कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सत्ताको बाँसुरीमा मग्‍न प्रतिपक्ष

हाम्रो देशको राजनीति पनि गज्जब छ । आजका मितिमा प्रमुख प्रतिपक्षी दलका कारण नेपाल सरकारले कुनै समस्या भोग्‍नु परेको छैन ।
किशोर नेपाल

देश अहिले तमासामय भएको छ । सत्ता पक्षका अनावश्यक विचरणले पनि र प्रतिपक्षको खुम्चिँदो हैसियतले पनि । नेपाल कम्युनिस्ट पार्टीको मूल प्रवाहका तीन नेता अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता माधव नेपाल र अर्कार् वरिष्ठ नेता झलनाथ खनाल संगीतमय सन्ध्यामा मस्त देखिएका छन् । यो राम्रो कुरा हो । देशका मुख्य नेताहरू खैंजडी बजाइरहेका छन् भने यसलाई समृद्धिको संकेत मान्नुपर्छ । यति बेला देशमा कुनै समस्या छैन ।

सत्ताको बाँसुरीमा मग्‍न प्रतिपक्ष

उता, कोरोना भाइरसबाट जोगिन चीनबाट स्वदेश फर्किन चाहने विद्यार्थी वुहानमा पर्खेको पर्ख्यै छन् । यता, विमानका कप्तानहरू चीनतिर उडान भर्ने आदेशको पर्खाइमा छन् । हतार सबैतिर छ । तर, बालुवाटारको उचाइमा बसेर निर्धक्क बाँसुरी बजाउँदै छन्, प्रधानमन्त्री ओली । उनका मित्रहरू सारंगी रेट्दै छन् । यस्तोमा कसले के भन्न सक्छ ?


हामी नेपाली पहाड, पर्वत र हिमालका उचाइमा बाँचेका प्राणी हौं । उचाइ नभई हामी बाँच्नै सक्दैनौं । ऐतिहासिक मानिएको धरहरा काठमाडौं खाल्डोको उचाइ थियो । सहरमा त्योभन्दा अग्ला गगनचुम्बी घरहरू बनिसके पनि पुर्ख्यौली सान थियो धरहरा । एउटा यस्तो प्रतीक, जसको उपयोगिता अतीतका चलनलाई वर्तमानमा सक्रिय राख्नुबाहेक केही थिएन । पुर्ख्यौली शासकहरूको सान, हाम्रो गौरव । धरहराको बार्दलीबाट बिगुल बजेपछि काँठदेखि सहरसम्मका मानिस टुँडिखेलमा हुकुम सुन्न कुद्नैपर्ने बाध्यता । भन्छौं हामी, देश आधुनिक भैसकेको छ । तर, हामी इतिहासमा बाँच्न छाडेका छैनौं । हामी भूतका कथामा बाँच्न अभिशप्त छौं । साँच्चै, लेखक कुमार नगरकोटीको कल्पनामा आएको ‘घाटमान्डु’ मा परिणत हुँदै छौं हामी । खालि पात्रहरूको फेरबदल मात्र भएको छ । बाँकी सबै यथास्थिति छ, अर्थात् उहिलेको स्थिति ।


हाम्रो देशको राजनीति पनि गज्जब छ । आजका मितिमा प्रमुख प्रतिपक्षी दलका कारण नेपाल सरकारले कुनै समस्या भोग्नुपरेको छैन । सरकारलाई प्रतिनिधिसभामा दुईतिहाइको समस्या छ कि छैन, त्यो हेर्नुपरेको छैन । त्यतापट्टि सरकारले ध्यानै दिनुपरेको छैन । ‘लोकतन्त्रका लागि सरकारसँंग सहमतिमा रहेर’ बाँकी कुरामा असहमति देखाउन सक्ने प्रतिपक्ष कहिले पनि विपक्ष हुँदैन । प्रधानमन्त्री ओलीले पटक–पटक नेपाली प्रेसको जुँगा उखेल्ने प्रयत्न गरिसकेका छन् । कसै गर्दा पनि प्रेसले उनको पट्टु नपढेपछि उनले पछिल्लो भनाइमा आफूलाई सुधारेका छन् । भन्छन्— म आफै स्वतन्त्रताका लागि पचपन्न वर्ष लडेको मानिस; मलाई यसको महत्त्वको ज्ञान छ । त्यति ज्ञान त शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमा पनि बचेको होला । नेपाल कम्युनिस्ट पार्टीले यति बेला समृद्धिको जतिसुकै राम्रो सपना बुने पनि अन्ततः लोकतन्त्रका प्रश्नमा उसको चिन्तन शैली साँंघुरिन्छ । यो स्वाभाविक हो । कांग्रेस नेतृत्वले यो कुरा बुझेको छैन वा बुझ्न चाहेको छैन ।


अहिलेका राजनीतिक तमासाहरूका बीचबाट निस्किएर नेपाली कांग्रेसको अतीत र यसका मार्गदर्शक बीपी कोइरालालाई सम्झिँदा लोकतन्त्रको भविष्यबारे चिन्तन गर्ने कोही पनि भावातिरेकमा डुब्छ । २०३६ सालको जनमत संग्रहलाई बीपी कोइरालाले जति लोकतन्त्रका पक्षमा प्रयोग गर्नुभयो, त्यति कसैले सोचेको थिएन । राजा वीरेन्द्रबाट जनमत संग्रहको घोषणापछि प्रजातन्त्रप्रति जस प्रकारको सकारात्मक वातावरणको निर्माण हुन थाल्यो, त्यो आफैमा अनुपम थियो । ठीक त्यसै बेला जनकपुरमा सम्पन्न भइरहेको नेवि संघको अधिवेशनमा बीपीले विमलेन्द्र निधिलाई अध्यक्षको उम्मेदवार बनाउनुभएको थियो । बीपीको यो निर्णयले त्यति बेलाका धेरै युवा नेतालाई आश्चर्यमा पारेको थियो । बीपीले त्यति बेलै सोच्नुभएको थियो— नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण कांग्रेसको आवश्यकता हो । तर, यो आवश्यकतालाई अहिलेसम्म कसैले बुझेको छैन वा बुझ्न खोजेको छैन । जनमत संग्रह सम्पन्न भएको दुर्ई वर्षपछि, २०३९ सालमा बीपीको निधन नभएको भए कांग्रेस अहिलेको गति र अवस्थामा हुने थिएन होला । बीपीले पार्टीलाई नेपालको नयाँ समाजको राजनीतिक र सामाजिक चाहना अनुरूप चलाउनुपर्ने आवश्यकतालाई बुझ्नुभएको थियो ।


बीपीले किन विमलेन्द्रलाई नै चुन्नुभयो ? त्यति बेला कांग्रेसको शीर्ष नेतृत्वमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । तर, बीपीका लागि सम्मानित नेता हुनुहुन्थ्यो— महेन्द्रनारायण निधि । समय–समयमा नेतृत्वको आलोचना गर्ने, गान्धीवादी र सच्चरित्र महेन्द्रनारायण निधिको व्यक्तित्व तत्कालीन प्रजातान्त्रिक राजनीतिमा हावी थियो । तर, बीपीले विमलेन्द्रलाई नेवि संघको अध्यक्षका रूपमा चयन गर्नुको कारण निधिजी मात्र हुनुहुन्नथ्यो । त्यति बेला विमलेन्द्रले दुई दर्जन वर्ष मात्र बिताएका थिए, जीवनको । नयाँ जिम्मेवारी उनका लागि पनि गम्भीर चुनौती थियो । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूमा नेवि संघ नै सर्वाधिक चलायमान र प्रभावकारी संस्था थियो । बीपीको चाहना थियो— नेवि संघको सक्रियतामार्फत देशबाट राजनीतिक शून्यताको अवस्थालाई समाप्त पार्ने । बीपीले लिनुभएको राष्ट्रिय एकता र मेलमिलाप नीतिलाई नेवि संघमार्फत नै देशभर फैलाउन सकिन्थ्यो ।


अहिले विमलेन्द्र निधि कांग्रेसका सभापति शेरबहादुर देउवा र सभापतिका प्रतिपक्षी रामचन्द्र पौडेलका बीच भागबन्डामा परेको कांग्रेसका उपसभापति छन् । स्पष्ट शब्दमा भन्दा, उनी देउवा पक्षमा छन् । तर, कांग्रेसको आवश्यकतामा आफ्नो उपयोगिता प्रमाणित गर्न उनी चुक्दैनन् । सम्भवतः यही कारण हो, कांग्रेसीहरू बीपीका कान्छा छोरा शशांक, गणेशमान सिंहका कान्छा छोरा प्रकाश र महेन्द्रनारायण निधिका कान्छा छोरा विमलेन्द्र कांग्रेस पार्टीको नेतृत्व सम्हाल्न एक भएर अघि बढून् भन्ने चाहना राख्छन् । तर राजनीति यस्तो खेल हो, जहाँ चाहना राखेर मात्रै केही हुँदैन । विभिन्न क्याम्पमा बाँडिए पनि कांग्रेसभित्र नारायण खड्का, मीनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, पूर्ण खड्का, बालकृष्ण खाँड, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, प्रकाश महत, एनपी साउद, गगन थापा लगायत वर्तमान समयका थुप्रै नेता र नेत्रीहरू नभएका होइनन् । तर, गुट वा क्याम्पको वृत्तबाट बाहिर नआएसम्म कांग्रेस पार्टीले उनीहरूबाट कुनै योगदान पाउन सक्ने देखिँदैन । विमलेन्द्रकै उदाहरणबाट कुरा सुरु गर्दा यति विचार पुर्‍याउनु आवश्यक छ, पार्टी उपसभापतिको जिम्मेवारी बोक्न उनले आफूलाई निकै खारेका छन् । निधि कांग्रेसका वैधानिक उपसभापति हुन् । त्यही कारण उनले सभापति देउवासँंग पटक–पटक मत बझाएका छन् ।


कांग्रेसीहरू चुनावमा बाटो बिराएर पराजित भएका थिएनन् । उनीहरूमा निकै बढी विचलन पनि थिएन । कांग्रेसलाई कमजोर पाएर वामपन्थीहरू खुसी हुनु पनि स्वाभाविक थियो । अहिले वामपन्थी कार्यकर्ताहरू कांग्रेसको पराजयमा खुसी भएका छन् र पनि देखाउनका लागि कांग्रेसप्रति बडो मायालु र भावुक भएका छन् । उनीहरूको कलमबाट कांग्रेसले कहाँ–कहाँ के–के गल्ती गरेको थियो, त्यसबारे विश्लेषणात्मक टिप्पणीहरू अनवरत आइरहेका छन् । अब अर्को चुनाव नआएसम्म यी कुरा दोहोरिएर, तेहरिएर प्रकाशित भैरहनेछन् । किनभने प्रत्येक राजनीतिक चाडपर्वका बेला कांग्रेसका विरुद्ध देशभक्तिका दर्जन गीत नबजाए कांग्रेसलाई हराउनुपर्ने वामपन्थीको कारण नै हराउँछ ।


वामपन्थी विश्लेषकहरूका अनुसार, कांग्रेसले चार–चार पटक सत्तामा पुगेर पनि जनताको विकासका नाममा केही गर्न सकेन । कांग्रेसले २०१५ सालमा पूर्ण बहुमत पाएको थियो । त्यति बेला पनि कांग्रेसले केही गर्न सकेन भन्न वामपन्थीहरूलाई लाज लाग्दैन । उनीहरूले मुखले स्पष्ट नभने पनि राजा महेन्द्रले बीपी कोइरालाको नेतृत्वको सरकारलाई ‘काम गर्न नसकेर हटाएको’ भन्न छाडेका छैनन् । यो नै हो, कम्युनिस्टहरूको प्रचार शैलीे । कम्तीमा पनि २०४६ सालको राष्ट्रिय जनआन्दोलनको सहयात्रीका रूपमा इतिहासलाई विकृत र विक्षिप्त बनाउने काम कसैले गर्नु नपर्ने हो । उनीहरू किन कांग्रेसका विरुद्ध खनिएका हुन् ? कसैले भन्न सक्दैन ।


कांग्रेसमा विश्लेषणात्मक क्षमता चुक्दै गएको छ । यो कुरा सबैले स्वीकार गर्नुपर्छ । सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस हार्दै छ भन्ने इसारा धेरैले पाएका थिए । राजनीतिमा कसैले कसैबाट किन धोका पाउँछ भन्ने सोच्नु नै गलत हो । राजनीतिको खेल धोकाधडीको खेल मात्र होइन, तर धोकाधडीको खेल पनि हो । दुई वर्षअघिको चुनाव परिणामले यही कुरालाई इंगित गरेको छ । देउवाले आफ्नो राजनीतिक अंकुरण कहाँबाट भएको हो, त्यसलाई बुझ्न सके भने कांग्रेस बन्ने सम्भावना अनन्त छ । तर, हातका पाँच औंलामा लगाएका पाँच वटा रत्नजडित औंठी हेरेर गमक्क पर्दै आफू सात पटक प्रधानमन्त्री हुने कल्पनामा डुब्ने देउवाले त्यो अनन्त सम्भावनालाई हेरेर पनि बुझ पचाएका छन् । कांग्रेस त्यति बेलासम्म शक्तिशाली हुँदैन, जबसम्म देउवा र उनका पक्ष–विपक्षमा लागेका समकालीन कांग्रेसी नेताहरू किनारा लाग्दैनन् । समयले गलहत्याउनुभन्दा पहिले उनीहरू बाहिरिए राम्रो हुन्छ ।

प्रकाशित : माघ २३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?