कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश ५ को राजधानी कहाँ ?

रघु पन्त

सदरमुकाम सार्ने वा नसार्ने भन्ने विषयमा पञ्चायतकालमा विभिन्न जिल्लामा तानातान र आन्दोलन हुने गर्थ्यो । अहिले देश संघीयतामा गइसकेपछि पनि कतै प्रदेश नाम के राख्ने त कतै प्रदेश राजधानी कहाँ राख्ने भन्नेबारे बहस र विवाद जारी नै छ ।

प्रदेश ५ को राजधानी कहाँ ?

केही प्रदेशले आफ्नो नाम र राजधानी टुंगो लगाए पनि केहीले यसलाई निष्कर्षमा पुर्‍याउन बाँकी नै छ । तीमध्ये प्रदेश ५ ले पनि यो विषय टुंग्याउन सकेको छैन । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने भन्नेबारे सबै राजनीतिक दल सहमत नै देखिए पनि राजधानीको विषयलाई लिएर भने मतैक्य हुन सकेको छैन ।


प्रदेशसभामा यसबारे सहमति बन्ने सम्भावना नदेखेपछि मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको केन्द्रीय नेतृत्वलाई सबै पक्षसँग सरसल्लाह गरेर समाधान दिन अनुरोध गरेका छन् । सार्वजनिक रूपमै उनले आफूले दाङका लागि लबिइङ नगर्ने र अरूलाई पनि बुटवलका लागि लामबन्दीको प्रयत्न नगर्न आग्रह गरेका छन् । विवादबीच प्रस्ताव अघि सार्नुले उनले यो विषयको सुरक्षित र विवादरहित अवतरण चाहेको देखिन्छ ।


माल पाएर चाल पाएको खोइ ?

प्रदेश ५ ले एउटा अत्यन्त महत्त्वपूर्ण र अमूल्य स्थान पाएको छ । त्यो हो— कपिलवस्तु । आज नेपालको एउटा जिल्लाका रूपमा मात्र रहेको कपिलवस्तु कुनै समय समृद्ध र सशक्त गणराज्य थियो । विभिन्न बौद्ध ग्रन्थमा कपिलवस्तुको विस्तृत वर्णन पाइन्छ । तिनमा वर्णित समयमा कपिलवस्तु राज्यमा गणबाट निर्वाचित राज्यप्रमुख वा राजाका रूपमा सिद्धार्थ गौतमका पिता शुद्धोदन थिए । राजा शुद्धोदन अघिको कपिलवस्तुबारे त्यति विवरण नपाइने जानकारहरूको भनाइ छ ।


बौद्ध विषयका जानकार वसन्त महर्जनले कपिलवस्तुको इतिहासबारे उल्लेख गरे अनुसार, प्राचीन समयमा कोशल राज्यका राजा ओक्काकले आफ्नी कान्छी रानीका छोरालाई राज्याधिकार दिने उद्देश्यले जेठी रानीतर्फका पाँच छोरी र चार छोरा गरी नौ जनालाई देशनिकाला गरे । देशनिकालापछि क्रमशः उत्तर दिशातिर अघि बढ्दै जाँदा ती नौ जनाको भेट कपिल नाम गरेका ऋषिसँग भयो । कपिल ऋषिकै सल्लाह र निर्देशनमा ती नौ जनाले बस्ती बसाल्न आरम्भ गरे । प्रिया नाम गरेकी जेठी चाहिँ राजमाताका रूपमा रहिन् भने, बाँकी चार दिदीबहिनीलाई चार दाजुभाइले विवाह गरे । उनीहरूले रक्तशुद्धताका लागि आआफूमै विवाह गर्ने निर्णय गरेका थिए । कपिल ऋषिको सल्लाहमा बस्ती बसाएकाले तिनले राज्यको नाम पनि ‘कपिलवस्तु’ राखे । शक वृक्ष फाँडी नगर बसाएको हुँदा शाक्य कहलिन थाले ।


कपिलवस्तु राज्यभित्र केही नगर र सानातिना थुप्रै गाउँ थिए । सिद्धार्थ गौतम भविष्यमा बुद्धत्व प्राप्त गरी बुद्ध बन्नेछन् भनेर भविष्यवाणी गर्ने कौडण्य नामका ब्राह्मण कपिलवस्तु नजिकैको द्रोणवस्तु गाउँका बासिन्दा थिए । द्रोणवस्तु वर्तमान समयको दाङ जिल्ला भएको अनुमान गरिन्छ ।


सिद्धार्थ गौतमको मावली र ससुराली राज्य थियो— कोलिय । शाक्य गणराज्यको राजधानी कपिलवस्तु भए जस्तै देवदह कोलीय राज्यको राजधानी थियो । देवदह पनि नेपालमै पर्छ र कपिलवस्तु जिल्लामा अवस्थित छ ।

इसापूर्व ४८३ मा कुशीनगरमा गौतम बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार गरी निस्केको अस्थिधातुलाई विभिन्न आठ राज्यले बाँडेर लिएका थिए । त्यो अस्तुलाई राखेको ठाउँमा स्तूप निर्माण गरिएको थियो । अस्थिधातु पाउने आठ राज्यमध्ये एक कोलीय राज्य थियो । कोलीयहरूले सो अस्थिधातु राखी बनाएको स्तूप नै रामग्राम स्तूप हो । रामग्राममा स्वयं सम्राट् अशोकसमेत पुगेका थिए । यो स्तूप नवलपरासी जिल्लाको परासीदेखि ४ किलोमिटर दक्षिणमा पर्छ ।


त्यस्तै, कपिलवस्तु आउँदा गौतम बुद्ध बस्ने गरेको निग्रोधाराम पनि कपिलवस्तुकै लोरी कुदान गाउँमा पर्छ भनिएको छ । निग्रोधाराममा बसी बुद्ध ज्ञान बाँड्ने गर्थे । त्यति मात्र होइन, गौतम बुद्धभन्दा अघिका विभिन्न बुद्धमध्ये क्रकुच्छन्द बुद्ध एक थिए । पिता अग्निदत्त ब्राह्मण र आमा विशाखाबाट क्षेमवती नगरमा उनको जन्म भएको थियो । त्यो क्षेमवती नगर अहिलेको गोटीहवा रहेको मानिन्छ । यहाँ आइपुगेर सम्राट अशोकले अर्को स्तम्भ स्थापना गरेका थिए । त्यस्तै, बुद्धभन्दा अघिका अर्का बुद्ध थिए— कनकमुनि (कोणागमन) बुद्ध । उनका पिता यज्ञदत्त ब्राह्मण र आमा उत्तरा थिइन् । उनको जन्म शोभावती नामको नगरमा भएको थियो । त्यो शोभावती नगर अहिलेको निग्लिहवा हो भनिन्छ । यहाँ पनि आइपुगेर सम्राट् अशोकले स्तूपको मर्मत गरेका थिए । कपिलवस्तु राज्यको केन्द्र मानिएको तिलौराकोट अर्को अत्यन्त महत्त्वपूर्ण स्थल हो ।


माथि उल्लेख गरिएका स्थानहरू नेपालका मात्रै नभई विश्वकै अमूल्य सम्पदा हुन् । यस्ता महत्त्वपूर्ण विश्वसम्पदा रहेको कपिलवस्तु जिल्ला प्रदेश ५ मा पर्छ । ऐतिहासिक महत्त्वको यस्तो स्थल आफ्नो प्रदेशमा र प्रदेशका

सबैलाई पायक पर्ने दूरीमा हुँदाहुँदै पनि नेताहरूले तानातान गरेर आफ्नै जिल्लामा प्रदेश राजधानी पार्न खोज्नु उपयुक्त हुँदैन । कपिलवस्तुको उपेक्षा गर्नु भनेको माल पाएर चाल नपाउनु हो ।


संसारभरका बौद्धहरूको महत्त्वपूर्ण तीर्थस्थल बन्ने पर्याप्त सम्भावना बोकेको कपिलवस्तु उपेक्षामा परेको छ । त्यो उपेक्षाको अन्त्य गर्ने कार्यको शुभारम्भ हुनसक्छ, कपिलवस्तुमा प्रदेश ५ को राजधानी सार्नु ।

बुटवल : पश्चिमको महत्त्वपूर्ण केन्द्र

अहिले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा राखिएको छ । बुटवल प्रदेशको राजधानी हुनुभन्दा अघिदेखि नै पश्चिमी क्षेत्रको एउटा महत्त्वपूर्ण व्यापारिक र शैक्षिक केन्द्रका रूपमा स्थापित भइसकेको छ । रूपन्देही जिल्लामा बुटवल र भैरहवाजस्ता नगर मात्र होइन, ६ लेनको बुटवल–भैरहवा सडक र अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध विमानस्थल बनिरहेको छ । संसारभरका बौद्धहरूको महत्त्वपूर्ण तीर्थस्थल लुम्बिनी पनि यहीं पर्छ । लुम्बिनी सडकबाट जान चाहे बुटवल र प्लेनबाट जान खोजे भैरहवा टेक्नैपर्छ । लुम्बिनी बौद्ध विश्वविद्यालय पनि यहीं छ ।


पहाडतिरबाट बुटवल–भैरहवा बसाइँ सर्नेहरूको चापका कारण बुटवल अहिले नै भीडभाडयुक्त स्थान बनिसकेको छ । बुटवलमै प्रदेश राजधानी स्थायी रूपले राख्न खोज्नु त्यो ठाउँलाई झन् साँघुरो र अव्यवस्थित बनाउनु हो । प्रदेश ५ को आर्थिक राजधानीका रूपमा पहिलेदेखि नै स्थापित बुटवल–भैरहवा आफ्नो आधारभूत संरचना, भौगोलिक अवस्थिति, बढ्दो भौतिक संरचनाका कारण प्रदेशका अन्य स्थानभन्दा निकै अगाडि छ ।


पूर्व–पश्चिम राजमार्गको एउटा महत्त्वपूर्ण केन्द्र बनेका कारण बुटवल पहिलेदेखि नै यातायात र आवागमनका दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा रहँदै आएको छ । पहाडका कतिपय जिल्ला उक्लने र तराई ओर्लनेहरूको ताँतीले गुलजार रहने बुटवललाई प्रदेशको व्यापारिक केन्द्रकै रूपमा विकसित गर्नु उपयुक्त हुन्छ ।


रूपन्देही जिल्लाका सबै राजनीतिक दलका नेताहरूले आफ्नै जिल्लामा राजधानी कायम राख्ने अडान छोडेर उदारता देखाउनु आवश्यक छ । प्रदेशका नेताहरूले संघीयताको मर्म बुझ्ने हो भने बुटवलमै राजधानी टिकाइरहने जिद्दी गर्नुको सट्टा कुन जिल्लामा प्रदेशको राजधानी राख्दा देशको भौगोलिक र भावनात्मक एकता अझ सुदृढ हुनेछ भन्नेतर्फ सोच्नुपर्छ ।


लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लिहवा र देवदह जस्ता बौद्ध स्थलहरूलाई विकसित गरेर नेपालभित्र बौद्ध सर्किट बनाउने र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडेर विस्तृत र व्यापक बनाउँदै बुद्धिजम अध्ययन गर्ने एउटा केन्द्रका रूपमा विकसित गर्ने हो भने मात्र पनि बुटवल–भैरहवा ज्ञान, पर्यटन र व्यापारको महत्त्वपूर्ण केन्द्र बन्न सक्छ ।


संघीयताको महत्त्वपूर्ण मर्म सत्ता, शक्ति र विकासको विकेन्द्रीकरण हो । यो कुरालाई आधार मान्ने हो भने बुटवलको भन्दा दाङ र कपिलवस्तुको राजधानी पाउनुपर्ने माग जायज र औचित्यपूर्ण ठहरिन्छ ।


तराईको भावनालाई बुटवल–भैरहवाले भन्दा बढी कपिलवस्तुले सम्बोधन गर्छ । प्रदेश ५ को पिछडिएको जिल्ला कपिलवस्तुमा प्रदेश राजधानी बनाउँदा एउटा नयाँ र व्यवस्थित नगर बनाउन प्रशस्त खुला ठाउँ प्राप्त हुन्छ भने, पहाड र तराई जोड्ने नयाँ–नयाँ सडक र व्यापार तथा विकासका थप सम्भावनाका ढोकाहरू खुला हुनेछन् । सँगसँगै कपिलवस्तुमा रहेका बौद्ध तीर्थस्थलहरूलाई विकसित, व्यवस्थित बनाउने र लुम्बिनीसँग जोड्ने कार्यलाई पनि छिटो अघि बढाउन मद्दत पुग्छ । त्यसैले कपिलवस्तुलाई प्रदेश राजधानीका रूपमा प्रस्ताव गर्न बुटवलवासी र रूपन्देही जिल्लाका नेताहरू अघि सर्नुपर्छ ।

दाङलाई के ?

दाङ पछाडि परेको जिल्ला हो । दाङलाई राजधानीको सट्टा उद्योग र कृषिका ठूला योजनाहरूका लागि संघीय सरकारले मद्दत गर्नुपर्छ । रुकुम, रोल्पा, प्युठान आदिबाट दाङ झर्नेहरूको चापलाई ध्यानमा राखेर विभिन्न स्थानमा व्यवस्थित नगर विकसित गर्ने, लुम्बिनीवरपर प्रदूषण फैलाइरहेका सिमेन्ट कारखाना लगायतलाई दाङको उपयुक्त स्थानमा सार्न प्रोत्साहित गर्ने र कृषि तथा प्रदेश ५ को औद्योगिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएर अघि बढ्ने हो भने दाङको विकास हुनेछ ।


कुनै जिल्लामा प्रदेशको राजधानी आउँदैमा सबै थोक आउने र जाँदैमा सबै थोक जाने होइन । भूमिको उत्पादकता, भौगोलिक अवस्थिति, उपलब्ध जनशक्ति र मानवीय प्रयत्नले कुनै पनि ठाउँ विकसित हुने हो, राजधानी बनेर मात्र होइन ।


अहिले जुनसुकै जिल्लालाई प्रदेश राजधानी बनाए पनि केहीलाई पायक र केहीलाई अपायक त पर्छ नै । तर सकेसम्म प्रदेश राजधानी बनाउँदा आजका तत्कालीन समस्या र आवश्यकतालाई मात्र ध्यान दिएर पुग्दैन । प्रदेशको समानुपातिक विकास, भविष्यका आवश्यकता अनुरूपका पूर्वाधारहरूको निर्माण र व्यवस्थित तथा योजनाबद्ध राजधानी निर्माणको सम्भावना जस्ता विषयहरूलाई ध्यानमा राखेर दूरदर्शितापूर्ण ढंगले

विचार गर्नुपर्छ ।


अहिले विश्वव्यापी रूपमै गाउँबाट सहर झर्ने र सहरी जनसंख्या बढ्दै जाने प्रवृत्ति छ । कपिलवस्तुमा व्यवस्थित रूपले प्रदेश राजधानीको निर्माण थाल्दा नयाँ सहरको निर्माण मात्र होइन, बुटवलमा परिरहेको जनसंख्याको चापलाई समेत स्थानान्तरण गर्न मद्दत पुग्छ । पाल्पा, गुल्मी, अर्घाखाँची जस्ता जिल्लाबाट बुटवल झर्ने जनसंख्यालाई कपिलवस्तुतिर मोड्न सकिन्छ ।


दाङमा विभिन्न स्थानमा व्यवस्थित नगर विकास, कृषि विकास र उद्योगहरूको स्थापना र विकास गर्दा रोल्पा, रुकुम र प्युठान जस्ता पहाडी जिल्लाबाट झर्ने मानिसहरूलाई रोजगारी र वासस्थान उपलब्ध हुन्छ र दाङको विकासले गति लिन्छ । त्यसैले प्रदेश ५ का नेता र प्रदेशसभा सदस्यहरूले विवेक, बुद्धिमत्ता र दूरदर्शिताको प्रयोग गर्नु आवश्यक छ ।


तत्काल के गर्ने ?

अहिले तत्काल प्रदेश राजधानी कपिलवस्तु सार्न खोजे पनि त्यहाँ आवश्यक पूर्वाधारहरू छैनन् । त्यसैले सबभन्दा पहिले प्रदेशसभाले कपिलवस्तुलाई प्रदेशको राजधानी घोषणा गर्दै त्यहाँ आवश्यक पूर्वाधारहरूको निर्माणनिम्ति पाँच–छ वर्षको समयावधि तोकेर ठोस योजना बनाउनु उपयुक्त हुनेछ । कपिलवस्तुको उपयुक्त स्थानमा आवश्यक जग्गा अधिग्रहण गरी प्रदेशसभा र प्रदेश सरकारका लागि आवश्यक संरचनाहरू र त्यसवरपर व्यवस्थित नगर बसाउने योजना बनाएर काम अघि बढाउँदा पाँच–छ वर्ष त लागिहाल्ला । त्यतिन्जेल बुटवलबाटै प्रदेश सरकारले राजधानीको काम चलाए भइहाल्यो ।


तर रूपन्देही र नवलपरासीका कतिपय प्रदेशसभा सदस्य र नेताहरू बुटवलबाट प्रदेश राजधानी सार्न नदिने पक्षमा देखिन्छन्Ù अन्य प्रदेशका अस्थायी राजधानी तोकिएको ठाउँलाई नै राजधानी मान्न हुने, प्रदेश ५ मा किन

नहुने भन्ने खालका प्रश्न तेर्स्याउँछन् । प्रदेशसभा सदस्यहरूले सहमतिका आधारमा आफैले राजधानी टुंगो लगाउने सम्भावना कम देखिन्छ । यही कारणले होला, मुख्यमन्त्रीले केन्द्रीय निर्णयबाट समाधान खोज्न चाहेको । हेरौं, के हुन्छ !

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?