कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकार उपस्थिति देखाऊ

सम्पादकीय

गत डिसेम्बर अन्तिम सातादेखि संक्रमणका रूपमा देखा परिसकेको नोवल कोरोना भाइरसको उद्गम स्थल चीनको हुबेई प्रान्तको वुहान सहर अहिले निर्जन र एकान्तिकझैं बनिसकेको छ । यो संक्रमणको सन्त्रासका माझ वुहानसहित आसपासका तीन सहरमा बसोबास गर्ने अधिकांश मुलुकका आप्रवासी नागरिक अहिले घरफिर्ता भइसकेका छन्, यी सहरहरूमा चीन सरकारले सम्पूर्ण रूपका आवागमन बन्द गरेको छ । वुहान र आसपासका सहर बाहिरी विश्व र चीनको आन्तरिक सम्पर्क–संवादबाटै एक्लिएको यो अवस्था तत्कालै सहजीकरणको दिशामा जाला भन्ने स्थिति छैन । संख्याका आधारमा झन्डै ८ सय संक्रमितको ज्यान गइसकेको र ३० हजारभन्दा बढी संक्रमणमा परेर उपचाररत रहेको स्थितिलाई सामान्य मान्न मिल्दैन ।

सरकार उपस्थिति देखाऊ

वुहान र आसपासका सहरमा रहेका विश्वविद्यालय, अध्ययन संस्थान र अन्यत्र रहेका गरेर अहिलेसम्म सूचीकृत १८० जना विद्यार्थीले घर फर्कनका लागि नेपाल सरकारसँग बिन्तीभाउ गरेको पनि एक साता भइसकेको छ । संक्रमणको गम्भीर अवस्थासँगै मनोवैज्ञानिक सन्त्रासले घेरिएर बसेका नेपालीका लागि उनीहरूको अन्तिम इच्छास्वरूप घर फर्काउने दिशामा नेपाल सरकारले भने देखावटी र आश्वासनकारी उपायमात्रै अवलम्बन गर्दै आएको देखिन्छ ।


कतिसम्म भने कुनै संक्रमणमा नपरेका र बिरामी अवस्थामा नरहेका विद्यार्थीलाई चीनबाट सिधै ल्याएर अस्पताल भर्ना गर्नुपर्नेझैं गरेर यही कारण अस्पतालमा बेड व्यवस्थापन गरिँदैछ भनेरै सरकारले झन्डै १० दिनको समय गुजारिसकेको छ । संक्रमणको सम्भावना अवधि पार गर्न कम्तीमा १४ दिन ‘आइसोलेसन’मा राख्नुपर्ने चिकित्सकीय अभ्यास र सुझावमा पछिल्ला दिनमा यस्तो एकान्तिक स्थल खोजिरहेका छौं भनेर सरकारले अर्को आलटालको जवाफ दिइरहेको छ । सरकारका उच्च पदाधिकारीहरू ती विद्यार्थीलाई नेपाल ल्याउनुभन्दा चिनियाँ सेवा, सुविधा र सुरक्षामा उतै रहन दिनु उपयुक्त भन्ने भावको सन्देश सुनाइरहेका छन् । अझ केही राजनीतिक दलका वरिष्ठ नेताहरू चीनबाट विद्यार्थी काठमाडौं ल्याउनु हुन्छ कि हुन्न भन्ने बहसमा उत्रिएका छन्, केही स्थानीय समुदायले भक्तपुरमा ‘आइसोलेसन सेन्टर’ राख्न नदिनेसम्मको नारा–जुलुस गरिसकेका छन् । यसबेला राज्य संवेदना, संयन्त्र र अठोटको प्रश्न त पूरै अर्थहीन बनेको छ नै, त्यसमाथि आफ्ना नागरिकको जीवनरक्षा एवं यो संकटको घडीमा राज्यले आफ्ना नागरिकप्रति देखाउनुपर्ने अपनत्वबोध पनि खोजीको विषय बनेको छ ।


स्थिति कस्तो लज्जास्पद देखिन्छ भने प्रधानमन्त्री, परराष्ट्रमन्त्री र उच्चपदस्थ पदाधिकारीले समेत सार्वजनिक मञ्चमा उभिएर ‘हामी चीनमा रहेका विद्यार्थी एक/दुई दिनमै ल्याउँछौं’ भनिरहेका छन्, तर यो प्रक्रियामा जोडिनैपर्ने नागरिक उड्डयन प्राधिकरण, हवाई सेवा, बेइजिङस्थित कूटनीतिक नियोग भने उद्धार प्रक्रिया र संयन्त्रका बारेमा पूरै ‘बेखबर’ छन् । चीनको वुहानबाट स्वास्थ्य संवेदनशीलताबारेको सबै प्रक्रिया पूरा गरेर नेपाली विद्यार्थी घरफिर्ता ल्याउनु भनेको इराक वा सिरियामा रहेका अलपत्र नेपाली कामदार फिर्ता ल्याउनुसरहको जटिल एवं मुस्किलको स्थिति हो भन्ने मानसिकताले सरकारी संयन्त्रमा पकड राखेको देखिन्छ । स्वभावतः यो भयावह संक्रमणसँग जुध्ने र सावधानी अपनाउने स्थिति आफैंमा निकै जोखिमयुक्त छ नै, तर यसो भन्दैमा आफ्ना नागरिकले एकान्तिक बन्दै गएको विदेशी भूमिबाट गरिरहेको घरफिर्तीको आर्तनाद र बिन्तीभाउ सुन्नै नचाहेको अवस्था भने मानवीय संवेदनहीन देखिन्छ र यो स्थिति निन्दनीयसमेत छ ।


यो संकटको घडीमा पक्कै पनि राजनीतिक तहमा भनिने गरेझैं आजको भोलि नै उद्धार र समन्वयको प्रक्रिया पार गर्न मुस्किल छ, यो सबैले मनन गर्ने तथ्य हो । तर, यो संक्रमण फैलिएको दुई महिना बितिसक्दा, वुहानमा रहेका भारतीय, बंगलादेशी, श्रीलंकालीसहित पश्चिमा मुलुकका विद्यार्थीहरूसमेत घरफिर्ती भइसक्दा नेपाल सरकारले गरेको तयारी र निर्देशनबाहेकको व्यावहारिक काम के थियो भनेर आम तहमा सोध्ने बेला आएको छ । बेइजिङस्थित नेपाली राजदूतले गरेको अपिलमा ‘संकटको यो घडीमा धैर्य तथा संयम अपनाउनु हुन, भाइरस संक्रमणको नियन्त्रणका लागि चीन सरकारले दिने सुझाव पालना गर्नुहुन, भ्रमपूर्ण वा अतिशयोक्तिपूर्ण समाचार वा सूचनासँग सावधान रहनुहुन’ भनेरै मृत्यु मुखैमा आएर पनि धैर्यधारण गरिरहने हो कि ? अथवा, नेपालीसमेत संक्रमणको चपेटामा परेर मृत्युसंख्या गन्ने स्थिति आइहालेमा यो बहुमतीय सरकारको साख र अस्तित्व कहाँ खोज्न सकिएला ? यसकारण अब धैर्यधारणको मीठो मुखबोली मात्रै होइन, नेपाली विद्यार्थीको आर्तनाद सुनेर जतिसक्दो चाँडो उद्धार–संयन्त्र व्यवहारमा देख्न पाइयोस्, आग्रह छ ।

प्रकाशित : माघ २७, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?