नेकपामा कोलाहल

सत्ता राजनीतिमा वामपन्थी नामधारीहरु सफल देखिए पनि परिवर्तनको राजनीतिमा स्खलित भए ।
चन्द्रकिशोर

राजनीतिमा आहान नै छ, ‘कमजोर नेताले संकटको घडीमा निर्णय लिन्छन्, तर मजवुत नेताले संकट सिर्जना गर्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भूमिका पछिल्लो एक दशकभित्र संकट सिर्जना गरेर आफ्नो नेतृत्वको प्रभावकारिता स्थापना गर्ने कुशल खेलाडीको रूपमा रहेको उनका प्रशंसकहरू बताउँछन् । प्रतिस्पर्धात्मक राजनीतिमार्फत बहुतहको निर्वाचनमा सफलता तथा दुई प्रमुख वामपन्थी दलहरू बीचको एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुनर्गठनले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा विशेष मोड र कोसेढुंगाको काम गर्‍यो । ओली दलको नेतृत्वमा हुन् वा सरकारको प्रमुख उनीसँग सहमत वा असहमतहरू पनि स्वीकार गर्छन्, ‘अहिले ओलीको दिग्विजयको समय हो ।’ 

यतिखेर सत्तारूढ दल नेकपाको जम्बो केन्द्रीय कमिटीको कोलाहलपूर्ण बैठकपश्चात् प्रधानमन्त्रीले बाँसुरी बजाउँदै गरेको तस्बिर बालुवाटारबाट सम्प्रेषित भएको छ । त्यो आफैमा अर्थपूर्ण छ । ओलीले आफ्नो छेउछाउमा वरिष्ठ नेताहरूबाट सारङ्गी रेट्‍न त्यसै लाएका होइनन् । सार्वजनिक जीवनमा लवाइ र बोलाइले कसै न कसैलाई र केही न केही सन्देश दिन खोजेको हुनुपर्छ । त्यसैले प्रधानमन्त्री ओलीको बाँसुरीवादनको छनोटलाई व्यक्तिगत रुचि भनेर पन्छाउन मिल्दैन ।


यता नेकपा केन्द्रीय कमिटीमा जस्ता गुनासा सुनिए, तिनले आम कार्यकर्तामाझ बढ्दो नैराश्यलाई प्रस्ट्याउँछन् । वर्ग संघर्षमा लागेको भनिएको दलभित्र आफै कुलीन वर्गको निर्माण हुँदै गयो । धार्मिक कर्मकाण्डले व्यापकता पायो । भनाइ र गराइमा भिन्नता प्रस्टै देखियो । सामन्ती शक्तिहरूविरुद्ध कुर्लिनेहरू आफै सामन्तका रूपमा उदाए । जनसरोकारका मुद्दाहरू उठाउन छाडियो । दलाल पुँजीपतिहरूको प्रभाव झन् बाक्लियो । राष्ट्रियताको नारा चुनावी तुरूप मात्र भयो । यस्तोमा ओलीकै नेतृत्वका कारणले नेपालमा वामपन्थी फैलावट ‘पुनर्मुषिको भवः’ हुने त होइन भन्ने आशंका नेकपा वृत्तमा छ । ओलीको नाम दुइटा कारणले आयो । एउटा, उनी दलपति भएदेखि बेथिति झन् चुलियो । दोस्रो, उनकै नेतृत्वमा दलले बयलगाडाबाट सोझै रकेटको यात्रा गर्ने ऐतिहासिक मतादेश पायो ।


यस्तो परिवेशमा दलका कार्यकर्ताहरूको होहल्ला स्वाभाविक र जायज हो । दलभित्रको कमजोरी, रिक्तता र असमानताबारे कार्यकर्ताहरूले बोले पनि त्यसको सुनवाइ कतिको हुन्छ, त्यो महत्त्वपूर्ण हो । नेकपा यात्राको प्रवाहमा मिसिएका भँगालाहरूको विगत वामपन्थी रहेकाले दलको नाम कम्युनिस्ट रहेको हो । तर अहिले यिनीहरूमाझ नै प्रश्न उठ्न थालेको छ— के अब पनि हामी कम्युनिस्ट रह्यौं ? सत्ताको कोलाहल र शीर्ष नेताहरूबीचको भागबन्डामाझ आम कार्यकर्ताले यिनै प्रश्न गरे ।


वामपन्थले एक समग्र विचारधारा, एक मानवीय चिन्तन तथा एक प्रकारको जीवनशैलीको रूपमा आकार ग्रहण गर्‍यो । अतीतमा यसले राजनीतिभन्दा पनि सामाजिक संघर्षको चिनारी बनायो । यही कारण कोही–कोही मतदाता यो विचारधारासँग जोडिए वा नजोडिए पनि प्रगतिशील, मानवीय, सामाजिक र शैक्षिक सोच राख्ने अभियन्ताहरू वामपन्थी विचारसँग जोडिन पुगे । सांगठनिक ढाँचा ‘क्याडरबेस्ड’ रह्यो । तर अब त्यस्तो छैन । जहाँ महँंगा गाडीको लाम छ, सरकारी सम्पत्तिको दोहन गरिंँदै छ, महायज्ञको आयोजना हुँदै छ, त्यहाँ आँखा चिम्लिएर भनिदिए हुन्छ— यी सत्तारूढ हुँदाको मात लागेका नेता–कार्यकर्ता हुन् ।


कमिटीमै सुनियो, ‘हामी कति त बेरोजगार छौँ ,तर यही बैठकमा आउँदा पनि सुटेड–बुटेड भएर चिल्ला कारबाट ओर्लिएका छौँ । यत्रो सम्पत्ति कहाँबाट कसरी आउँछ ?’ यस्ता प्रश्नको जवाफ कोही कसैले दिएको सुनिएको छैन । अहिलेको सत्तारूढ दलबारे भविष्यवाणी गर्नु जोखिमपूर्ण छ । तर यस्तै चालढाल रहे आउने दशक आश्चर्यले भरिएको हुनेछ । उसो त यो दलबाहिर पनि कम्युनिस्ट पार्टीहरू छन् । त्यसैले वामपन्थी राजनीतिको विसर्जन नै हुनेछ भन्नु हतार हुनेछ । नेपाली कम्युनिस्ट राजनीतिबारे यो त्यतिखेर भनिँंदै छ, जतिखेर मुलुकमा ‘एक नेता, एक दल’ को संकथनलाई प्रधानमन्त्री ओलीले मूर्त रूप दिइरहेका छन् ।


नेकपा आफ्नै बुताले भन्दा पनि नेपाली कांग्रेस खुम्चिँदै गएका कारण सफल भयो । यतिखेर धेरैले नेकपाभित्रको स्वरलाई सानो निहुँबाट सुरु भएर बढ्दै जाने ठूलो समस्या ठानेका छन् । नेपालमा कम्युनिस्ट नामधारीको उदयलाई एक रहस्यका रूपमा परिभाषित गर्नेहरू पनि कम छैनन् । एकातर्फ कोही यसलाई सगरमाथाको देशमा लालझन्डा फहरायो भनेर गौरवगान गर्छन्, कोही यो पानीको फोहोराझैं आफै मेटिन्छ भन्छन् । यस प्रकार दुई विरोधी मूल्यांकन हुनुले के संकेत गर्छ ? अब यसमा अरूभन्दा पनि नेकपाका सत्तापोषणबाट वञ्चित प्रतिबद्ध कार्यकर्ताहरूले सोच्नुपर्‍यो । शान्तिपूर्ण ढंगले समाज र राज्यमा रूपान्तरण ल्याउने सपना राखेर संघर्ष र समर्थन गर्दै आएका भुइँयोद्धाहरूले सोच्नुपर्‍यो । किनभने ओलीको सत्तालाई चुनौती दिनसक्ने अवस्थामा नेकपाभित्र कुनै नेता छैनन् । केन्द्रीय कमिटी बैठकमा गुटहरूबीचको द्वन्द्व छचल्किएसँगै प्रधानमन्त्री ओलीको उद्गार आयो, ‘आउने तीन वर्ष मै प्रधानमन्त्री रहन्छु ।’ यसो भनेर उनी आफ्नो प्रभामण्डलबाट भुइँतहका कार्यकर्ताहरू नटाढिऊन् भन्ने सन्देश दिन चाहन्छन् ।


नेकपाको सफलता र असफलताको मानक के हुने ? जुन चुनौती सामना गर्न यस शताब्दीको प्रारम्भमै कम्युनिस्ट पार्टीको स्थापना गरियो, के त्यस दिशामा यसले सफलता पायो त ? नेपाली कम्युनिस्टको आफ्नै मोडल के हो ? उदार राजनीतिलाई अपनाएको हो भने ‘कम्युनिस्ट’ ब्रान्ड किन बोकिराख्नुपर्‍यो ? यी यस्ता सवाल हुन्, जसले तृणतहका यिनका परम्परागत मतदातालाई बेचैनीमा राखेको पाइन्छ ।


नेपाली कम्युनिस्ट आन्दोलन दलित वा अन्य वञ्चित समूहको पहिचानको लडाइँलाई सम्झिन चाहँदैन । उनीहरू मूलभूत रूपमा पहिचानको राजनीतिले, चाहे त्यो जातिका आधारमा होस् वा लिङ्गका आधारमा, वर्ग संघर्षलाई कमजोर बनाउँछ भन्ने मान्यताबाट ग्रस्त छन् । पुनर्वितरणबाटै सबैलाई सामाजिक न्याय दिलाउन सकिन्छ कि आर्थिक रूपमा पिछडिएको, सामाजिक रूपमा वञ्चित र अपमानित गरिएकाहरूका लागि पहिचानजन्य गरिमाको लडाइँलाई प्राथमिकता दिएर सामाजिक न्याय दिलाउन सकिन्छ, यो अलमल नै नेपाली कम्युनिस्ट आन्दोलनको नियति बनिरह्यो । अहिलेसम्म वामपन्थी नेतृत्वमा कथित उच्च जातिहरूकै कब्जा रहँदै आएको छ, त्यसमा पनि पुरुषको । यदाकदा देखिने समावेशी चेहरा त हात्तीको देखाउने दाँत मात्र हो । त्यसैले यिनीहरूको प्राथमिकतामा राजनीतिक संस्कृति बदल्ने कार्यसूची परेन ।


कम्युनिस्टहरू सुरुदेखि नै स्थापित सत्ताको प्रतिरोधमा लागे, फेरि त्यहीभित्र पनि नेतृत्वको एउटा हिस्साले २०४६ सालपूर्व नै सर्वहारा राजनीतिका नाममा घर–घडेरी जोडिसकेको थियो । यही अवस्था सशस्त्र द्वन्द्वमा होमिएका माओवादीमा पनि देखियो । कतिपय छोटै समयमा नवधनाढ्य बने । अहिले त वामपन्थीको लेपनमा जातिवाद, बिचौलिया संरक्षण, भाग्यवाद, विलासी जीवन, वंशवाद, आसनमा श्रेणी क्रम, हुकुमी शासन पो सुरु भएको छ । यसैले सत्ता राजनीतिमा वामपन्थी नामधारीहरू सफल देखिए पनि परिवर्तनको राजनीतिमा स्खलित भए । राजनीतिक रूपमा केन्द्रीकृत हुँदै जाने मोहका पछाडि संसाधनमाथि सीमित टाठाबाठाले कब्जा जमाउँदै जाने चाहना छ । भुइँतहमा भ्रम छरिरहनुको कारण पनि यही हो ।


ओलीले दल बाहिरको विपक्षी कित्ता पत्तासाफ हुने अवस्था ल्याइदिएपछि दलभित्रका हस्तीहरू पनि थर्कमान छन् । अन्यत्रका कम्युनिस्ट शासकहरू जस्तै दलका नेताहरूको कमजोरीमा खेल्ने, राज्यसंयन्त्रलाई निरीह बनाउने र आफ्नो लहडलाई राष्ट्रको सपनाका रूपमा अर्थ्याउने ओली तौरतरिकाले मतादेशको आकांक्षा यतिखेर थिचिन पुगेको छ । संविधान निर्माणपछिको निर्वाचित सरकार अहिलेसम्मको सबैभन्दा खराब संस्कारको सरकारमा दरियो । यसले उदार लोकतन्त्रको मर्मलाई मार्दै गएको छ । योसँग न त वामपन्थी सरकार हुनुको हौसला छ, न संसदीय राजनीतिको मूल्यलाई जोगाउने साहस छ । संघ र प्रदेशमा बहुमतको सरकार हुनासाथ राजनीतिक स्थिरता आउने व्याख्या गरिए पनि अब यो पद्धति नै सहज रूपमा बढ्न नसक्ने परिदृश्यहरू सुदूर क्षितिजमा देखिन थालेका छन् । र, नेकपाभित्र भुइँतहबाट प्रश्न गरिँदै छ, ‘के नेकपाले डिजर्भ गर्ने यति नै हो ?’ प्रकाशित : माघ २३, २०७६ ०९:००

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दिल्लीको नजरमा कुमारी

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतको राजधानी नयाँदिल्लीस्थित नेसनल स्कुल ड्रामा (एनएसडी) को चर्चित नाट्यघरको अभिमञ्च । गत शनिबार सुरु भएको वार्षिक नाटक महोत्सवको तेस्रो दिन यही नाटकघरमा नेपाली कला र संस्कृतिमा आधारित नाटक ‘कुमारी एन्ड द बिस्ट’ मञ्चन गरियो । 

जीवित देवी कुमारीबारे थुप्रै लोककथा छन् । तिनैमध्येको एउटामा आधारित रहेर नाटक तयार पारिएको हो । निर्देशक कविता श्रीनिवासनले भनिन्, ‘कुमारीको कथाप्रति म सधैं लोभिँदै आएकी थिएँ । र त्यस विषयमा लेखिएको चित्तबुझ्दो कथाको खोजीमा थिएँ ।’ त्यसो त उनमा अंग्रेजीबाट नेपालीमा एडप्ट गरिएको वा कुनै मौलिक नेपाली कथामै काम गर्ने सोच पहिलेदेखि नै थियो । यसै क्रममा उनको हातमा पर्‍यो, महेश्वर जुजुराजोपाध्यायको छोटा कथाहरूको संग्रह । त्यसैमा प्रकाशित कुमारीमा आधारित कथा पढेपछि उनी नाटकमा उतार्ने निर्णयमा पुगिन् । ‘कथा पढेपछि आफूले खोजेको कथा यही भन्ने भयो,’ उनले भनिन् ।

राजा र पूरै समाजको संरक्षकका रूपमा पुजिँदै आएकी कुमारी एक दिन तल्लो जातको युवक चन्दासँग प्रेममा पर्छिन् । ती युवक रणकौशलमा सिपालु भए पनि जातभात र सामाजिक हैसियतको कुमारीसँग मिल्दैन । त्यही भएर युवकलाई पशु र राक्षसका रूपमा चित्रण गरिएको छ । कुमारी र चन्दाबीचको प्रेम आमा श्वेतकाली र श्वेतभैरवलाई अस्वीकार्य हुन्छ । अन्ततः समाजको दबाबका सामु गल्दै गएकी तिनै कुमारीको हातबाट युवकको हत्या हुन्छ । यसबाट आमाबाबु र समाज खुसी भए पनि उनी भने विक्षिप्त बन्छिन् । नाटकको कथा कुमारीको यही असफल प्रेमकथाकै सेरोफेरोमा छ । त्यसकारण कुमारीले जीवनभर विवाह गर्न हुन्न भन्ने जनविश्वास रहेको पाटो पनि उजागर गर्छ नाटकले ।

‘नाटकले परापूर्वकालमा छुवाछुत र वर्गविभेद कति सघन थियो भन्ने पनि देखाउँछ । नाटकमा कुमारीलाई राजाहरूले समेत पूजा गर्दै आएका छन्, उनकै आफ्नो असफल प्रेमकथालाई उजागर गरिएको छ । मैले कुमारीलाई पूरै भगवान्को रूपमा प्रस्तुत नगरे र उनको मानवीय र संवेदनशील पक्षलाई नाटकमा उतार्न खोजेकी छु,’ निर्देशक श्रीनिवासनले भनिन्, ‘जातभातको विभेदका कारण मानिसले मानिसलाई नै पशुसरह ठान्छ ।’ यही सोचका कारण चन्दाको समाजसँग द्वन्द्व हुन्छ । र, यस किसिमको द्वन्द्व आजपर्यन्त समाजमा कायम छ ।

कुनै समुदाय विशेषको कला र संस्कृतिमाथि सिर्जना रच्नु सधैं जोखिम रहन्छ । त्यसमाथि काठमाडौंको नेवार समुदायको सांस्कृतिक धरोहर कुमारीको कथा । तर, श्रीनिवासनले बडो सुन्दर ढंगले कुमारी कथालाई नाटकमा उतारेकी छन् । उनलाई गतिलो साथ दिएका छन्– काठमाडौंस्थित सुशीला आर्ट एकेडेमीका कलाकारहरूले । नाटकमा चोखो प्रेम र सामाजिक परम्परा तथा मान्यताबीचको द्वन्द्वलाई आधुनिक ब्याले नृत्य र काठमाडौंको परम्परागत चर्या नृत्यको मिश्रणमार्फत जीवन्त बनाइएको छ ।’ नाटकको अन्त्यसँगै दर्शकबाट वाहवाही पाएर दंग देखिएकी श्रीनिवासनले अन्य नेपाली कथालाई पनि मञ्चमा उतार्ने बताइन् । ‘नेपाल यस्तो देश हो, जहाँ पाइलैपिच्छे रोचक कथा भेटिन्छन् । त्यही भएर रगंमञ्चमा उतार्न अर्को नेपाली कथा पाउनु कुनै गाह्रो छैन,’ उनले भनिन् । श्रीनीवासनले यसअघि गौतमबुद्धमाथि पनि नाटक मञ्चन गरिसकेकी छन् ।

यसैगरी, एनएसडीबाट करिब एक घण्टाको दूरीमा रहेको गोविन्दपुरीमा आयोजित इन्डिया आर्ट फेयरमा भने नेपालकै मिथिला कलाले दिल्लीका कलापारखीको ध्यान राम्रैसँग खिचेको थियो । मेलामा विश्वकै नामुद आर्ट ग्यालरीहरूले भाग लिने गर्छन् । मेला स्थलको भाडा मात्र ८ लाखदेखि करोडौं भारु तिर्नुपर्छ । यस्तो प्रतिष्ठित मेलामा पनि नेपाली कला–संस्कृतिको प्रदर्शन गर्ने मौका पाएका थिए । नेपालका तर्फबाट कलाकार उमाशंकर शाह सहभागी थिए । पिकासो, एमएफ हुसेनजस्ता मूर्धन्य कलाकारहरूका सिर्जनाले स्थान पाउँदै आएको यो मेलामा शाह विगत पाँच वर्षदेखि लगातार सहभागी हुँदै आएका छन् । उनको मिथिला कलामा आधारित बनाएको इचिङ विधिमा आधारित चित्रकला प्रदर्शनीमा राखिएको थियो, जसमा शाहले राम–सीता विवाहको लघुकथालाई उतारेका थिए । शाहको सिर्जनालाई मेलामा आएकाहरूले बडो चासो राखेको देखिन्थ्यो । ‘राम–सीता विवाहको लघुकथालाई इचिङ विधिबाट आधुनिक चित्र बनाएको हुँ,’ शाहले भने ।

काठमाडौंस्थित ललितकला कलेज र केन्द्रीय विभागमा सह–प्राध्यापकसमेत रहेका शाहलाई यो अवसर दिल्लीकै चर्चित र पुरानो गणेशा आर्ट ग्यालरीले दिँदै आएको छ । यो आर्ट ग्यालरी सुबोध गुप्ता, एमएफ हुसेनजस्ता नामी कलाकारको संग्रहका लागि चिनिन्छ । आफ्नो सहभागिताबाट व्यक्तिगत रूपमा खुसी भए पनि शाहले मेलामा नेपाली ग्यालरीहरूले संस्थागत रूपमा सहभागी हुनुपर्नेमा त्यसतर्फ चासो नदेखाइएकोमा चित्त दुखाए । भारतमा हुने प्रदर्शनीमा नेपाली कलाकारको उपस्थिति बढाउँदै जाँदा यसले मुलुककै समग्र कलाक्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । ‘म एक्लै सहभागी हुनु ठूलो कुरा होइन तर सरकारले नै यस्ता प्रदर्शनीमा भाग लिनका लागि ग्यालरी र कलाकारलाई प्रेरित गर्नुपर्छ,’ उनले भने ।

अहिलेसम्म नेपाल आर्ट काउन्सिलले मात्र मेलामा सहभागिता जनाएको छ । लैनसिंह वाङ्देलकी छोरी डिना वाङ्देलको अग्रसरतामा दुईपटक नेपाल आर्ट काउन्सिलले भाग लिएको शाहले बताए । तर, लिनाको निधनपछि राज्य र निजी ग्यालरी कसैले पनि चासो नदेखाएकोमा उनले दुःख व्यक्त गरे । करिब तीन वर्षअघि उनको असायमिक निधन भएको थियो । कुराकानीका क्रममा उनले लिनाको योगदानको बारम्बार स्मरण गरे । लिनापछि नेपालको कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा अभाव खड्किएको उनले बताए ।

प्रकाशित : माघ २३, २०७६ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×