विकासको ‘महायज्ञ मोडल’

सरिता तिवारी

दृश्यहरू झन्पछि झन् रोचक हुँदै छन् । रमिता हेर्नलाई सर्कस या कमेडी सो हुनुपर्दैन, देशको समकालीन राजनीति नै पर्याप्त छ । राजनीति सबै नीतिको अग्रणी भएकैले पनि राजनीतिक कलेवरमा मञ्चित रमिताहरू प्रायः क्षेत्रमा विस्तार भएका छन् । ‘व्यावहारिक’ र दैनन्दिन राजनीतिको चलखेल नै खास राजनीति हो भन्ने अपभ्रंशको विस्तार हरेक तप्कामा भएको छ ।

विकासको ‘महायज्ञ मोडल’

यसले मिलेर खाने र आम मान्छेलाई मिलेर मूर्ख बनाउने उद्यमलाई गहिर्‍याउँदै लगेको छ । फलस्वरूप विचार, मूल्य पद्धति र उचित–अनुचितको सरोकारबिना सबै ‘भाडमा जाऊन्’ भनेजसरी चलेका छन् विकास–निर्माण र राजनीतिका नाममा सर्कस र प्रोपगान्डा ।


प्रसंग भरतपुरको हो । घटनाक्रमहरू हेर्दा लाग्छ, भरतपुर प्रोपगान्डा रुचाउने सहर हो । पछिल्ला अढाई–तीन वर्षमा यहाँ रचिएका प्रोपगान्डाले राष्ट्रिय जीवनलाई तरङ्गित पार्दै आइरहेका छन् । यसलाई ‘करतब’ को महानगर बनाइदिने पछिल्ला कडीहरूमध्येको सबैभन्दा अविस्मरणीय घटना स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा रचिएको ‘मपच्या’ (मतपत्र च्यातिएको) काण्ड थियो । त्यस काण्डको अविकल अभ्यासले नागरिकको ब्यालेट राजनीतिको विश्वासमाथि अश्लील परिहास मात्रै गरेको थिएन । विचारहीन, व्यक्तिकेन्द्री र करिअरवादी गैरराजनीतिक सम्झौताको कन्टेनरबाट शासक जन्माउने जबर्जस्त प्रयत्नलाई वैधता पनि दिएको थियो ।

त्यसो हुनाका दुष्परिणाम हामी निरन्तर भोगिरहेका छौं ।

000

भरतपुर सत्तासीन नेकपाका दोस्रा अध्यक्षको गृहनगर मात्रै होइन, उनको आनुवंशिक राजनीतिको पकेट–भूमि बन्दै गरेको ठाउँ पनि हो । परिवार प्रदक्षिणाका खातिर पनि स्वस्थ आलोचना, बहस र छलफलको सट्टा भक्तिमार्ग फस्टाउँदै जानु यहाँ अनौठो लाग्दैन । परिणाम, जिल्लाको सत्तारूढ सरकारी ‘कम्युनिस्ट’ वर्ग नवोदित महानगर–सत्ताले जेसुकै गरे पनि त्यसलाई व्यावहारिक, नैतिक राजनीतिको जामा पहिर्‍याउने दिशामा लगातार तल्लीन छ । त्यसको पछिल्लो शृङ्खला बहुप्रचारित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका नाममा जोडिन आउँछ, जुन यतिखेर देश निर्माणको भाष्य कथेर धार्मिक महायज्ञ रच्न व्यस्त छ । कम्तीमा पचास करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको यो महायज्ञ आयोजक मूल समारोह समिति गठनको पहल सरकारी संयन्त्रले नै गरेको हो ।


प्रस्तावित रंगशाला निर्माणस्थलमा यति बेला धनधान्याचल महायज्ञको रौनक छ । रमाइलो त के भने, सत्तासीन पार्टी नै उक्त महायज्ञ आयोजक मूल समारोह समितिको संरक्षक र संयोजकको भूमिकामा खटेको छ । एक, सिद्धान्त र आवरणले नै किन नहोस्, ‘कम्युनिस्ट’ भनाउनुपर्ने लोभ । दुई, आफै सत्ताधारी, संस्थापन । नाम विकासको दिऊँ या अरू केही, हिजो संस्कृत शिक्षा पढाएको र क्रियाकर्म गर्न बसेकै आधारमा भौतिक कारबाही गर्दै रक्तपात चलाएको वर्ग आज यसरी यज्ञकुण्डको यजमान बन्न मिल्छ कि मिल्दैन ? हिजो डार्बिनवादी क्रमिक विकासका तर्क गरेर संगठन गर्नेहरूले आज धार्मिक जाल ओछ्याएर मानिसको चेतनामाथि खेलबाड गर्न मिल्छ कि मिल्दैन ? त्यसमाथि आफै सत्तासीन वर्ग ! विभिन्न शीर्षक र बहानामा सरकारी बजेटको हदैसम्मको दोहन गर्न मिल्ने ! एउटा रंगशाला निर्माणको परियोजनामा पूर्ण रूपले सरकारी संरक्षण र स्वामित्व लिन नसक्ने ! यस्तो कसरी हुन्छ ?


बजारमा हल्ला सुनिन्छ, निर्माणस्थलसँगैको बाटो विवाद लगायतका प्रकरणपछि धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको परियोजनाबाट बिस्तारै पछि हट्ने संकेत देखायो । रंगशाला निर्माणको रेखदेख र व्यवस्थापनको नेतृत्व गरेको महानगरपालिकाले फाउन्डेसनलाई यथावत् राख्ने सजिलो उपाय सोच्यो— महायज्ञ ! यसो गर्दा यज्ञका नाममा राष्ट्रवादी भाष्य भजाएर ठूलै रकम संकलन हुने र यसमा सोझै सरकारी पक्षको निहित मनसुबा पनि प्रकट नहुने ।


आलोचनाबाट जोगिन हो या परम्पराभन्दा फरक छौं भन्ने देखाउन, धनधान्याचल ‘महायज्ञ’ का ठाउँमा ‘महोत्सव’ भनिनुको कुनै तुक छैन । उद्घाटनका दिन खेलाडी, बौद्ध भिक्षु र कलाकारलाई आमन्त्रण गरिनु मात्रैले पनि यसलाई राजनीतिक प्रभाववृत्तभन्दा बाहिरको घटना देखाउँदैन । सरकारले नै अन्धविश्वास र संकीर्ण संस्कारको प्रवर्द्धन हुने धार्मिक कृत्यलाई आधार नबनाई विकास र निर्माणका कुनै काम गर्न सम्भव छैन भन्ने धारणाको प्रचारमा थप बल दिने भएपछि तपसिलका कुनै ढाँचा र ढर्राले केही फरक पार्नेवाला छैनन् ।


हिजो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र युगसम्मत तार्किक प्रस्तावको टेको उक्लेर धार्मिक अन्धताविरोधी राजनीति गर्नेहरू अहिले एउटा क्रिकेट मैदान बनाउने अर्थसंकलनका खातिर मात्रै विचारच्युत भएका होइनन् । स्खलनका क्रमिक शृङ्खलाको यो त अर्को दृष्टान्त मात्रै हो । वैचारिक र सांस्कृतिक स्खलनका सीमा अतिक्रमण गर्दै आउँदा अब सरम पचिसकेको अवस्था हो । यस्तो अवस्थालाई पुष्टि गर्न ‘कम’रेडहरूको जिब्रोमा विकास–निर्माण, सामाजिक सद्भाव र संस्कृति संरक्षणको शाब्दिक अस्त्र झुन्डिएको छ । यो महायज्ञ (महोत्सव) सँग जोडिएकाले मात्रै होइन, प्रायः सरकारी कम्युनिस्टले उपयोग गर्ने साझा वाक्य हो— ‘अब क्रान्तिका लफ्फाजीले चल्दैन, व्यावहारिक राजनीति गर्नुपर्छ । व्यावहारिक राजनीति गर्न समाजको मूलधारभन्दा बाहिर जान सकिँदैन ।’


के व्यावहारिक राजनीति गर्नु भनेको आधारभूत ‘कमन सेन्स’ बाट पनि च्युत हुनु हो ?

000

धनधान्याचल महायज्ञ भनेको धार्मिक रङको लेपन गरेर सरल मानिसहरूको दिमाग भुट्ने र सकेजति लुट्ने उपक्रम हो भन्ने छर्लङ्ग छ । यो एक प्रकारको व्यापार पनि हो, नगद वा जिन्सीमा ठूलो धनराशि खर्च गरेर नाम किन्ने व्यापार । आजभोलि यसरी नाम किनेर स्कुल–कलेजमा आफ्ना नाम टाँस्ने होड नै चलेको छ । यज्ञका नाममा सबैभन्दा ठूला दानवीर प्रायः तिनै हुन्छन्, जो कालोबजारी, कमिसनखोरी, भ्रष्टाचार, जमिनको दलाली र हेराफेरी जस्ता धन्दामा लिप्त छन् । त्यस अर्थमा अकुत अवैध कमाइलाई ‘सफेद’ बनाउने अवसर पनि हो, महायज्ञ । तर यस्ता महायज्ञ नै धार्मिक पुनरुत्थानका सरल मार्ग पनि हुन्, जसले विज्ञानसम्मत तर्क, विवेक र मानव बुद्धिको भूमिकालाई निस्तेज गर्दै समाजलाई उल्टो क्रममा हिँडाउँछन् ।


खुला विचार र उन्मुक्त विवेकलाई धार्मिक जडताले जितेको समाज कहीँ पनि उन्नत र प्रजातान्त्रिक बन्न सकेको छैन । कट्टरपन्थी धार्मिक अडानले चलेका मुस्लिम राज्यहरू र पछिल्लो समय हिन्दुपन्थी अतिवादी आग्रहले चलिरहेको भारतीय संस्थापनको राजनीतिले त्यहाँको समाजलाई कसरी आफू र ‘अन्य’ मा, ‘हामी’ र ‘उनीहरू’ मा विभाजित गर्दै छ, ती समाज कुन गतिमा कहाँ पुग्न हिँडिरहेका छन्, यत्ति हेरे पुग्छ ।


‘फ्युचर शक’ पुस्तकका लेखक एल्भिन टफ्लरले पचास वर्षअघि नै भनेका थिए, ‘आगामी युगको आधारभूत लडाइँ पुँजीवादी प्रजातन्त्र र साम्यवादी अधिनायकत्वबीच होइन, एक्काइसौं शताब्दीको लोकतन्त्र र एघारौं शताब्दीको धार्मिक अन्धयुगबीच हुनेछ ।’ देशको राजनीतिक–प्रशासनिक नेतृत्वसमेत ‘महायज्ञ मोडल’ बाट विकास गर्न कम्मर कसेर लागिपरेपछि टफ्लरले संकेत गरेको संकट छिट्टै निम्तिने चिन्ता गहिरिँदो छ ।


धर्मनिरपेक्ष देशका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिस्ट पार्टीका अध्यक्ष यस्ता धार्मिक कार्यमा मुख्य अतिथि बन्ने गरेका विरोधाभासपूर्ण घटना थुप्रै छन् । केही दिनअघि मात्रै नारायणी नदी किनारमा आयोजित महायज्ञको उद्घाटन गर्न आइपुगेका उपराष्ट्रपति मुख्य वाचक बालयोगेश्वरका ठगी सम्बन्धी समाचार बाहिरिएकैले उद्घाटन नगरी फर्केका हुन् । नत्र उक्त यज्ञको उद्घाटन उनैका ‘करकमल’ बाट हुने निश्चित थियो । कम्युनिस्ट पार्टीबाट निर्वाचित स्थानीय सरकारका प्रमुखहरूले साना–ठूला सबै खाले यज्ञको मुख्य अतिथि बनी लाजसरम पचाएर आसन जमाएको देखिनु पनि नयाँ कुरा रहेन ।


कुनै समुदाय वा पन्थ, व्यक्ति वा समूहमा सीमित रहेर मानुन्जेल धार्मिक कृत्यमाथि सार्वजनिक आलोचना गरिहाल्नु जरुरी नहुँदो हो । यद्यपि पंक्तिकारको मान्यता छ— धर्म निजी विश्वास मात्रै होइन । यसको व्यापक सामाजिक आयाम रहँदै आएको छ र धर्मको आवरणमा मानिस हजारौं वर्षदेखि टाठाबाठाबाट ठगिँदै आएका छन् । पुराणका ललित कथाहरू सुनाएर तर्कविहीन मूढ भक्तिवाद, रहस्य र भाग्यभरोसाको चिन्तन विस्तार गर्ने भएकैले महायज्ञजस्ता आयोजनाको आलोचना गर्नुपरेको हो । त्यसमाथि विकासको संकथन जोडेर राज्य नै गेरुवस्त्रमा प्रकट हुनु सानोतिनो लज्जाको विषय होइन ।

000

रंगशालाका लागि अदालतमा विचाराधीन विश्वविद्यालयको स्वामित्व विवादको जग्गा छनोट गर्नु, मगन्ते विकासको लोकप्रियतावादी छद्म अपिलको मुख्य सहकारी बन्नु र स्थानीय स्तरमै प्रकट बाटो सम्बन्धी विवादले रंगशाला निर्माणको प्रसंगमा भरतपुर महानगरपालिकाको भूमिका आलोचित हुँदै आएको तथ्य प्रस्ट छ । देशमा सुविधासम्पन्न रंगशाला निर्माण यदि जरुरी विषय नै हो भने राज्य आफैले त्यो जिम्मा लिन सक्ने कि नसक्ने ? यो प्रश्नको नैतिक उत्तर कसले दिने हो ? संघीय वा स्थानीय सरकारले ?


प्रचार यसरी गरियो, यो एउटा रंगशाला बन्नासाथ ‘नेपाली’ राष्ट्रवाद चुलिएर लामो समयदेखि युवा वर्गमा छाएको ‘राष्ट्रिय डिप्रेसन’ एकाएक निको हुने ओखती बन्नेछ । विदेशमा सुखदुःख गर्दै ज्यान हत्केलामा राखेर श्रम बेच्नेसँग हात पसारी–पसारी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि भन्दै अभियान चलिरहँदा सत्ता संस्थापनलाई अलिकति पनि सरम नलाग्नु खेदको विषय हो । देशको प्रतिष्ठाका लागि खेल वा खेलमैदानको निर्माण, स्तरोन्नति र विकास आवश्यक छ नै, तर त्यसका लागि राज्यको तत्परता कुन स्तरको देखिन्छ र कुन विधि, कुन तरिकाले रंगशाला निर्माण गरिँदै छ भन्ने कुरालाई बेवास्ता गर्न कदापि सकिँदैन ।


प्रकाशित : माघ २१, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?