बालविवाह रोक्न मर्यादित महिनावारी

राधा पौडेल

मरे सँगै मर्ने, बाँचे सँगै 

बालविवाह रोक्न मर्यादित महिनावारी

जिन्दगीको डुंगा तर्ने सँगसँगै

पातीको झाङ पनि दरबार,

गुन्द्रुकको झोल पाँचतारे परिकार ।


हिमाल, पहाड वा तराई जताका होऊ; प्रेममा चुर्लुम्म डुबेर एक पटक मुक्तक वा शायरी नलेखेका किशोरकिशोरी पाउन असम्भवप्रायः छ । जात, धर्म, भाषा, वर्ग जेसुकै होओस्; अधिकांशको प्रेम अभिव्यक्ति लगभग उही र उस्तै हुन्छ । फरक हुन्छ त केवल माध्यमको ।


स्कुल पोसाक रेस्टुरेन्टको शौचालयमा फेरेर वा कान्लाको कुनामा छोपेर भागी विवाह गर्न कम्मर कसेका किशोर–किशोरी होऊन् वा सम्पत्ति जोगाउन, धर्मप्राप्ति गर्न वा अनजानमा तिनलाई यथाशीघ्र मण्डप घुमाउन ठिक्क परेका बाबुआमा, कसैलाई पनि प्रहरीको डन्डा, कानुनको कल्ली र जिन्दगीमा आउने आयातित जटिलताले छेक्न सकेका छैनन् । ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने सन्देश सुनिरहे पनि उमेरै नपुगी सुटुक्क विवाह गर्ने–गराउनेको संख्या हामीकहाँ यति धेरै छ, यो मामिलामा नेपालको स्थान दक्षिण एसियामा तेस्रो छ । बाल विवाहमा रोक्न लागिपरेकाहरूले भन्न थालेका छन्— मोबाइलले गर्दा छोराछोरी जोगाउनै नसकिने भयो ! फेसबुकमा चिनेको दुई महिनामा विवाह !


२०२० जनवरी ३१ को साँझ झन्डै आठ बजेतिर मैले गुगलमा ‘नेपालमा बाल विवाह’ टाइप गरिहेर्दा, शून्य दशमलव बाउन्न सेकेन्डमा करिब १३ करोड ८ सय सामग्री भेटिए । विवाह गरे गहना र राम्रा लुगा लगाउन पाइन्छ भन्ने दिन अलि पातलिए जस्तो छ । पढ्न पाएका, पैसो हातमा भएका, अझै बालक्लबमा नेतृत्व गरेका, पुरस्कार पाएकाहरू नै उमेरै नपुगी भागी विवाह गर्नेमा दरिएका छन् ।


बाल वा चाँडो विवाह रोक्न तीनै तहका सरकारका विभिन्न कार्यक्रम छन् र कतै विशेष कार्यक्रम पनि । तर ती कार्यक्रममा एउटा महत्त्वपूर्ण सवाल सुरुदेखि नै छुटेको छुट्यै छ, अनि सुषुप्त पनि । विश्वभरकै अभ्यास हेर्ने हो भने, बाल वा चाँडो विवाहमा यसको गाम्भीर्यलाई विश्लेषण गरिएको विरलै पाइन्छ । बाल वा चाँडो विवाहका लागि विशेषतः दुई संस्था (घर र विद्यालय) मा तान्ने र धकेल्ने तत्त्वहरू बढी बलिया हुन्छन् । यी दुइटै संस्थामा गरिने जति पनि क्रियाकलाप छन्, अपवादबाहेक, सबैमा छोरीहरूको आत्मविश्वास घटाउने काम धेरै हुन्छ; मानौं छोरीको भविष्य वा सपना जन्मघरसँग गाँसिएकै हुँदैन वा उधारो हुन्छ । घरमा राम्रै रहेछ भने पनि समाज त्यहाँबाट तान्न अनवरत खटिरहेको हुन्छ, अनि छोरीहरू मानसिक रूपमा विक्षिप्त बन्दै जान्छन् ।


१६ वर्षमा प्रेम वा भागी विवाह गरेकी कुनै पनि छोरीको भाग्नुअघिको दिनचर्याको विश्लेषण गरे समस्याको जरोतिर पुग्न सजिलो हुन्छ । जुम्ल्याहा नै भए पनि प्राकृतिक रूपमै छोरीको दिमाग र प्रतिरक्षा शक्ति छोराको भन्दा अलिक धेरै वा तीक्ष्ण हुन्छ । सामान्य अवस्थामा छोरीहरू छोराहरूभन्दा चाँडो आमाबाबुले गर्ने क्रियाकलाप गर्न तम्सिन्छन् । स्कुलमा पनि उनीहरू अब्बल मात्र हुने हैन कि अघिल्ला स्थान ओगट्छन् । तर घरमा महिलाहरूप्रति गरिने व्यवहार, आफूले भोग्नुपर्ने व्यवहारका कारण बिस्तारै उनीहरूमा अर्कै सोच पलाउन थाल्छ । ‘म घर र समाजमा कुन हैसियतमा छु र कसरी बस्नुपर्छ/बाँच्नुपर्छ’ भन्नेबारे आँखा खुल्दै जान्छ । आमा वा अन्य महिला सदस्यले महिनावारी भएका बेला भान्सामा पस्न नपाउने, आफूले चाहेको पूजाआजा गर्न नपाउने जस्ता कुसंस्कारले छोरीको अबोध मस्तिष्कमा ‘छोरीमान्छे अशुद्ध वा साना हुँदा रहेछन्’ भन्ने बिब्ल्याँटो चेतना भर्दै लान्छ । उमेर बढेसँगै आफूले पनि त्यस्तै व्यवहार भोग्नुपर्दा उनीहरूमा आफूप्रतिको दृष्टिकोण बदलिन थाल्छ । छोरीलाई लाग्न थाल्छ— म दाजुभाइभन्दा, सबै पुरुषभन्दा कमजोर रहिछु, किनकि मलाई पनि महिनावारी हुन्छ ।


दिन बित्दै जाँदा आफैलाई महिनावारी हुन्छ । धर्ती भासिए जस्तो, आकाश खसे जस्तो अनि धडकन रोकिए जस्तो कटु अनुभव हुन्छ त्यो, महिनावारीबारे जतिसुकै पढेको भए पनि । स्वस्थानी व्रतकथा सुन्दै हुर्किएकी, ऋषिपञ्चमीको पूजा हेरेकी, आमा महिनावारी भएकाले बाले खाना बनाएर खुवाएकी वा पूजा वा कुनै चाड छेकिएको अनुभव गर्दै हुर्किएकी छोरीको मथिंगल काम्छ, अनि निष्कर्ष थप बलियो हुन्छ— हो, म पुरुषभन्दा सानो हुँ, म बेकार हुँ । नजन्मिएकी भए हुन्थ्यो बरु !


महिनावारीका बेला गोठमा सात दिन बस्नुपर्दा वा ‘भाइ, म चर्पी ग’की छु है’ भनेर लुक्नुपर्दा वा भान्सामा छिर्नै नपाउँदा मथिंगलमा घुमिरहने सन्देश एउटै हुन्छ— म छोरी ! यदि घर र समाज अलिक परम्परावादी, बाहिरी संसारबारे अलि बेखबर र आर्थिक हिसाबले कमजोर रहेछ भने त छोरीहरूको आफूप्रतिको दृष्टिकोणमा झन् आकाश–पातालको फरक पर्ने गर्छ । ठूली भएपछि आफू पनि शिक्षक वा बाउ वा नर्सजस्तो बन्ने सपना ढलपल गर्न थाल्छ ।


हर्मोनका कारण आउने शारीरिक उथलपुथल (महिनावारी) का कारण भोक लाग्दा अरू बेलाझैं खुरुखुरु भान्सामा गई खान नपाउने, तिर्खा लाग्दा पानी आफै सारेर खान नपाउने, आफैले हुर्काएको भाइभन्दा सानो भएर जिउनुपर्ने चार–पाँचदिने बाध्यता कम्ती सकसपूर्ण हुन्न । सुरुमा यस्तो अछूतको व्यवहार स्वीकार गर्न गाह्रो हुन्छ, रिस उठ्छ । तर मनले भन्छ— यस्तै व्यवहार आमालाई भयो, दिदीलाई भयो, यस्तै हुँदै आइरहेको छ । म चाहिँ हुँ नै को ?


घरभित्र अनधिकृत हुनु भनेको बाहिर कामको भूमिका बढ्नु मात्र नभई किशोरवयको चञ्चल मनलाई चंगाको धागोझैं छोड्नु पनि हो । समय र परिस्थिति नसुध्रिए महिनावारीका बेला हुने सन्ताप बढ्दै जान्छ । काम धेरै, हेपाइ धेरै, पढाइ थोरै, सहुलियत वा माया थोरै । माया गर्ने टोपलिएका सबै ‘यो गर्नू, त्यो नगर्नू’ भन्दै गाली गर्छन् । मन एकोहोरो हुन थाल्छ । त्यसले हरेक महिनाका पाँच दिन मात्र होइन, पूरै वर्षलाई सकसपूर्ण बनाउँदै लैजान्छ ।


छोरी महिनावारी भएको कुरा सात रेक्टरको भुइँचालोभन्दा चाँडो सबैतिर फैलिन्छ । सुझाव दिनेहरू, जिस्क्याउनेहरू पाइलापिच्छे भेटिन्छन् । के–के खाने, के–के छुने, कहाँ–कहाँ जाने भन्ने फेहरिस्तले स्कुलका सूत्र र लाइनहरूलाई बिस्तारै छोपिदिन थाल्छ । हरेक महिना निश्चित दिन स्कुल छोड्नुपर्दा पढाइ बिग्रिँदै जान्छ ।


फेल भएपछि आफ्नो मात्रै होइन, परिवारको सपना पनि टुक्रिन्छ । घरमा फेरि गाली सुरु हुन्छ— फेल भई, अब बिहे गर्नै मुस्किल हुने भो, जतिसक्दो छिटो बिहेको मेसो गर्नुपर्ने भो । छोरीलाई पनि लाग्न थाल्छ— म अब केही गर्न सक्दिनँ । पढ्न सक्दिनँ । अघिल्लो कक्षाको यो पनि आउँदैन, त्यो पनि आउँदैन ।


चरम निराशाले छोप्छ । यस्तै बेला, आफूसँग पहिलेदेखि मीठो बोलिरहेको केटाले माया गरे जस्तो लाग्छ । बिहे गरे घरपरिवारको कचकच सुन्नुपर्दैन र तिनको सम्पत्ति पनि जोगिन्छ भन्ने धारणा बलियो हुँदै जान्छ ।


यसरी प्रायः ग्रामीण भेगका छोरीहरू उमेर नपुगी भागी विवाह गर्न विवश भइरहेका छन् । यसको प्रमुख कारण महिनावारी बार्ने चलन नै हो । त्यसैले बाल वा चाँडो विवाह रोक्न सबैभन्दा पहिले छोरीहरूको आत्मविश्वास बलियो बनाउनुपर्छ र यसका लागि घर–घरमा मर्यादित महिनावारीबारे छलफल हुनु अपरिहार्य छ । हाम्रा घरहरूमा छोरीहरूको उपस्थिति र महिनावारीलाई पारिवारिक, सामाजिक र कानुनी रूपमा उत्सवका रूपमा स्थापित गर्न सकियो भने बाल वा चाँडो विवाह र यसले निम्त्याउने समस्या रोक्न सकिन्छ । के बिर्सन हुन्न भने, जुन–जुन नेपाली समाज महिनावारीमा कठोर छ, त्यहीँ बाल वा चाँडो विवाह बढी छ ।


प्रकाशित : माघ २४, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?