२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेकपामा कोलाहल

सत्ता राजनीतिमा वामपन्थी नामधारीहरु सफल देखिए पनि परिवर्तनको राजनीतिमा स्खलित भए ।
चन्द्रकिशोर

राजनीतिमा आहान नै छ, ‘कमजोर नेताले संकटको घडीमा निर्णय लिन्छन्, तर मजवुत नेताले संकट सिर्जना गर्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भूमिका पछिल्लो एक दशकभित्र संकट सिर्जना गरेर आफ्नो नेतृत्वको प्रभावकारिता स्थापना गर्ने कुशल खेलाडीको रूपमा रहेको उनका प्रशंसकहरू बताउँछन् । प्रतिस्पर्धात्मक राजनीतिमार्फत बहुतहको निर्वाचनमा सफलता तथा दुई प्रमुख वामपन्थी दलहरू बीचको एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुनर्गठनले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा विशेष मोड र कोसेढुंगाको काम गर्‍यो । ओली दलको नेतृत्वमा हुन् वा सरकारको प्रमुख उनीसँग सहमत वा असहमतहरू पनि स्वीकार गर्छन्, ‘अहिले ओलीको दिग्विजयको समय हो ।’ 

नेकपामा कोलाहल

यतिखेर सत्तारूढ दल नेकपाको जम्बो केन्द्रीय कमिटीको कोलाहलपूर्ण बैठकपश्चात् प्रधानमन्त्रीले बाँसुरी बजाउँदै गरेको तस्बिर बालुवाटारबाट सम्प्रेषित भएको छ । त्यो आफैमा अर्थपूर्ण छ । ओलीले आफ्नो छेउछाउमा वरिष्ठ नेताहरूबाट सारङ्गी रेट्‍न त्यसै लाएका होइनन् । सार्वजनिक जीवनमा लवाइ र बोलाइले कसै न कसैलाई र केही न केही सन्देश दिन खोजेको हुनुपर्छ । त्यसैले प्रधानमन्त्री ओलीको बाँसुरीवादनको छनोटलाई व्यक्तिगत रुचि भनेर पन्छाउन मिल्दैन ।


यता नेकपा केन्द्रीय कमिटीमा जस्ता गुनासा सुनिए, तिनले आम कार्यकर्तामाझ बढ्दो नैराश्यलाई प्रस्ट्याउँछन् । वर्ग संघर्षमा लागेको भनिएको दलभित्र आफै कुलीन वर्गको निर्माण हुँदै गयो । धार्मिक कर्मकाण्डले व्यापकता पायो । भनाइ र गराइमा भिन्नता प्रस्टै देखियो । सामन्ती शक्तिहरूविरुद्ध कुर्लिनेहरू आफै सामन्तका रूपमा उदाए । जनसरोकारका मुद्दाहरू उठाउन छाडियो । दलाल पुँजीपतिहरूको प्रभाव झन् बाक्लियो । राष्ट्रियताको नारा चुनावी तुरूप मात्र भयो । यस्तोमा ओलीकै नेतृत्वका कारणले नेपालमा वामपन्थी फैलावट ‘पुनर्मुषिको भवः’ हुने त होइन भन्ने आशंका नेकपा वृत्तमा छ । ओलीको नाम दुइटा कारणले आयो । एउटा, उनी दलपति भएदेखि बेथिति झन् चुलियो । दोस्रो, उनकै नेतृत्वमा दलले बयलगाडाबाट सोझै रकेटको यात्रा गर्ने ऐतिहासिक मतादेश पायो ।


यस्तो परिवेशमा दलका कार्यकर्ताहरूको होहल्ला स्वाभाविक र जायज हो । दलभित्रको कमजोरी, रिक्तता र असमानताबारे कार्यकर्ताहरूले बोले पनि त्यसको सुनवाइ कतिको हुन्छ, त्यो महत्त्वपूर्ण हो । नेकपा यात्राको प्रवाहमा मिसिएका भँगालाहरूको विगत वामपन्थी रहेकाले दलको नाम कम्युनिस्ट रहेको हो । तर अहिले यिनीहरूमाझ नै प्रश्न उठ्न थालेको छ— के अब पनि हामी कम्युनिस्ट रह्यौं ? सत्ताको कोलाहल र शीर्ष नेताहरूबीचको भागबन्डामाझ आम कार्यकर्ताले यिनै प्रश्न गरे ।


वामपन्थले एक समग्र विचारधारा, एक मानवीय चिन्तन तथा एक प्रकारको जीवनशैलीको रूपमा आकार ग्रहण गर्‍यो । अतीतमा यसले राजनीतिभन्दा पनि सामाजिक संघर्षको चिनारी बनायो । यही कारण कोही–कोही मतदाता यो विचारधारासँग जोडिए वा नजोडिए पनि प्रगतिशील, मानवीय, सामाजिक र शैक्षिक सोच राख्ने अभियन्ताहरू वामपन्थी विचारसँग जोडिन पुगे । सांगठनिक ढाँचा ‘क्याडरबेस्ड’ रह्यो । तर अब त्यस्तो छैन । जहाँ महँंगा गाडीको लाम छ, सरकारी सम्पत्तिको दोहन गरिंँदै छ, महायज्ञको आयोजना हुँदै छ, त्यहाँ आँखा चिम्लिएर भनिदिए हुन्छ— यी सत्तारूढ हुँदाको मात लागेका नेता–कार्यकर्ता हुन् ।

कमिटीमै सुनियो, ‘हामी कति त बेरोजगार छौँ ,तर यही बैठकमा आउँदा पनि सुटेड–बुटेड भएर चिल्ला कारबाट ओर्लिएका छौँ । यत्रो सम्पत्ति कहाँबाट कसरी आउँछ ?’ यस्ता प्रश्नको जवाफ कोही कसैले दिएको सुनिएको छैन । अहिलेको सत्तारूढ दलबारे भविष्यवाणी गर्नु जोखिमपूर्ण छ । तर यस्तै चालढाल रहे आउने दशक आश्चर्यले भरिएको हुनेछ । उसो त यो दलबाहिर पनि कम्युनिस्ट पार्टीहरू छन् । त्यसैले वामपन्थी राजनीतिको विसर्जन नै हुनेछ भन्नु हतार हुनेछ । नेपाली कम्युनिस्ट राजनीतिबारे यो त्यतिखेर भनिँंदै छ, जतिखेर मुलुकमा ‘एक नेता, एक दल’ को संकथनलाई प्रधानमन्त्री ओलीले मूर्त रूप दिइरहेका छन् ।


नेकपा आफ्नै बुताले भन्दा पनि नेपाली कांग्रेस खुम्चिँदै गएका कारण सफल भयो । यतिखेर धेरैले नेकपाभित्रको स्वरलाई सानो निहुँबाट सुरु भएर बढ्दै जाने ठूलो समस्या ठानेका छन् । नेपालमा कम्युनिस्ट नामधारीको उदयलाई एक रहस्यका रूपमा परिभाषित गर्नेहरू पनि कम छैनन् । एकातर्फ कोही यसलाई सगरमाथाको देशमा लालझन्डा फहरायो भनेर गौरवगान गर्छन्, कोही यो पानीको फोहोराझैं आफै मेटिन्छ भन्छन् । यस प्रकार दुई विरोधी मूल्यांकन हुनुले के संकेत गर्छ ? अब यसमा अरूभन्दा पनि नेकपाका सत्तापोषणबाट वञ्चित प्रतिबद्ध कार्यकर्ताहरूले सोच्नुपर्‍यो । शान्तिपूर्ण ढंगले समाज र राज्यमा रूपान्तरण ल्याउने सपना राखेर संघर्ष र समर्थन गर्दै आएका भुइँयोद्धाहरूले सोच्नुपर्‍यो । किनभने ओलीको सत्तालाई चुनौती दिनसक्ने अवस्थामा नेकपाभित्र कुनै नेता छैनन् । केन्द्रीय कमिटी बैठकमा गुटहरूबीचको द्वन्द्व छचल्किएसँगै प्रधानमन्त्री ओलीको उद्गार आयो, ‘आउने तीन वर्ष मै प्रधानमन्त्री रहन्छु ।’ यसो भनेर उनी आफ्नो प्रभामण्डलबाट भुइँतहका कार्यकर्ताहरू नटाढिऊन् भन्ने सन्देश दिन चाहन्छन् ।


नेकपाको सफलता र असफलताको मानक के हुने ? जुन चुनौती सामना गर्न यस शताब्दीको प्रारम्भमै कम्युनिस्ट पार्टीको स्थापना गरियो, के त्यस दिशामा यसले सफलता पायो त ? नेपाली कम्युनिस्टको आफ्नै मोडल के हो ? उदार राजनीतिलाई अपनाएको हो भने ‘कम्युनिस्ट’ ब्रान्ड किन बोकिराख्नुपर्‍यो ? यी यस्ता सवाल हुन्, जसले तृणतहका यिनका परम्परागत मतदातालाई बेचैनीमा राखेको पाइन्छ ।


नेपाली कम्युनिस्ट आन्दोलन दलित वा अन्य वञ्चित समूहको पहिचानको लडाइँलाई सम्झिन चाहँदैन । उनीहरू मूलभूत रूपमा पहिचानको राजनीतिले, चाहे त्यो जातिका आधारमा होस् वा लिङ्गका आधारमा, वर्ग संघर्षलाई कमजोर बनाउँछ भन्ने मान्यताबाट ग्रस्त छन् । पुनर्वितरणबाटै सबैलाई सामाजिक न्याय दिलाउन सकिन्छ कि आर्थिक रूपमा पिछडिएको, सामाजिक रूपमा वञ्चित र अपमानित गरिएकाहरूका लागि पहिचानजन्य गरिमाको लडाइँलाई प्राथमिकता दिएर सामाजिक न्याय दिलाउन सकिन्छ, यो अलमल नै नेपाली कम्युनिस्ट आन्दोलनको नियति बनिरह्यो । अहिलेसम्म वामपन्थी नेतृत्वमा कथित उच्च जातिहरूकै कब्जा रहँदै आएको छ, त्यसमा पनि पुरुषको । यदाकदा देखिने समावेशी चेहरा त हात्तीको देखाउने दाँत मात्र हो । त्यसैले यिनीहरूको प्राथमिकतामा राजनीतिक संस्कृति बदल्ने कार्यसूची परेन ।

कम्युनिस्टहरू सुरुदेखि नै स्थापित सत्ताको प्रतिरोधमा लागे, फेरि त्यहीभित्र पनि नेतृत्वको एउटा हिस्साले २०४६ सालपूर्व नै सर्वहारा राजनीतिका नाममा घर–घडेरी जोडिसकेको थियो । यही अवस्था सशस्त्र द्वन्द्वमा होमिएका माओवादीमा पनि देखियो । कतिपय छोटै समयमा नवधनाढ्य बने । अहिले त वामपन्थीको लेपनमा जातिवाद, बिचौलिया संरक्षण, भाग्यवाद, विलासी जीवन, वंशवाद, आसनमा श्रेणी क्रम, हुकुमी शासन पो सुरु भएको छ । यसैले सत्ता राजनीतिमा वामपन्थी नामधारीहरू सफल देखिए पनि परिवर्तनको राजनीतिमा स्खलित भए । राजनीतिक रूपमा केन्द्रीकृत हुँदै जाने मोहका पछाडि संसाधनमाथि सीमित टाठाबाठाले कब्जा जमाउँदै जाने चाहना छ । भुइँतहमा भ्रम छरिरहनुको कारण पनि यही हो ।


ओलीले दल बाहिरको विपक्षी कित्ता पत्तासाफ हुने अवस्था ल्याइदिएपछि दलभित्रका हस्तीहरू पनि थर्कमान छन् । अन्यत्रका कम्युनिस्ट शासकहरू जस्तै दलका नेताहरूको कमजोरीमा खेल्ने, राज्यसंयन्त्रलाई निरीह बनाउने र आफ्नो लहडलाई राष्ट्रको सपनाका रूपमा अर्थ्याउने ओली तौरतरिकाले मतादेशको आकांक्षा यतिखेर थिचिन पुगेको छ । संविधान निर्माणपछिको निर्वाचित सरकार अहिलेसम्मको सबैभन्दा खराब संस्कारको सरकारमा दरियो । यसले उदार लोकतन्त्रको मर्मलाई मार्दै गएको छ । योसँग न त वामपन्थी सरकार हुनुको हौसला छ, न संसदीय राजनीतिको मूल्यलाई जोगाउने साहस छ । संघ र प्रदेशमा बहुमतको सरकार हुनासाथ राजनीतिक स्थिरता आउने व्याख्या गरिए पनि अब यो पद्धति नै सहज रूपमा बढ्न नसक्ने परिदृश्यहरू सुदूर क्षितिजमा देखिन थालेका छन् । र, नेकपाभित्र भुइँतहबाट प्रश्न गरिँदै छ, ‘के नेकपाले डिजर्भ गर्ने यति नै हो ?’

प्रकाशित : माघ २३, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?