कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिको संवैधानिक सीमा

सम्पादकीय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत राष्ट्रपति कार्यालयलाई कार्यपालिकीय भूमिकामा संलग्न गराउन खोजिनु हरदृष्टिकोणबाट आपत्तिजनक छ । मन्त्रिपरिषद्ले दुई साताअघि पारित गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधिले राष्ट्रपतिलाई संवैधानिक सीमाभन्दा बाहिर गएर सक्रिय हुने भूमि प्रदान गरेको छ ।

राष्ट्रपतिको संवैधानिक सीमा

यो कार्यविधि नसच्याई हुबहु लागू गरिएमा स्वयं राष्ट्रपतीय संस्थामात्रै विवादमा तानिने छैन, संविधानसमेतको उल्लंघन हुनेछ । संविधानबमोजिम आलंकारिक भूमिकामा सीमित रहनुपर्ने राष्ट्रपतिलाई विद्यालय छनोटदेखि योजना वितरणसम्मका गतिविधिमा संलग्न गराउन खोज्नु सरासर असंवैधानिक छ । शिक्षा मन्त्रालयले पठाएको मस्यौदामा हेरफेर नै गरेर त्यसमा जुनसुकै उद्देश्यले राष्ट्रपतिको भूमिका बढाउन खोजिएको भए पनि अन्ततः त्यसले शीतल निवासकै साख धमिल्याउने छ ।


सरकारले यस आर्थिक वर्षदेखि लागू गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पाँच अर्ब रुपैयाँ बजेटमध्ये पौने दुई अर्ब सामुदायिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड खरिद गर्न स्थानीय तहलाई पठाइएको छ । बाँकी सवा ३ अर्ब रुपैयाँ खर्च गर्न कार्यविधि बनाइएको हो । विडम्बना के छ भने यस्तो योजना छनोट गर्ने जिम्मा गैरसंवैधानिक रूपमा संघीय सरकारलाई मात्र होइन, राष्ट्रपति कार्यालयलाई समेत दिइएको छ । कार्यविधिअनुसार संघीय शिक्षामन्त्री अध्यक्ष हुने निर्देशक समितिले निर्धारण गरेको प्राथमिकता क्षेत्रभित्र रहने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक शैक्षिक संस्था छनोट गर्नेछ । यसक्रममा ‘राष्ट्रपति कार्यालयबाट सिफारिस भई आएका कार्यक्रमहरूलाई प्राथमिकता क्रममा राखी कार्यान्वयनमा ल्याइने’ कार्यविधिमा उल्लेख छ । यसरी योजनाका लागि राष्ट्रपति कार्यालयमा समेत निवेदन दिन सक्ने व्यवस्था गरिनु राष्ट्रपतिलाई राजकाजमा प्रत्यक्ष संलग्न गराउनु हो । हाम्रो संविधानले राष्ट्रपति कार्यालयको यस्तो सक्रियता र संलग्नताको कल्पना गरेकै छैन ।


यतिमात्र होइन, विद्यालयको स्वर्ण, हीरक र शताब्दी महोत्सवमा प्रमुख अतिथिको भूमिकामा राष्ट्रपति जाँदा अनुदान दिन सक्ने गरी कार्यविधि बनाइएको छ । शिक्षा मन्त्रालयबाट पठाएको मस्यौदामा नभएको यस्तो प्रावधान मन्त्रिपरिषद् आफैंले थपेको हो । राष्ट्रपति पुगेको विद्यालय व्यवस्थापन समितिले गरेको गुनासो सुनुवाइका नाममा सरकारले जुन उद्देश्यले यस्तो व्यवस्था राखेको भए पनि यो सरासर अनुचित छ । सायद योजना बाँड्दै हिँड्ने रहर राष्ट्रपतिलाई पनि नहोला, उनलाई खुसी तुल्याउन यस्तो प्रावधान राखिएको हुन सक्छ । तर, तत्कालीन राजाहरूले देश दौडाहाका क्रममा योजना बाँडेभन्दा कत्ति पनि फरक नदेखिने यो अवधारणा स्वयं राष्ट्रपति संस्थाकै लागि प्रत्युत्पादक हुनेछ ।


राष्ट्रपतिका नाममा शैक्षिक, सामाजिक, पर्यावरणीयजस्ता कार्यक्रमहरू हुनु अन्यथा होइन, तर तिनमा राष्ट्रपति वा उक्त कार्यालयकै संलग्नता खोजिनुचाहिँ हाम्रो संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपतिको अवधारणाको खिलाफमा जानु हो । संविधानको पालकका रूपमा राष्ट्रपतिको भूमिकालाई जति बढी आलंकारिक रूपमा मात्रै सीमित गरिन्छ, यो संस्थाको गरिमा पनि त्यति नै वृद्धि हुन्छ । संवैधानिक राष्ट्रपतिको असली अभ्यासले मात्र शिशु गणतन्त्रलाई हुर्काएर परिपक्व बनाउन मद्दत पुर्‍याउँछ । राष्ट्रपति कार्यालय र मन्त्रिपरिषद्ले आजको मितिमा राष्ट्रपतिलाई विवादमा नल्याउन जति भूमिका खेल्छन्, त्यति नै यस संस्थाप्रति जनमानसमा सम्मान अभिवृद्धि हुनेछ । प्रत्यक्ष वा परोक्ष जुनसुकै तवरले होस्, राष्ट्रपतिलाई कुनै पनि कार्यपालिकीय भूमिकामा संलग्न गराउनु भनेको राज्य प्रमुखका रूपमा रहेको उक्त संस्थाको छविमा क्षति पुर्‍याई गणतन्त्रको संस्थागत विकासमाथि प्रहार गर्नु हो । यसै पनि सरकारका कामकारबाहीदेखि सत्तारूढ दलका छिनाझपटीहरूमा समेत चासो राख्ने र हस्तक्षेपमा उत्रिने गरेको भन्दै राष्ट्रपतिको आलोचना हुने गरेको छ । त्यसमाथि सरकारले नै राष्ट्रपतिलाई प्रत्यक्ष भूमिका दिन खोज्नु अस्वाभाविक छ ।


त्यसो त, कार्यविधिले यो कार्यक्रमलाई जुन हिसाबले केन्द्रीकृत रूपमा सञ्चालन गर्न खोजेको छ, त्यो नै गैरसंवैधानिक र संघीयताको विरुद्धमा छ । संविधानले विद्यालय तहको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइसकेको छ । तर, विद्यालय सुधार गर्न छानिने योजनाको अन्तिम निर्णय संघीय सरकारले गर्ने र योजना कार्यान्वयन गर्ने जिम्मेवारीमात्रै स्थानीय तहलाई दिने व्यवस्था कार्यविधिमा छ । स्थानीय तहमा संघले आफ्नो तजबिजी अधिकार राखिरहन चाहनु उही पुरानो केन्द्रवादी सोच हो । स–साना योजना पनि यसरी केन्द्रबाटै छान्ने हो भने संघीयताको कुनै अर्थ रहँदैन । संघले छान्ने योजना सम्बन्धित विद्यालयको स्थानीय आवश्यकतामा आधारित हुन्छ भन्ने हुँदैन, उही माथिबाट लाद्ने पुरातन विकास शैलीको प्रतिरूप हो यो । यसमा संघको भूमिका केवल बजेट निकासामा सीमित गरिनुपर्छ ।


कार्यविधिमा कार्यक्रमको अनुगमनसमेत संघीय सरकारले गर्ने भनिएको छ । हाम्रो शासन सञ्चालकहरूमा स्रोतमाथिको कब्जा आफूमा मात्रै रहोस् र त्यसको वितरण आफूप्रति कृतज्ञ रहेका र रहनेहरूलाई मात्रै गर्न पाइयोस् भन्ने सोच विद्यमान देखिन्छ । र, त्यस्तो सोचको कार्यान्वयनमा राष्ट्रपतिलाई पनि संलग्न गराइन खोजिएको छ । तसर्थ, सरकारले तत्काल यस्तो व्यवस्था सच्याउनुपर्छ, राष्ट्रपति कार्यालय र त्यहाँका सल्लाहकारहरूले पनि यसका लागि पहल गर्नुपर्छ ।

प्रकाशित : माघ २२, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?