कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चीनतिर चियाउँदा

नेपालसँग जोडिएको चिनियाँ चासो आक्रमणको भयबाट नभई आन्तरिक एकता र भौगोलिक अखण्डता कायम गरि राख्ने चिन्ताबाट अभिप्रेरित छ ।
सुजित मैनाली

नेपालले दुई छिमेकी मुलुक चीन र भारतलाई केन्द्र बनाएर आफ्नो विदेशनीति तय गर्दै आएको छ । भौगोलिक–सांस्कृतिक जस्ता कारणले दक्षिणतिर नेपालको अन्तरक्रिया बढी हुने भएकाले भारतलाई सोलोडोलो बुझ्नमा नेपाललाई खासै अप्ठेरो छैन । तर चीनको सवाल बेग्लै छ ।

चीनतिर चियाउँदा

चीनबारे सामान्य जानकारी नभएको पढेलेखेको मानिस नेपालमा भेटिँदैन । नेपालको विदेशनीतिमा चीनले कस्तो हैसियत राख्छ भन्ने मोटामोटी ज्ञान पनि धेरैलाई छ । तर उसको विदेशनीतिमा नेपालको स्थान कहाँ छ ? चिनियाँ प्रभावको निरन्तर फैलावटबाट उत्पन्न भूराजनीतिक चाप काठमाडौंमा महसुस हुने क्रम तीव्र बन्दै गएको अहिलेका सन्दर्भमा चीनबारे घोत्लिनु नेपालका लागि बढी आवश्यक छ ।


स्थिर शक्ति

चीन सामर्थ्यशाली र स्थिर शक्ति हो भन्ने बुझाइ नेपालमा सयौं वर्षदेखि रहिआएको छ । पृथ्वीनारायण शाहले ‘चीन बादशाहसित ठूलो घाहा (मैत्री) राख्नु’ भनी दिएको अभिव्यक्ति, राणाशाहीको मध्यकालतिर तिब्बतसहित मूल भूमिमै चिनियाँ प्रभाव छिमलिँदा पनि नेपालले चिनियाँ शासकसमक्ष उपहार पठाउन नेपाल–चीन युद्धपछि सुरु भएको चलनलाई दिएको निरन्तरता र पछिल्लो समय ओली सरकारले चीनसँग यातायात र पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेको सन्दर्भ यस्तै खालको बुझाइबाट निःसृत छन् ।


चिनियाँ राज्यले अथाह सामर्थ्य र स्थिर चरित्र कसरी हासिल गर्‍यो भन्नेबारे अनेक मत उपलब्ध छन् । तीमध्ये एउटा मतले राज्य निर्माणका क्रममा चीनमा भएको हिंसाको अतिशय प्रयोगबाट त्यहाँ बलियो र स्थिर राज्यको जग बसालिएको दाबी गर्छ । यस्तै खालको मत राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले आफ्नो किताब ‘दी ओरिजिन अफ पोलिटिकल अर्डर’ मा राखेका छन् । उनका अनुसार, राज्य विस्तारका क्रममा चीनमा सयौं वर्षसम्म निरन्तर हिंसा मच्चियो । इ.पू. ७७० देखि इ.पू. २२१ सम्म त्यहाँ युद्धका शृङ्खला चले । राज्य निर्माणका क्रममा चीनमा जस्तो ठूलो आयतनको हिंसा अन्ततिर सायदै प्रयोग भएको फुकुयामाको जिकिर छ । अतिशय बलप्रयोग सहितको लामो युद्धले विजित पक्षलाई निर्णायक र पराजितलाई सोत्तर बनायो, जसबाट चीनमा बलियो राज्यको जग बस्यो ।


अर्को थरी मतका अनुयायीले चाहिँ चिनियाँ राज्यको सामर्थ्यको आधार भूगोललाई मान्छन् । यस्तो मत राख्नेहरूमा भूगोलविद् जेरेड डायमन्ड, राजनीतिशास्त्री रोबर्ट डी काप्लान आदि पर्छन् । डायमन्डले आफ्नो किताब ‘गन्स, जर्म्स एन्ड स्टिल’ मा चिनियाँ सामर्थ्यको मूल्यांकन गर्ने क्रममा त्यहाँ मन्डारिन भाषा र यस अन्तर्गतका भाषिका बोल्ने मानिसको जनसांख्यिक अनुपात अधिक रहेकोतर्फ औंल्याएका छन् । मन्डारिन भाषा र यसका भाषिका मूलतः हान जातिका मानिसले बोल्छन्, जो चीनको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढ्ता छन् । चिनियाँ राज्यको स्थिर चरित्रको आधार यही भाषिक तथा जनसांख्यिक एकरूपता (होमोजेनिटी) हो । डायमन्डको विश्लेषणको मर्मप्रति काप्लानको असहमति देखिँदैन । यसका अतिरिक्त काप्लानले आफ्नो किताब ‘द रिभेन्ज अफ जियोग्राफी’ मा चीनको मुख्य आबादी रहेको भूमि उसको सीमाबाट निकै पर रहेको र यसले चीनलाई अन्य शक्तिको आक्रमण अथवा पूर्ण कब्जाको जोखिमबाट त्राण दिलाएकोतर्फ समेत औंल्याएका छन् । बाह्य हस्तक्षेपको जोखिमबाट मुक्त भएकाले चिनियाँ जनजीवनमा राज्यको प्रभाव अझ निर्णायक बन्न सक्यो । त्यसलाई चीनको नदी प्रणालीले थप उत्प्रेरित गर्‍यो । चिनियाँ सामर्थ्यको आधार भूगोलमा खोज्ने विद्वान्हरूले चीनका सबैभन्दा लामा दुई नदी याङ्त्सी र ह्वाङ–होतर्फ अभिरुचि देखाउने गरेका छन् । यी दुई नदीले चिनियाँ भूभागको ठूलो हिस्सालाई समेट्छन् । साथै चीनको मध्यभूमिलाई तटीय क्षेत्रसँग जोड्छन् । सन् ६०५–६११ ताका नै चीनले यी दुई नदीलाई आपसमा जोड्ने गरी विशाल नहर निर्माण गरेको थियो । यी दुई नदी र यिनलाई जोड्ने नहरले चीनका बहुसंख्यक मानिसबीच सघन अन्तरक्रियाको आधार तय गरे । यसबाट चीनमा आन्तरिक एकता मजबुत भयो र चिनियाँ राज्य शक्तिशाली बन्न सक्यो ।


यस्तो खाले भौगोलिक, जनसांख्यिक र सांस्कृतिक जगमा उभिएका कारण चिनियाँ राज्यको चरित्र स्थिर छ । इतिहासका विभिन्न कालखण्डमा चीनमा राजवंश फेरिए । राजनीतिक व्यवस्था फेरिए । तर यसले विशेष गरी छिमेकलक्षित राज्यको सामर्थ्य र प्रभावमा उल्लेख्य फेरबदल ल्याउन सकेन । चीनसँग सम्बन्ध राख्दै गर्दा नेपालले चीनको यस्तो अविच्छिन्न चरित्रपट्टि ध्यान दिनुपर्छ । भोलिका दिनमा कदाचित् चीनमा व्यवस्था परिवर्तन भयो भने पनि चिनियाँ राज्यले आफ्नो भूराजनीतिक प्रभावलाई प्रकारान्तरमा पुनर्ग्रहण गरिहाल्छ । त्यसैले चीनले दीर्घकालीन योजनाप्रति अभिरुचि राख्ने गरेको छ ।


चीनसँग सम्बन्ध अघि बढाउँदै गर्दा हामीले उसको यस्तो मनोभाव बुझ्न सक्नुपर्छ । आगामी सय वर्षसम्मलाई सोचेर ऊसँग ‘डिल’ गर्ने क्षमता हामीसँग छैन भने पनि ५० वर्ष परको कुराचाहिँ सोच्नैपर्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आएका बेला नेपालले चीनसँग ‘चिरस्थायी मित्रतामा आधारित बृहत् साझेदारी’ लाई ‘चिरस्थायी मित्रता, विकास र समृद्धिलक्षित रणनीतिक साझेदारी’ मा स्तरोन्नति गर्ने सहमति गरेर चिनियाँ मनोभावसँग लय मिलाउन खोजेको छनक दिएको छ ।


सीमान्त जोखिम

काप्लानका अनुसार, चीनको अर्थतन्त्र अथवा बढ्दो सैन्य क्षमताका कारण मात्रै अमेरिकासहित पश्चिमी मुलुकले उसलाई चुनौतीका रूपमा हेरेका हैनन् । यदि चीन अहिले ब्राजिल भएको ठाउँमा हुन्थ्यो भने ऊ अमेरिकाका लागि टाउकोदुखाइ बन्ने थिएन । अन्तर्राष्ट्रिय राजनीतिमा चिनियाँ प्रभावको मुख्य आधार भनेको उसको भूगोल र उसले सरोकार राख्ने समुद्री क्षेत्रका रणनीतिक उपादेयता हुन् । भूगोलकै कारण पश्चिमी शक्तिलाई हैरान गराउने गरी चिनियाँ प्रभाव पश्चिम एसियाबाट सुदूर पूर्वमा रूससम्म र साउथ चाइना सीबाट दक्षिणमा हिन्द महासागरसम्म विस्तार हुँदै गएको काप्लानको विश्लेषण छ ।


चिनियाँ प्रभावको आधारबारे विमर्श गर्दैगर्दा हामीले चीनले नेपालमार्फत हासिल गर्न चाहेको कुरा के हो भनी बुझ्न सक्नुपर्छ । नेपालमा चिनियाँ अभिरुचिको प्रसंग आउनासाथ धेरैले ‘तिब्बती संवेदनशीलता’ शब्दावली दोहोर्‍याउने गरेका छन् । तर तिब्बत चीनका लागि कुन हिसाबले संवेदनशील छ ? उसको त्यस्तो संवेदनशीलतालाई नेपालसँगको मैत्रीपूर्ण सम्बन्धले कसरी व्यवस्थापन गर्न सक्छ ? तिब्बत चीनका लागि साँच्चिकै संवेदनशील छ भने नेपालसँगको चीनको सम्बन्धको आयतन यतिका वर्षसम्म विस्तार हुन किन सकेन ? यस्ता सवालमाथि नेपालका नीतिनिर्माता र विदेशनीतिका विज्ञहरूले घोत्लिनुपर्ने समय आएको छ । सीमा जोडिएका मुलुकसँगको सम्बन्धमा सुरक्षा चासोले प्रधानता पाउनु सामान्य हो ।


आफ्नो सुरक्षा संवेदनशीलताबारे चिन्तनरत रहँदै गरेको चीनले नेपाललाई कसरी हेर्ला त ? बाह्य शक्तिहरूले भूमिबाट हमला गरेर चीनलाई घुँडा टेकाउन सक्दैनन् भन्नेमा काप्लान लगायतका विद्वान्हरूबीच मतैक्य छ । वरिपरिका दुर्गम तथा सीमान्त भूभागले चीनको मध्यभागलाई वेष्टित गरेका छन् । यसले चीनलाई भौगोलिक रूपमा अभेद्य तुल्याएको छ । चीनले बाह्य शक्तिबाट ठूलो आयतनको आक्रमण बेहोर्न सक्ने एक मात्र ठाउँ भनेको उसको तटीय क्षेत्र हो । विशेष गरी साउथ चाइना सीमार्फत भोलिका दिनमा आफूमाथि हमला हुन सक्छ भन्नेमा चीन सतर्क छ । साउथ चाइना सीमा आफूविरुद्ध अमेरिका, युरोप, भारतसहित समुद्री सीमा जोडिएका छिमेकी देशहरू गोलबन्द हुन सक्छन् भन्ने महसुस गरेर चीनले त्यसका लागि आवश्यक तयारी गरिरहेको छ । नौसेना र हवाई सेनालाई सबल बनाउनमा बढ्तै ध्यान दिएर चीनले त्यसको छनक दिइरहेको छ ।


चीनले सुरक्षा जोखिम ठहर नगरेको क्षेत्रसँग जोडिएको मुलुक नेपाललाई चीनका सुरक्षा रणनीतिकारहरूले कसरी हेर्लान् त ? नेपाललाई आधार बनाएर शत्रुराष्ट्रले आफूमाथि हमला गर्लान् भन्ने भय चिनियाँ रणनीतिकारहरूमा देखिँदैन । नेपालसँग जोडिएको चिनियाँ चासो आक्रमणको भयबाट नभई आन्तरिक एकता र भौगोलिक अखण्डता कायम गरिराख्ने चिन्ताबाट अभिप्रेरित छ । चीनको यस्तो संवेदनशीलता बुझेर हामीले त्यसभित्र नेपालको सरोकार पहिल्याउन सक्नुपर्छ ।


पछिल्ला दशकहरूमा चीनमा भइरहेको तीव्र आर्थिक विकासबाट त्यहाँका मानिसले लाभ उठाइरहेका छन् । लाभ उठाउन्जेल जनताले राज्यप्रति असन्तुष्टि व्यक्त गर्दैनन् । त्यस्तो ठाउँमा राजनीतिक व्यवस्थाको विकल्प पनि खोजिँदैन । पश्चिमी विद्वान्हरूका प्रकाशनमा चीनमा बसोबास गर्ने, खास गरी हान समुदायका मानिसले राज्यविरुद्ध कहिले विद्रोह गर्लान् भन्ने चासो प्रकट भएको पाइन्छ । चीनमा आर्थिक प्रगतिको दर कम भएमा यसबाट उत्पन्न हुने आर्थिक संकुचनले चिनियाँ नागरिकलाई राज्यविरुद्ध विद्रोह गर्न प्रेरित गर्छ भन्ने उनीहरूको विश्लेषण छ ।


कुनै कारणले भोलिका दिनमा जनताको असन्तुष्टि चुलिएर चीनमा विद्रोह भयो भने शक्तिराष्ट्रहरू समेतको संलग्नतामा चीनमा भौगोलिक विभाजन ल्याउने प्रयास हुन सक्छ । विभाजनका दृष्टिले चीनका संवेदनशील भूभाग उसका सीमा क्षेत्रमा छन्, जहाँ अल्पसंख्यक समुदायको बाहुल्य छ । त्यस्तै क्षेत्रमध्ये तिब्बत पनि पर्छ, जसको सीमा नेपालसँग पनि जोडिएको छ । चीनले सयौं वर्षदेखि तिब्बतलाई अधीन राज्यसरह व्यवहार गर्दै आएको भए पनि तिब्बतमाथि उसले पूर्ण सार्वभौमसत्ता लागू गरेको चाहिँ दोस्रो विश्वयुद्धपछि हो । चीनभित्र विद्रोह भएका बेला सीमा क्षेत्रमा बसोबास गर्ने चीनसँग असन्तुष्ट व्यक्ति/समुदायसँग मिलेर पश्चिमी मुलुकले ती क्षेत्रलाई आफूबाट पृथक् गराउने काम गर्न नसकून् भन्नेमा चीन सचेत छ । नेपालसहित सीमा क्षेत्रसँग जोडिएका मुलुकहरूबाट चीनले त्यस्तो अवस्थामा पनि दरिलो साथको अपेक्षा गरेको छ । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका पालामा चीन–अमेरिका सम्बन्ध सुध्रिनुअघि नेपाललाई आधार बनाएर तिब्बतमा खम्पा विद्रोह सिर्जना गर्न अन्तर्राष्ट्रिय शक्ति परिचालन भएको विगतको आलोकमा चीनको तिब्बत सम्बन्धी यस्तो चिन्ता आधारहीन ठहर्दैन । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले हङकङमा त्यति बेला जारी प्रदर्शन समेतलाई लक्षित गर्दै चीनमा विग्रह र विखण्डन ल्याउने काममा संलग्न हुनेहरूको ‘हड्डी धूलोपीठो पारिदिने’ भनी दिएको चेतावनीलाई यही पृष्ठभूमिमा बुझ्नु अर्थपूर्ण हुन्छ ।


त्यसमाथि तिब्बत चीनका लागि विशेष महत्त्वको छ । चीनमा बग्ने याङ्त्सी, ह्वाङ–होजस्ता ठूला नदीको उद्गमस्थल तिब्बत हो । कञ्चन पानीको संसारकै ठूलो मुहान पनि तिब्बतमै छ । भौगोलिक हिसाबले निकै प्राचीन तिब्बती पठारमा तेल, प्राकृतिक ग्यास, तामा, फलाम जस्ता सामग्रीको अथाह भण्डार छ । तिब्बत चीनबाट अलग भयो भने एसियाको शक्ति समीकरणमै ठूलै फेरबदल आउने अनुमान गरिएको छ । तिब्बत स्वतन्त्र भयो भने चिनियाँ सामर्थ्यमा उल्लेख्य क्षय हुनेछ । यस भेगमा भारतसँगै पश्चिमी राष्ट्रको प्रभाव विस्तार हुनेछ । त्यसैले चीन तिब्बत स्वतन्त्र हुन सक्ने सम्भावनाको कल्पनासम्म पनि गर्न चाहँदैन भन्ने कुरा उसका गतिविधि हेर्दा स्पष्ट हुन्छ । यस्तो सम्भावनालाई अझ क्षीण बनाउनकै लागि चीनले तिब्बतमा सडक र रेल निर्माण सम्बन्धी परियोजना तीव्र बनाएको हो भन्ने काप्लानको विश्लेषण छ ।


एक्लो विकल्प

चीनको शासकीय चरित्र र तिब्बतलक्षित उसको नेपालहेराइबारे यति विवेचना गरिसकेपछि हामीले चीनसँगको सम्बन्धलाई लिएर केही महत्त्वपूर्ण विषयबारे अझ प्रस्ट बन्न सक्नुपर्छ । चीनको आर्थिक आकांक्षालाई एक छिन बिर्सिदिने हो भने उसलाई अप्ठेरो परेका बेला मात्र नेपालको साथ चाहिने हो । तर नेपाललाई चीनको साथ हरहमेसा चाहिन्छ । चीनसँगको सम्बन्धलाई नेपालले अस्तित्वको सुरक्षासँग गाँसेर हेर्दै आएको छ, जुन अमेरिकी लेखक लियो ई रोजको नेपाल सम्बन्धी चर्चित किताब ‘नेपाल : स्ट्राटेजी फर सर्भाइभल’ मा पेस गरिएका तथ्य र विवरणहरू आद्योपान्त हेरिसक्दा अझ प्रस्ट हुन्छ । नेपालसँगको चीनको सम्बन्धचाहिँ उसको भौगोलिक अखण्डतामाथि सिर्जना हुन सक्ने भयको सुदूर सम्भावनाबाट प्रभावित छ । यस अर्थमा नेपाल र चीनबीचको विश्वासिलो सम्बन्धबाट दुवै देशलाई घाटा छैन । तर चीनसँग सम्बन्ध बढाउन खोज्दै गर्दा चीनका लागि हामीभन्दा हाम्रा लागि चीन बढी महत्त्वपूर्ण रहेको यथार्थ हामीले भुल्नु हुँदैन । यी बुझाइको आलोकमा नेपालले चीनलाई आफ्नो नियतप्रति आश्वस्त तुल्याएर द्विपक्षीय सहकार्य अभिवृद्धि गर्दै लैजाने र भारतसहित अन्य मुलुकसँगको सम्बन्धलाई पनि समुचित महत्त्व दिने विकल्प समानान्तर रूपमा रोज्नुफर्छ ।


ट्वीटर : @sujitmainali

प्रकाशित : माघ २३, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?