१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टुरिस्ट, प्राच्यवाद र नेवार

समय रेखा
अभि सुवेदी

नेपाल भ्रमण वर्ष २०२०, यसको तयारी र उद्घोषणले केही कुरा खोलिदिएको छ । कलाकारहरूसँग नजिक भएको र कला समीक्षा लेखिबस्ने व्यक्ति भएकोले पर्यटक भित्र्याउन कलाको प्रयोगको सन्दर्भले म यहाँ तानिएको हुँ ।

टुरिस्ट, प्राच्यवाद र नेवार

मलाई तान्ने यतीको काल्पनिकी र तयारीमा जुटेकाहरूले रचेको यसको कलेवर रह्यो । यो यतीको काल्पनिकीलाई निबन्धकार किशोर नेपाल यही हप्ताको ‘नेपाल’ साप्ताहिकमा ‘अद्भुत र अदृश्य । निराकार तैपनि चैतन्य’ भन्छन् । यतीको यति थोरै शब्दमा यस्तो चित्रण गरिएको आजसम्म मैले भेटेको छैन । कलाकारको मलाई अत्यन्त मनपरेको विम्ब प्रमिला गिरीले बनाएको नेपाल एयरलाइन भवनको प्राङ्गणको यती ‘स्कल्पचर’ हो । म त्यसैमा बसेको छु, ‘भिजुअल’को निम्ति ।


म यहाँ यो सरल, काल्पनिकीमा ऊर्जा थप्ने हामीले ह्रस्व लेख्ने गरेको यस ‘निराकार’ र ‘चैतन्य’ मानिएको विम्बको विषयमा लेख्न लागेको होइन । यो यती नामको एउटा हिमाली मानवको अर्धमिथकीय कलेवरको विषयमा निकै व्याख्या गरिएका छन् । यो प्राणी नदेखिएको, नछोइएको र नजिकैबाट उसको बोली नसुनिएको भए पनि नेपाली मानसमा यसले निकै गहिरो प्रभाव पारेको प्रस्ट छ । तर यो अर्धमानव कलेवरले हामीलाई लोभ्याउनुको अन्तर्यमा यसको पर्यटक र विदेशी लेखकहरूले यसको प्रयोग गरिबस्नु नै हो ।


अर्थ हो, ‘तिमीलाई यति धेरै लोभ्याउने र आकर्षित गर्ने यती हेर्न, त्यसो भए आऊ न त ।’ अनि त्यही प्रयोजनको निम्ति हामीले चोक, बहाल र मुख्य मोडहरूमा यी यती नामधारी डम्फुहरूका मूर्ति प्रतिष्ठापन गर्‍यौं र कलाकारहरूलाई तिनमाथि रङ्गविधानका प्रयोग गर्न आह्वान गर्‍यौं । यस विषयमा पनि केही विवाद, केही कलाका अकारहरूमाथि हमला भए । यो दुःखद कुरा हो । तर यो अवस्था आउन दिनुमा व्यवस्थापनको कमजोरी रहेको कुरा सर्वविदित छ । त्यसो त हिममानव काल्पनिकीको शेर्पा समाज र कथानकमा प्रयोग नभएको होइन । तेन्जिङ शेर्पाले सगरमाथा आरोहण गरेपछि लेखेको/भनेको ‘टाइगर अफ् दि स्नो’ भन्ने किताब (जुन पछि अर्को शीर्षकमा प्रकाशित भयो) मा यतीको केही बयान गरेका छन् । भूगोलविद रामकुमार पाँडेले यती विषयमा पनि लेखेका छन् ।

नेपालमा हामीले हामी बाहिरकाहरूलाई कस्तो देखिन्छौं भन्ने कुरा बुझ्न स्वभावतः तिनका प्रतिक्रियाहरूलाई नै आधार मान्यौं ।


विदेशी पर्यटक र लेखकहरूका अमूक थलोको विषयमा के धारणा हुन्छन् भन्ने विषय जटिल र महत्त्वपूर्ण हुन्छ । उनीहरूले खासगरी युरोपेलीहरूले यतातिर वा पौरस्त्य भूखण्डमा आएर उनीहरूको मनमा लागेका कति ठिक कति उड्दा कुरा राखेर वर्णन लेखे अनि युरोपमा प्रकाशित गरे वा प्रतिवेदन दिए । युरोपली पर्यटक वा अध्येताहरूले यता आउँदा तिनै वर्णनहरूलाई आधार राखे । यसले भ्रम सिर्जना गर्‍यो । त्यसलाई लिएर एडवार्ड सइदले ‘ओरियन्टालिजम’ (१९७८) वा प्राच्यवाद भन्ने किताबै लेखे, जुन अहिलेसम्म उपनिवेशकालको युरोपेली दृष्टिको व्याख्या गर्ने आधार भएको छ । तर पछिल्लो समय एउटा अनौठो धारणाको विकास भयो । यो धारणा नेपाल, भारत लगायत पूर्वका देशहरूमा देखियो ।


पश्चिमीहरूले अनेकौं वर्णन गरेका उत्पातलाई उनीहरूले खण्डन गर्नुको साटो त्यसैलाई वरण गरे । उद्देश्य एउटै थियो– त्यो हो, तिनै चकित पर्ने पर्यटकहरूलाई लौन त आएर आफैं हेर भनेर बोलाउनु । त्यसरी बोलाउँदा उड्दा कुराले यी टुरिस्टहरूलाई तान्ने रहेछ भनेर धारणा बनाए । यतीका अर्थहीन आकारहरू बनाउनु त्यही उल्टो प्राच्यवाद वा ‘इन्भर्स ओरियन्टालिजम’ हो । यस्ता धारणालाई अलग र सही किसिमले व्याख्या र वर्णन गर्न सकिने कुरा हो । नेपाली संस्कृति र इतिहासको पश्चिमी प्राच्यवादलाई मूलमन्त्र मानेर गरिएका व्याख्याको विद्वान महेशराज पन्तले गरेका बलिया प्रतिवादहरू पढेको छु । त्यसैगरी वास्तुविद सुदर्शनराज तिवारी, इतिहासकार त्रिरत्न मानन्धर र प्रत्यूष वन्तले लेखेका ‘आर्किटेक्चर’ र इतिहासका प्राच्यवादी व्याख्याका प्रतिवाद पनि पढेको छु । हामीले बाहिरका मानिसहरूले हामीलाई कस्ता छन् भनेर देखुन् भन्ने चाहनामा धेरै बंग्याउनु पर्दैन भन्ने भनाइ राख्छौं ।


टुरिस्टले के हेर्छन्, अनि तिनले भ्रमण गरेको मुलुकमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा राम्रा अध्ययन भएका छन् । यो छोटो लेखमा धेरै प्रसङ्ग राख्न उपयुक्त नहुने हुनाले यो विषयसँग मिल्ने केही किताबहरू र तिनले उठाएका विषयको उल्लेखसम्म गर्न चाहन्छु । नेपाल आउने वा अमूक देशमा जाने टुरिस्टले भ्रमण गरेको मुलुकमा के हेर्छन् अथवा ती किन आउँछन् भन्ने कुराका अध्ययन र छलफल हामीकोमा त्यति हुने गरेका छैनन् । नेपालमा ती के हेर्न आउँछन् अथवा हेरिआएका छन् भन्ने कुराको पर्यटक वर्षमा प्रकाशित पाठहरू र विम्बहरूमा मैले खासै देख्न नसकेको अवस्था हो । मेरा पूर्वविद्यार्थी र सहकर्मी शिव रिजालले लेखेको ‘पर्फमिङ फोर टुरिस्ट’ (२०१०) र नेपाल अध्येता अमेरिकी प्राध्यापक मार्क लिट्टीले दशकौंको अध्ययनपछि नेपालको टुरिस्ट संस्कृति र गतिमाथि लेखेको किताब ‘फार आउट’ (२०१७) का प्रसङ्ग जोड्न चाहन्छु ।


यी दुबै किताब बाहिर प्रकाशित भएका र यहाँ सम्बन्धित मानिसहरूले नपढेका हुनाले पर्यटन विषयसँग जोडिएकाहरूले खोजेर पढ्नुपर्ने कृतिहरू हुन् । शिवको किताब दिल्लीमा प्रकाशित भयो, नेपालमा थोरैमात्र आइपुग्यो । मार्कको किताब शिकागो युनिभर्सिटी प्रेसबाट प्रकाशित भएकोले यहाँ खासै थाहै नपाएको अवस्थालाई चिर्दै मार्टिन चौतारीले गतवर्ष पुनः प्रकाशित गर्‍यो र धेरैले पढ्ने अवसर पाइरहेको स्थिति छ । शिवले बालीको पर्यटन ‘हब’ उबुद्मा गएर टुरिस्ट किन आउँछन् भन्ने विषयलाई लिएर नेपालसँग तुलना गर्दै यो किताब लेखे । उनको अध्ययनको निचोड थोरैमा यसरी राख्न सकिन्छ ।


टुरिस्टहरू तपाईंको संस्कृति, चलन र प्रस्तुति कला हेर्न आउँछन् । त्यो मानिएको सत्य हो, पर्यटनको क्षेत्रमा । तर ती छँदैछन्, आएर हेरिहाल्छन् भन्ने विश्वासले बस्नेहरू अनि तिनका अतिरञ्जक व्याख्या गरिएका स्तरहीन पाठ र पर्चा निकालेर बाँड्नेहरूले बुझ्नुपर्ने कुरा यस्तो छ । आफ्ना कला, संस्कृति र प्रस्तुतिकलाका सिर्जनात्मक कुरालाई नित्य नयाँ आविष्कार गरिरहनु र परम्परागत नृत्य र नाट्य प्रस्तुतिलाई नयाँ अवस्थामा पनि व्याख्या गरिरहनु अत्यन्त आवश्यक छ (पृष्ठ १५१) । माथि उल्लेख भएका यतीका मूर्तिरचना र खेलवाडले भन्छ, हामीसँग त्यो सामर्थ्य हराउँदै गएको छ । किन हराउँदै गएको छ भन्ने प्रश्नका एकाध आफूलाई लागेका कुरा यहाँ राखेको मात्र हुँ ।


मार्क लिट्टीले नेपालमा आउने पर्यटनको जरो समातेका छन् । कोही मानिस पनि अर्को मुलुकमा घुम्न जाँदा त्यसै जाँदैनन् । एकथरी केही सपना र युटोपियाको खोजीमा जान्छन् । ती काल्पनिकीमा सम्पूर्ण ज्ञान– ‘टोटल नलेज’को खोजीमा जान्छन् । टमस रिचार्डसले आफ्नो ‘साम्राज्यजनिन संग्रहालय’ (१९९३) किताबमा तिब्बतको सांग्रिला नरहेपछि नेपालमा ‘टोटल नलेज’ बाँकी छ भनेर आउने मानिसहरू थिए, यिनीहरू । यसरी सन् ६० को दशकमा नेपालमा आउने पर्यटकको ‘प्राची’ आफ्नै किसिमको थियो । हिप्पी अथवा अरु नामले चिनिने पर्यटकहरू यस्तै सपनाको खोजीमा नेपालमा आएको कुरा मार्कले लेखेका छन् ।


उनको विचारमा, नेपालमा पर्यटन आगमनको निम्ति तिनको छोटो तर उत्तेजना, उछ्वास, ज्ञान र काव्य मिश्रित चेतना जिम्मेवार थियो । यो अत्यन्त महत्त्वपूर्ण विषय हो । बाहिरबाट यहाँ आउनेहरूले हिमालय, गाँजा, ट्रेकिङ र यहाँका सांस्कृतिक थलाहरू मनपराएको नेपालीको बुझाइ रह्यो । पर्यटनका ‘आइकन’ र विषय सबैतिर त्यस्तै तरल र ‘एक्जोटिक’ हुन्छन् । मेरा पनि बाहिर जाँदाका त्यस्तै अनुभव छन् । तर नेपाल पर्यटन वर्षमा यीसहित भौतिक व्यवस्था अलपत्र छन् भनेर एक प्रख्यात कवि कालिप्रसाद रिजालले एकाध हप्ता पहिले यही समाचारपत्रमा प्रकाशित लेखमा भनेका छन् ।


तर नेपालको सन्दर्भमा कुरा गर्दा नेवारहरूले रचना गरेको नेपाल मण्डलको महान वास्तुकला, सहर, गल्ली, काष्ठकला, पाषाण कला र मूर्तिहरू अनि नृत्य, संगीत र जात्राहरूको विषयमा ध्यान पुर्‍याएर प्रयोग गरेको पाइएन । नेवार सहरहरू खुम्चिएर जाँदैछन् । खुला ठाउँ सहरमा राख्ने नेवार वास्तुकलाको आत्मा हो । कार्ल पुसर (युनेस्कोका अष्ट्रियाली आर्किटेक्ट) ले ‘नेपाल उपत्यकामाथिको बृहत् किताब’ (१९७५) मा नेपाल मण्डलमा ८८८ वटा वास्तु सम्पदा रहेको देखाएका थिए । तर ती भूमाफिया र कल्पना नभएका सरकार र शासकहरूका नीतिले गर्दा विनाश हुँदै गएको अवस्था हो, अहिलेको । पर्यटकहरूलाई त्यो महान कला र प्राचीन नागर परिवेश देखाउनसके धेरै ठूलो काम हुनेछ ।


अझै पनि ती वास्तुकला र मूर्तिकला तिनै थलोमा छन् । तीसँग सोझै अर्धमुदित आँखाले संवाद गर्न सकिँंदैछ । आफ्ना चलन र कला बचाएर बस्ने नेवारहरू महान हुन् । खासै कुनै प्रस्ट चाख नभएका तर यहाँ आएर रमाउने चिनियाँ पर्यटकहरू (कोरोना भाइरल महामारी छिटै अन्त्य हुने आशा गर्छौं), धार्मिक चिन्ता बढी भएका भारतीय पर्यटकहरू र हिमाल र ‘इन्ट्यान्जिबल कल्चरल हेरिटेज’ मनपराउने पर्यटकहरू भित्र्याउने सबै किसिमका कर्म गर्ने दायित्व बोकेको सरकार र पर्यटन उद्योगमा लागेका मानिसहरूले उत्तुङ हिमालदेखि कलात्मक टुँडालसम्म पर्यटकलाई देखाउनसके मात्र पर्यटन वर्ष सफल हुनेछ ।

प्रकाशित : माघ २५, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?