१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना नमस्ते

कोरोना भाइरसको संक्रमणले सबैलाई त्राहिमाम् बनाइरहेको छ । पछिल्लो दशकमा बर्डफ्लु, स्वाइनफ्लु, सार्स, इबोला भाइरस, जिका, मर्स, स्क्रब टाइफस, डेंगीपछि अहिले चीनबाट कोरोना भाइरस संक्रमण देखिएको छ । दसैं अगाडि मात्र नेपालमा डेंगीको सन्त्रास फैलिएको थियो । 

कोरोना नमस्ते

कुनै पनि सरुवा रोग सर्नका लागि संक्रामक जीवाणु, सम्भावित व्यक्ति अनि माध्यम चाहिन्छ । फोहोर हात, दूषित खानेकुरा, फोहोर पानी, दूषित भाँडाकुँडा, संक्रमित हावा, संक्रमित शारीरिक स्राव आदि संक्रमण सार्ने माध्यम हुन सक्छन् । यिनमा फोहोर हातको भूमिकाचाहिँ मुख्य हुन्छ । खानेकुरा बनाउने, पस्किने, भाँडाकुँडा चलाउने, पानी वा वरिपरिको वातावरण सफा राख्ने सवालमा हाम्रो हातकै भूमिका हुन्छ ।


हामी, विशेषतः तेस्रो विश्वका बासिन्दाहरू, आधुनिक बन्ने सिलसिलामा पश्चिमा वा अमेरिकी मुलुकका चालचलन पछ्याउने गर्छौं । दुई हात जोडी नमस्कार/नमस्ते गर्ने निकै राम्रो आफ्नै चलन हुँदाहुँदै हामी हात मिलाउन अघि सर्छौं । हामीले नमस्ते गर्न छोडेर किन हात मिलाउन थालेका हौंला, कसैसँग ठोस जवाफ छैन ।


हामीले हाच्छ्युँ गर्दा, खोक्दा खाली हातले नभए पकेट रुमालले नाकमुख छोप्छौं । त्यस्तै परे नाकमुख पनि खाली हातैले वा रुमालले पुछ्छौं । त्यही रुमाल खल्तीमा कोच्छौं, फेरि अर्को प्रयोजनका लागि । हामीमध्ये कतिपयको नाक कोट्याउने बानी छ । अझ कतिपय पुरुषले पिसाब फेरेपछि हात धुन्छन् नै भन्ने छैन । यस्तो परिस्थितिमा पनि कसैले हात बढाए हात मिलाउन बाध्य छौं, हामी । कसैलाई पनि तपाईंको हात सफा छ कि फोहोर भनेर सोध्न मिल्दैन ।


मैले चाहिँ केही दिनयता कसैले हात तेर्स्याए ‘कोरोना नमस्ते’ भनेर जम्लाहात गर्ने गरेको छु । तपाईंलाई लाग्ला, कोरोनासँग नमस्तेको के छ साइनो ? माथि नै भनियो, धेरैजसो संक्रामक रोग सर्नु–सार्नुमा फोहोर हातको भूमिका हुन्छ । नमस्ते गर्‍यो, ढुक्क ।


कतिलाई विश्वास नलाग्ला, कीटाणुबाट संक्रमणको हिसाबले हामीमध्ये कतिपयका मोबाइल ट्वाइलेटको कमोडभन्दा पनि फोहोर हुन्छन् । सफा नै देखिएको हातमा पनि लाखौं कीटाणु वा जीवाणु हुन्छन् । तर हामी पत्याउँदैनौं । हामीमध्ये कतिपयको बानी हात धुने भन्दै भिजाए जस्तो मात्रै गर्नेछ । हात मज्जाले साबुन–पानीले धोए पनि त्यही सिँगाने पकेट रुमालले पुछ्ने गर्छौं । त्यसैले हाम्रो हकमा, मानव संसाधन एवं अन्य पूर्वाधारको कमी भएको नेपालजस्तो मुलुकमा रोग लागेपछि उपचार गर्नुभन्दा रोकथाममै ध्यान पुर्‍याउनु बुद्धिमानी हुन्छ । त्यही भएर कोरोना भाइरस मात्रै होइन, जस्तोसुकै संक्रामक रोगलाई परै राख्न नमस्ते गर्नुमै भलो हुन्छ ।


हुन त विश्व स्वास्थ्य संगठन र चीनका स्वास्थ्य अधिकारीले कोरोना भाइरस संक्रमण मानिसबाट मानिसमा सर्छ भनेर निर्क्योल गरिसकेका छैनन्, तैपनि यो संक्रमणमा हाच्छ्युँ र खोकी आउने भएकाले यस क्रममा निस्किने र्‍याल–सिँगानको कण (ड्रपलेट) मा प्रशस्त मात्रामा भाइरस हुन सक्छ । भविष्यमा कोरोना भाइरस संक्रमण मानिसबाट मानिसमा सर्न सक्ने निर्क्योल गरियो भने, र्‍याल–सिँगानमै मुख्य संक्रामक तत्त्व हुन सक्छ । त्यही भएर खोक्ने वा हाच्छ्युँ गर्ने बेला हात होइन कुइनो, हाते रुमाल होइन टिस्यु पेपरले मुख छोप्ने गरौं ।


प्रकाशित : माघ २१, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?