वर्तमानमा वर्गहरूको निरूपण

आहुति

समाजमा रहेका वर्गहरू र तीबीच चल्ने संघर्षको अध्ययन चलनचल्तीमा कम्युनिस्टहरूको सरोकारका रूपमा बुझ्ने गरिए पनि यथार्थमा समाजलाई अर्थ्याउन चाहने सबै समाजशास्त्रीय भङ्गालाहरूका निम्ति आवश्यक विषय हो । वर्गहरू बन्ने र भत्कने प्रक्रिया निरन्तर चलिरहने सन्दर्भबाट हेर्दा नेपाली समाजमा वर्गहरूको आजको स्थितिबारे गम्भीर विमर्श जरुरी हुन पुगेको छ ।

वर्तमानमा वर्गहरूको निरूपण

जमिन, कारखाना जस्ता स्थिर सम्पत्ति, पुँजीमाथिको स्वामित्व र श्रममा संलग्नताको प्रकृतिका आधारमा वर्ग विश्लेषण गर्ने परम्परागत विधिमा पनि विकास गरी जात व्यवस्था, जातीय, क्षेत्रीय, धार्मिक उत्पीडन रहेको नेपाली समाजको विशिष्टता र आजको युगको विश्व अर्थव्यवस्थाको चरित्रमा आएको फेरबदललाई आधारित गरी वर्ग विश्लेषण गर्ने अवधारणा तयार पार्नु जरुरी छ ।


अब वर्ग विश्लेषण गर्दा (एक) जमिन, कारखाना, पुँजीलगायतमा स्वामित्वको स्थिति, (दुई) जीवन निर्वाहका निम्ति खर्चको मात्रा, (तीन) सामाजिक, सांस्कृतिक र राजनीतिक हैसियत, र (चार) खास विचारधारा र राजनीतिप्रतिको प्रतिबद्धता जस्ता विषयलाई मुख्य मापदण्डका रूपमा लिनु आवश्यक भएको छ । आजको विश्व अर्थव्यवस्था र प्रविधिमा द्रुत फेरबदल तथा हिजोका मनोरञ्जन लगायतका क्षेत्रहरू आज उद्योग–व्यवसायमा परिणत भएकाले स्थिर जमिन, कारखाना, पुँजी आदिलाई मात्र वर्ग विश्लेषणको आधार बनाउँदा पर्याप्त नहुने अवस्था उत्पन्न भएको छ । बरु व्यक्तिले कति खर्च गरेर नियमित जीवन चलाइरहेको छ भन्ने विषयलाई पनि वर्ग विश्लेषणको एउटा मुख्य आधार बनाउनु अनिवार्य हुन पुगेको छ ।


सम्पत्तिमाथिको स्वामित्व र कति खर्च गर्छ भन्ने विषयका अलावा व्यक्तिको सामाजिक, सांस्कृतिक वा राजनीतिक हैसियतलाई ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि, परम्परागत ब्राह्मण परिवारको निम्नमध्यम वर्गको व्यक्तिले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा जति अवसर पाउँछ, त्यही वर्गबाट आएको खस–आर्य दलितले त्यति अवसर पाउन सक्दैन । झन् मधेसी दलितले खस–आर्यभित्रको दलितले जति पनि अवसर पाउँदैन । आर्थिक वर्ग एउटै भए पनि जात व्यवस्था, जातीय र क्षेत्रीय उत्पीडन जस्ता अतिरिक्त उत्पीडनका कारण समग्र वर्गीय हैसियतमा फरक पर्न जान्छ । अर्कातिर, निम्नमध्यम वर्गकै दुई व्यक्तिमध्ये एक जना सांसद, मन्त्री वा स्वकीय सचिव जस्तो पुँजीवादी राजनीतिको पदमा पुगेर स्थिर सम्पत्ति नजोड्दा पनि उसको जीवन माथिल्लो वर्गको हैसियतमा चल्न थाल्छ । त्यस्तो राजनीतिक हैसियतमा नपुगेको व्यक्तिको जीवनचाहिँ पुरानै वर्गमा रहन्छ ।


त्यसैगरी व्यक्तिले कुन वर्गको विचारधारा र राजनीति बोक्छ भन्ने कुराले पनि वर्ग विश्लेषणमा अर्थ राख्छ । कतिपय सन्त प्रवृत्तिका मानिसले व्यक्तिगत सम्पत्ति नजोडी, भएको सम्पत्ति पनि बाँड्छन् तर जीवनभरि पुँजीवादी पार्टीमा बसेर पुँजीपति वर्गको सेवा गर्छन् । त्यस्ता व्यक्तिहरू व्यक्तिगत रूपमा जेजस्तो भए पनि वर्गका रूपमा पुँजीपति वर्गभित्रै पर्छन् । निम्नमध्यम वर्गबाट आएको व्यक्तिले श्रमिक वर्गको राजनीतिलाई अपनाएर निरन्तर निष्ठापूर्वक लागिरहन्छ भने ऊ श्रमिक वर्गकै कित्तामा रहेको मान्नैपर्ने हुन्छ । एक जना श्रमिक पुँजीवादी राजनीति बोकेर हिँड्छ भने ऊ व्यक्तिगत रूपमा श्रमिक त रहन्छ, तर श्रमिक वर्गका रूपमा विकसित हुन सक्दैन । त्यसैले विचारधारा र राजनीतिक प्रतिबद्धतालाई पनि वर्ग विश्लेषणको चेतनागत आधारका रूपमा लिनैपर्छ । यस प्रकारको पद्धति र परिवर्तित अवस्थालाई अगाडि राखेर आजको नेपाली समाजमा वर्गहरूको अध्ययन गर्दा कस्तो चित्र देखा पर्छ त ? त्यता प्रवेश गरेर हेरौं ।


दलाल पुँजीपति वर्ग

आजको भूमण्डलीकृत पुँजीवाद अर्थात् साम्राज्यवादको दलाली गरेर देशको प्राकृतिक स्रोत, बजार र पुँजीमाथि वैदेशिक पुँजीलाई एकछत्र कब्जा जमाउन सबै व्यवस्थापन गर्ने, त्यसो गरेबापत प्राप्त हुने आम्दानीबाट आफ्नो विलासी जीवन चलाउने पुँजीपतिको जमात नै दलाल पुँजीपति वर्गका रूपमा संगठित भएको छ, जसले बहुसंख्यक श्रमिक वर्ग, मध्यम वर्गलगायत सबै उत्पीडित जाति र समुदायमाथि शोषण र उत्पीडन लादेको छ । हिजोको एकाधिकार पुँजीवादको युगमा सरकारी, अर्धसरकारी र निजी क्षेत्रको निर्णायक माथिल्लो तहमा रहेका नोकरशाह अर्थात् कर्मचारीहरूको एउटा छुट्टै वर्ग बनेको हुन्थ्यो, जसले पदको उपयोग र दुरुपयोग गरेर वैधानिक तथा अवैधानिक अकुत सम्पत्ति जम्मा गर्थ्यो । त्यस्तो वर्गलाई नोकरशाही पुँजीपति वर्ग नाम दिइएको हो । तर आजको भूमण्डलीकृत पुँजीवादले उत्पीडित राष्ट्रहरूमा सिर्जना गरेको दलाल पुँजीवादको एकछत्र हालीमुहालीको अवस्थाले नोकरशाहहरूको मुख्य काम नै दलाल पुँजीवादलाई सूक्ष्म ढङ्गले व्यवस्थापन गर्ने बन्न पुगेको छ । नोकरशाहहरू दर्जनौं तरिकाले भूमण्डलीकृत पुँजीवादको दलालीमा जोडिन पुगेका छन् ।


त्यति मात्र नभई भूमण्डलीकृत पुँजीवादका पक्षमा उभिएका राजनीतिका मुख्य नेताहरू पनि अब सयौं तरिकाले विभिन्न प्रकरणमार्फत दलाल पुँजीपति वर्गको प्रतिनिधिसहित स्वयं त्यस वर्गमा समाहित हुन पुगेका छन् । त्यसैले अब दलाल पुँजीपति वर्गभन्दा नोकरशाह पुँजीपति वर्ग पनि त्यसैभित्र आउँछ र दलाल पुँजीवादको सेवक राजनेताको माथिल्लो हिस्सा पनि त्यसैभित्र परिभाषित हुन्छ भनी बुझ्नु नै सही हुन आउँछ । बहुराष्ट्रिय कम्पनीसँग जोडिएका नेपाली पुँजीपति र तिनका उच्चपदस्थ कर्मचारी, बहुराष्ट्रिय वित्तीय संस्थासँग जोडिएका नेपालका राष्ट्रिय स्तरका वित्तीय संस्थाका सञ्चालकहरू र तिनका उच्चपदस्थ कर्मचारीहरू, राज्यका नीतिनिर्माणको तहमा रहेका उच्चपदस्थ कर्मचारीहरू, दलाल पुँजीवादको प्रवर्द्धनका लागि काम गर्ने राजनीतिज्ञहरू र जल, जमिन, प्रशासन, न्याय लगायतका क्षेत्रमा रहेका माफियाहरू यस वर्गसँग सम्बन्धित जमातहरू हुन् ।


मध्यम वर्ग

भूमण्डलीकृत पुँजीवादसँग नाफा साझेदारीमा मुख्य पक्ष नजोडिएका तर त्यसको सुदखोर प्रवृत्तिबाट प्रताडित, सङ्कटग्रस्त केही रोजगारी सिर्जना गर्ने व्यवसाय गरिरहेका र जीविकोपार्जनमा सङ्कट नभएको वर्ग नै आजको नेपालको मध्यम वर्ग हो । परम्परागत परिभाषामा मध्यमवर्ग भनेको राष्ट्रिय पुँजीपति वर्गको तल्लो हिस्सा थियो र त्यसले राष्ट्रिय पुँजीपति वर्गको माथिल्लो हिस्सासँग समन्वय गरेर राष्ट्रिय स्वाधीन पुँजी निर्माणमा योगदान गर्थ्यो । तर आज भूमण्डलीकृत पुँजीवादका कारण राष्ट्रिय पुँजीपति वर्ग नै सखाप हुने सिलसिलाले गर्दा आजको नेपालको मध्यम वर्ग सङ्कटग्रस्त बन्न पुग्यो, किनकि प्रगतिका लागि सहकार्य गर्ने राष्ट्रिय पुँजीपति वर्ग नै रहेन ।


यस स्थितिका कारण मध्यम वर्गले या त दलाल पुँजीवादका सामु आत्मसमर्पण गर्नुपर्ने या श्रमिक वर्गमा झर्नुपर्ने सङ्कटपूर्ण संक्रमणकाल भोगिरहेको छ । त्यसैले यो मध्यम वर्ग आज राष्ट्रिय स्वाधीन पुँजी निर्माणको खुट्किलो होइन, बरु पुरानो राष्ट्रिय पुँजीपति वर्ग निर्माणको शृंखला टुटेको अन्तिम सङ्कटग्रस्त प्रतिनिधि वा अवशेष हो । यदि भूमण्डलीकृत पुँजीवादसँग लड्ने वैकल्पिक समाजवादी अर्थतन्त्र सुरु गर्न ढिलो भयो भने यो वर्गको एउटा सानो हिस्सा दलाल पुँजीपति वर्गमा र ठूलो हिस्सा कठिनाइका साथ जीविका धान्ने श्रमिक वर्गमा रूपान्तरण हुने सम्भावना नै बढी देखिन्छ ।


सर्वहारा–श्रमिक वर्ग

आजको मुख्य उत्पादक शक्ति विज्ञान प्रविधिलाई उपयोग गरेर विश्वव्यापी राज गरिरहेको भूमण्डलीकृत पुँजीवादले विश्वव्यापी रूपमा उत्पादनको क्षेत्रबाट श्रमिकहरूलाई विस्थापित गर्ने क्रम तीव्र रूपमा अघि बढाइरहेको छ । यस क्रमले श्रमिकहरू उत्पादनको क्षेत्रमा केन्द्रीकृत हुनुको साटो त्यहाँबाट विस्थापित भएर बेरोजगार वा सेवा क्षेत्रमा असङ्गठित अवस्थामा छरपस्ट हुन पुगेका छन् । साम्राज्यवादी देशहरूले उत्पादन प्रक्रिया र तिनले उत्पीडित राष्ट्रबारे लिएको नीतिका कारण नेपाल जस्तो देशमा प्रत्यक्ष वा छद्म श्रमशक्ति विस्थापन तीव्र हुन पुगेको छ । आज नेपालबाट करोड पुग्ने दिशातिर लम्किरहेको श्रमशक्तिको बाध्यात्मक विदेश पलायन भनेको देशभित्र उद्योगधन्दा, व्यवसाय नहुनुले हो भन्ने सबैले बुझेकै कुरा हो, तर त्यसको मुख्य कारण भने उत्पीडित राष्ट्रहरूलाई उत्पादन गर्नै नदिने, केवल उपभोक्ता बनाउने आजको साम्राज्यवादी नीति हो ।


नेपालजस्ता उत्पीडित देशका जनतालाई आवश्यक उपभोग्य वस्तु साम्राज्यवादी देशले उत्पादन गरी बेच्ने तर नेपालजस्ता उत्पीडित राष्ट्रहरूमै उत्पादन गर्ने प्रक्रियालाई अन्त्य गर्ने नीति नै आजको साम्राज्यवादको मूल नीति हो, जसलाई लागू गर्न उत्पीडित राष्ट्रहरूमा दलाल पुँजीवादी व्यवस्थालाई प्रवर्द्धन गरिरहेको छ । यस्तो नीतिले नेपालजस्ता उत्पीडित राष्ट्रहरूमा बेरोजगारीको समस्या विकराल बनेकाले ज्यालादारी श्रमिकका रूपमा जहाँ पनि जस्तो काम गर्न पनि भौंतारिनुपर्ने अवस्था सिर्जना भएको छ ।


नेपालको कृषि क्षेत्र व्यावसायिक बन्न नदिन र औद्योगीकरण हुन नदिन दलाल पुँजीवाद अवरोध बनेर उभिएको छ । त्यसैले ती क्षेत्रमा खपत हुनुपर्ने श्रमिक विस्थापित भइरहेछन् । राष्ट्रिय पुँजीपति वर्ग नै सखाप भएकाले त्यसको संसर्गमा प्रगति गर्ने मध्यम वर्ग संकटग्रस्त बन्न पुगेको छ । राष्ट्रिय पुँजीपति वर्ग र मध्यम वर्गको संसर्गमा सानो पुँजी र स्रोत परिचालन गरी बाँच्ने निम्नमध्यम वर्ग आज बाहिरबाट हेर्दा केही सम्पत्तिको मालिक देखिए पनि सारमा त्यो निम्न मध्यमवर्ग हिजोको अवस्थामा छैन, बरु दलाल पुँजीपति वर्गलाई मासिक ब्याज बुझाउने र जस्तो काम गरेर भए पनि गुजारा चलाउन बाध्य ज्यालादारी श्रमिक वर्गमा रूपान्तरित भइसकेको छ । आज देशभित्र र खाडीलगायत क्षेत्रमा जाने श्रमिकहरूको मुख्य हिस्सा यस्तै नयाँ खाले श्रमिक वर्ग हो । एउटा घर र थोरै जमिन भए पनि त्यसबाट गुजारा नै नचलेर ज्यालादारी श्रमिक बन्नैपर्ने अवस्था यस्ता श्रमिकहरूको मुख्य विशेषता हो । आजको साम्राज्यवाद र दलाल पुँजीवादको शोषण र विस्थापन गर्ने नीतिको चपेटाका कारण हिजोको निम्नमध्यम वर्ग आजको ज्यालादारी श्रमिक वर्गमा रूपान्तरण भइसकेको गम्भीर यथार्थलाई अब आत्मसात् गर्नैपर्छ ।


यसरी हिजोदेखि विभिन्न प्रक्रियाबाट निर्मित सर्वहारा र विविध क्षेत्रका श्रमिकहरू तथा विगत तीन दशकको हाराहारीका बीचमा निम्नमध्यम वर्ग विघटनको प्रक्रियाबाट निर्मित श्रमिकहरूलाई एक ठाउँ राख्दा नेपालमा आज सर्वहारा–श्रमिक वर्गको विशाल फौज सतहमा आएको स्पष्टै देख्न सकिन्छ । यस वर्गको विशाल क्षेत्रफलमा औद्योगिक सर्वहाराहरू, भूमिहीन कृषि श्रमिकहरू, सहरका भूमिहीन श्रमिकहरू, जमिन लगायत निजी सम्पत्तिबाट गुजारा नचलेर अन्य क्षेत्रको श्रमबाट मुख्य रूपमा गुजारा गर्ने श्रमिकहरू, उद्योग र सेवा क्षेत्रका श्रमिकहरू, वैदेशिक रोजगारीमा जान बाध्य श्रमिकहरू, साना पसल, ब्युटीपार्लर, टेलर आदि साना व्यवसाय गर्नेहरू, शिक्षक, तल्लो तहका कर्मचारी, श्रमजीवी सञ्चारकर्मी, ललितकलाका विभिन्न विधाका श्रमिकहरू समेटिन पुगेका छन् ।


यस प्रकार विगत तीस वर्षको नेपालका वर्गहरूको चलायमानतालाई सरसरी अध्ययन गर्दा पाँचवटा नवीन यथार्थ प्रकट हुन पुग्छन् । एक, दलाल पुँजीपति वर्ग एक मात्र शासक वर्गका रूपमा स्थापित भएको छ । दुई, राष्ट्रिय पुँजीपति वर्ग गायब भएको छ । तीन, सामन्तवर्गको अस्तित्व छैन । चार, सामन्त वर्ग नरहेकाले किसान पनि अब वर्गका रूपमा नभई कृषिश्रमिक वा कृषि व्यवसायी समुदायमा रूपान्तरण भएको छ । र चार, निम्नमध्यम वर्ग विघटन भई ज्यालादारी श्रमिकको संख्या ह्वात्तै बढेकाले नेपाली समाज बहुसंख्यक ज्यालादारी श्रमिक भएको समाज बन्न पुगेको छ । तसर्थ, वर्ग संरचनामा आएको यस प्रकारको फेरबदलमा आधारित भई अबको राजनीतिक तथा प्राज्ञिक रणनीति र विमर्श निर्माणतिर लाग्नु आजको महत्त्वपूर्ण आवश्यकता हो ।

प्रकाशित : माघ २६, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?