वैचारिक दुर्भिक्षको सादा टिपोट

उज्ज्वल प्रसाईं

स्थिर क्यानभासका धर्सा एवं रंगमार्फत व्यक्ति र प्रवृत्तिका तीव्रतम बदलाव व्यक्त गर्न अप्ठ्यारो होला । अनेकवली चलायमान दृश्यलाई बेग्लाबेग्लै क्यानभासमा पोतेर गरिने शृंखलाबद्ध कलाकर्मबाट बदलावको असंगत आयाम कति अभिव्यक्त हुन्छ, गैरकलाकारलाई अन्दाज गर्न गाह्रो छ । व्यक्तिका क्षणवादी गुण वा समूहले खेलेका अनपेक्षित चिप्लेटी अभिव्यक्त गर्न कविताको सामर्थ्य बढ्ता उपयोगी हुन सक्छ ।

स्थूल परिवर्तनको कथा बताउन त्यति असहज नहोला, तर व्यवहारको सूक्ष्मतामा अभिव्यक्त असंगत परिवर्तनलाई अभिव्यक्त गर्न कविता नै आवश्यक हुन सक्छ । उत्थान र पतनका एकरेखीय वर्णनले निर्मित आख्यानमा चलायमान चरित्रका सूक्ष्म र स्थूल दुवै आयाम खिच्न सजिलो हुँदैन ।


उदाहरणका लागि, माओत्से तुङको ‘अन कन्ट्राडिक्सन’ बाट दीक्षित, हिंसात्मक संघर्षको नेतृत्व गरिसकेको कम्युनिस्ट नेताको उत्तरआधुनिक भन्न मिल्ने आध्यात्मिक गुरुसँगको वैचारिक निकटता कसरी अभिव्यक्त गर्ने ? सैद्धान्तिक स्खलनको कथ्य अपूरो हुन सक्छ । षड्यन्त्र सिद्धान्तका पुराना अस्त्रले रचिएको कलाविहीन निबन्ध असमर्थ प्रमाणित भइसकेको छ । नाटकमा नवीन प्रयोग आवश्यक पर्न सक्छ । छोटो समयमै ज्यादा प्रयोग गरेर ‘क्लिसे’ हुने तरखरमा भएको ‘दलाल पुँजीवाद’ को सैद्धान्तिक आवरणमा सज्जित एन्टी–हिरो चरित्र मात्रले पनि सांगोपांग चित्र उतार्न नसक्ला । वैचारिक दुर्भिक्षको नीतिकथाले त्यो चरित्र स्वयंलाई अन्याय गर्ला । चरित्रका सबै आयाम समेटिएको नेपाली राजनीतिक ‘महाभारत’ रच्ने हिम्मत गर्ने असल कलाकार कसो नआउलान् ? अखबारी स्तम्भका असंख्य सीमिततामा त्यस्तो जोखिमपूर्ण प्रयत्न नगर्नु पाठक, लेखक र प्रकाशक सबैका लागि श्रेयष्कर हुन्छ । त्यसैले अहिलेलाई केवल एक सादा टिपोट ।


सद्गुरु भनिने भारतीय योगी जग्गी वासुदेवबारे केही अनुच्छेद नलेखी यो टिपोट पूर्ण हुँदैन । दुई दशकदेखि भारत र अमेरिकामा योगीका रूपमा प्रख्यात जग्गीको ईशा फाउन्डेसन नामको उत्तिकै चर्चित संस्था छ । अन्य भारतीय ‘बाबा’ हरू जस्तै जग्गी पनि बोलक्कड छन् । लामो सेतो दाह्रीसहितको सौम्य व्यक्तित्व प्रदर्शन गरेर मुसुमुसु हाँस्दै बोल्दा अघिल्तिरका मान्छेको ध्यान र धैर्य खिच्न सक्छन् उनी । अक्सर अंग्रेजी भाषाका उनका भिडियो प्रवचन र अन्तर्वार्ताहरू युट्युब जस्ता सामाजिक सञ्जालमा धेरैले हेर्छन् । अरू योगीले झैँ उनले पनि योगका केही पुराना विधि अपनाएका छन् । सेल्फ हेल्प गुरुका रूपमा मध्यमवर्गीय जीवन सहज, शान्त र समृद्ध बनाउने केही यथानाम सूत्रहरू मथेर धाराप्रवाह प्रवचन दिन्छन् । कर्पोरेट कम्पनीका कामदारलाई उपयोगी सूत्रबद्ध योग एवं सकारात्मक सोच मार्का तालिम उनको मुख्य विधा हो । त्यसो त योगीका रूपमा चर्चामा आउनुअघि जग्गी आफै सानोतिनो व्यापारी थिए ।


जग्गी अचेल नदी बचाउ अभियानमा लागेका छन् । उनको संस्था ईशा फाउन्डेसनमार्फत काभेरीजस्ता सुकेका नदीको पुनर्जीवनका लागि नागरिक अभियान सञ्चालन भइरहेको छ । नदी बचाउ अभियान पनि योग–तालिम जस्तै सूत्रबद्ध छ । नदी किनारमा वृक्षरोपण गर्ने, खोलाको फोहोर हटाउने, पानीको बहावका लागि नदी खनेर गहिरो बनाउने जस्ता सूत्रको प्रयोगबाट मृतप्रायः नदीलाई जीवन्त बनाउने उद्घोष गरेका छन् । भारतीय सरकारले उपयुक्त ठानेको विभिन्न नदी जोड्ने अर्थात् ‘रिभर इन्टरलिङ्किङ’ परियोजनाको कुनै समय आलोचना गरेका जग्गीले आफ्नो अभियानमा त्यसैलाई सकारेका छन् । एकातिर त्यस्तो उपाय अपनाउनु महँगो पर्छ र घातक हुन सक्छ भन्ने र अर्कातिर सोही उपाय अवलम्बन गर्न लगाउने उनको दोहोरो चरित्रबारे धेरै सामग्री प्रकाशित छन् ।


नदीको मृत्यु हुनुका पछिल्तिर केही कारण मुख्य छन् । ‘द भ्यानिसिङ : इन्डियाज वाइल्डलाइफ क्राइसिस’ शीर्षक पुस्तककी लेखक प्रेरणा सिंह बिन्द्राका अनुसार एकपछि अर्को ठूलो बाँध बाँधिनु, नदीको प्रयोगमार्फत गरिने पारवहनका लागि नेसनल वाटरवेज एक्ट–२०१६ जस्ता कानुन लागू गरिनु, बेपर्बाह जंगल फँडानी हुनु र विभिन्न नदी जोड्ने ‘रिभर लिङ्किङ’ परियोजना सञ्चालन गरिनुले नदीहरू मृतप्रायः बनेका हुन् । जग्गीको नदी बचाउ अभियानमा यी कुनै विषय उठान गरिएका छैनन् । मुख्य कारणहरूको निवारण गर्ने मनसुबासम्म राखिएको छैन । बरु जग्गीको नदी बचाउ अभियान यसअघि चर्चा कमाएर असफल सिद्ध भएको अर्का ‘बाबा’ रविशंकरको ‘यमुना एक्सन प्लान’ को केही विस्तारित रूप मात्रै हो । रविशंकरको संस्था आर्ट अफ लिभिङले सञ्चालन गरेको परियोजनालाई सरकार मात्र नभई संयुक्त राष्ट्रसंघ लगायत ठूला गैरसरकारी संस्थाले समेत सघाएका थिए ।


आर्ट अफ लिभिङ र ईशा फाउन्डेसन जस्ता संस्थाले ल्याएका कार्यक्रम विषयवस्तुका दृष्टिले खोक्रा तर प्रियतावादी हुन्छन् भन्ने विज्ञहरूको ठहर छ । गत वर्षको अगस्ट महिनामा दिल्ली विश्वविद्यालयकी समाजशास्त्री श्रीरूपा भट्टाचार्यले इकोनोमिक एन्ड पोलिटिकल विक्लीका लागि यसै विषयमा एउटा खोजमूलक लेख लेखेकी छन् । ‘ग्राउन्डवाटर, गुरुज एन्ड गभर्मेन्टालिटी : सेवा इन द नियोलिबरल डेभलपमेन्ट रेजिम इन इन्डिया’ शीर्षक सो लेखमा समाजसेवाको आवरणमा भारतीय बाबाहरूले नवउदारवादी विकासका घातक नीति एवं परियोजनालाई कसरी टेवा पुर्‍याएका छन् भनेर प्राज्ञिक विश्लेषण गरिएको छ ।


अध्येता प्रेरणाले औँल्याएका नदी–बरबादीका मुख्य कारणलाई बढी जटिल बनाउन रविशंकर एवं जग्गीका अभियानले खेलेका भूमिकाबारे थप अध्ययन भइरहेका छन् । साथै जग्गी लगायतले प्रचलित तुल्याएका उपायहरू वैज्ञानिक रूपमा समस्याग्रस्त भएको भन्दै सो विषयमा लामो समयदेखि काम गर्दै आएका संस्था एवं व्यक्तिले बौद्धिक हस्तक्षेप गर्ने कोसिस पनि गरेका छन् । जग्गीले आह्वान गरेको ‘काभेरी कलिङ’ अभियानलाई सघाउन हलिउडका कलाकार लियानार्डो डी क्याप्रियोले सार्वजनिक ऐक्यबद्धता जाहेर गरेपछि केही संस्था र व्यक्तिले उनलाई पत्र लेखेर ऐक्यबद्धता फिर्ता लिइदिन अनुरोध गरेका थिए ।


‘क्लाइमेट एक्टिभिस्ट’ का रूपमा समेत परिचित ख्यातिप्राप्त कलाकारले गरेको समर्थन प्रत्युत्पादक हुन सक्ने भनेर सो पत्र लेखिएको थियो । जग्गीले काभेरी किनारमा २४२ करोड बिरुवा रोप्ने अभियान सञ्चालन गरेका थिए । अभियन्ताहरूको पत्रमा ‘ईशा फाउन्डेसनको अत्यन्त एकांगी र स्थानीय पर्यावरणीय यथार्थलाई आत्मसात् नगरी चलाइएको अभियानले काभेरी र यसका सन्तानको अहित गर्ने’ बताइएको थियो । भारतीय जनताले धेरैपहिले त्याज्य मानेको ‘मोनोकल्चरिस्ट’ उपाय अपनाएर समस्या थप्न खोजेकामा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका थिए । सो पत्र लेख्नेमा सम्बन्धित क्षेत्रमा काम गरेका २३ व्यक्तित्व एवं ९५ सम्बन्धित संस्था थिए ।


जग्गीको नदी बचाउ अभियानमा नरेन्द्र मोदीको केन्द्र सरकारका साथै योगी आदित्यनाथको प्रान्तीय सरकार दुवैको आशीर्वाद छ । आशाराम जस्ता केही चर्चित बाबाका हर्कत बाहिरिएसँगै भयभीत बाबाहरूले भारतीय सत्ताको ‘मोलाहिजा’ सुरु गरेको सिलसिलासँग जोडेर जग्गीको मोदी–मोहलाई बुझ्नुपर्ने तथ्यपरक विश्लेषण प्रकाशित छन् । भारत सरकारले लागू गरेको नागरिक संशोधन ऐन (सीएए) संविधानको मर्मविपरीत भएकामा विद्यार्थी, युवा, प्राज्ञिक समुदायले आन्दोलन गरिरहेका बेला जग्गी वासुदेवले सीएएको बचाउ गरेका छन् । त्यति मात्र होइन, सीएएको विरोधमा उत्रेका सबै नागरिकलाई अतिवादी भड्कावमा फसेको आरोपसमेत लगाएका छन् । आफूले ऐन पूरै नपढेको र नबुझेको स्वीकार गरेरै उनले सीएएको बिनासर्त समर्थन गरेकामा कसैले आश्चर्य मानेन । कारण, उनी मोदीका वफादार आध्यात्मिक सिपाही भएको सबैले बुझेका थिए ।


जग्गी वासुदेवबारे यी तथ्य उल्लेख गरिसकेपछि नेपालका मार्क्सवादी तथा माओवादी नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का हालसालैका महत्त्वपूर्ण अभिव्यक्तिहरू साभार गर्नु सान्दर्भिक हुन्छ । २०१९ अगस्ट १३ का दिन कमरेड प्रकाशले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा अंग्रेजीमा लेखे, ‘नेपाल संसारको सबैभन्दा अनुपम र अद्भुत मुलुक भएको सद्गुरुले मलाई बताउनुभयो । नेपालको अनुपम चरित्र संवर्द्धन गर्दै विकासको नमुना तयार पार्ने उपयुक्त बेला भएको उल्लेख गर्नुभयो । विकास भनेको सम्पूर्ण विगतको भक्षण होइन, उहाँले थप्नुभयो ।’ केही दिनपहिले सम्पन्न कान्तिपुर कन्क्लेभको एक चर्चित सत्रमा कुन पुस्तक पढ्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै कमरेड प्रचण्डले भने, ‘म आजकल सद्गुरुका प्रवचनहरू सुन्ने गर्छु ।’ उनले यति भनेपछि सभामा ठूलो हाँसो गुन्जियो । हाँसोलाई सम्बोधन गर्दै उनले थपे, ‘भ्रममा नपर्नुहोला, सद्गुरुजत्तिको भौतिकवादी कोही छैन ।’ प्रचण्ड र प्रकाशहरू अचेल नगरको विकासका लागि महायज्ञको आयोजना गर्छन्, विकास र समृद्धिको मोडल खोज्न जग्गी वासुदेवका प्रवचन सुन्छन् ।


क्षणक्षणमा अनेक रूप देखाइरहेका कमरेडहरूको गुरु–सत्संगको भने एउटा खास शृंखला छ । धर्मनिरपेक्ष राज्यका पक्षधरविरुद्ध सार्वजनिक धर्मयुद्धको घोषणा गर्ने कमल नयनाचार्यदेखि बालगुरु भनिने आदित्यमणिसम्म, चितवन पुगेर ‘बेनकाव’ भएका महाराज स्वामी बालयोगेश्वरदेखि जग्गी वासुदेवसम्म । यी सबैसँग कमरेडहरू संवाद र संगतमा छन् । के कारणले ? पर्गेल्नुपर्ने प्रश्न धेरै छन् । जस्तो— हिजो पढेका मार्क्सवादका ऋचाले शीतल बनाउन नसकेको हृदयको छटपटी कति र मस्तिष्कमा आरोपित बजारुमोह कति ? माओ र मार्क्सका ठेलीमा समृद्धिको मार्ग फेला नपर्दाको छटपटी कति र वृद्धत्व निःसृत असंगत सोच कति ? भ्रम कति र ढोङ कति ? धर्म कति र राष्ट्रवाद कति ? ‘मेटामोर्फोसिस’ को काफ्कामय कथ्यले यी सबै प्रश्नको सम्यक् उत्तर दिन सक्दैन । नेपाली राजनीतिको पछिल्लो पटाक्षेप बुझ्न र त्यसलाई कलात्मक अभिव्यक्ति दिन विलक्षण प्रतिभा चाहिन्छ ।


प्रकाशित : फाल्गुन २, २०७६ ०८:२१

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्कुलमा खेर जाँदै विद्यार्थीको समय

मिलन पाण्डे

सन् १९६० मा अमेरिकाको शिक्षाबारे अध्ययन गर्न जेम्स स्यामुयल कोलम्यानको नेतृत्वमा विज्ञहरूको आयोग बन्यो । आयोगले ६ लाख ५० हजार विद्यार्थीको अध्ययन गरेर ६ वर्षपछि ७०० पानाको रिपोर्ट निकाल्यो । उक्त रिपोर्टले केही महत्त्वपूर्ण निष्कर्ष प्रस्तुत गर्‍यो, जसमध्ये एउटा थियो— स्कुलले विद्यार्थीको सफलतामा खासै प्रभाव पार्दैन । यो निष्कर्षले सबैलाई अनौठो आश्चर्यमा पार्‍यो ।

प्रभावै पर्दैन भने स्कुल किन जाने ? यो विषय लामो समयसम्म बहसमा रह्यो । यहीबीच त्यहाँको शिक्षा क्षेत्र उक्त निष्कर्ष बमोजिम सुधार गर्दै अघि बढिरह्यो ।

अहिलेका हाम्रा विद्यालयहरूबारे यस्तै अध्ययन भए नतिजा कस्तो आउँथ्यो होला ? मसँग अनुसन्धानको रिपोर्ट त छैन, तर यत्ति भन्न सक्छु— अमेरिकाको भन्दा फरक आउँदैनथ्यो । आज तपाईं–हामीले जुन सीपले जीवन बाँचिरहेका छौँ, तीमध्ये कति स्कुलमा सिकेका थियौँ ? आजको तपाईंको सफलतामा आधिकारिक शिक्षाको हात कति छ ? मेरो अनुभवमा— निकै कम ।

असफल स्कुल
स्कुलहरू किन खोलिए होला ? उत्तर सरल छ, ज्ञानका लागि । कुनै जमानामा स्कुल ज्ञान लिनकै लागि गइन्थ्यो । शिक्षकसँग मात्र ज्ञान हुन्थ्यो । तर, समय बदलिएको छ । अहिले सबै कुरा गुगल अनि पुस्तकमै छ । अब ज्ञान अनि तथ्यलाई प्रविधिले कुनै पनि बेला कुनै पनि स्वरूपमा उपलब्ध गराउन सक्छ । तसर्थ अब स्कुलले तथ्य र सूचना मात्र होइन, विद्यार्थीमा सिर्जनशीलता, आलोचनात्मक चेत र जीवनोपयोगी सीप भर्न सक्नुपर्छ ।

परीक्षामा एउटा प्रश्न आयो, ‘तिमीलाई मन पर्ने तीन वटा फलफूलको नाम लेख ।’ विद्यार्थीले लेख्यो, ‘मलाई कुनै पनि फलफूल मन पर्दैन ।’ यो उत्तर ठीक कि बेठीक ? शिक्षकले पहिलो पिरियडमा दुई कक्षाकी छात्रालाई सोध्नुभयो, ‘अहिले दिन हो कि रात ?’ विद्यार्थीले रात भनिन् । शिक्षकले गाला चड्काइदिनुभयो । विद्यार्थीले रुँदै ‘अघि भर्खर बाबासँग अमेरिकामा कुरा गरेको, उहाँ सुत्न लाग्नुभा’ थियो’ भन्दा को सही ? शिक्षक कि विद्यार्थी ? शिक्षा किताबमा लेखिएको वा हामीलाई थाहा भएको तथ्य मात्र होइन । यो त बुझाइको मन्थन हो । ‘सोच्ने तरिका’ अनि ‘बुझ्ने तरिका’ को विकास हो ।

स्कुलले के दिन सक्नुपर्छ ?
शिक्षाविद् सर केन रोबिन्सनले भनेझैँ, प्रविधिको विकास हुने तर शिक्षा जस्ताको तस्तै रहने हो भने, मध्य २१ औँ शताब्दीसम्म स्कुलको अस्तित्व सकिनेछ । स्कुलले विद्यार्थीका निम्ति ‘अर्गानिक’ सिकाइको भोक जगाउने वातावरण बनाउन बनाउन जरुरी छ, जसका लागि यी तीन काम गर्नुपर्छ ।

१. सिर्जनशील सोच निर्माण : ‘रामले ७४ वटा बयर स्कुलमा ल्याएर ७ साथीहरूलाई बाँड्यो । एक जनाको भागमा कति पर्‍यो ?’ यो चार कक्षाको किताबको प्रश्न हो । केही विद्यार्थीले गणित बुझ्दैनन्, किनकि ती प्रश्नले जीवनलाई छुँदैनन् । यो प्रतिनिधि प्रश्नमा त्यो उमेरका अधिकांश विद्यार्थीले बयर भन्ने फल देखेकै हुँदैनन् । केही विद्यार्थीले ‘७४ वटा बयर घरबाट कसरी ल्याउने’ भनी सोच्दा हुन् । केहीले ‘बयर सबै साथीलाई मनपर्छ कि नाइँ’ भन्दा हुन् । केहीले ‘जम्मा सात साथी भएको कक्षा कस्तो होला’ भन्ठान्दा हुन् । प्रश्नहरूले जति वास्तविक जीवनलाई छुन सक्छन्, त्यति बुझाइ अनि ज्ञान गहिरो बन्दै जान्छ ।

हामी प्रायः प्रश्न ‘के’ मा सोध्ने गर्छौं, ‘वायु प्रदूषण के हो ?’ जसको उत्तर रटेर पनि दिन सकिन्छ । ‘किन’ ले विषयवस्तुसँग जोड्छ, ‘वायु प्रदूषण किन हुँदै छ ?’ । ‘कसरी’ ले भने सोच्ने क्षमताको विकास गर्छ । ‘वायु प्रदूषणलाई कसरी रोकेर भविष्यको पुस्तालाई बचाउन सकिन्छ ?’ भन्ने खालका प्रश्नमा हामीले विद्यार्थीभित्रको आइडिया, पृथक्ता अनि सिर्जनशीलता पहिल्याउन सक्छौँ । समाधान खोज्न सक्छौँ । यस्ता प्रश्न सही वा गलत भने हुँदैनन्, छलफलका लागि हुन्छन् । यस्ता प्रश्नले सोचको विकास प्रक्रियालाई निर्माण गर्छन् ।

२. जीवनोपयोगी सीप : हामी कक्षामा दिनमा सात वा आठ विषय पढ्छौँ । के हाम्रो कक्षा पिरियड यस्तो हुन सम्भव छ— इङ्लिस, सञ्चार सीप, विज्ञान, खेलकुद, सामाजिक शिक्षा, ध्यान अनि तनाव व्यवस्थापन ... ? जीवनोपयोगी सीपले किन प्राथमिकता पाउँदैन ? यी सब सीप विद्यार्थीले पढ्दापढ्दै ‘बाई प्रडक्ट’ का रूपमा सिक्छन् भन्ने तर्क आउला । यही सीप जीवनमा चाहिन्छ भने सीधै किन नसिकाउने ?

आजको विद्यार्थीलाई धेरै कुरा थाहा हुन्छ, तर प्रस्तुत गर्न आउँदैन । कुनै स्नातकलाई एउटा निवेदन लेख्न वा आफ्नो बायोडाटासम्म बनाउन आउँदैन भने त्यो शिक्षा कसरी जीवनोपयोगी भयो ? हाम्रो शिक्षाले ‘प्रिजेन्टेसन’ वा ‘आर्टिकुलेसन’ को सीप सिकाउन जरुरी छ । आजको युगमा प्रभावकारी हुन जीवन व्यवस्थापनदेखि समय व्यवस्थापनसम्म जान्न जरुरी छ । आफूलाई कसरी प्रस्तुत गर्ने अनि कस्तो व्यक्तित्व विकास गर्ने भन्नेले धेरै महत्त्व राख्छ । ‘टिम वर्क’ देखि यो उमेरमा उठ्ने यौन सम्बन्धी कौतूहलसम्मलाई सही तरिकाले व्यवस्थापन गर्न स्कुलले नै सिकाउनुपर्छ ।

३. एक्सन र स्वमूल्यांकन : प्रख्यात अमेरिकी सैन्य अधिकारी विलियम मकरेभनको एउटा भाषणको अंश निकै अर्थपूर्ण छ, ‘यदि तिमी संसार बदल्न चाहन्छौ भने, बिहान उठेर आफ्नो ओछ्यान मिलाऊ ।’ बिहान उठेर सिरक मिलाउँदा दिनको पहिलो काम सकिन्छ, अनि त्यसले तपाईंलाई ऊर्जा दिन्छ । यसले ससानो काम गर्नुपर्छ भन्ने पनि सम्झाइदिन्छ । म सक्छु भन्ने आत्मविश्वास भर्छ । शिक्षाले हामीलाई ‘एक्सन’ मा जान सिकाएको छैन । योजना बनाउँछौँ, तर व्यवहारमा उतार्न हामीलाई सिकाइएको छैन । किताब लेख्नु छ, तर ६ महिना दिनको पाँच–पाँच पृष्ठ लेख्छु भनेर क्यालेन्डर बनाई कार्यान्वयन गर्न हामीलाई आउँदैन ।

लक्ष्यलाई ‘स्टेप–स्टेप’ बनाएर सफलतातिर उक्लिनु सजिलो काम होइन । स्कुलले यस्तै कुराको अभ्यास गराउनुपर्छ । शिक्षाले स्वमूल्यांकन गर्दै र आलोचकको धारणा सुन्दै अघि बढ्न सक्ने क्षमता बनाइदिन जरुरी छ । हाम्रा विद्यार्थीहरूको योजना नै हुँदैन, भए पनि सीधा–सीधा हुन्छ । जीवन योजना बुने अनुरूप हुँदैन । बाटो पनि सीधा हुँदैन । शिक्षाले यी कुरा सिकाउन सकेको छैन ।

हाम्रो शिक्षाले आत्म जागरुकतालाई समेत समेटेको छैन । आफू के हुँ, केमा राम्रो छु, के गर्न सक्छु भन्ने पत्ता लगाउने क्षमता रोप्न सकेको छैन । जीवनमा एउटा कुरा पाउन अर्को छाड्नुपर्छ । के छाड्ने, के नछाड्ने, कसरी प्राथमिकता तय गर्ने भन्नेसमेत शिक्षाले सिकाउन सकेको छैन । अहिले जताततै सूचना अनि ज्ञान छ । अब हामीले विद्यार्थीलाई सही सूचना कहाँ कसरी खोज्ने भनेरसमेत सिकाउन जरुरी छ ।

निष्कर्ष
हालको शिक्षा प्रणालीबारे शिक्षाविद् टम हाइर्कको व्याख्या छ— ‘२१ औँ शताब्दीका विद्यार्थीलाई २० औँ शताब्दीका शिक्षक, १९ औँ शताब्दीको पाठ्यक्रम र १८ औँ शताब्दीको विधिले पढाइँदै छ ।’ हाम्रो पाठ्यक्रम, पठनपाठन अनि परीक्षण विधिमा आमूल परिवर्तन गर्न जरुरी छ । तर, अहिले हाम्रो देशको शिक्षालाई नेतृत्व गर्नेहरूमा अधिकांश सम्बद्ध ज्ञान अनि लगाव नभएकाहरू नै छन् । नेता मात्र होइन, स्कुल सञ्चालक, प्रधानाध्यापक अनि शिक्षकहरूलाई पनि ।

एक सय वर्षयता संसारमा धेरै कुरा बदलियो । तर, कक्षा बदलिएको छैन । २५ वर्षअघि मैले स्कुलमा जे पढेको थिएँ, आज पनि त्यही पढाइँदै छ । केही दिनअघि म एउटा स्कुलको कार्यक्रममा थिएँ । १२ कक्षा पढ्ने भाइ मञ्चमा मीठो तबला बजाउँदै थिए । मेरा आँखा उनको टिसर्टमा गयो, जसमा लेखिएको थियो, ‘स्कुल रुइन्ड माई लाइफ’ (स्कुलले मेरो जीवन बिगार्‍यो) । आज तबला बजाउन रुचि राख्ने ती भाइहरूको जीवन हाम्रो शिक्षाले गिजोलिदिएको छ । १२ कक्षासम्म पुग्दा हाम्रो शिक्षाले ती भाइलाई तबलामा राम्रो गर्ने अवसर वा प्रेरणा कहिले दियो ? परेटो सिद्धान्त अनुरूप हाम्रा गतिविधिमध्ये २० प्रतिशतको मात्र प्रभाव परिरहेको हुन्छ ।

मलाई लाग्छ, हाम्रो शिक्षामा पनि त्यही भइरहेको छ । हाम्रो ८० प्रतिशत गतिविधि प्रभावकारी छैन । विद्यार्थीले आफ्नो जीवनका सुनौला लगभग २० वर्ष स्कुल–कलेजमै बिताएका छन् । तर पनि हाम्रा विद्यार्थीहरू आफैले पढेका विषयमा समेत विश्वस्त छैनन् । अब शिक्षाले यी सुनौला २० वर्षको हिसाब–किताब विद्यार्थीलाई दिनैपर्छ ।

पाण्डे विवेकशील नेपाली दलका अध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×