समस्या छाउ मानसिकता

प्रज्ञा पनेरु

सुदूरपश्चिमका अछाम, बाजुरा लगायतका जिल्लामा हाम्रा दिदीबहिनीहरूले महिनावारीका बेला अव्यवस्थित छाउगोठमा बस्न बाध्य हुनुपर्दा ज्यान गुमाउनु परिरहेका खबर वर्षैपिच्छे पढ्न–सुन्न पाइन्छ । यस वर्ष पनि छाउगोठ भत्काउने प्रहरीलाई किलाले हानेको अनि अछाममा एक महिलाको ज्यान गएको समाचारले स्तब्ध बनायो ।

यो कुप्रथाको अन्त्यका लागि धेरै पहिलेदेखि प्रहरी–प्रशासन तथा अभियन्ताहरूले छाउगोठ भत्काउने अभियान चलाए पनि समस्या ज्युँका त्युँ छ । अझ अभियन्ता भनिएकाहरू नै महिनावारी हुँदा छाउगोठमै बस्ने गरेका खबरहरूले यो कुप्रथा कति गहिरिएको रहेछ भनी सजिलै अनुमान गर्न सकिन्छ ।


छाउगोठ भत्काउने अभियान सुरु हुन्छ, गाउँले विरोधमा उत्रिन्छन् । भत्किएका छाउगोठहरू फेरि ठडिन्छन् र यो सिलसिला फेरि चल्न थाल्छ । छाउगोठ नै समस्या हुँदो हो त भत्काएपछि समाधान हुनुपर्ने थियो । तर यस्तो हुन सकेको छैन, किनभने समस्या छाउगोठ नभएर छाउ प्रवृत्ति र योसंँग सम्बन्धित विभिन्न धार्मिक र सांस्कृतिक अन्धविश्वास हुन् । अनि यो प्रवृत्ति अछाम, बाजुरामा मात्र सीमित नभई काठमाडौंसहित नेपालभरि र विशेष गरी बाहुन–क्षत्रीका घर–घरमा व्याप्त छ । अन्यत्र केवल छाउगोठ हुन्न, फरक यति मात्र हो । महिनावारीका बेला सबैतिरका बाहुन–क्षत्री महिलाहरू चारपाँच दिन अलग्गै बसेकै हुन्छन्, भान्सा वा पूजाकोठामा छिर्दैनन्, निश्चित दिनपछि नुहाइ–धुवाइ सकेर मात्र सामान्य दिनचर्यामा फर्किन्छन् । र अर्को कुरा, उनीहरूको मृत्युको खबर आउँदैन । उनीहरू गोठको साटो घरभित्रै बसेका हुन्छन् नि त !


छाउगोठविरोधी कैयौं बुद्धिजीवी र शिक्षित भनिएकाहरूसमेत महिनावारीका बेला महिला अछूतका रूपमै रहनुपर्नेमा विश्वास गर्छन्, तिनले छोएको नखाने गर्छन् । त्यस कारण सरोकारवालाहरूले सोच्न जरुरी छ— छाउगोठ भत्काउँदैमा सुदूरपश्चिमका महिलाहरूको कष्ट कम हुँदैन । जबसम्म रजस्वलालाई अपवित्रतासँग गाँसिन्छ, तबसम्म छाउगोठ बनिरहन्छ र छाउगोठ नभएका ठाउँमा समेत महिलाहरू आफ्नै घरभित्र खुम्चिइरहन्छन् । देखिनु समस्या र नदेखिनु चाहिँ समाधान पक्कै होइन । पढेलेखेका सहरी समाजमा यो समस्या नभएको र अछाम, बाजुरामा मात्र टड्कारो भएको पनि निश्चय नै होइन ।


छाउगोठका कारण वर्षेनि हुने मृत्युलाई रोक्न तत्काल संस्कृतिमैत्री प्रयास हुन जरुरी छ, जसलाई कार्यान्वयन गर्न त्यस भेगका बासिन्दासमेत राजी होऊन् । छाउगोठको सट्टा महिलामैत्री र आवश्यक सुविधासम्पन सामूहिक नमुना छाउघर निर्माण गरियोस् । उक्त घरमा प्रशस्त खानेपानी, सफाइ प्रयोजनका निम्ति पानी, भान्सा, शयनकक्ष, शौचालय अनि निःशुल्क प्याडहरूको व्यवस्था गरियोस् । यति हुन सके दुर्गम पश्चिम पहाडका महिलाले महिनावारीका बेला अकालमा ज्यान गुमाउनुपर्दैन । यसपछि स्थानीय बासिन्दामा महिनावारीका बेला आमा, दिदीबहिनीहरूलाई हेरचाह गर्नुपर्छ भन्ने चेत पलाउँदै जान्छ । सामूहिक छाउघरमा गाउँभरिका महिलाहरू जम्मा हुने गर्दा सुखदुःख साटासाट अनि सशक्तीकरणको अवसर पनि प्राप्त हुन सक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, छाउघर निर्माणको सायद कसैले विरोध गर्दैन । तथापि समस्याको समाधान भने होइन यो ।


छाउ उन्मूलन तब मात्र हुन्छ, जब सम्पूर्ण महिलामा आफू छाउ भएको भन्ने मानसिकताबाट मुक्त हुन्छन् । सर्वप्रथम, शिक्षित महिला यस्तो मानसिकताबाट बाहिर निस्कनु जरुरी छ । अनि मात्र तिनले सबै महिलालाई यही बाटोमा ल्याउन सक्छन् । अनि वर्षेनि छाउगोठमा भैरहेको मृत्युले हाम्रो विकास, शिक्षा र लोकतन्त्रलाई जिस्क्याउने क्रमले विराम पाउनेछ ।


पनेरु नेपाल कमर्स क्याम्पसमा प्राध्यापनरत छिन् ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

२० वर्ष नपुग्दै गर्भवती

प्रमिता ढकाल

(भरतपुर) — भरतपुर महानगरपालिका–२२ पटिहानीकी आशिमा चौधरी १८ वर्षकी भइन् । १० कक्षा पढ्दै गरेकी उनको बिहे भएको आठ महिना भयो । उनी हाल गर्भवती छिन् । गर्भ रहेको थाहा पाएर पनि स्वास्थ्यचौकी जान लाज मानेकी उनलाई स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर जाँच गरे ।

वडा नम्बर २२ ले सुरु गरेको हरियो झन्डा राख्ने अभियानअन्तर्गत उनको घर पुगेका स्वयंसेविकाले छिमेकीमार्फत उक्त घरको सदस्य गर्भवती भएको थाहा पाएका थिए । आशिमालाई स्वास्थ्यको ख्याल राख्न र चारपटकसम्म स्वास्थ्यचौकीमा जाँच गराउन उनीहरूले सुझाएका छन् ।

आशिमाकै छिमेकको अर्को घरमा पनि हरियो झन्डा राखिएको छ । घरकी बुहारी १७ वर्षकी सुनिता बोटे चार महिनाकी गर्भवती छिन् । आठ कक्षा पढ्दै गर्दा बिहे गरेकी उनले गर्भ रहेपछि विद्यालय जान छाडिन् । गर्भ जाँच गराउन उनी पनि स्वास्थ्यचौकी पुगेकी छैनन् । झन्डा राख्न उनको घर पुगेका स्वयंसेविकाले नियमित जाँच गराउन र आइरन चक्की खान सुझाएका छन् ।

वडा नम्बर २२ मा आशिमा र सुनिताजस्तै अरू तीन जना २० वर्ष उमेर नपुगेका युवती गर्भवती छन् । पुसमा पहिलोपटक गर्भ जाँचका लागि स्वास्थ्यचौकी पुगेका १७ जनामध्ये पाँच जना २० वर्ष उमेर नपुगेका छन् ।

गत मंसिर १९ देखि महानगरले वडाका सबै घरधुरी सर्वेक्षण गरी गर्भवती भएकाको घरमा हरियो झन्डा राख्ने काम सुरु गरेको हो । त्यसयता ११० घरमा झन्डा राखिएको पटिहानी स्वास्थ्यचौकीकी एएनएम प्रियंवदा शर्माले बताइन् । सुरुमा महिला स्वयंसेविकाले गर्भवती भएको घरको पहिचानपछि स्वास्थ्यचौकीमा सिफारिस गर्छन् । त्यसपछि ती घरमा हरियो झन्डा राखिन्छ । ‘हरियो झन्डा भएका घरमा महिला स्वास्थ्य स्वयमंसेविकाको निगरानी रहन्छ,’ शर्माले भनिन्, ‘यो अभियानले गर्भावस्थामा आउने जोखिम कम गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’

भरतपुर महानगरको स्वास्थ्य महाशाखाका अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्म वडा नम्बर २२ मा २० वर्षभन्दा कम उमेरका १० जना महिलाले पहिलोपटक स्वास्थ्यचौकीमा गर्भ जाँच गराएका छन् । यस आर्थिक वर्षको पुस मसान्तसम्म २० वर्ष नपुग्दै गर्भवती भएका २ हजार ८५ जना पहिलोपटक स्वास्थ्यचौकी पुगेका छन् । २० वर्षभन्दा कम उमेरका गर्भवतीले नियमअनुसार चौथो महिनामा गर्भ जाँच गराउने संख्या ८२८ छ भने नियमअनुसार चारपटकसम्म गर्भ जाँच गराउनेको संख्या जम्मा ३५८ छ । गर्भ जाँच गराउन आएका २० वर्षभन्दा कम उमेरका गर्भवतीमध्ये ३९ प्रतिशतले चौथो महिनामा गर्भ जाँच गराएको देखिन्छ भने १७ प्रतिशतले मात्रै प्रोटोकलअनुसार चारपटक स्वास्थ्य जाँच गराएका छन् ।

वडा नम्बर १० मा मात्रै यस आर्थिक वर्षको पुस मसान्तसम्म २० वर्ष नपुग्दै गर्भवती भएका १ हजार ८४१ युवती पहिलोपटक गर्भ जाँच गराउन स्वास्थ्य संस्था पुगेका छन् । चारपटक पुग्नेको संख्या भने २१० मात्र छ । वडा १६ मा २० वर्ष नपुग्दै गर्भवती भएका ३२ युवती पहिलोपटक स्वास्थ्य संस्था पुगेका छन् । भरतपुर महानगरभित्र सुरक्षित गर्भपतन सेवा लिने २० वर्ष नपुगेका युवतीको संख्या १९० छ ।

ठूलो संख्यामा २० वर्ष उमेर नपुगेका युवती गर्भवती हुनु र स्वास्थ्य जाँचमा लापरबाही देखिनु महानगरको सुरक्षित मातृत्व कार्यक्रमका लागि चुनौतीपूर्ण रहेको स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदीले बताए । सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर महानगरले पुस महिनामा मात्रै यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको पुस ७ गतेको बैठकअनुसार भौतिक दूरीलाई आधार मानेर महानगरले यातायात खर्च दिने भएको उनले बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×