एमसीसी, बीआरआई र बरालिएको कूटनीति

टीका ढकाल

प्रविधिको विकासले कूटनीति सञ्चालनको परम्परागत अनुहार पूरै बदलेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको ५० अर्ब रुपैयाँको सहयोगमाथि अनेक प्रश्न उठाइएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना भनाइ राख्न तत्कालै फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको सहारा लियो ।

जुन कुरा सुनाउन एक दशकअघिसम्म ठूलो संख्यामा दर्शक वा श्रोताको खोजी गर्नुपर्थ्यो, प्रविधिले आज त्यसका लागि छिटो र सस्तो मञ्च उपलब्ध गराएको छ । प्रविधिले आकर्षक विषयवस्तुलाई थोरै आर्थिक लगानीमा गुणात्मक पहुँचसहित लक्षित जनमानससम्म लैजान्छ । त्यसो गर्न हुन्थ्यो वा हुँदैनथ्यो अथवा त्यसले कूटनीतिक प्रोटोकलको ख्याल गर्‍यो वा गरेन भन्ने प्रश्न उठिसक्दा अमेरिकी दूतावासले आफ्ना कुरा भनिसकेको हुन्छ । अब यो सामान्य अभ्यास बन्दै गएको छ । अमेरिकाबाटै सुरु गरिएका नवीन प्रविधिलाई ‘पब्लिक डिप्लोमेसी’ का लागि उनीहरूले कुशलतापूर्वक संसारभर प्रयोग गरिरहेका छन् ।


नेपाली कूटनीतिको कमजोर सञ्चालन जरैदेखि उजागर गरेको एउटा उदाहरणका रूपमा एमसीसीउपर चुलिएको विवादलाई लिन सकिन्छ । विशेषज्ञता चाहिने क्षेत्रमा हल्लाको बजार गर्माएर चर्चा कमाउनेदेखि राजनीतिक स्वार्थवश गरिने अपव्याख्यासम्मले वास्तविक प्रश्नहरू ओझेलमा पारेका छन् । एमसीसी सम्झौतामा हस्ताक्षर भएको दुई वर्ष पुगिसक्यो । यस बेला बहस सुरु गर्नु आफैमा ‘...सक्यो, दैलो देख्यो’ भनेजस्तो हो । शक्तिराष्ट्रसँगका सम्झौतामा कूटनीतिक कमजोरीको जुन बिस्कुन लगाइएको छ, त्यसले कमसेकम आपसमा समन्वय गर्नुपर्ने परराष्ट्र, अर्थ र ऊर्जा मन्त्रालयहरूको चेतनाको बिर्को उघार्‍यो भने अहिलेलाई पर्याप्त मान्नुपर्छ । उघ्रिने लक्षणसम्म नदेखिनुचाहिंँ चिन्ताको विषय हो । शक्तिराष्ट्रका प्रतिस्पर्धाको बदलिँदो धरातल पहिचान गर्दै नेपाली कूटनीतिलाई आर्थिक सहयोगसँग जोडिएर आउने राजनीतिक मुद्दाको व्यवस्थापनका लागि परिचालित गर्न ढिलो भैसक्यो ।

विकासमार्फत शक्तिस्पर्धा

चार वर्षअघि संविधान निर्माण र दुई वर्षअघि बहुमतको सरकार निर्वाचित भएपछि अघिल्लो दशकको कोरा राजनीतिकेन्द्रित संकथनबाट नेपालको घरेलु परिवेशले तीव्र आर्थिक विकास खोजेको छ । यसै आधारमा मित्रराष्ट्रहरूले काठमाडौंसँग विकासको कार्यसूचीमार्फत पुनःसन्तुलन खोजिरहेका छन् । ठूलो स्तरको अमेरिकी सहयोग एमसीसीजस्तै निकायद्वारा, चिनियाँ सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट र भारतीय सहयोग पञ्चेश्वर, सप्तकोशी उच्च बाँध, सुनकोशी–मरिन डाइभर्सनजस्ता परियोजनाद्वारा निर्देशित हुनुलाई यसको संकेत मान्न सकिन्छ । भारतसँग पञ्चेश्वर पुरानै सम्झौता हो । नरेन्द्र मोदी ६ वर्षअघि भारतका प्रधानमन्त्री निर्वाचित भएपछि छिमेकमा थाती रहेका विकास सम्झौता कार्यान्वयनको गति बढाउन खोजिरहेका छन्, जस अन्तर्गत उनले पञ्चेश्वरलाई नयाँ परियोजनासँगै प्राथमिकतामा राखेको देखिन्छ ।


बीआरआई र एमसीसीको बहस चलिरहेकै बेला गत हप्ता सार्वजनिक भारतीय राष्ट्रिय बजेटले नेपालसँग मिलेर कार्यान्वयन गरिने ठूला परियोजनाका लागि १२ अर्ब नेपाली रुपैयाँ विनियोजित गर्‍यो । पञ्चेश्वर र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन रकम विनियोजन गरिएको हो । महाकाली सन्धि भएको पच्चीस वर्ष बितेपछि त्यसै अन्तर्गत बन्ने भनिएको पञ्चेश्वरको बल्ल डीपीआर तयार हुँदै छ । सप्तकोशी उच्च बाँधबारे स्थानीय स्तरमा उठेका प्रश्नको जवाफ दिन आवश्यक नठान्दै विराटनगरमा भारतसँग संयुक्त प्राविधिक कार्यदल निर्माण गरी सम्भाव्यता अध्ययन भैरहेको छ । ३,००० मेगावाट बिजुली निकाल्ने तथा झापादेखि पर्सासम्मका जिल्लामा सिंचाइ उपलब्ध गराउने भनिएको उच्च बाँधले कति जिल्ला डुबाउँछ र कति नागरिकलाई घरबारविहीन बनाउँछ भन्ने तथ्यांकहरू अब एमसीसीको विरोधकै शैलीमा सार्वजनिक हुन थाल्नेछन् । भारत संलग्न हुने ठूला आयोजनामा भावुक र उग्र राष्ट्रवाद झनै मिसिएर आउँछ । त्यसैले सम्झौता सार्वजनिक गरेर यसबारे तटस्थ प्राविधिक बहस चलाउने बेला भैसकेको छ । भारतीय बजेट व्यवस्थाले सुनकोशी–मरिन डाइभर्सनलाई कमला नदी छोडेर लागू गर्न चाहेको देखिन्छ, जबकि प्रदेश २ लाई सिंचाइ सुविधा पुर्‍याउने यो आयोजना सुनकोशी–कमला–मरिन नदी जडान गरी सप्तकोशी उच्च बाँधबाट अलग गरेर कार्यान्वयन हुनुपर्छ भन्ने आवाज उठिरहेकै छ ।


नेपालमा अहिले पूर्वाधार निर्माणको अतुलनीय भोक छ । राजनीतिक अस्थिरता तथा सशस्त्र द्वन्द्व झेलेर सन् २०१५ सम्म पूरा गर्नुपर्ने राष्ट्रसंघीय सहस्राब्दी विकास लक्ष्यका अधिकांश सूचकलाई समयअगावै पूरा गर्दै सामाजिक विकासका नरम पक्षमा नेपालले फड्को मार्‍यो । यस अवधिमा सुरक्षित मातृत्वमा उपलब्धि, बाल मृत्युदरमा व्यापक कमी, विद्यालय जाने उमेरका बालबालिकाको करिब शतप्रतिशत भर्नादर, विद्यालय भर्नामा लैंगिक समानताजस्ता क्षेत्रमा नेपालको प्रगति अतिकम विकसित देशमध्ये सबैभन्दा उच्च रह्यो । मानव विकास सूचकांकमा सकारात्मक प्रभाव पार्ने यी परिवर्तन भए पनि ठूला पूर्वाधार निर्माणमा कमजोरी, लगानीको अभाव र निर्माणमा ढिलासुस्ती हेर्दा अविकासको नेपाली मनोविज्ञान कायमै छ ।


शक्तिराष्ट्रले नेपाललाई सहयोग गर्न अघि बढाएका योजनामा विकासको यही नेपाली मनोविज्ञानलाई सम्बोधन गर्ने प्रयास देखिन थालेको हो । यसै पृष्ठभूमिमा एमसीसी, कोशी उच्च बाँध र बीआरआईले तयार गरिरहेको विकासे जमिनमा आगामी दशकको हिमालयकेन्द्रित भूराजनीतिक प्रतिस्पर्धा विस्तार हुने संकेत देखिन्छ । त्यसैले केहीअघिसम्म मुख्य रहेका राजनीतिक ‘एजेन्डा’ अब पृष्ठभूमिमा धकेलिएका छन्, सकिएका भने छैनन् ।


भारत र अमेरिकी सहयोगमा भएका बहसविपरीत चीनको बीआरआईबारे भएका बहसहरू तुलनात्मक रूपमा सकारात्मक देखिन्छन् । यसको प्रमुख कारण बीआरआई सम्झौता हालसम्म केवल एउटा छोटो समझदारी पत्र (एमओयु) मा सीमित छ । चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दैन भन्ने परम्परागत विश्वास छ । यो अवस्था सधैं कायम नरहन पनि सक्छ । बीआरआई अन्तर्गत नेपालले प्राप्त गर्ने सहयोग रकम अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएको छैन । चिनियाँ पक्षको निरन्तर ताकेतापछि नेपालले नौ वटा सम्भावित पूर्वाधार आयोजनालाई अन्तिम रूप दिएर चीनसमक्ष पठाएको भनिएको छ । तिनको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्ने टुङ्गो छैन । केहीमा पूर्वसम्भाव्यता अध्ययन भएका छन् । एमसीसी अन्तर्गतका आयोजना थोरै छन्, पाँच वर्षमा सम्पन्न हुने भनिएको छ भने कार्यान्वयनको पाँचवर्षे मार्गचित्र पनि प्रस्ट देखिन्छ ।


कुनै पनि राष्ट्रको वैदेशिक नीति उसको आन्तरिक राजनीतिकै विस्तार हो । नेपालको घरेलु राजनीतिमा विगतको दशकले ल्याएको व्यापक परिवर्तन जगजाहेर छ । विशुद्ध राजनीतिक व्यवस्थापनसँग सम्बन्धित संविधान निर्माण, संघीयता, समावेशिता, धर्म निरपेक्षताजस्ता पदावलीले नेपाली राजनीति र बाह्य सम्बन्धलाई त्यस अवधिमा निर्देशित गरे । चीन बाहेकका शक्तिराष्ट्रले यसै आधारमा समावेशी संविधान निर्माण, मानव अधिकारको रक्षा तथा उदार लोकतन्त्रलाई बलियो बनाउन सघाउने नीति लिए । यसको अर्थ राजनीतिक मुद्दाहरू सकिए भन्ने होइन, बरु अब विकास आयोजनाका लागि गरिने सहयोगभित्र शक्तिराष्ट्रका राजनीतिक उद्देश्य समेटिन थालेका हुन् भन्न सकिन्छ । यसबाट नेपाल आत्तिनुपर्ने, उत्तेजित वा प्रतिक्रियात्मक हुनुपर्ने नभई नयाँ परिवेशलाई पूर्वाधार निर्माणको अवसरका रूपमा उपयोग गर्दै २०८६ सालभित्र अतिकम विकसित राष्ट्रबाट मध्यम आय भएको राष्ट्रका रूपमा फड्को मार्न उपयोग गर्नुपर्छ । यसका निम्ति एउटा प्रमुख राष्ट्रिय औजार कूटनीतिक सक्षमता हो ।


नसकिएका राजनीतिक मुद्दा

नेपालमा पश्चिमी दुनियाँ र भारतका अलग्गै तथा साझा राजनीतिक कार्यसूची जीवित छन् । चीनको कूटनीतिचाहिँं तिब्बतको सुरक्षा सुनिश्चित गर्नेमा केन्द्रित छ । यसलाई पुष्टि गर्ने अनेकौं प्रमाण छन् । गत असोज २५ र २६ गते नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशतिर खराब दृष्टि लगाउनेलाई धूलिसात् पार्ने चेतावनी दिए । उनले किन यसो भन्नुपरेको रहेछ भन्ने तथ्य केही दिनअघि मात्र सार्वजनिक भयो । नेपालसँग सहमति गरेर अन्तिम अवस्थामा पुर्‍याइएको सुपुर्दगी सन्धि नहुन आफू काठमाडौं उत्रनु एक दिनअघि मात्र अमेरिकी सिनेटर बब (रोबर्ट) मेनेन्डेजले नेपाललाई लेखेको पत्र जिम्मेवार रहेको उनले थाहा पाइसकेका थिए, जसले उनलाई रुष्ट बनाएको रहेछ । मेनेन्डेजले नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्र सार्वजनिक भएपछि यसमा अब सन्देहको ठाउँ बाँकी रहँदैन ।


सुपुर्दगी सन्धि ठीक वा बेठीक भन्ने बहस अलग्गै हो । नेपालमा मृत्युदण्डको सजाय छैन । चीनबाट ज्यान जोगाउन नेपाल छिरेका राजनीतिक शरणार्थीलाई सम्भावित मृत्युदण्ड भोग्न चीन फिर्ता पठाइनु मानवीय दृष्टिमा उचित होइन । तर, के आधारमा सन्धिका लागि सहमति भयो र के आधारमा एक अमेरिकी सिनेटरको पत्रले सन्धि रोकियो भन्ने प्रश्न नेपाली सार्वभौमिकतासँग जोडिन्छ ।


सीको भ्रमणमा मात्र होइन, करिब तीन दशकदेखि नै तिब्बत मुद्दालाई अमेरिकाले नेपालसँग निरन्तर प्राथमिकताको विषय बनाएको छ । चिनियाँ राष्ट्रपति फर्केलगत्तै कात्तिक १५ गते धार्मिक स्वतन्त्रताका लागि अमेरिकी विशेष दूत स्यामुएल ब्राउनब्याक नेपाल आए । क्यान्सस राज्यको गभर्नर रहिसकेका उनले नेपालमा प्रधानमन्त्रीदेखि गृह र परराष्ट्रमन्त्रीसम्मलाई भेटे । सबै भेटमा उनको प्रमुख मुद्दा तिब्बत र संविधानमा लेखिएको धर्म निरपेक्षताको व्याख्यासँग असहमति थियो । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा लिखित बधाई सन्देश पठाउँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नेपालमा भएका तिब्बती नागरिकको मानव अधिकार रक्षा गर्न र नेपाल आइसकेपछि उनीहरूलाई चीन नफर्काउने नीतिमा कायम रहन आग्रह गरे ।


उनको सन्देशमा के पनि भनिएको थियो भने, यी विषयमा नेपालका परराष्ट्रमन्त्रीले २०१८ डिसेम्बरको अमेरिका भ्रमणका दौरान प्रतिबद्धता जनाएका थिए । मानव अधिकारको रक्षा र लोकतन्त्र प्रवर्द्घनमा सघाउने व्यापक मुद्दाभित्र संक्रमणकालीन न्याय, तिब्बत, अनुदार कानुनको विरोध, समावेशीकरण र संघीयतालाई सघाउन अमेरिकासहितका युरोपेली शक्तिहरू एकै ठाउँ उभिन्छन् । अर्थात्, चीनको नीति आफूकेन्द्रित छ । अमेरिका र पश्चिमको नीति भने चीनकेन्द्रित छ, अरू केन्द्रित छ ।


यसै गरी नेपालसँग नयाँ आधारमा सम्बन्ध अघि बढाउन खोजिरहेको भारत अझै पनि नेपालको संविधानमा संशोधन होस् भन्ने चाहन्छ । भारतले नेपालसँग निरन्तर व्यक्त गर्ने राजनीतिक चासोभित्र सुरक्षा संवेदनशीलता र खुला सिमानाले उत्पन्न गर्ने नेपालको बहुआयामिक भारत–निर्भरतालाई यथास्थितिमै राख्ने प्रयास अन्तर्निहित छन् । पछिल्लो समय नेपालको आन्तरिक राजनीतिक मनोविज्ञानलाई बुझेर त्यस अनुसारका नयाँ योजनाहरू भारतले अगाडि सारिरहेको छ । नयाँ पुस्ताको नेपाल भारतीय सूक्ष्म व्यवस्थापनबाट अलग रहन चाहन्छ । तर अति आवश्यक पूर्वाधार विकासमा भारतीय सहयोग रहोस् भन्ने पनि चाहन्छ । भारतीय मूल्यांकनमा यी दुई अपेक्षा परस्पर विरोधी हुन् ।

चीनलाई लिएर व्यक्त हुने भारतीय असमञ्जसमा वैचारिक प्रतिस्पर्धा एउटा मुख्य तत्त्व हो, जहाँ ऊ पश्चिमसँग हुन्छ । नेपालभित्र परम्परागत एकल प्रभाव कायम रहनुपर्ने मामिलामा भारत एक्लै हुन्छ । नेपालको हित हेर्ने सरकार वा नागरिकले के ध्यान दिनुपर्छ भने, पश्चिमले आफ्ना स्वतन्त्र कार्यसूची छोडेर भारतको आँखाबाट नेपाल हेर्ने परिस्थिति निर्माण नहोस् । राजा ज्ञानेन्द्र यही विन्दुमा चुकेका थिए ।


कम्युनिस्ट चीन र आफूलाई उदार लोकतान्त्रिक विश्वको प्रमुख हिमायती ठान्ने भारतका बीचमा आवश्यकता अनुसार प्रतिस्पर्धा र सहकार्य छ । उनीहरूका कदम हाम्रो आन्तरिक राजनीतिले कोल्टे नफेर्दै पुनःसन्तुलनतर्फ लाग्छन् ।


परराष्ट्रको पुनःसंरचना

नेपाल हरेक मित्रराष्ट्रसँग छुट्टाछुट्टै आधारमा सम्बन्ध राख्न र सम्झौता गर्न स्वतन्त्र छ । यद्यपि बहुआयामिक विज्ञता चाहिने ठूला परियोजनाको अध्ययनमा देखिने साँघुरोपन, ठूला देशसँग गरिने द्विपक्षीय वार्तामा हावी हुने सीमित स्वार्थ, परियोजना अनुसारका लाइन मन्त्रालयसँग परराष्ट्रले गर्नुपर्ने समन्वयको अभावका कारण हरेक सम्झौताले नयाँ विवादलाई जन्म दिइरहन्छन् । आज विकसित हुँदै गरेका शक्तिस्पर्धाका स्वरूपले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्ने क्षमतामाथि व्यापक संस्थागत तथा पारिस्थितिक सुधारको माग गर्छन् ।


द्विपक्षीय स्तरमा उठाइने राजनीतिक मुद्दाको व्यवस्थापनका निम्ति प्रमुख राष्ट्रिय औजार कूटनीतिक सक्षमता हो । कूटनीति सञ्चालनको प्रमुख केन्द्र परराष्ट्र मन्त्रालयलाई नयाँ आवश्यकता अनुरूप पुनर्गठन गर्नु तत्कालको आवश्यकता हो । यसअघि नै यस्तो पुनर्गठनका लागि तीन पटक संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्भे भैसकेका छन् । केही सुझाव मात्र कार्यान्वयन भैदिएका भए परराष्ट्रमा यस बेला अलग्गै अनुसन्धान तथा विकास विभाग हुन्थ्यो, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धले सामना गर्नुपर्ने मुख्य ‘एक्टर’ माथि विषयगत समूह हुन्थे, वार्ताकार टोली हुन्थे, अन्तरमन्त्रालय समन्वय विभाग हुन्थ्यो । परराष्ट्र मन्त्रालय सुधारको एउटा विन्दु मात्र हो । दूरदृष्टि, सबैलाई साथ लिन गरिने प्रयासका साथै सरकारको खुला राजनीतिक सोचले मात्र कूटनीति बलियो बनाउँछ ।


कूटनीतिक संस्थाले प्रयोगमा ल्याउनुपर्ने औजारको जटिलता तथा सम्बोधन गर्नुपर्ने विविधताको आयामलाई चलायमान राख्न उच्चस्तरीय दक्षता चाहिन्छ । परिवेशलाई बुझ्न र धारणा निर्माण गर्न सामाजिक सञ्जालमा क्षमतासहित उपस्थित हुनुपर्ने सरल गतिविधिदेखि तथ्यांकहरूको विश्लेषण गर्ने, मित्र सञ्जाल निर्माण गर्ने, आफ्नो सरकारको अवधारणालाई अनुकूल व्याख्या गर्दै पेस गर्ने, अडान लिने वा लचकता प्रदर्शन गर्ने, संवाद गर्ने लगायतका कार्यसम्म प्रविधिको प्रयोग गर्ने सीप कूटनीतिक संस्थाहरूले खोजिरहेका छन् । प्रविधिको प्रयोग भित्रिनसम्म नसकेको नेपाली कूटनीतिका निम्ति यस बेला धेरै चुनौती देखिन्छन् । सम्बन्धको नयाँ फैलावटसँगै सगरमाथा संवाद पनि सुरु गर्न खोजिरहेको परराष्ट्रका लागि पुनःसंगठन अति जरुरी भैसक्यो ।

ट्वीटर : @TikaDhakaal


प्रकाशित : माघ २२, २०७६ ०८:३१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अच्युतानन्दको ‘विमानशास्त्र’

टीका ढकाल

सत्ताईसौं अध्यायमा पुगेपछि बालकृष्ण समका ‘मेरो कविताको आराधन’ आकाशबाट कागजको कलेवरमा खसेको अलिकति उज्यालोजस्तै भइदिन्छ । त्यही रोमाञ्चक उज्यालोले डोर्‍याएर प्राचीन ग्रीसेली किंवदन्तीमा वर्णित आइकारस र डिडालसको कथा हुँदै आर्य सभ्यताका महर्षि भरद्वाजकृत ‘बृहद विमानशास्त्रसम्म’ लैजान्छ । त्यससँग सम्बद्ध रहेर बीसौं शताब्दीमा भएका केही मनोरञ्जक, केही अपत्यारिला वैज्ञानिक प्रयोगसम्म खिंच्छ ।


पौराणिक सत्य र ऐतिहासिक सत्यका बीचमा रहेको अन्तर प्राज्ञिक जगत्ले खुट्याउन थालेको धेरै भैसक्यो । आम नागरिकको तहमाचाहिं विश्वव्यापी असमञ्जसको समानान्तर शृंखला सँगसँगै चलिरहेकै छ । जगत्का सत्यसँग शताब्दीयौंसम्म श्रुति, स्मृति, लोककथा र कल्पनालाई बुनेर निर्माण भएको ऐतिहासिक कृतिले पौराणिक सत्य निर्माण गर्छ । जुन बेला इतिहासका अभिलेखजन्य प्रमाणले ती घटनाको अस्तित्व निश्चित गर्छन्, त्यो ऐतिहासिक सत्य बन्न पुग्छ । त्यसैले ‘मेरो कविताको आराधन’ मा उल्लेख गरिएका पण्डित अच्युतानन्द, उनले प्रयास गरेको प्रारम्भिक इन्जिनियरिङ कला, विज्ञानमा समर्पित भएर घरखेत गुमाएको तथ्य आदि ऐतिहासिक सत्य हुन् । बृहद् विमानशास्त्र पौराणिक सत्य हो । आइकारस र डिडालसचाहिं दन्त्यकथा ।


सबै ‘पौराणिक सत्य’ वास्तविक सत्य हुँदैनन् वा सधैं असत्य रहिरहन्छन् भन्ने पनि छैन । पौराणिकताबाट कल्पनालाई अलग्याएर सत्य छुट्याउने बौद्धिक कर्म प्राचीनकालदेखि हालसम्म निरन्तर चलिरहेकै छ । अंग्रेजीमा ‘मिथ’ भनिने पौराणिकता अपरीक्षित मान्यता (एजम्सन) हो, जसलाई आधुनिक इतिहासकारहरू प्रमाणद्वारा परीक्षण गर्नु
आफ्नो पहिलो दायित्व ठान्छन् (पिटर हिस, ‘मिथ, हिस्ट्री एन्ड थ्योरी’, जर्नल अफ हिस्ट्री एन्ड थ्योरी, संख्या ३३, पृष्ठ १–१९) । महाभारत वा रामायणका घटनाको ऐतिहासिक प्रमाण खोज्ने कार्य त्यसैले चलिरेहको हो । यद्यपि जडवत् वाक्यहरूमा पौराणिकतलाई पेस गर्ने राजनीतिले आज यस्तो परिशीलन असजिलो, खतरायुक्त बनाएको छ ।


धर्मआधारित राजनीतिको मुख्य जग पौराणिकता भएकाले उसले पौराणिक सत्यलाई इतिहासका रूपमा अर्थ्याउन थाल्छ । आम मानिसलाई पनि त्यसैगरी सोच्ने फरमान जारी गर्छ । उदाहरणका लागि आजको भारतमा गान्धीको इतिहाससँग हिन्दुत्वको पौराणिकता संघर्षरत छ, जबकि हिन्दु गान्धी आफैं पौराणिकतामा विश्वास राख्थे । मुस्लिम जगत्मा प्रोफेट मुहम्मदको चित्र बनाउनु मात्र पनि मृत्युदण्डकारक हुन्छ । क्रिस्चियनहरूका सम्प्रदायअनुसार फरक पौराणिक विश्वास छन् । धार्मिक हुनु र धर्मभीरु हुनु फरक कुरा हुन् । भीरु चरित्रले पौराणिकताको परिशीलन रोकेर सत्य खोज्ने परिश्रमलाई निस्तेज गर्छ, अन्धविश्वासमा लिप्त राख्छ । धार्मिक हुनुले समाजलाई अनुशासन र कर्तव्यको बाटोतर्फ प्रेरित गर्छ । तसर्थ, मानिस धार्मिक होस्, भीरु नहोस् । समले सम्झाइरहने अच्युतानन्द धार्मिक छन् । उनमा असाधारण वैज्ञानिक वृत्ति पनि सँगै देखिन्छ । समलाई त्रिचन्द्र कलेजमा पढाउने पण्डित पीताम्बर अच्युतानन्दका पारिवारिक नातेदार भएकाले उनैका माध्यमबाट समले अच्युतानन्दलाई भेटे, आफ्नो संस्मरणमा उनका कुरा लेखे ।
युवा अवस्थामा अध्ययनका लागि बनारस गएकाबखत अच्युतानन्दले रेल गाडी देखे, चढे । एकीकृत वाष्पशक्तिले त्यसको इन्जिन चलेको थाहा पाए । यताबाट गएका वा उतैका अरूले पनि रेल गाडी देखेका हुन्, चढेका हुन् । केवल अच्युतानन्दको मस्तिष्कलाई त्यसले हुँडल्यो, हुँडलिरह्यो । आफ्नो जीवनमा यस्तै अनुभवहरू सँगालेका पूर्वभारतीय राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका होलान्— सपना त्यस्तो होस् जसले निदाउन दिंदैन ।


धेरै अघि अच्युतानन्द पनि निदाएका थिएनन् । बनारसबाट नेपाल फर्केपछि बीस वर्ष लगाएर दुई जना अट्ने चारपांग्रे गाडीलाई वाष्पशक्तिले चलाएर देखाए । उनको महत्त्वाकांक्षा बढ्यो । उड्ने जहाज बनाउने उद्योग गर्न थाले । उनीसँग एउटा जिज्ञासु मस्तिष्कबाहेक अर्थोक थिएन । यो घटना अमेरिकी राइट दाजुभाइले हवाइजहाजको आविष्कार गर्नुभन्दा निकै अघिको हुनाले संसारमा ‘एरोडाइनामिक्स’ जन्मिसकेको थिएन । रेल चलेको देख्नुबाहेक अर्को अनुभव वा आधुनिक विज्ञानको अध्ययन गर्ने सम्भावना अच्युतानन्दसँग थिएन । त्यसैले, जर्मन वैज्ञानिक डेम्लरले अलिक पहिले बनाएको आन्तरिक ज्वलन मेसिनबारे पनि यिनलाई थाहा थिएन । बीस वर्षको अनुत्पादक खर्चले त्यसबेलाको समयमा नौ हजार रुपैयाँ ऋण बोकायो । भतिज पीताम्बरका माध्यमबाट जनरल गेहेन्द्रशमशेर (पहिलो वैज्ञानिक मानिएका) लाई गुहारे । गेहेन्द्रले उनका बाबु तत्कालीन प्रधानमन्त्री वीरशमशेरबाट दस हजार रुपैयाँ सहयोग दिलाइदिए ।


वीरशमशेरले ती दरिद्र वैज्ञानिकलाई भनेका वाक्य सम लेख्छन्, ‘हेर पण्डित राम्रो उद्योग गरेछौ, उहाँ सवारी भएका बेलामा श्री ५ मुमा बडामहारानीलाई पनि नजर गराएछौ, यहाँ चाहिएको बेलामा म पनि डाकुँला, जेठा (गेहेन्द्र) लाई दस हजार दिनु भनिदिएको छु, ऋण तिर, तर अब यस्तो बनाउँदा हामीलाई जाहेर गरेर मात्र गर्नु, अहिले आफ्ना आँटले बनाएछौ, भैहाल्यो (सम, मेरो कविताको आराधन, पृष्ठ १०४)।’


नेपालको पहिलो वैज्ञानिक त धादिङ जिल्लाको चरंगे फेदी अचानेका यी अच्युतानन्द पो देखिए । उनले बनाएको वाष्पचालित गाडी कता पुग्यो होला ? जोगाएर राख्न सकेको भए कमसेकम आज छाउनी संग्रहालयमा देखिन्थ्यो कि ? श्री ३ वीरशमशेरका जेठा छोरा गेहेन्द्रले बनाएको तोपसमेत लिलामी हुने देशमा एउटा शक्तिहीनको आविष्कार बाँच्न के सम्भव हुन्थ्यो होला र ?


वीरशमशेरबाट पाएको पैसाले ऋण तिर्नुको साटो अच्युतानन्द जहाज बनाउन थाले । अर्को बीस वर्ष धातु र इन्धनको प्रयोग नबुझी अनेक असफल प्रयास गरेका उनका सुरुआती सामान काठ र बाँसका थिए । प्रारम्भिक वैज्ञानिक प्रयोगहरू यस्तै उटपट्याङ हुँदा हुन् । बाफले जहाज नचल्ने बुझेपछि मट्टीतेलको इन्धनमा आइपुगे र इन्धन राख्ने भाँडोचाहिं धातुको हुनुपर्छ भन्ने बुझे । फेरि ऋणमा डुबे । वीरशमशेरको देहान्त भैसकेको थियो । अन्यत्रबाट सहयोग पाउने सम्भावना थिएन । विक्षिप्तजस्तै भएर उनी काठमाडौंको चपलीघाटमा तपस्या गर्न थाले, उड्ने मेसिन बनाउन । अनेक खाले चंगा बनाएर उडाए । अनेक पार्टपुर्जा जोडेर तयार गरे । उनको नाम नै विमान पण्डित राखिदिए मानिसहरूले । चपलीघाटमा दिनदिनै रमिता लाग्न थाल्यो । अनौठो काम भैरहेको, मानिस जम्मा भैरहेको देखेर एक दिन प्रहरी आएर सोध्यो, ‘बाजे, के बनाउन लाग्नुभएको ?’


‘जहाज ।’
‘कहाँ उडाउने ?’
‘आकाशमा ।’
‘दरबारमाथि पनि उड्छ ?’
‘उड्यो भने सबैतिर उड्छ ।’


‘लौ बाजे, त्यसो भए यो सबै छुट्याउनोस्, आइन्दा हामीलाई नसोधी हात नहाल्नुहोला’ (सम, उही, पृष्ठ १०५) ।
अनि उनका कलपुर्जा आगोमा जले । यसैबेला, करिब सबैथोक सकिएर सडकमा आइपुगेका बेला, समले उनलाई भेटेका थिए । यी अच्युतानन्दको सम्झना मात्र पनि नेपालका लागि प्रेरणादायी हुन सक्छ । अलिक वर्षपछि अमेरिकामा राइट दाजुभाइले साइकल मर्मत गर्ने आफ्नै पसलका पार्टपुर्जा जोडेर साँच्चै उड्न सक्ने जहाज बनाए । राइट दाजुभाइको आविष्कार पनि नमुना मात्र थियो । त्यसमा सयौं वैज्ञानिकले करिब एक दशक लगाएर गरेका सयौं परिष्कारपछि पहिलो विश्वयुद्धमा प्रयोग गर्न सन् १९१४ मा पहिलोपटक यात्रुबाहक जहाज उडाइयो, जसमा १६ जना यात्रु सवार थिए ।


अच्युतानन्दको असफल प्रयोगले प्राचीन ग्रीसको एउटा दन्त्यकथा सम्झाउँछ, जसमा डिडालस र आइकारस ‘वैज्ञानिक’ बाबुछोराको वर्णन छ । इसापूर्व ४३ मा जन्मेर इस १७/१८ मा मृत्यु भएका रोमन कवि ओभिडले सबैभन्दा पहिले यो कथा लेखे, आफ्नो ‘मेटामोर्फोसिस’ शीर्षकको लामो काव्यभित्र । ओभिड, होरेस र भर्जिललाई प्राचीन रोमन साहित्यका त्रिमूर्ति मानिन्छ । ल्याटिन भाषामा लेखिएको मेटामोर्फोसिसलाई पछि अंग्रेजी कविहरू सर स्यामुअल गार्थ र जोन ड्राइडेनले अंग्रेजीमा अनुवाद गरे । पन्ध्रवटा अलग खण्डका पुस्तकाकारमा मेटामोर्फोसिस प्रकाशित छ । हलिउडका ‘साइन्स फिक्सन’ मा ग्रीसेली वा नर्डिक पात्रहरू जोडेर आजकल बनाइने सिनेमाका आदिस्रोत यिनै प्राचीन कृतिहरू हुन् ।


मेटामोर्फोसिसको आठौं पुस्तकअनुसार प्राचीन ग्रीसको एक राज्य ‘क्रिट’ का राजा मिनोसले आफ्नो पराक्रम निर्वाध रहोस् भन्नका लागि समुद्रकी देवी पोसाइडनलाई खुसी राख्न बलि दिने विचार गरे । हिन्दु पौराणिक मान्यताअनुसार पनि भाग्य र सम्पत्तिकी देवी लक्ष्मी समुद्रकै छोरी हुन् । तर, पोसाइडन आक्रोश, अहंकार, आँधी, भूकम्प र एकै छिनमा बदलिने स्वभावका लागि चिनिन्छिन् । लक्ष्मीको कोमलता र दयाको ठीक विपरीत स्वभाव छ ग्रीसेली देवीको । उनले आफूलाई दिइने बलिका लागि एक सुन्दर सेतो गोरु समुद्रबाट सिर्जना गरी मिनोसकहाँ पठाइन् । त्यो गोरुको सुन्दरतामा लोभिएर राजा मिनोसले अर्कै गोरु बलि दिए, जसले पोसाइडनलाई आक्रोशित बनायो । उनले मिनोसकी रानी ‘प्यासिफाए’ लाई त्यो गोरुसँग प्रेममा फसाइन् र सहवाससम्म धकेलिन् । रानीले आधा गोरु, आधा मानव स्वरूपको मानवभक्षी राक्षस मिनोटोरलाई जन्म दिइन् । लगभग अपराजेय त्यस राक्षसलाई डिडालसले बनाएको ‘लेबिरिन्थ’ भित्र नौ वर्ष बन्दी बनाइयो । पहिले रानीलाई र पछि आफ्नी छोरी ‘एरियन’ को प्रेमी थिसियस (जसले मिनोटोरलाई मार्छ) लाई सहयोग गरेको थाहा पाएपछि डिडालस र उसको छोरा आइकारसलाई नै लेबिरिन्थभित्र मिनोसले कैद गरिदिए ।


‘इन टिडियस एक्जाइल नाउ, टु लङ डिटेन्ड
डिडालस ल्यांग्विस्ड फर हिज नेटिभ ल्यान्ड
...हिज बोई यङ आइकरस नियर हिम स्टुड
अन्थिन्किङ अफ हिज फेट, विथ स्माइल्स पर्सुड... ।’ (ओभिड,मेटामोर्फोसिस, पुस्तक ८, भर्स १६–१७)
(लामो कैदी जीवनमा डिडालसलाई मातृभूमिको याद आइरह्यो, ...उसको युवा छोरो आइकारस नजिकै टीठलाग्दो गरी उभिएको हुन्थ्यो, आफ्नै भाग्य सम्झेर... ।)


डिडालसले अन्ततः मैनमा जोडेका पखेटा लगाएर छोरालाई कैदबाट भगाउँछ । तर, आकाशमा धेरै माथि उड्नाले मैन पग्लेर पखेटा खुस्किन्छन् । आइकारस जमिनमा खस्छ, उसको मृत्यु हुन्छ । यसरी, हरेकपल्ट नयाँ र अप्ठ्यारा सामान बनाउनुपर्दा एथेन्सका छिमेकी राज्यले समेत खोजी गरिने डिडालस आफ्नो समयको टमस एडिसनजस्तै थियो भन्न सकिन्छ ।


दन्त्यकथाका पात्रहरूको जीवनमा अनेक संयोग र चमत्कारका प्रसंग जोडिएर आउँछन् । डिडालस बाबुछोराको अस्तित्व केवल मिथक हो भने कवि ओभिडचाहिं ऐतिहासिक सत्य । पहिलो शताब्दीको सुरुतिर लेखिएको मानिने मेटामोर्फोसिसका रचानाकर ओभिडको मस्तिष्कमा मानिस सवार हुने अलग्गै विमान होइन, मानिसकै शरीरमा जोडिएका पखेटा भए उड्न सकिने विचार आयो । सायद चराहरू उडेको यथार्थले उनलाई त्यस्तै काल्पनिकीको निर्माण गर्न प्ररित गर्‍यो, जसलाई उनले आफ्ना पात्रहरूमा आरोपित गरे । ओभिडको कल्पनामा जहाज आइसकेको छैन । तर, रोचक यथार्थ के हो भने मानिसले गुड्नेभन्दा उड्ने कल्पना धेरै पहिले गर्न थालेको देखिन्छ ।


उड्ने सामर्थ्यको अझ प्राचीन उल्लेख आर्य–हिन्दु सभ्यताका वैदिक ग्रन्थहरूमा पाइन्छ । इसापूर्व १७०० आसपास रचना भएको मानिने ऋग्वेद संसारकै सर्वप्राचीन पूर्ण ग्रन्थ हो । ऋग्वेदअघि सुमेरियन सभ्यताका सानातिना अभिलेखहरू पाइएका छन् । आजको दक्षिणी इराकमा पर्ने सुमेर र मेसोपोटामियाकालीन गिल्गामेस राजाको कहानी समेटिएको महाकाव्य ऋग्वेदभन्दा पहिलेको प्रामाणिक कृति हो । आधुनिक उदार लोकतन्त्रमा आवश्यक पर्ने समाज र राज्यबीच नियन्त्रण–सन्तुलनको विकास खोतल्ने क्रममा गिल्गामेसकालीन आदिम मानिसले सामना गर्नुपरेको राज्यशक्ति विन्यासको प्रश्नलाई वर्तमान बसर अल असदकालीन सिरियाको अवस्थासँग तुलना गर्दै डारोन असिमोग्लु र जेम्स रबिन्सनले ‘गिल्गामेस संकट’ भन्ने नाम दिएका छन् (असिमोग्लु र रबिन्सन, न्यारो कोरिडर, प्राक्कथनको पृष्ठ ८) । सुमेरियन सभ्यताको समकालीन विश्वका प्राचीन कृतिहरूमध्ये ऋग्वेद यस्तो ग्रन्थ देखापर्छ, जसले आजपर्यन्त मानवसभ्यतालाई आश्चर्यमा पारिरहेकै छ ।

विवाह, धार्मिक अनुष्ठानलगायत विभिन्न प्रयोजनका लागि अहिले पनि उच्चारण गरिने मन्त्रहरू सामेल भएको ऋग्वेदको प्रयोग करिब चार हजार वर्षसम्म निरन्तर भैरहेको छ । गिल्गामेसको महाकाव्यभन्दा विशाल, व्यवस्थित र पूर्ण ग्रन्थका रूपमा ऋग्वेदवरिपरि जति मात्रामा अनुसन्धान, व्याख्यान र संकथनहरू निर्माण भएका छन्, त्यति अन्य कुनै प्राचीन ग्रन्थमाथि भएका छैनन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सामेल ऋग्वेदका प्राचीन पाण्डुलिपिमध्ये भोजपत्रमा लेखिएका करिब ३० वटा भारतको मुम्बईस्थित भण्डारकर अनुसन्धान संस्थामा सुरक्षित छन् । हाल प्रचलनमा रहेका वैदिक ग्रन्थहरू अठारौँ र उन्नाईसौं शताब्दीमा संगृहीत विभिन्न १७००० अलग पाण्डुलिपिबाट तयार गरिएका हुन् । ऋग्वेदमा मानिसको उडान कल्पनाका प्रारम्भिक अभिलेखहरू धेरै छन् । उदाहरणका लागि पहिलो मण्डल, पच्चीसौं सूक्तको सातौँ यो मन्त्र–
वेदा यो वीनां पदमन्तरिक्षेण पतताम् । वेदा नाव समुद्रियाः । (ऋग्वेद १।२५।७)
(हे वरुण...) तिमीलाई अन्तरिक्षमा पक्षीसरि उड्ने मार्ग थाहा छ, समुद्रमा चल्ने नौकाको बाटो थाहा छ ।
ऋग्वैदिक मीमांसाभित्र प्रवेश गरिसकेपछि आधुनिक विज्ञानले खुट्याउने पौराणिक र ऐतिहासिक सत्यबीचको अन्तर अझ प्रस्टसँग देखिन्छ । कहिलेकाहीं वैज्ञानिकहरू पनि पौराणिकतातर्फ बहकिएका हुन्छन् । तर, त्यतिले मात्रै त्यसको वैज्ञानिक सत्य पुष्टि हुँदैन । जस्तो, सन् २०१५ जनवरी ३–७ मा भारतको मुम्बईमा आयोजित अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा प्रस्तुत एउटा कार्यपत्रद्वारा घोषणा गरियो— करिब सात हजार वर्षअघिको आर्य सभ्यतासँग उड्न सक्ने विमानहरू थिए । केरलाको उड्डयन महाविद्यालयका विमानचालक आनन्द बोदास र उनका सहयोगी अमेय जाधवले गरेको यो दाबीलाई संसारका धेरै वैज्ञानिक संस्थाहरूले खण्डन गरे । आफ्नो दाबी प्रमाणित गर्न बोदास र जाधवले अघि सारेको स्रोत महर्षि भरद्वाजले रचना गरेको भनिएको प्राचीन ‘वैमानिक प्रकरण’ वा बृहद् वैमानिक शास्त्र थियो (बोदास र जाधव, एभिएसन इन द वेदिक एज (कार्यपत्र), १०२ औं अन्तर्राष्ट्रिय भारतीय विज्ञान सम्मेलन २०१५, मुम्बई) ।


ब्रह्ममुनि परिब्राजकको सम्पादनमा ‘बृहद् विमानशास्त्र’ सन् १९५९ मा पहिलोपल्ट प्रकाशित भएको थियो । अनुष्टुप छन्दका तीन हजार संस्कृत श्लोक र तिनको हिन्दी अनुवादसहित प्रकाशित यो कृतिले विज्ञान जगतमा त्यसबेला ठूलै हलचल ल्यायो । रामायणमा उल्लिखित पुष्पक, महाभारतकालीन राजा भोजद्वारा लेखिएको मानिने
‘समराङ्गणसूत्राधार’ मा कल्पित विमान, ‘युक्तिकल्पतरू’ मा वर्णित व्योमयान आदिको उदाहरण पेस गर्दै महर्षि भरद्वाजले ‘यन्त्रसर्वस्व’ ग्रन्थको एक अंगका रूपमा ‘वैमानिकशास्त्र’ को रचना गरेको दाबी यस कृतिमा गरिएको छ । यसको प्रारम्भिक प्रतिलिपि (पाण्डुलिपि होइन) भारतको बडोदा संस्कृत लाइब्रेरीमा पाइएको थियो । कृतिमा गरिएको दाबीअनुसार महर्षि भरद्वाजप्रणित प्राचीन विमान विज्ञानका चालीसमध्येको एक अंश मात्र भेटिएको हो । विमानको गति, मार्ग, प्रकार, प्रयोग र निर्माणकलाको विस्तृत वर्णन भएको ३६८ पृष्ठ लामो यस कृतिलाई सन् १९७२ मा क्यानडाली संस्कृतज्ञ जीआर जोसियरले अंग्रेजीमा अनुवाद गरी प्रकाशित गरे । पुस्तकका एक सय अधिकरणलाई आठ अध्यायमा विभक्त गरिएको छ । पुस्तकले अत्यधिक चर्चासँगै विवाद जन्माएपछि यसको प्रामाणिकता अध्ययन गर्न सन् १९७४ मा भारत सरकारले भारतीय विज्ञान संस्थानलाई जिम्मेवारी दियो । मानवीय कल्पनाको क्षमताभन्दा टाढा विशाल शून्यमा रहेको सत्यलाई यथार्थमा समेट्ने परिश्रमले नै मानव सभ्यताको विमान उडिरहेछ । समय र समाजका सिमानालाई विस्तारित गरिदिने लहर यस्तै खोजीको गर्विलो इतिहास हो ।

प्रकाशित : माघ ४, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×