कांग्रेस विघटनको परिदृश्य

विष्णु सापकोटा

नेपालमा अहिले राजनीतिक टिप्पणीका लागि कुनै शीर्षक सबैभन्दा लालित्यहीन छ भने त्यो हो— ‘नेपाली कांग्रेसलाई कसरी सुधार्ने’ । केही वर्षयता यो विषयमा अति धेरै लेखिएका कारण त्यस्तो भएको हुन सक्छ । त्यसमाथि पटक–पटक कांग्रेसकै कतिपय ‘नेता’ ले किन अरूले ‘आफ्नो’ पार्टीको चिन्ता गर्नुपर्‍यो भनिसकेको स्थितिलाई थोरै भए पनि सम्मान गर्नु एउटा राजनीतिक संस्कार हुनसक्छ ।

त्यसैले कुनै हालतमा पनि नसुधारिन आफै कटिबद्ध भएको दलबारे अरूले गर्न सक्ने टिप्पणी भनेको उक्त पार्टी विघटन नै भयो भने देशलाई के फरक पर्ला भन्ने हो । हुन त देशको चिन्ता पनि ‘तिमीहरू’ ले किन गर्नुपर्‍यो भनेर त्यो चिन्तामाथि समेत एकाधिकार जमाउन खोज्ने सत्ताधारी वृत्तका राष्ट्रवादी त अहिले पनि छन्, जसरी पहिले हुने गर्थे । यसरी ‘सबै कुरा राम्रो हुँदै गएको छ, तैपनि अझै चिन्ता गर्न खोज्ने’ भनेर सत्ताधारीले जहिले पनि हप्काउन त खोजिहाल्छन् । पार्टीमा आबद्ध भएका बाहेकका नागरिकले कम्तीमा देशप्रति कुनै रूपमा चिन्ता गर्न पाउने हक जोगाउनु स्वयं नै चिन्ताको विषय भएको छ । अब कहिल्यै नेपालको ‘विश्वकै उत्कृष्ट संविधान’ यदि संशोधन भइहाल्यो भने प्रत्येक नागरिकले देशको कुनै पनि विषयमा निर्बाध रूपमा चिन्ता गर्न पाउनेछन् भनेर मौलिक हकमै लेख्नुपर्ने पनि हुन सक्छ ।


केपी ओली नेतृत्वमा सरकार बनेपछि प्रतिपक्षले खेल्नुपर्ने प्रत्येक महत्त्वपूर्ण सवालमा कांग्रेस भुत्ते भयो भनेर गरिएको आलोचनाबीच उसले दुई वर्षकै निकम्मापनलाई जवाफ दिने गरी महाधिवेशन गर्ने तालिका सार्वजनिक गर्न सकेको छ । अब महाधिवेशन नै गर्ने भएपछि अर्को वर्ष उक्त पार्टीको नेतृत्व कसले र किन गर्ने होला भन्ने आधारभूत प्रश्न त समाजको चिन्ताको विषय नभए पनि रुचिको विषय हुने नै भयो । यही प्रसंगलाई समातेर एउटा सैद्धान्तिक परिदृश्यबाट कुरा सुरु गरौं । साँच्चै, नेपाली कांग्रेस विघटन भयो भने त्यसले नेपाललाई के–के असर पर्ला ? यो–यो विषयमा यसरी नकारात्मक असर पर्छ भन्ने निर्क्योल गर्न सकियो भने त्यो पार्टी किन र कसरी सम्हालिनुपर्छ भन्ने विषय आउँछ । हैन, उक्त पार्टी नभएर त्यसका केही नेता–कार्यकर्ताको तत्कालको रोजीरोटी र मानपदवी मात्र खोसिने हो, देशलाई केही फरक पर्दैन भने त्यो केवल कांग्रेसका ‘स्टेकहोल्डर्स’ को मात्र चिन्ताको विषय हो ।


जस्तो, विगत दुई वर्ष देशमा कांग्रेस नभएको भए के फरक हुने थियो भनेर हेरौं । कांग्रेसकै कतिपय सदस्य र शुभचिन्तकसहित धेरै सहमतजस्तै भएको विषय के हो भने, विगत दुई वर्षमा ओली सरकार यति निकम्मा हुन पुग्नुमा प्रमुख प्रतिपक्षको पनि राम्रै योगदान छ । सरकारका बेथितिका शृंखलामा प्रतिपक्षी दलका नेता कि आफै सामेल भएको इतिहास छ कि त प्रतिपक्षी दल तटस्थ बसेको वर्तमान साक्षी छ । त्यस कारण, मानिलिऔं दुई वर्षयता कांग्रेस प्रतिपक्ष हुँदैनथ्यो । त्यसको परिणाम के हुन्थ्यो भने, नागरिक समाज र बौद्धिक समुदाय अहिलेभन्दा बढी जागरुक हुन्थ्यो सरकारको रचनात्मक आलोचना गर्न र सरकार सायद अलिक छिटो सच्चिन पाउँथ्यो ।


(नागरिक समाज भनेर फेरि अहिले भइआएको वा पहिले भएकोलाई मात्र बुझ्नु हुँदैन । नागरिक समाज त स्वभावैले जहिले जरुरी पर्छ, त्यति बेला तुरुन्त संगठित हुन सक्ने तत्त्व हो ।) एकातिर कांग्रेस प्रतिपक्षमा छ भनेर सुरुमा धेरैले उसको प्रभावकारी भूमिका पर्खेर बसे । जब सरकार संलग्न कुनै बेथितिबारे नागरिक आवाज मुखरित हुन थाल्यो, तब प्रतिपक्ष त्यो आवाजमा सामेल हुन आयो भने उक्त आवाज नै नैतिक रूपमा कमजोर हुने स्थिति बन्यो । त्यस्तो कमजोर नैतिक धरातल, वैचारिक दिवालियापन र बौद्धिक अक्षमताले ढाकिएको प्रतिपक्षी नेतृत्व नभएको भए देशका लागि यो विषयमा यस्तो नोक्सानी हुन्थ्यो भन्ने देखिँदैन । उसका एक–दुई सांसद र नेताले राम्रो भूमिका खेले होलान् । तर यहाँ छलफल गर्न खोजेको उक्त पार्टीको सांगठनिक नेतृत्वको हो । प्रायः समाजमा ‘स्थापित’ मान्यतामाथि प्रश्न उठाइँदैन । कुनै दल अस्तित्वमा छ भने त्यो किन अस्तित्वमा छ वा हुनुपर्‍यो भन्ने आधारभूत प्रश्न उठाउने जांँगर धेरैमा हुँदैन ।


नेता–कार्यकर्ता किन कुनै दलमा आबद्ध छन् र हुन्छन् भन्नेबारे त अब नेपाली समाज सायद प्रस्ट भइसकेको छ । तसर्थ अबको प्रश्न कुनै दल अस्तित्वमा छ भने ऊ अस्तित्वमा रहनुको सामाजिक उद्देश्य के हो भन्नेबाटै थाल्नुपर्छ । अब नगरी नहुने बाध्यात्मक परिस्थिति भएका कारण कांग्रेसले महाधिवेशन गर्न लागेको हो । महाधिवेशन हुने नै भएपछि उक्त प्रक्रियाबाट कांग्रेसले के प्राप्त गर्ला त, जुन अहिलेको भन्दा फरक हुनेछ ?


कुल मिलाएर कांग्रेसको नेतृत्वमा चाहिने योग्यता यत्ति हो— कुनै पनि राष्ट्रिय मुद्दामा प्रस्ट भिजन र विचारसहित पाँच मिनेट प्रखर रूपमा बोल्न सक्ने । त्यसरी बोल्दा उक्त बोलीमा एउटा आधिकारिकता (अथेन्टिसिटी) र वैधता भएको हुनुपर्ने, ताकि पार्टीका सदस्यले प्रस्ट सन्देश पाऊन्, कुन राष्ट्रिय मुद्दामा नेतृत्वले कस्तो भिजन राखेको छ भनेर । यसका लागि चाहिने अलिकति बौद्धिकता र धेरै मात्रामा वैधता हो बोल्ने मान्छेको, जुन अहिलेको नेतृत्व र नेतृत्व पंक्तिका धेरैसँग छैन । एक पटक गुमेपछि फर्काउन सबैभन्दा गाह्रो मान्छेको वैधता नै हो । वैधताको स्रोत सदाचार वा सादगी त हो नै, यो त्योभन्दा पनि धेरै हो । उदाहरणका लागि, भौतिक सम्पत्तिको लोभबाट त्यो स्तरको मानसिक मुक्ति कांग्रेसका सन्तनेता किशुनजीले जति अरूले प्राप्त गरेनन् । बौद्धिकता र दार्शनिकता पनि उनका मनोवृत्तिकै अंश थिए । तर यथार्थ के थियो भने, जीवनको पछिल्ला समयमा उनले समेत राजनीतिक वैधता गुमाएका थिए । किनकि उनले त्यस बेला सामाजिक स्वीकृतिमा अवैध भएको राजसंस्थाप्रतिको राजनीतिक विचार बदल्न सकेका थिएनन् ।


जबकि किशुनजीको स्तरको व्यक्तिको वैधता त त्यसरी संकटमा परेको थियो भने, अहिलेको समयमा कुनै ‘प्रतिगामी’ एजेन्डा बोकिहिँड्ने व्यक्तिले पहिल्यै अवैध भएको व्यक्तिलाई प्रतिस्थापन गर्नु कांग्रेस र देश दुवैका लागि अर्थहीन छ । शेरबहादुर देउवाको विकल्प भनिएका शशांक कोइराला र शेखर कोइराला विभिन्न खालका बेथिति र काण्डमा नमुछिएका होलान्Ù अहिलेसम्म राज्यसत्तामा सोझै सामेल नभएको फाइदा उनीहरूलाई छ, नयाँ अनुहार भनिनका लागि, तर उनीहरूका राजनीतिक विचार न त समकालीन नेपाललाई कुनै दिशा दिने खालका छन्, न पार्टीबाहिरको बृहत् बौद्धिक पंक्तिमा कुनै प्रेरणा भर्ने खालका छन् । धार्मिक–सांस्कृतिक रूपमा प्रियतावादी नारा बोक्दा पार्टीका परिवर्तन आत्मसात् गर्न नसकेका कार्यकर्ता खुसी होलान्Ù त्यसले पार्टीलाई चुनाव जित्न सहयोग पनि गर्ला, तर नेतृत्वको काम पुरातनमुखी कार्यकर्ताको पछि लागेर चुनाव जित्ने मात्र होइन, बौद्धिक रूपमा अलमलिएका कार्यकर्ताहरूलाई दह्रो आत्मविश्वासका साथ बाटो बताउने पो हुनुपर्ने हो !


दुई वर्षको सरकार सञ्चालनमा भनेजति गर्न नसकेको सरकार प्रमुख स्वयंले भन्न थालेका छन् । तर नेपाली कांग्रेसको अहिलेको नेतृत्वले सरकार केमा कसरी चुक्यो र गर्नुपर्ने के थियो भनेर पाँच मिनेटसम्म खरर बोल्नै सक्दैन । न बोल्न आउँछ, न लेख्न, न त तीक्ष्ण राजनीतिक विश्लेषण गरेर आफ्ना कार्यकर्तालाई कुनै सन्देश दिन । पार्टीमा जो बोल्न, लेख्न, विश्लेषण गर्न सक्छन्, तिनीहरू नेतृत्वमा छैनन् । अब यस्तै निकम्माहरूका बीच मात्र नेतृत्वको साटासाट हुने हो भने त्यस्तो पार्टीले देशलाई के योगदान देला भनेर अपेक्षा गर्ने ? त्यस कारण, मूल विषय महाधिवेशन होइन, किनकि महाधिवेशन त एउटा माध्यम मात्र हो । यस माध्यमबाट यो पार्टी रूपान्तरण हुन सक्छ कि सक्दैन भन्ने कुरा नेपालको आगामी केही वर्षसम्मको शासकीय अभ्यास, क्षमता र इमानसँग जोडिन्छ । सरकार चलाउने दल र प्रतिपक्ष उस्तै चरित्रका हुने, अनि प्रतिपक्षभित्र एकअर्कासँग महाधिवेशनमा प्रतिस्पर्धा गर्ने पनि उस्तै चरित्रका दुई वा तीन पात्र मात्र हुने अहिलेको निसासिंँदो यथास्थितिबाट कतै नपुगिने प्रस्ट छ ।


विघटन भन्नाले कुनै अदालत वा निर्वाचन आयोगको आदेशले जस्तो कुनै पनि दल एक दिनमा वा वर्षमा त विघटन नहोला, तर जुन परम्परा र आन्दोलनले कांग्रेस बनेको थियो, त्यो बांँकी नरही विगत केही वर्षकै जस्तो कांग्रेस निरन्तर रहिरहनु भनेको त्यो विघटनसरह नै हो । आजका दिनमा भर्खर १८–२० को उमेरमा भएको समाजलाई केही योगदान दिने महत्त्वाकांक्षा र आदर्श बोकेको युवालाई कांग्रेसले आफ्नो सदस्य बनाउन के प्रेरणा दिन सक्छ ? यस्ता आधारभूत प्रश्नको जवाफ नखोजी गरिने महाधिवेशन केवल गुटहरूका पार्टी सत्ता र स्रोतलाई कब्जा गर्ने अभ्यास मात्र हुन् ।


नेपाली जनताको मनोदशा अहिले शिथिल मोडमा पुगेको छ । सबै दल उस्तै, प्रायः नेता उस्तै, देशको हालत सधैं उस्तै, जुन क्षेत्रमा केही त राम्रो होला भन्यो त्यही झन् नराम्रो, फलानोजत्तिको व्यक्ति फलानो ठाउँमा आए त केही हुन्थ्यो कि भनेर आश गर्‍यो, ऊ आउँदा पनि उस्तै — आम नेपालीका आम अनुभव यस्तै छन् । यो स्थिति प्रमुख प्रतिपक्षी दलभित्रै एउटा सशक्त र संगठित प्रतिपक्षको उदय हुनका लागि राम्रो छ । त्यस्तो पंक्ति त्यहाँबाट उदायो भने उसले कांग्रेसलाई मात्रै होइन, राजनीतिलाई नै मूलभूत लक्ष्यमा फर्काउन योगदान दिन सक्छ ।


नत्र भने सम्भावना भएका युवापंक्ति पनि कुनचाहिँं शीर्षमध्येको गुटमा लाग्दा कुन पद पाइएला भनी नापतौल गरेर भविष्यका लागि सानोतिनो पदको सुरक्षा गर्नतिर लाग्ने हो भने, महाधिवेशन उसका ‘सेयरहोल्डर’ का लागि मात्रै रुचिको विषय हुनेमा निश्चिन्त हुन सकिन्छ । सुन्दा योभन्दा अप्रिय र रिसउठ्दो अरू के होला ? तर त्यस्तो महाधिवेशनले पार्टीलाई अन्ततः डोर्‍याउने भनेको विघटनतर्फ नै हो । प्रकाशित : माघ २१, २०७६ ०८:५०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दलीय कार्यकर्ता : राष्ट्रिय लज्जा

अब समाजमा कसैले आफूलाई राजनीतिक कार्यकर्ता भन्छ भने उसलाई प्रश्न गर्नुपर्ने भएको छ- तिमी केका लागि राजनीतिमा छाै ?
विष्णु सापकोटा

विषयको सुरुआत गर्दा नै उदेक लाग्ने स्थिति छ । यसो सोचौं न— अहिले कम्युनिस्ट पार्टीका नाममा ‘दलाल पुँजीवादी’ सत्ता चलाउने एमाले र माओवादी इतिहासमा कत्रो ठूलो आदर्श बोकेर स्थापित भएका राजनीतिक आन्दोलन थिए !

नेपाली कांग्रेस पार्टीको जन्म त नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना गर्न मात्र होइन, नेपाली समाजलाई नै आधुनिकतातर्फ डोर्‍याउने हदसम्मको उद्देश्यद्वारा निःसृत थियो । र अहिले आएर हेरौं, यी दुवै (वा तीनै, जसरी गने पनि) दलको नेतृत्व के भएको छ, कस्ताको भएको छ र त्यस्तो किन भएको छ ?

तर यस लेखले अहिलेका ‘प्रमुख’, ‘उपप्रमुख’ वा ‘सहायक’ राजनीतिक दलको नेतृत्वबारे चर्चा गर्न खोजेको होइन । तिनका बारे यति धेरै लेखिएको र बोलिएको छ, यस्ता प्रयासबाट उनीहरूको नसुन्ने क्षमता बढ्नेबाहेक अरू केही हुन सके जस्तो लाग्दैन । केही समययता पंक्तिकारको मनमा २०४० को दशकदेखिका तमाम राजनीतिक कार्यकर्ता घुमिरहेका छन् । कांग्रेस, माले, एमाले, माओवादी र पछि आएर ‘मधेसवादी’ पार्टीका आदर्शमा विश्वास गरेर, तिनमा आबद्ध भएकामा गर्व गर्ने लाखौं जागरुक नेपाली राजनीतिक समाजका सदस्यहरू अहिले के सोच्दै बसिरहेका होलान् ? तिनीहरू अझै पनि आफ्नो दलीय आबद्धताप्रति गर्व गरिरहेका छन् कि पश्चात्ताप ? यस लेखको प्रस्तावना चाहिं के छ भने, आजका दिनमा आम रूपमा कुनै पनि नेपालीलाई दलको कार्यकर्ता हुँ भन्दा लाज लाग्ने स्थिति छ । जब देशका लाखौं राजनीतिक सदस्य लज्जाको स्थितिमा हुन्छन् र बाँकी लाखौं तिनै राजनीतिकर्मीलाई सराप्दै बस्छन्, यस स्थितिले हामीलाई अन्ततः कता पुर्‍याउला ? ‘नयाँ नेपाल’ को सपनाले डेलिभरी गर्ने नेपाल यही थियो त ?

सबैले सहजै बुझ्ने विषय के हो भने, राजनीतिक दलको स्थापना नै देशका समस्यालाई समाधान गर्न र जनताका मुद्दालाई सम्बोधन गर्न भएको हुन्छ । तर धेरै वर्षदेखि सुरु भएर अहिले उत्कर्षमा पुगेको यथार्थ के हो भने, हाम्रा लागि दलहरू स्वयं नै समस्याका स्रोत भएका छन् । उदाहरणका लागि, देशमा भ्रष्टाचार बढ्नु समस्या हो, जसलाई सम्बोधन गर्ने अभियान चलाउनु र त्यही अनुसारका विधि तय गर्नु राजनीतिक दलको कर्तव्य हुनुपर्ने हो । तर हाम्रो परिस्थितिमा भ्रष्टाचार कसले बढाएको छ ? उत्तर सहज छ । देशमा सुशासन नभएको मुद्दालाई सम्बोधन गर्न राजनीतिक दल तम्सिनुपर्ने थियो । हाम्रो वास्तविकता के छ भने, सुशासनका प्रमुख दुस्मन नै राजनीतिक दल छन् 
देशका राष्ट्रिय संस्था, विश्वविद्यालय आदि सबै आफ्नो मानक र कर्तव्यबाट हरेक महिना च्युत हुॅदै गइरहेका छन् । हाम्रा राजनीतिक दलहरू यस्ता समस्याको समाधानका लागि अहिले राजनीति गरिरहेका छन् कि यी समस्याका स्रोत तिनै हुन् ? उपर्युक्त तमाम बेथितिको स्रोत को हो, सर्वविदितै छ । नेपाल ट्रस्टसम्बन्धी काण्डदेखि खराब ठेकेदारको अभिभावकत्व आदिसम्मका उदाहरणबाट औसत कार्यकर्तालाई पनि प्रस्ट भएको हुनुपर्छ, उनीहरूको नेतृत्वले कसका लागि र कस्तो राजनीति गरिरहेको छ । यस्तो देख्दादेख्दै तमाम कार्यकर्ता किन तिनै दलमा त्यही नेतृत्व स्विकारेर बसेका छन् त ?

यसको ‘एम्पिरिकल’ जवाफका लागि बृहत् अनुसन्धान नै हुनुपर्ला, तर केही उत्तर सजिलै अनुमान गर्न सकिन्छ । पहिलो र सबैभन्दा महत्त्वपूर्ण जवाफ के होला भने, जसरी तिनका नेताहरू राजनीतिक आन्दोलनमा होमिँदा असल उद्देश्यबाट प्रेरित थिए र पछि शासक भएपछि ‘डिजनरेट’ भए, त्यसरी नै प्रायः कार्यकर्ता आफ्ना आदर्शबाट च्युत भइसकेका छन् । तिनीहरू आफै यसरी नैतिक रूपमा पतन भइसकेका छन्, अब तिनले असल र खराबको भेद छुट्याउनै सक्दैनन् । तिनका नेताको राजनीतिमा लाग्नुको उद्देश्यमा परिवर्तन आएजसरी नै ती पनि बदलिइसके । त्यसैले ती कार्यकर्ता निमुखा र निरीह होइनन् । (यहाँ सजिलोका लागि ‘कार्यकर्ता’ भनिएको हो । यसभित्र पार्टीका विभिन्न तहका सदस्य र स्थानीय संरचनाका पदाधिकारी पनि पर्छन् ।)

कुनै पनि ‘बिग्रेको’ व्यक्ति वा संस्थालाई बिनाकुनै हस्तक्षेप सुधार्न गाह्रो हुन्छ । त्यो हस्तक्षेप बाह्य वा आन्तरिक जे पनि हुन सक्छ । तर नेपालमा कुनै पनि हस्तक्षेपको तत्काल सम्भावना देखिँदैन । कार्यकर्ता आम रूपमा आफै उही ‘सिस्टम’ को अंग भइसके । एउटा बाह्य हस्तक्षेप भनेको चुनाव हो, जसले खराबलाई पाखा लगाउन सक्थ्यो । नेपालमा त्यो पनि हुनेवाला छैन । त्यसैले सबैजसो बेथितिको निकासका लागि मूल चिन्ता यो दुश्चक्रबाट कसरी निस्कने भन्ने नै हो । र, त्यस्ता दलहरू प्रभावशाली हुने वातावरण बनाउने, जो समस्याका स्रोत होइनन् । नत्र भने, तपाईं शिक्षामा सुधार कसरी अपेक्षा गर्नुहुन्छ, जब निजी विद्यालयको विसंगतिले फाइदा दलीय कार्यकर्तालाई गरिरहेको छ ? स्वास्थ्य क्षेत्रको बेथितिको स्रोत पनि सबैसामु छर्लंग छ नै ।

चाहे नेकपा होस् कि कांग्रेस, हरेक पार्टी कमिटीका बैठकका अजेन्डा कहिल्यै देशका, समाजका भएको सुन्नुभएको छ ? ती सबैको मूल ध्याउन्न आफ्नो गुट, आफ्नो पार्टीमा प्रभाव कसरी बढाउने भन्ने नै छ । पार्टीमा प्रभाव किन भने त्यसपछि राज्यको स्रोतमा आफ्नो पहुँच पुग्छ । यस्तो देख्दादेख्दै, आफू पनि त्यसैको अंग बनेर देशभरि छिरलिइरहेका दलीय कार्यकर्ता जति छन्, ती सबैले लज्जाबोध गर्नुपर्ने हो, आफू किन राजनीतिमा लागें भनेर । ती कार्यकर्ता वा पार्टी सदस्यलाई आफू यो भ्रष्ट प्रणालीको अंग भएको छैन भन्ने लाग्छ भने, तिनले अब आफैलाई प्रश्न गरून्— उनीहरू व्यक्तिगत रूपमा अर्थोक केही गर्न सक्ने क्षमता नभएर राजनीतिमा लागेका त होइनन् ? आफ्नो जीविकोपार्जन नै राजनीति भएका कारण त राजनीतिमै टाँसिइरहेका होइनन् ? नेपालको अहिलेको दुर्भाग्य नै यिनै लाखौं राजनीतिक कार्यकर्ता त होइनन्, जसले राजनीतिलाई शुद्धीकरण गर्नमा भन्दा भ्रष्टीकरण गर्नमा बढी योगदान दिएका छन् ?

नेकपा कार्यकर्ताका लागि त संघदेखि स्थानीय तहसम्म सत्ता हातमा छ, स्रोतमाथि पहुँच र पकड छ, जब राजनीति गर्ने उद्देश्य नै आजीविकामा (त्यो पनि अनैतिक ढंगबाट) परिणत हुन्छ, उनीहरूले अर्को चुनावसम्म आफ्नो नेतृत्वमाथि प्रश्न त्यसै पनि कम गर्ने होलान्; तर त्यो प्रतिपक्षी नामको कांग्रेस छ नि, त्यसका सभापति शेरबहादुर देउवाले चौबीस वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा नै यो जुनीका लागि ‘प्रतिपक्षी’ नेता हुने सबै नैतिक क्षमता गुमाएका हुन् । उनको बाँकी जीवन सत्ताका लागि भन्ने प्रस्ट भएकै वर्षौं भइसक्यो । नेपालको संसदीय राजनीतिको इतिहासमा प्रतिपक्षी दलका लागि राजनीति गर्न र अर्को चुनाव जित्न अहिलेजति अनुकूल परिस्थिति कहिल्यै थिएन ।

काण्डैकाण्डले भरिएका दुई वर्षमा देउवा स्वयंको विगत यसरी मिसिएर आयो, कांग्रेसले आफ्नो प्रतिपक्षी ‘स्पेस’ मा नैतिक दाबी गर्नै पाएन । तैपनि कांग्रेसमा देउवा नै अरूभन्दा बलिया किन देखिन्छन् भन्ने पनि प्रस्ट छ । उक्त दलका प्रायः कार्यकर्ता देउवाले प्रतिनिधित्व गर्ने ‘सिस्टम’ को हिस्सा बनिसके । उनीहरू राजनीतिमा रहनुको कारण नै अब बदलिइसक्यो । जब राजनीतिमा लाग्नुको कारण नै जीविकोपार्जन — त्यो पनि अनैतिक आयस्रोतमार्फत — हुन जान्छ, तब किन नभन्ने यो देशको दुर्भाग्य राजनीतिक दलका कार्यकर्ता हुन् भनेर ?

लेखकीय न्याय गर्न मात्रै भए पनि मधेसवादी दलबारे दुई पंक्ति लेखिहालूँ । सुशासन र आर्थिक मामिलामा उनीहरू कहिल्यै अरूभन्दा गतिला त्यसै पनि थिएनन् । त्यसमाथि, आफ्नो बाँकी रहेको संविधान संशोधनको एक मात्र राजनीतिक मुद्दामा उक्त मुद्दाकै प्रमुख विरोधी केपी ओलीसँग काँध मिलाउन गइसकेपछि उनीहरूले राजनीति किन गरिरहेका रहेछन् भन्ने प्रश्नै रहेन । मधेसका जनतासँग मुद्दा अझै होलान्, तर त्यसको प्रतिनिधित्व अब उपेन्ı यादवदेखि राजेन्ı महतोसम्मले गर्दैनन् । ठीकै भो, संविधान संशोधनलाई मागिखाने भाँडो बनाएर उनीहरूले पालैपालो पुनः सत्तास्वाद लिन पाउने भए । संशोधन सुन्नै नचाहनेलाई पनि खोजे जस्तो भयो— एकदुई मन्त्री पद दिएर त्यो सम्पूर्ण मुद्दा नै ‘डाइल्युट’ गर्न सक्नु अति सजिलो उपाय जो ठहर्‍यो ।

सभ्यताको विकासक्रममा — र आधुनिक राष्ट्र राज्य बनेपछिको केही शताब्दीको अनुभवमा — सधैं प्रमाणित विषय के हो भने, मान्छेको जात बिग्रेपछि आफै सुध्रिँदैन । किनकि उसलाई आफू बिग्रे जस्तै लाग्दैन । आफू बिग्रेको छु भनेर आत्ममूल्याङ्कन गर्न नसक्नु मान्छेको नैसर्गिक चरित्रमै पर्छ । त्यसैले नेतृत्व बिग्रियो भने त्यसलाई कार्यकर्ताले फेर्ने हो । जब कार्यकर्ता र नेताको नैतिक पतनको रफ्तार एउटै हुन्छ, तब उक्त देशको हालत अहिलेको नेपालको जस्तो हुन्छ । व्यक्तिगत कुराकानीमा प्रायः कार्यकर्ताले वर्षौंदेखि भन्दै आएका छन्, ‘के गर्ने, हाम्रा नेताहरू बिग्रे ! हाम्रो कोसिस तिनलाई सुधार्नेतर्फ छ ।’ तर सायद यथार्थ अर्कै छ । कार्यकर्ता पनि नेताजत्तिकै बिग्रिसकेका छन् । तसर्थ अब समाजमा कसैले आफूलाई राजनीतिक कार्यकर्ता भन्छ भने उसलाई प्रश्न गर्नुपर्ने भएको छ— तिमी केका लागि राजनीतिमा छौ?

प्रकाशित : पुस २१, २०७६ ०९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×