कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ड्रागन, हात्ती र तरुल

चैतन्य मिश्र

हात्ती, ड्रागन र तरुलको उपमा नयाँ हो, जसले पहिलेको प्राणहीन दुई ढुंगामा प्राण भरिदिएको छ । साथै तिनैलाई इतिहास र भविष्य पनि दिएको छ । अर्कातर्फ, यो उपमाले यी तीन एकअर्कासँग मिलेर बस्न सक्दैनन् भन्ने पनि दर्साउँछ । तरुलको अवस्था विशेषगरी दयनीय देखिन्छ ।

ड्रागन, हात्ती र तरुल

हात्ती क्षेत्रीय शक्तिका रूपमा छ भने ड्रागन विश्वशक्तिजत्तिकै हो । त्यसैले पनि यी दुईका बीचमा तरुल जाबोको अवस्था दारुण हुने नै भयो ।


यद्यपि इतिहासमा ठूला राष्ट्रका साथै साना राष्ट्रहरूले पनि सहअस्तित्व र समृद्धि हासिल गरेका छन् । विश्वस्तरमा वा क्षेत्रीयस्तरमा अहिले ठूला, साना तथा विशेषगरी विविधतायुक्त राजनीति, अर्थव्यवस्था र संस्कृति छन् । तिनको आकारलाई बेवास्ता गर्ने हो भने पनि सबै चलायमान छन् । हरेकको मौलिक आयाम छ, जसलाई प्रयोग गरेर हरेक राष्ट्र आपसी समझदारी कायम गर्दै रहन सक्छ । यदि हामीले पारिस्थितिक प्रणालीलाई नै उपमाका रूपमा लियौं भने पनि ठूलोभन्दा सानो र विविधताभन्दा एकरूपता बढी दिगो देखिन्छ ।


इतिहासको पाठ

म इतिहासबाट एउटा शिक्षाप्रद पाठ यहाँ उल्लेख गर्न चाहन्छु । यो ड्रागन, हात्ती र तरुलबीचको पहिलो भेट भने होइन । साढे दुई सहस्राब्दीयता यी तीनबीच दुई पटक निकै गम्भीर भेटवार्ता भए । दुइटै भेटको एउटा समान —वा भनूँ, सामान्य रूपमा आर्थिक इतिहासको— पाठ भनेको दिगो आर्थिक विस्तार हो, त्यो पनि राष्ट्रिय स्तरमा नभएर क्षेत्रीय स्तरमा । दिगो विकास र वृद्धिका लागि गरिएको लगानी र त्यसको प्रतिफललाई कुनै निश्चित स्थान वा देशमा मात्रै सीमित राख्न सकिन्न । त्यो सर्वत्र फैलिएर जान्छ । त्यो कति फैलने भन्नेचाहिँ सो क्षेत्रले अवलम्बन गर्ने नीतिमा पनि भर पर्छ । यो पाठ आर्थिक गिरावटमा पनि सत्य साबित हुन्छ ।


एक प्रारम्भिक त्रिपक्षीय भेट वा संस्करण ६०० इसापूर्वदेखि सन् २०० सम्मको ८ सय वर्षमा भएको थियो । त्यो समयमा दक्षिण युरोपमा एथेन्स र रोमको उदय भएको थियो । त्यही समयमा थोरै मात्र चर्चा कमाएका गौतम बुद्ध, महावीर, डारियस १, अलेक्सन्डर, कन्फ्युसियस, लाओ–जु, सन–सु, पाणिनि, कौटिल्य आदिको ड्रागन, हात्ती र वरपरको क्षेत्रमा जन्म भएको थियो । त्यो समय सम्पूर्ण क्षेत्र नै समृद्ध थियो ।


मलाई थाहा भएसम्म, त्यो बेलाको नेपालबारे कौटिल्यको अर्थशास्त्रमा त्यति धेरै सन्दर्भ फेला पर्दैनन् । तर, सोही समयमा मौर्य र गुप्त साम्राज्य भारतमा फैलिएको थियो । बौद्धधर्म आफैं पनि समृद्ध र सहरी सभ्यताका कारण बढेको व्याख्या पाइन्छ । चीनमा त्यो समय निकै मनमोहक थियो । त्यहाँ ‘वारिङ स्टेट्स’ का साथै हान र चिङ वंशका राज्य थिए । कृषि तथा औद्योगिक उत्पादन तथा व्यापार द्रुत रूपमा फैलिँदै थियो । ठूला पूर्वाधार सर्वत्र बन्दै थिए । ठूला साम्राज्य तथा नयाँ शासन पद्धतिले आकार लिँदै थिए । सिल्क रुटका केही भागका साथै नयाँ व्यापार मार्गको पनि विकास भएको थियो । सहरीकरण व्यापक थियो । आयात–निर्यात नयाँ समुद्री मार्ग र थल मार्गबाट बढेको थियो ।


अर्को महत्त्वपूर्ण विषय भनेको युद्धका कारण यसै समयमा धेरै मानिस मरिरहेका थिए, नयाँ राज्यहरूको निर्माण र पुराना राज्यहरूको विघटन भइरहेको थियो । एकै क्षेत्रमा रहेका देशहरू कुन हदसम्म आपसमा जोडिएका थिए र तिनीहरूको पारस्परिक सम्बन्ध कस्तो थियो भन्ने मलाई उति थाहा छैन तर केही कारण छन्, जसलाई हेर्दा द्विदेशीय आदानप्रदान व्यापक स्तरमा थियो भनी विश्वास गर्न सकिन्छ । त्यो युग साँच्चै नै मानव इतिहासको निकै महत्त्वपूर्ण र आधारभूत अवस्था थियो ।


त्रिपक्षीय दोस्रो घनीभूत भेट सन् ११००–१६०० मा भएको थियो । बेलायत र युरोपको दबदबा पूरा विश्वमा फैलिनुभन्दा ठीक अघि । यो समयमा भने तीन राष्ट्रका बारे धेरै जानकारी पाउन सकिन्छ । यो समयमा चीन र भारतको कुल गार्हस्थ्य उत्पादनले पूरा विश्वको ५५ प्रतिशत भाग ओगटेको थियो । यो तथ्यांकले पूरै क्षेत्रको आर्थिक अवस्थाबारे प्रस्ट पार्छ । पूरै विश्वमा यी दुई राष्ट्रले हासिल गरेको उपलब्धिको तुलना गर्न मिल्ने कुनै मुलुक वा क्षेत्र नै थिएन । यसका लागि ठूलो जनसंख्या मुख्य कारक थियो भने उत्पादन पनि धेरै नै थियो ।


काठमाडौं उपत्यकामा मल्लहरूको शासन हुँदा वरपरका क्षेत्र तथा सीमा व्यापार नाकाहरू विकसित भएका थिए । उपत्यकाका तीन सहरमा विकास भएका पूर्वाधारहरू उत्कृष्ट थिए । बौद्ध, हिन्दु तथा अन्यका साथसाथै कला, हस्तकला र भवन निर्माणमा पनि यहाँको सीप कहलिएको थियो । अरनिको र उनका ८० जना उच्च सीप भएका सहकर्मीहरू चीन पुग्नुले पनि यसलाई पुष्टि गर्छ ।


मराठा, मुगल र अन्य साम्राज्यले भारतको आर्थिक र सांस्कृतिक विकासमा यो समयमा ठूलो योगदान गरेका थिए । यसका साथै, सङ र मिङ साम्राज्यले गरेको बृहत् आर्थिक विस्तार र केन्द्रीकरणले चीनको अद्वितीय उपलब्धिको बयान गर्छ । दुवै कालखण्डमा क्षेत्रीय स्तरमा भएको दिगो वृद्धि र विकास मननयोग्य विषय हो ।


ड्रागन, हात्ती र तरुल अब तेस्रो एसियाली युगमा प्रवेश गर्दै छन् । ड्रागन दौडिरहेका उदाहरण धेरै छन् । उसले हालको विश्व व्यवस्था र वरीयतालाई पनि चुनौती दिइरहेको छ । हात्ती पनि ढलपलढलपल गर्दै भए पनि अगाडि बढिरहेको छ, तथ्यांकहरूले विगतमा भन्दा अहिले उसको अवस्था राम्रो भएको देखाउँछन् । तरुलको विकास भने सुस्त छ, तर लाग्छ, अहिले यो राजनीतिक र आर्थिक रूपमा पनि अगाडि बढ्न थालेको छ । यसले कसरी

आफ्ना छिमेकीहरूसँग तालमेल मिलाउँछ भन्ने विषयको साक्षी हामी हुने नै छौं । जस्तो जे भए पनि हाम्रा लागि अहिलेको अवस्था ऐतिहासिक प्रसवकालको हो, जसले हाम्रो अवस्थालाई यो क्षेत्रमै उत्थान गर्न सक्छ ।


छिमेकीलाई पछ्याउँदा

तेस्रो एसियाली युगमा छिमेकी देशले एकअर्कालाई पछ्याउँदा पहिला त तिनै देश कनेक्टिभिटी, सम्पर्क र परस्पर हितलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्छ । यसैलाई आत्मसात् गर्न नेपाल पनि कनेक्टिभिटीलाई बढाउन लागिपरेको छ । त्यसका लागि सडक सञ्जाल र रेलमार्ग बनाउन बढी जोड दिँदै आएको देखिन्छ । यस सन्दर्भमा चीनसँग नेपालको सम्बन्ध आगामि दिनमा झनै महत्त्वपूर्ण हुने देखिन्छ । भारतसँगको कनेक्टिभिटी पनि नेपालका लागि उत्तिकै महत्त्वपूर्ण छ । अहिले पनि नेपाल–भारतबीचका केही सम्पर्क सञ्जाल प्रयोगमा छन् । अर्कातर्फ, नेपाल–चीन कनेक्टिभिटीलाई भने उच्च महत्त्व दिएर बढाउनुपर्ने देखिन्छ जसले आर्थिक आदानप्रदानलाई बढाउन मद्दत गर्छ । साथै शैक्षिक र सांस्कृतिक ज्ञानको पनि आदानप्रदान सम्भव हुन्छ ।


चीनसँगको कनेक्टिभिटी यसकारण पनि महत्त्वपूर्ण छ, नेपालले सबैतर्फको अन्तर्राष्ट्रिय ढोका खुला राख्नु जरुरी छ । उत्तरतर्फको ढोका बन्द गर्नु कुनै पनि हिसाबमा हितकर हुँदैन । दक्षिणतर्फको ढोका पटकपटक बन्द हुने गरेको छ । म आफैंले पनि भारत सरकारले लगाएका नाकाबन्दी तीनपटक भोगिसकेको छु— सन् १९७२, १९८९ र २०१५ मा । आधुनिक विश्वमा नाकाबन्दी भनेको युद्धको समयमा गरिने कार्य हो । त्यसलाई बिर्सिनु मूर्खता हुन्छ । त्यसलाई याद गरेर पनि केही नगर्नु अझ ठूलो मूर्खता हुन्छ ।


चीन र भारतसँगको नेपालको सुदृढ कनेक्टिभिटी अरू दुई योजनासाथ अगाडि बढाउनुपर्छ । किनभने, पहिलो कुरा त कनेक्टिभिटीले तब मात्रै फाइदा गर्छ, जब त्यसको प्रयोगले वस्तु, सेवा र आर्थिक स्रोतको आदानप्रदान र उत्पादन बढाउँछ । नेपाल विशेषगरी कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीका लागि खुला रहन जरुरी छ । खासमा भारत र चीनको बजारमा छिर्न चाहने लगानीकर्तालाई नेपालमा आकर्षित गर्न लाग्नुपर्छ । लगानी भित्र्याउनका लागि भइरहेका प्रशासनिक र कानुनी झन्झटलाई तुरुन्तै कम गर्न र हटाउन लागिपर्नुपर्छ । अहिले लगानीलाई हतोत्साही गर्ने, नाफा कमाएर र पुनः लगानी गर्न अप्ठ्यारो बनाउने शीर्ष राजनीतिक तथा कर्मचारीतन्त्रमा देखिएको प्रवृत्ति हट्नुपर्छ । त्यसपछि मात्रै पूर्वाधारको विकासलाई ध्यान दिइनुपर्छ, जसले लगानीकर्तालाई आकर्षित गरोस् । लगानीकर्तालाई आकर्षण गर्ने भनेको सस्तोभन्दा सस्तो श्रम नै हो ।


दोस्रो, कनेक्टिभिटी, उत्पादन र आदानप्रदानलाई अगाडि बढाउने माध्यम भनेको (क) प्रजातान्त्रिक र समावेशी शासन, र (ख) दिगो मानवस्रोतको विकास हो । यी दुवै तत्त्व नेपालको संविधानमै उल्लेख छन् । अब यसको गम्भीरतापूर्वक पालना हुन जरुरी छ । शासन पद्धतिको स्वरूपसँगै शैक्षिक व्यवस्थामा पनि परिवर्तन हुँदै छ । यसका लागि शैक्षिक संस्थालाई राजनीतिक पार्टीको छहारीबाट निकाल्नु जरुरी छ । किनभने पार्टीहरूले प्रश्न गर्नेभन्दा आफ्नो होमा हो मिलाउने जनशक्ति निर्माणलाई मात्रै प्राथमिकता दिने गरेको देखिन्छ ।


एकअर्काका विरुद्ध ?

के नेपालले चीनसँग कनेक्टिभिटी बढाउनु वा खुला हुनु भनेको उत्तरतर्फ ढल्कनु, वा भनूँ, भारतबाट टाढिँदै जानु हो ? चीनले चाहिँ उत्तरको ढोका बन्द गर्न सक्दैन र ? यी सबैको उत्तर हो— हामीलाई थाहा छैन । कुनै पनि अवस्थामा यसको दीर्घकालीन समाधान खोज्नु नै मूर्खता हो । चीनले भविष्यमा उत्तरको ढोका बन्द गर्ने सम्भावना कम छ भनेर मात्रै सोचेर हुँदैन । महत्त्वपूर्ण कुरा त के भने, उत्तर र दक्षिणतर्फका ढोका एकैपटक भने बन्द हुने सम्भावना झन् कम छ । यसको अर्थ नेपालको एउटा ढोका त सधैं खुलिरहन्छ । त्यसैले एउटाभन्दा दुइटा ढोका हुनु सदैव फाइदाजनक हुन्छ ।


दुइटा ढोका हुनु आयात–निर्यात र आर्थिक रूपमा पनि राम्रो हुन्छ । अहिलेको विश्वव्यवस्था भनेकै आदानप्रदानमा चलेको छ । बिक्री गर्दा नाफा हुने वस्तुको उत्पादन गरेर निर्यात गर्नु सबैको लक्ष्य हुन्छ । दुइटा वैकल्पिक ढोका हुनु नेपालका लागि सबै हिसाबमा राम्रो हुन्छ, चाहे त्यो राजनीतिक होस् या सांस्कृतिक वा रणनीतिक नै किन नहोस् । यी सबै आयामले नेपालको स्वायत्तता र परनिर्भतालाई कम गर्छन् ।


नेपाल अगाडि बढ्नका लागि दुई ठूला छिमेकीको साथ सधैं आवश्यक पर्छ । साथै चीन र भारतलाई पनि नेपालको साथ चाहिन्छ । यी दुईको हित गर्नका लागि नेपालको पनि हित हुन जरुरी छ । नेपाल पछाडि परेकै कारण लागूऔषध र मुद्रा अपचलनको केन्द्र भयो, विश्वको सुरक्षा निकायहरूको परेड मैदान बन्यो, आतंकवादको आश्रयस्थल भयो वा संक्रामक रोगको घर भयो भने त्यसले चीन र भारत दुवैको शान्ति–सुरक्षालाई असर गर्छ । त्यसैले पनि नेपालको स्थायित्व भारत र चीन दुवैका लागि महत्त्वपूर्ण छ ।


अन्तमा, विश्व पुँजीवादमा आएको भौगोलिक परिवर्तनले राजनीतिक, आर्थिक र सांस्कृतिक अनिश्चितता, असमझदारी, प्रतिस्पर्धा र द्वन्द्व बढाउने निश्चित छ । केही त अहिले नै हावी हुन थालिसकेको छ । बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) र आईपीएस (इन्डो प्यासेफिक स्ट्राटेजी) बीचको प्रतिस्पर्धा त्यसैको उदाहरण हो । नेपाल अहिले यही प्रतिस्पर्धाको भुमरीमा परेको छ । यस्तो द्वन्द्वलाई देशको नेतृत्ववर्गले आपसी समझदारीका साथ हल गर्नुपर्छ ।


नेपालले बीआरआईको सदस्य हुने निर्णय गरिसकेको छ । यस्तै एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) लाई पनि अगाडि बढाउन रुचि देखाएको छ । एमसीसीको आर्थिक स्रोत पनि ठूलो छ र उत्पादक लगानीको योजना पनि निश्चित छ । साथै, अमेरिकाको प्रभाव अहिले केही घटेजस्तो देखिए पनि यो अझै लामो समय शक्तिशाली नै रहने देखिन्छ । केही देश सुरक्षा बाध्यताका कारण एमसीसीमा जोडिन बाध्य छन् । यहाँ भने त्यस्तो केही अंकुश रहेको देखिन्न । यस्तै, नेपालमा बीआरआईलाई पनि विभिन्न तहमा आत्मसात् गर्नुपर्छ भन्नेहरू देखिन्छन् ।

बीआरआईले निःसन्देह ऋणपासोमा पुर्‍याउँछ भन्ने चेतावनी पनि छ । यहाँ त्यस्तो नहुन पनि सक्छ । किनभने हरेक ऋणको प्रकार त्यस्तै हुन्छ, त्यो जुनसुकै स्रोतबाट आएको भए पनि । त्यसैले पनि नेपालले कस्तो प्रकारको लगानीलाई आत्मसात् गर्ने र त्यसलाई उत्पादनमूलक बनाउने भन्नेमा गम्भीर भएर सोच्न जरुरी छ । यद्यपि ‘बीआरआई डेब्ट ट्र्याप’ को आरोप राजनीतिक रूपमा पनि प्रेरित देखिन्छ । भनिन्छ, कसैको कुरा सुन्नु बुद्धिमानी हो, अझ आफ्नो दीर्घकालीन हितलाई विचार गरेर निर्णय गर्नु थप बुद्धिमानी हो ।

प्रकाशित : माघ २६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?