिर्न वास्तविक अर्थको प्रगतिशील लेखन र वैचारिक तहमा ठूलो हलचल हुनु आवश्यक छ ।

िि

िलेखन एक प्रकारको उत्पादन हो । सोचको, विचारको उत्पादन । सोचहरू, विचारहरू इतिहासको बोधले बन्छन् । वर्तमानका सत्य–असत्य ठम्याउन इतिहास नबुझी सुख छैन अनि इतिहास घटना र मितिको ठेली मात्रै होइन, आज देखिने प्रभाव र परिणामको कार्यकारण हो भन्ने कुरा आम मानिसको पक्षबाट इतिहास चिन्तन गर्नेहरूले लगातार बताउँदै आएका छन् ।


मानिस आफै पनि इतिहासको उत्पादन हो । इतिहासभित्र धेरै कुरा छन् । शासकहरूका विजय र पराजयका चक्र मात्रै होइन, साधारण जनताका, जातिविशेषका, लिङ्गविशेषका सुस्केरा, दलन, उत्पीडन, आँसु, रगत, संकल्प, संघर्ष ...धेरै कुरा छन् । लेखन जिम्मेवारी हो भन्ने मान्नुहुन्छ भने, लेखन नितान्त निजी प्रयोजनको काम मात्रै होइन सामाजिक कुरा हो भन्ने मान्नुहुन्छ भने, यति धेरै कुराको कार्यकारण पत्तो नपाई, यी कुरासँग सरोकार नराखी ‘प्रगतिशील’ लेखक बन्ने सुविधा कसैलाई छ ?


विगतको संज्ञान र आजबारेको ठम्याइले लेखकको दृष्टि बनाउँछ । त्यही दृष्टि प्रकारान्तरले इतिहासको रेकर्ड मात्रै बन्दैन, गतिशील चेतनाको उत्प्रेरक पनि बन्छ । त्यस अर्थमा इतिहासलाई गतिमान बनाउन चेतनाको तहमा क्रियाशील हुनु वास्तविक अर्थमा प्रगतिशील लेखक हुनु हो । गतिशीलताको त्यो चेत उन्नत र अग्रगामी विचारको पोषणले तयार हुन्छ । यस्तो चेत निर्माण हुन प्रायः सत्ता बाधक बन्ने गरेको अनुभव छ, हामीसँग । सामन्तवादी मात्रै होइन, पुँजीवादी र साम्यवादी सत्तासमेत । त्यसैले जुनसुकै किसिमको विचारले चलेको सत्ता होस्, प्रगतिशील लेखक सत्ताका विचारको रक्षक बन्नु हुन्न, सत्तासँग दूरी बनाएर बस्नुपर्छ भन्ने मानिन्छ । यसरी प्रगतिशील बन्नु या बन्ने प्रयत्न गर्नु गौरवको कुरा हो । यस प्रकारबाट प्रगतिशीलताको अभ्यास गर्नु आज सबैभन्दा बढ्ता जरुरी छ ।


मान्छे स्वयम् इतिहासको उत्पादन हो भन्ने कुरा मान्ने हो भने, त्यो ठिङ्ग एक्लो र इतिहासशून्य उभिएको छैन भन्ने पनि मान्नुपर्छ । मान्छे स्पेसमा यत्तिकै तुर्लुङ्ग झुन्डिरहेको अद्भुत जीव पनि त होइन । भौतिक रूपमा एक्लो देखिने मान्छे मानसिक, सांस्कृतिक रूपले निरपेक्ष र एक्लो छैन । ऊ आफ्ना पूर्वजहरू हिँड्दै आएको इतिहासको बाटोमा उभिएको छ । त्यहाँ कथा छन् । संस्कृति छन् । घटना छन् । जीवनशैली छन् । र मुख्य कुरा ती सबै चीजबाट निर्मित एकमुस्ट परिणाम छ— वर्तमान । त्यसैले आजको कुरा गर्दा हिजोबारेको बोध सही हुनु आवश्यक छ । अतीतमाथिको सही बोधले नै आजको समयको लेखनलाई प्रगतिशील वा गैरप्रगतिशील बनाउने हो । त्यस अर्थमा लेखनमा ध्रुवीकरण र कित्ताकरण चाहिन्छ । इतिहासको उपेक्षा गर्ने, त्यसमाथि छलछाम गर्ने र त्यसको सत्य–सन्धान गर्ने सबै खाले लेखकलाई प्रगतिशीलताको एउटै बाक्सामा खाँद्न मिल्दैन ।


भौतिक वस्तुजस्तै लेखन पनि एउटा उत्पादन हो र उत्पादन कहीँ, कहिल्यै गैरराजनीतिक भएको मलाई थाहा छैन । चाहे त्यो स्थूल वस्तु होस्, चाहे चेतना अर्थात् विचार, कुनै पनि कुरा राजनीतिभन्दा बाहिर छैनन् । शिक्षक, बैंकर, व्यापारी, उद्योगपति, पत्रकार वा खेतीहर किसान, लोहार, मेहतर, गृहिणी, सुचीकार को को बन्न सक्ने वा को नबन्ने भन्ने कुरा जसरी ‘राजनीतिक’ कुरा हो, के लेख्ने, कसका लागि र किन लेख्ने, लेख्नका लागि आधारभूत विषय, विचार के हुने भन्ने कुरा पनि ठीक त्यसै गरी राजनीतिक कुरा हो । त्यस कारण लेख्नेबित्तिकै कोही पनि प्रगतिशील हुन्छ भन्नु कि बिलकुलै अपरिपक्व र ‘बचकाना’ तर्क हो कि सत्यमाथिको भद्दा मजाक ।


हरेक लेखन लेखुन्जेल लेखक एक्लैको भए पनि लेखिसकेपछि यो सामूहिक अभिव्यक्तिको कर्म हो । यसको असर व्यक्तिचेतनामा मात्रै पर्दैन, समाजमा पनि पर्छ । यति कुरा मान्ने हो भने लेख्ने काम पूरापूर राजनीति हो । जेसुकै लेखोस्, लेखकले या त व्यक्ति वा समाजको इतिहासबाट पलायन भएर मौनता वा जिब्रोचपाइको ‘कुट’ राजनीति गर्छ या इतिहासलाई बाङ्गोटिङ्गो र छद्म रूपमा देखाउने राजनीति गर्छ या आफ्नो विवेकको पूरापूर ‘गट्स’ उपयोग गरेर समय र घटनामाथिको ठोस मन्तव्य दिन्छ । लेखनमा हुँदै आएको यही हो ।


‘कुनै खास लेखकलाई कुनै खास विचारको कित्तामा राख्न नचाहनु’ वा कुनै लेखकलाई (वा लेखकले आफूलाई) कुनै विचारको पक्षपाती मान्नु दुवै राजनीति हो । लेखनमार्फत एक प्रकारको राजनीति गर्छु भन्ने हाकाहाकी विचार मात्रै राजनीति होइन, लेखकले राजनीति गर्नु हुँदैन वा लेखन राजनीतिक काम होइन वा लेखन कुनै वादको मानक बन्नु हुन्न भन्नु पनि उत्तिकै राजनीति हो । मानिसले सास फेर्नु वा सास फेर्न नपाउनु, पानी पिउनु वा पानीसम्म पिउन नपाएर तड्पिनु, खाना खानु वा भोकमरी लाग्नु, राम्ररी निदाउन पाउनु वा रातभर सन्त्रासले जाग्राम बस्न पर्नु आदि सामान्यभन्दा सामान्य लाग्ने यस्तो हरेक कुरा व्यक्ति बाँचेको समाजको राजनीतिमा निर्भर गर्छ भने सोचीसम्झी, भएभरको बुद्धि लगाएर लेख्ने कुरो गैरराजनीतिक क्रिया कसरी हुन सक्छ ?


लेखकले राजनीति गर्नु हुन्न वा लेख्नासाथ कोही पनि प्रगतिशील हुन्छ भनेर कोही बहस गर्न आयो भने त्यस्तो बहसको प्रस्थानविन्दु हुन्छ, ‘अरे पार्टनर, तिम्रो चैं पोलिटिक्स के हो ?’ प्रकाशित : फाल्गुन ६, २०७६ ०८:१९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रदेश ५ को राजधानी कहाँ ?

रघु पन्त

सदरमुकाम सार्ने वा नसार्ने भन्ने विषयमा पञ्चायतकालमा विभिन्न जिल्लामा तानातान र आन्दोलन हुने गर्थ्यो । अहिले देश संघीयतामा गइसकेपछि पनि कतै प्रदेश नाम के राख्ने त कतै प्रदेश राजधानी कहाँ राख्ने भन्नेबारे बहस र विवाद जारी नै छ ।

केही प्रदेशले आफ्नो नाम र राजधानी टुंगो लगाए पनि केहीले यसलाई निष्कर्षमा पुर्‍याउन बाँकी नै छ । तीमध्ये प्रदेश ५ ले पनि यो विषय टुंग्याउन सकेको छैन । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने भन्नेबारे सबै राजनीतिक दल सहमत नै देखिए पनि राजधानीको विषयलाई लिएर भने मतैक्य हुन सकेको छैन ।

प्रदेशसभामा यसबारे सहमति बन्ने सम्भावना नदेखेपछि मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको केन्द्रीय नेतृत्वलाई सबै पक्षसँग सरसल्लाह गरेर समाधान दिन अनुरोध गरेका छन् । सार्वजनिक रूपमै उनले आफूले दाङका लागि लबिइङ नगर्ने र अरूलाई पनि बुटवलका लागि लामबन्दीको प्रयत्न नगर्न आग्रह गरेका छन् । विवादबीच प्रस्ताव अघि सार्नुले उनले यो विषयको सुरक्षित र विवादरहित अवतरण चाहेको देखिन्छ ।

माल पाएर चाल पाएको खोइ ?
प्रदेश ५ ले एउटा अत्यन्त महत्त्वपूर्ण र अमूल्य स्थान पाएको छ । त्यो हो— कपिलवस्तु । आज नेपालको एउटा जिल्लाका रूपमा मात्र रहेको कपिलवस्तु कुनै समय समृद्ध र सशक्त गणराज्य थियो । विभिन्न बौद्ध ग्रन्थमा कपिलवस्तुको विस्तृत वर्णन पाइन्छ । तिनमा वर्णित समयमा कपिलवस्तु राज्यमा गणबाट निर्वाचित राज्यप्रमुख वा राजाका रूपमा सिद्धार्थ गौतमका पिता शुद्धोदन थिए । राजा शुद्धोदन अघिको कपिलवस्तुबारे त्यति विवरण नपाइने जानकारहरूको भनाइ छ ।

बौद्ध विषयका जानकार वसन्त महर्जनले कपिलवस्तुको इतिहासबारे उल्लेख गरे अनुसार, प्राचीन समयमा कोशल राज्यका राजा ओक्काकले आफ्नी कान्छी रानीका छोरालाई राज्याधिकार दिने उद्देश्यले जेठी रानीतर्फका पाँच छोरी र चार छोरा गरी नौ जनालाई देशनिकाला गरे । देशनिकालापछि क्रमशः उत्तर दिशातिर अघि बढ्दै जाँदा ती नौ जनाको भेट कपिल नाम गरेका ऋषिसँग भयो । कपिल ऋषिकै सल्लाह र निर्देशनमा ती नौ जनाले बस्ती बसाल्न आरम्भ गरे । प्रिया नाम गरेकी जेठी चाहिँ राजमाताका रूपमा रहिन् भने, बाँकी चार दिदीबहिनीलाई चार दाजुभाइले विवाह गरे । उनीहरूले रक्तशुद्धताका लागि आआफूमै विवाह गर्ने निर्णय गरेका थिए । कपिल ऋषिको सल्लाहमा बस्ती बसाएकाले तिनले राज्यको नाम पनि ‘कपिलवस्तु’ राखे । शक वृक्ष फाँडी नगर बसाएको हुँदा शाक्य कहलिन थाले ।

कपिलवस्तु राज्यभित्र केही नगर र सानातिना थुप्रै गाउँ थिए । सिद्धार्थ गौतम भविष्यमा बुद्धत्व प्राप्त गरी बुद्ध बन्नेछन् भनेर भविष्यवाणी गर्ने कौडण्य नामका ब्राह्मण कपिलवस्तु नजिकैको द्रोणवस्तु गाउँका बासिन्दा थिए । द्रोणवस्तु वर्तमान समयको दाङ जिल्ला भएको अनुमान गरिन्छ ।

सिद्धार्थ गौतमको मावली र ससुराली राज्य थियो— कोलिय । शाक्य गणराज्यको राजधानी कपिलवस्तु भए जस्तै देवदह कोलीय राज्यको राजधानी थियो । देवदह पनि नेपालमै पर्छ र कपिलवस्तु जिल्लामा अवस्थित छ ।
इसापूर्व ४८३ मा कुशीनगरमा गौतम बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार गरी निस्केको अस्थिधातुलाई विभिन्न आठ राज्यले बाँडेर लिएका थिए । त्यो अस्तुलाई राखेको ठाउँमा स्तूप निर्माण गरिएको थियो । अस्थिधातु पाउने आठ राज्यमध्ये एक कोलीय राज्य थियो । कोलीयहरूले सो अस्थिधातु राखी बनाएको स्तूप नै रामग्राम स्तूप हो । रामग्राममा स्वयं सम्राट् अशोकसमेत पुगेका थिए । यो स्तूप नवलपरासी जिल्लाको परासीदेखि ४ किलोमिटर दक्षिणमा पर्छ ।

त्यस्तै, कपिलवस्तु आउँदा गौतम बुद्ध बस्ने गरेको निग्रोधाराम पनि कपिलवस्तुकै लोरी कुदान गाउँमा पर्छ भनिएको छ । निग्रोधाराममा बसी बुद्ध ज्ञान बाँड्ने गर्थे । त्यति मात्र होइन, गौतम बुद्धभन्दा अघिका विभिन्न बुद्धमध्ये क्रकुच्छन्द बुद्ध एक थिए । पिता अग्निदत्त ब्राह्मण र आमा विशाखाबाट क्षेमवती नगरमा उनको जन्म भएको थियो । त्यो क्षेमवती नगर अहिलेको गोटीहवा रहेको मानिन्छ । यहाँ आइपुगेर सम्राट अशोकले अर्को स्तम्भ स्थापना गरेका थिए । त्यस्तै, बुद्धभन्दा अघिका अर्का बुद्ध थिए— कनकमुनि (कोणागमन) बुद्ध । उनका पिता यज्ञदत्त ब्राह्मण र आमा उत्तरा थिइन् । उनको जन्म शोभावती नामको नगरमा भएको थियो । त्यो शोभावती नगर अहिलेको निग्लिहवा हो भनिन्छ । यहाँ पनि आइपुगेर सम्राट् अशोकले स्तूपको मर्मत गरेका थिए । कपिलवस्तु राज्यको केन्द्र मानिएको तिलौराकोट अर्को अत्यन्त महत्त्वपूर्ण स्थल हो ।

माथि उल्लेख गरिएका स्थानहरू नेपालका मात्रै नभई विश्वकै अमूल्य सम्पदा हुन् । यस्ता महत्त्वपूर्ण विश्वसम्पदा रहेको कपिलवस्तु जिल्ला प्रदेश ५ मा पर्छ । ऐतिहासिक महत्त्वको यस्तो स्थल आफ्नो प्रदेशमा र प्रदेशका
सबैलाई पायक पर्ने दूरीमा हुँदाहुँदै पनि नेताहरूले तानातान गरेर आफ्नै जिल्लामा प्रदेश राजधानी पार्न खोज्नु उपयुक्त हुँदैन । कपिलवस्तुको उपेक्षा गर्नु भनेको माल पाएर चाल नपाउनु हो ।

संसारभरका बौद्धहरूको महत्त्वपूर्ण तीर्थस्थल बन्ने पर्याप्त सम्भावना बोकेको कपिलवस्तु उपेक्षामा परेको छ । त्यो उपेक्षाको अन्त्य गर्ने कार्यको शुभारम्भ हुनसक्छ, कपिलवस्तुमा प्रदेश ५ को राजधानी सार्नु ।
बुटवल : पश्चिमको महत्त्वपूर्ण केन्द्र
अहिले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा राखिएको छ । बुटवल प्रदेशको राजधानी हुनुभन्दा अघिदेखि नै पश्चिमी क्षेत्रको एउटा महत्त्वपूर्ण व्यापारिक र शैक्षिक केन्द्रका रूपमा स्थापित भइसकेको छ । रूपन्देही जिल्लामा बुटवल र भैरहवाजस्ता नगर मात्र होइन, ६ लेनको बुटवल–भैरहवा सडक र अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध विमानस्थल बनिरहेको छ । संसारभरका बौद्धहरूको महत्त्वपूर्ण तीर्थस्थल लुम्बिनी पनि यहीं पर्छ । लुम्बिनी सडकबाट जान चाहे बुटवल र प्लेनबाट जान खोजे भैरहवा टेक्नैपर्छ । लुम्बिनी बौद्ध विश्वविद्यालय पनि यहीं छ ।

पहाडतिरबाट बुटवल–भैरहवा बसाइँ सर्नेहरूको चापका कारण बुटवल अहिले नै भीडभाडयुक्त स्थान बनिसकेको छ । बुटवलमै प्रदेश राजधानी स्थायी रूपले राख्न खोज्नु त्यो ठाउँलाई झन् साँघुरो र अव्यवस्थित बनाउनु हो । प्रदेश ५ को आर्थिक राजधानीका रूपमा पहिलेदेखि नै स्थापित बुटवल–भैरहवा आफ्नो आधारभूत संरचना, भौगोलिक अवस्थिति, बढ्दो भौतिक संरचनाका कारण प्रदेशका अन्य स्थानभन्दा निकै अगाडि छ ।

पूर्व–पश्चिम राजमार्गको एउटा महत्त्वपूर्ण केन्द्र बनेका कारण बुटवल पहिलेदेखि नै यातायात र आवागमनका दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा रहँदै आएको छ । पहाडका कतिपय जिल्ला उक्लने र तराई ओर्लनेहरूको ताँतीले गुलजार रहने बुटवललाई प्रदेशको व्यापारिक केन्द्रकै रूपमा विकसित गर्नु उपयुक्त हुन्छ ।

रूपन्देही जिल्लाका सबै राजनीतिक दलका नेताहरूले आफ्नै जिल्लामा राजधानी कायम राख्ने अडान छोडेर उदारता देखाउनु आवश्यक छ । प्रदेशका नेताहरूले संघीयताको मर्म बुझ्ने हो भने बुटवलमै राजधानी टिकाइरहने जिद्दी गर्नुको सट्टा कुन जिल्लामा प्रदेशको राजधानी राख्दा देशको भौगोलिक र भावनात्मक एकता अझ सुदृढ हुनेछ भन्नेतर्फ सोच्नुपर्छ ।

लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लिहवा र देवदह जस्ता बौद्ध स्थलहरूलाई विकसित गरेर नेपालभित्र बौद्ध सर्किट बनाउने र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडेर विस्तृत र व्यापक बनाउँदै बुद्धिजम अध्ययन गर्ने एउटा केन्द्रका रूपमा विकसित गर्ने हो भने मात्र पनि बुटवल–भैरहवा ज्ञान, पर्यटन र व्यापारको महत्त्वपूर्ण केन्द्र बन्न सक्छ ।

संघीयताको महत्त्वपूर्ण मर्म सत्ता, शक्ति र विकासको विकेन्द्रीकरण हो । यो कुरालाई आधार मान्ने हो भने बुटवलको भन्दा दाङ र कपिलवस्तुको राजधानी पाउनुपर्ने माग जायज र औचित्यपूर्ण ठहरिन्छ ।

तराईको भावनालाई बुटवल–भैरहवाले भन्दा बढी कपिलवस्तुले सम्बोधन गर्छ । प्रदेश ५ को पिछडिएको जिल्ला कपिलवस्तुमा प्रदेश राजधानी बनाउँदा एउटा नयाँ र व्यवस्थित नगर बनाउन प्रशस्त खुला ठाउँ प्राप्त हुन्छ भने, पहाड र तराई जोड्ने नयाँ–नयाँ सडक र व्यापार तथा विकासका थप सम्भावनाका ढोकाहरू खुला हुनेछन् । सँगसँगै कपिलवस्तुमा रहेका बौद्ध तीर्थस्थलहरूलाई विकसित, व्यवस्थित बनाउने र लुम्बिनीसँग जोड्ने कार्यलाई पनि छिटो अघि बढाउन मद्दत पुग्छ । त्यसैले कपिलवस्तुलाई प्रदेश राजधानीका रूपमा प्रस्ताव गर्न बुटवलवासी र रूपन्देही जिल्लाका नेताहरू अघि सर्नुपर्छ ।
दाङलाई के ?
दाङ पछाडि परेको जिल्ला हो । दाङलाई राजधानीको सट्टा उद्योग र कृषिका ठूला योजनाहरूका लागि संघीय सरकारले मद्दत गर्नुपर्छ । रुकुम, रोल्पा, प्युठान आदिबाट दाङ झर्नेहरूको चापलाई ध्यानमा राखेर विभिन्न स्थानमा व्यवस्थित नगर विकसित गर्ने, लुम्बिनीवरपर प्रदूषण फैलाइरहेका सिमेन्ट कारखाना लगायतलाई दाङको उपयुक्त स्थानमा सार्न प्रोत्साहित गर्ने र कृषि तथा प्रदेश ५ को औद्योगिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएर अघि बढ्ने हो भने दाङको विकास हुनेछ ।

कुनै जिल्लामा प्रदेशको राजधानी आउँदैमा सबै थोक आउने र जाँदैमा सबै थोक जाने होइन । भूमिको उत्पादकता, भौगोलिक अवस्थिति, उपलब्ध जनशक्ति र मानवीय प्रयत्नले कुनै पनि ठाउँ विकसित हुने हो, राजधानी बनेर मात्र होइन ।

अहिले जुनसुकै जिल्लालाई प्रदेश राजधानी बनाए पनि केहीलाई पायक र केहीलाई अपायक त पर्छ नै । तर सकेसम्म प्रदेश राजधानी बनाउँदा आजका तत्कालीन समस्या र आवश्यकतालाई मात्र ध्यान दिएर पुग्दैन । प्रदेशको समानुपातिक विकास, भविष्यका आवश्यकता अनुरूपका पूर्वाधारहरूको निर्माण र व्यवस्थित तथा योजनाबद्ध राजधानी निर्माणको सम्भावना जस्ता विषयहरूलाई ध्यानमा राखेर दूरदर्शितापूर्ण ढंगले
विचार गर्नुपर्छ ।

अहिले विश्वव्यापी रूपमै गाउँबाट सहर झर्ने र सहरी जनसंख्या बढ्दै जाने प्रवृत्ति छ । कपिलवस्तुमा व्यवस्थित रूपले प्रदेश राजधानीको निर्माण थाल्दा नयाँ सहरको निर्माण मात्र होइन, बुटवलमा परिरहेको जनसंख्याको चापलाई समेत स्थानान्तरण गर्न मद्दत पुग्छ । पाल्पा, गुल्मी, अर्घाखाँची जस्ता जिल्लाबाट बुटवल झर्ने जनसंख्यालाई कपिलवस्तुतिर मोड्न सकिन्छ ।

दाङमा विभिन्न स्थानमा व्यवस्थित नगर विकास, कृषि विकास र उद्योगहरूको स्थापना र विकास गर्दा रोल्पा, रुकुम र प्युठान जस्ता पहाडी जिल्लाबाट झर्ने मानिसहरूलाई रोजगारी र वासस्थान उपलब्ध हुन्छ र दाङको विकासले गति लिन्छ । त्यसैले प्रदेश ५ का नेता र प्रदेशसभा सदस्यहरूले विवेक, बुद्धिमत्ता र दूरदर्शिताको प्रयोग गर्नु आवश्यक छ ।

तत्काल के गर्ने ?
अहिले तत्काल प्रदेश राजधानी कपिलवस्तु सार्न खोजे पनि त्यहाँ आवश्यक पूर्वाधारहरू छैनन् । त्यसैले सबभन्दा पहिले प्रदेशसभाले कपिलवस्तुलाई प्रदेशको राजधानी घोषणा गर्दै त्यहाँ आवश्यक पूर्वाधारहरूको निर्माणनिम्ति पाँच–छ वर्षको समयावधि तोकेर ठोस योजना बनाउनु उपयुक्त हुनेछ । कपिलवस्तुको उपयुक्त स्थानमा आवश्यक जग्गा अधिग्रहण गरी प्रदेशसभा र प्रदेश सरकारका लागि आवश्यक संरचनाहरू र त्यसवरपर व्यवस्थित नगर बसाउने योजना बनाएर काम अघि बढाउँदा पाँच–छ वर्ष त लागिहाल्ला । त्यतिन्जेल बुटवलबाटै प्रदेश सरकारले राजधानीको काम चलाए भइहाल्यो ।

तर रूपन्देही र नवलपरासीका कतिपय प्रदेशसभा सदस्य र नेताहरू बुटवलबाट प्रदेश राजधानी सार्न नदिने पक्षमा देखिन्छन्Ù अन्य प्रदेशका अस्थायी राजधानी तोकिएको ठाउँलाई नै राजधानी मान्न हुने, प्रदेश ५ मा किन
नहुने भन्ने खालका प्रश्न तेर्स्याउँछन् । प्रदेशसभा सदस्यहरूले सहमतिका आधारमा आफैले राजधानी टुंगो लगाउने सम्भावना कम देखिन्छ । यही कारणले होला, मुख्यमन्त्रीले केन्द्रीय निर्णयबाट समाधान खोज्न चाहेको । हेरौं, के हुन्छ !

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×