३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भाले राजनीतिका पोथी पात्रहरू !

साधना प्रतीक्षा

बास्ने काम भालेको हो, पोथीले मात्र कुर्कुराउनुपर्छ
आक्रोशका घुड्का चुपचाप निल्नुपर्छ...
उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बास्नु हुँदैन...

भाले राजनीतिका पोथी पात्रहरू !

उपर्युक्त अभिव्यक्ति कवि कुन्ता शर्माको चर्चित कविता ‘पोथी बास्नु हुँदैन’ को हो, जसले अहिले हाम्रो राजनीतिक परिवेशमा स्थापित ‘भालेवाद’ को प्रतिविम्बन गरेको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको बाध्यात्मक बहिर्गमन नेपाली राजनीतिमा वर्षौंदेखि जरा गाडेर बसेको भालेवादकै परिणति भएकामा दुई मत छैन । साथै वामपन्थी राजनीतिक वृत्तमा सुनिने महिला, जनजाति तथा अल्पसंख्यकको पक्षधरताका चर्का नाराहरू देखाउने दाँत मात्र हुन् भन्ने पुष्टि पनि यसले गरेको छ ।


भाले बास्नु भनेको बिहानीको संकेत हो । राजनीतिमा यसले परिवर्तनको अर्थ वहन गर्छ । उज्यालो बिहानीको संकेत गर्दै सिउर हल्लाएर गमक्क फुल्दै बास्ने काम भालेको हो । पोथीलाई भालेको समकक्षी हुन तथा ऊभन्दा अग्रस्थानमा पुग्न निषेधित हुनाले नै बिहानीको आभास भालेभन्दा पहिल्यै भए पनि पोथीले बासेर त्यसको संकेत गर्न पाउँदिन । किन ? परम्परागत रूपमा समाजमा स्थापित पितृसत्तात्मक मूल्यका कारण ! चोट, पीडा, आक्रोश जे भए पनि त्यसलाई चुपचाप निलेर बस्नु, खुसी हुँदा उन्मुक्त भएर हाँस्न नपाउनु सांकेतिक रूपमा पोथी अर्थात् महिलाका लागि भाले अर्थात् पुरुष–सत्ताले निर्माण गरेको सामाजिक–सांस्कृतिक मूल्य हो ।


यही मूल्यभित्र आज योग्य, स्वाभिमानी एवं कर्मठ महिलाहरू काम गर्ने क्षमता र चाहना हुँदाहुँदै पनि कार्यक्षेत्रबाट लखेटिइरहेका छन् । विद्यावारिधि जस्तो उच्च शैक्षिक योग्यता, राजनीतिक अनुभव, आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने क्षमता, कसैसामु घँडा नटेक्ने स्वाभिमानी उपसभामुखलाई सभामुख पदको योग्य उम्मेदवार नदेख्नु, अझ बिनाकुनै कसुर तथा कमजोरी पदबाट राजीनामा दिन बाध्य पार्नुले नेपाली राजनीतिमा विद्यमान नारीद्वेषी संकीर्ण मानसिकता उदाङ्गिएको छ ।


दलभित्रबाट राजीनामाका लागि दबाब आइरहे पनि अन्त्यसम्म शिवमायाले अर्काले गरेको कसुरको दण्ड आफूले किन भोग्ने भन्ने प्रश्न गर्दै संविधानले प्रदान गरेको भूमिका निर्वाह गर्न पाउनुपर्ने जिकिर गर्नुले उनको स्वाभिमानी र दृढ चरित्रको पुष्टि हुन्छ । यसै गरी जनमानसमा सर्वत्र उनका पक्षमा आवाज उठ्नुले उनको निष्कलङ्क छविको विम्बन गरिरहेको अवस्थामा उनलाई दबाब दिएर राजीनामा गराई अग्नि सापकोटाजस्ता विवादित व्यक्तिलाई सभामुख बनाइनु वाम राजनीतिक वृत्तमा स्थापित पितृसत्तात्मक मूल्यबाहेक केही होइन ।

निष्कलंक शिवमाया महिला भएकै कारण सो पदका लागि योग्य भइनन्, तर पुरुष भएकै कारण विवादित अग्नि योग्य भए । महिला केवल दोस्रो स्थानमा योग्य मानिने हाम्रो परिवर्तित राजनीतिमा सभामुख पद पहिलो स्थान हुनाले त्यसका लागि पुरुष उम्मेदवार खडा गर्नुपर्ने हतारमा नेकपाका जिम्मेवार नेताहरूले सापकोटासँग जोडिएका कानुनी पक्षहरूतर्फ ध्यानै दिन भ्याएनन् । भालेवादले प्रेरित राजनीतिमा कुनै भालेबारे केही सोच्ने–बुझ्ने आवश्यकता नै कहाँ हुन्छ र ? बेतोडले बास्ने भाले खडा हुनु नै उसको योग्यताको समग्र मापन भइदिन्छ । अहिले नेकपाभित्र पनि यही भाले राजनीतिको गज्जबको डाँक घन्किरहेको छ । शिवमाया र उनीजस्ता आदर्श, इमानदार पोथीहरूको सुनुवाइ भएन भनेर गुनासो गर्नु अरण्यरोदनबाहेक के नै होला र ?


शिवमायाको बहिर्गमनले तत्कालीन नेकपा एमाले र माओवादीबीचको एकीकरण जनताका आँखामा हालिएको छारो मात्र रहेको समेत छर्लंग भएको छ । अन्यथा तत्कालीन सभामुख कृष्णबहादुर महराको रिक्त पदमा पूर्वमाओवादीकै उम्मेदवार किन ? किन उपसभामुखलाई सभामुख पदमा स्वीकार गरिएन ? हरेक पद र जिम्मेवारीमा पहिलाझैं भागबन्डा गरिएकाले एकीकरण स्वाभाविक देखिएको छैन । भागबन्डामा पनि भालेहरूलाई मात्र अघि सार्नुले ती दलभित्र पोथी पात्रको स्थिति कस्तो रहेछ, सहजै अनुमान गर्न सकिन्छ । नेपाली राजनीतिमा स्थापित भालेवाद यति सशक्त छ, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुख पदका लागि नेकपाले गरेको विवादास्पद निर्णयको समर्थन गर्‍यो । तर, उपसभामुख पदमा रहेर कर्तव्य निर्वाह गरिरहेकी योग्य महिलाका पक्षमा बोल्नसम्म आवश्यक ठानेन कांग्रेसले, मानौं महिलाले उक्त पदको दाबा गर्नुको कुनै औचित्य छैन ।


पाश्चात्य नारीवादी चिन्तक सिमोन द बुआको ‘द सेकेन्ड सेक्स’ (सन् १९४९) मा अभिव्यक्त ‘समाज सदा पुरुषको रह्यो, राजनीतिक सत्ता सदा पुरुषको हातमा रह्यो’ भन्ने विचार एक्काइसौं शताब्दीको हाम्रो राजनीतिक परिदृश्यमा पनि सान्दर्भिक र जीवन्त बनिरहेको छ । समाजको हरेक पक्षमा जरा गाडेर बसेको भालेवादले कहीं कतै पनि पोथी (महिला) लाई स्वस्फूर्त रूपमा अघि बढ्न दिँदैन ।


विभिन्न क्षेत्रमा कार्यरत महिलाका कटु अनुभव र अनुभूतिहरूले बताएका हुन्छन्, त्यहाँ नेतृत्व गरिरहेको भालेवादले स्वाभिमानी महिलालाई कहिल्यै माथि जान नदिने नीति लिएको हुन्छ । भालेवादको जरा सबैतिर फैलिएको भए पनि हाल राजनीतिक क्षेत्रमा यसले अझै व्यापकता लिएको छ । त्यसैले पञ्चायतको कुरै छोडौं, प्रजातन्त्रपश्चात् नेपाली राजनीतिमा जति पनि इमानदार, स्वाभिमानी र ‘भालेवाद’ विरुद्ध बास्न खोज्ने पोथी पात्रहरू आए, ती सबै ओझेलमा परेर हराए । नेपाली कांग्रेसकी शैलजा आचार्यदेखि वाम राजनीतिका विभिन्न योग्य तथा जुझारु महिलाहरूसम्मको राजनीतिक यात्रा यही यथार्थको साक्षी बनेको छ ।


महिला राजनीतिमा अघि बढ्न तथा स्थापित हुन उसको योग्यता, लोकप्रियता, त्याग, नेतृत्व क्षमता आदिभन्दा नेतृत्वसँगको सम्बन्ध महत्त्वपूर्ण हुने गर्छ । स्थापित नेताकी पत्नी, छोरी, बुहारी आदि भएर उसको विरासत थाम्ने अथवा दलभित्रका शक्तिशाली पुरुषसँगको निकटता, अनुयायिता नै भाले राजनीतिमा पोथी पात्रको योग्यता मान्ने गरिन्छ ।


हाम्रो भाले राजनीतिमा यदि कुनै पोथीलाई भालेको स्थानमा राख्नुपर्ने बाध्यता आइलाग्यो भने पनि भालेकै हाउभाउका साथै उसैको डाँक अनुकरण गर्नेलाई मात्र प्राथमिकता दिइन्छ । भाले राजनीतिमा बास्न चाहने पोथीलाई भालेवादको महिमा गाउने सर्तमा मात्र बास्ने छुट दिइन्छ । केही पोथी पात्रले व्यक्तिगत स्वार्थका लागि यस्तै सम्झौता पनि स्वीकार गर्ने गरेको पाइन्छ । यसले त्यहाँ स्थापित भालेवादलाई झनै मलजल गरिरहेको छ ।


हाम्रो समाजमा पोथी बास्यो भने अनर्थ हुन्छ भन्ने अन्धविश्वासका कारण यदाकदा कुनै पोथी बासेको सुने त्यसलाई तुरुन्तै रेटेर खाने गरिन्छ । यस्तो परम्परामा पोषित पोथी पात्र (महिला) ले बास्ने आँट मात्र गर्नु पनि परिवर्तनको संकेत हो र शिवमाया त्यस्तै संकेत बनेकी थिइन् । अब व्यक्ति शिवमायालाई उनको दलले बास्न नपर्ने गरी अर्को कुनै जिम्मेवारी त देला, तर उनले विगतमा लिएको अडान भाले राजनीतिमा बास्न नपाएका असंख्य पोथी पात्रहरूको अस्तित्वको लडाइँका सन्दर्भमा चट्टान हो ।


संविधानमा उल्लेख गरिएको महिला आरक्षण अथवा समावेशिताको आशय महिलालाई सधैं ‘उप’ मा मात्र सीमित गर्नु होइन । सामाजिक परम्पराका कारण वर्षौंदेखि उत्पीडन र विभेद भोगिरहेका महिलाहरू एकै चोटि पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने निष्कर्षका साथ उनीहरूलाई राज्यको मुख्य भूमिकामा पुर्‍याउन केही समयका लागि राज्यद्वारा गरिएको सकारात्मक विभेदको

नीति हो यो त । यहाँ भने यसको गलत अर्थ लगाउँदै सोही प्रावधानमा टेकेर सक्षम महिलालाई पछि पारिनु दुःखद हो ।


एउटी सक्षम महिलासँग कुनै पनि कुरामा प्रतिस्पर्धा गर्न नसक्ने तर पुरुष भएकै कारण राज्यको प्रमुख भूमिकाका लागि योग्य हुने परिपाटी सर्वथा अमान्य छ । त्यसैले अब भाले राजनीतिका सम्पूर्ण पोथी पात्रहरूले एकसाथ बास्दै बुलन्द डाँको निकाल्नुपर्छ, ताकि भालेहरूको डाँको मधुरो सुनियोस् । सबै पोथी एकजुट भएर बास्ने हिम्मत गर्ने हो भने, बास्ने पोथी (अधिकार खोज्ने माहिला) लाई पछि पार्ने परम्पराको अन्त्य हुनेछ ।

प्रकाशित : माघ २०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?