नोबेल अर्थशास्त्रीको शिक्षा चासो- विचार - कान्तिपुर समाचार

नोबेल अर्थशास्त्रीको शिक्षा चासो

टीका भट्टराई

शिक्षा विषयमा नोबेल पुरस्कार दिइँदैन । बरु धेरै नोबेल पुरस्कार विजेताहरूले आफ्नो स्कुले जीवनप्रति वितृष्णा व्यक्त गरेका छन् । शिक्षा जति कुरा गरे पनि विश्वको राजनीतिक र वैचारिक विमर्शको केन्द्रमा छैन । यस वर्षका तीन नोबेल पुरस्कारका सहविजेता एक भारतीय अझ भनौं बङ्गाली मूलका आप्रवासी अमेरिकी अभिजित वनर्जी र अर्की फ्रेञ्च मूलकी आप्रवासी अमेरिकी एस्थर डफ्लोले उनीहरूले भारतमा गरेको शिक्षा सम्बन्धी अध्ययनका कारण यो विषय केही चर्चामा रह्यो ।

विश्वमा त उनीहरूको चर्चा आप्रवास र व्यापारको उदारीकरण जस्ता विषयमा नै धेरै भएका छन् । नेपालमा उनको चर्चा सीमान्त रूपमा जनसाधारणका लागि हल्का मनोरञ्जनको विषयजस्तै रह्यो ।


उनीहरूले लगाएको बङ्गाली ‘भोद्रो पुरुष र भोद्रो महिला’ परिधानको चर्चासम्म पनि पुगेन । यहाँ मैले एक शिक्षाकर्मीका रूपमा उनको अध्ययन र त्यसले नेपाली शिक्षा मानसमा पार्नुपर्ने विषयलाई उठाउने कोसिस गरेको छु ।


वनर्जी र डफ्लोले गरिबी निवारणका लागि सामान्यतः चिकित्सा विज्ञानमा प्रयोग गरिने नियन्त्रित अनियमित परीक्षण (र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल्स) विधिबाट ठूलठूला कुरा नगरी कसरी साना पाइलाहरू राम्ररी जाँची न्यायपूर्ण रूपमा कार्यान्वयन गरेमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सकिन्छ भन्ने जिकिर गरेका छन् । सामान्यतः अर्थशास्त्रीहरूले शिक्षामा कति लगानी गरे कति प्रतिफल आउँछ भन्नेभन्दा उनले अलि फरक अनुसन्धान गरे । उनले कमजोरमा केन्द्रित भएर पछि परेकालाई ध्यान दिने प्रयत्न गरियो भने शिक्षामा गरिने अरु खाजा वा अनुदान वा अरु विभिन्न किसिमका कामभन्दा प्रभावकारी हुन्छ भन्ने कुरा परीक्षण गरेर प्रमाणित गरे ।


भारतको मुम्बईमा रहेको प्रथम नामको गैरसरकारी संस्थाका सहकार्यमा उनले भइरहेको कक्षालाई तीन भाग लगाए, एउटा जान्नेहरूको समूह अर्को एकदम कम जान्ने विद्यार्थीको समूह र अर्को मिश्रित समूह । राम्रा त राम्रै थिए, राम्र्रै भइहाले । ध्यान पाउँदा पछि पर्ने गरेका विद्यार्थीले पनि राम्ररी सिके । मिश्रित गर्दा र त्यहाँ पनि कमजोरलाई ध्यान दिँदा त्यसमा पनि परिणाम राम्रै आयो । यसका लागि उक्त संस्थाबाट सात दिन तालिम लिएका स्वयंसेवी शिक्षकहरू परिचालन गरिएको थियो । यी नोबेल दम्पतीका विचारमा यस्तो साधारण काम सरकार वा निजी क्षेत्र दुवैले सजिलै गर्न सक्नेछन् र नगरेकोमा उनीहरू रुष्ट पनि छन् ।


शिक्षकहरूले किन कमजोरलाई ध्यान दिँदैनन् ? अझ भनौँ किन जान्नेमा बढी ध्यान दिन्छन् भन्नेमा उनीहरू दुईको ठम्याइ छ कि शिक्षालाई अभिभावकले एक किसिमको रहस्यपूर्ण सुरुङजस्तै रूपमा बुझेका छन् । यस्तो सुरुङ पार नगरिकन शिक्षा उपलब्धिको अर्थ छैन, अर्थात् यस्तो सुरुङ १० कक्षा, १२ कक्षा वा स्नातक गरेपछि सकिन्छ । उनीहरूका दृष्टिमा एकपछि अर्को वर्ष पढ्नुको फरक छैन । यसैले अभिभावकले यस्तो सुरुङ पार गर्नसक्ने परिवारको सदस्यमा लगानी गर्न चाहन्छन् (यद्यपि त्यो परिवारले छानेको सदस्य सधैं प्रतिभावान नहुन पनि सक्छ ।) यी नोबेल विजेताहरूका विचारमा शिक्षकहरूले अभिभावककै यस्तो मानसिकताको प्रतिनिधित्व गर्छन् र जान्नेमा बढी केन्द्रित हुन्छन् । उनीहरूको नजान्नेलाई जान्ने बनाउने त ध्यान नै हुन्न, किनभने उनीहरूका विचारमा जे गरे पनि कमजोरहरू त त्यो सुरुङबाट निस्कन सक्ने होइनन् ! आखिर उनीहरूमाथि लगानी गर्नुको के अर्थ ?


उनले एउटा सुकुमवासी बस्ती नजिकैको कल सेन्टरमा केटीहरू लिइने भएपछि अभिभावकहरू केटीहरूलाई त्यसमा प्रवेश पाउन सक्नेजति शिक्षा दिन उत्सुक भएको पनि अध्ययनमा उल्लेख गरेका छन् । उनको यो अध्ययनले अभिभावकको केन्द्रीयताको महत्त्व उजागर भएको छ । अभिभावकको माग नभई व्यापक रूपमा शिक्षकमा सबैप्रति ध्यान दिने दबाब पर्दैन ।


उनका केही पक्षमा सहमत भए पनि निजी विद्यालयका मसिहा मानिने जेम्स टुलेले यी अर्थाशास्त्रीद्वयले यति धेरै स्रोत खेर फालेर झन्डै पढे पनि नपढे पनि फरक नपर्ने सार्वजनिक विद्यालयको पक्षमा उभिनुलाई उनको प्रमाणका आधारमा गरिने आफ्नै निर्णयको प्रतिकूल भएको बताएका छन् । उनको विचारमा भारतको प्रथम नामको गैससले एक हप्तामा गर्ने तालिमको प्याकेज बनाउन धेरै खर्च र अनुभव लगाएको छ, जुन कम शुल्कका साना निजी विद्यालयहरूले गर्न सक्दैनन् । उनी भारतजस्ता देशमा यो जोडीले सार्वजनिक विद्यालयहरूमा शिक्षक सङ्गठनहरू बाधा रहेको कुरा नदेखेको बताउँछन् । टूले अगाडि भन्छन्— कुनै ठाउँमा यी दुईले भनेकै पनि छन्, यदि सार्वजनिक विद्यालयले गुणस्तर दिन सकेनन् भने निजी विद्यालयको बजार त खुल्छ नै । यसैले अहिलेको शिक्षक र राज्यको चेपमा बसेको विद्यालयले स्तरीय शिक्षा दिन नसक्ने भएकाले शिक्षामा खुला बजारले मात्र गुणस्तर दिने जस्तो बृहत विषयमा उनीहरू स्पष्ट हुनु जरुरी छ भन्ने उनको भनाइ छ । टुलेको प्रश्न छ, सार्वजनिक विद्यालय नै नभएका ठाउँमा कतै निजी विद्यालय खुलेका छन् र ? (ती त सार्वजनिक शिक्षा असफल भएपछि नै खुल्छन् नि !)


उनको आशय हेर्दा बरु कम शुल्कका साना निजी विद्यालयहरू कम क्रान्तिकारी सुधारका कदम देखिन्छन् । त्यसका लागि सरकारले बाटो खुला र सहयोग गर्न तयार हुनेचाहिँ शिक्षा खुला बजारमा छाड्ने ठूलो सैद्धान्तिक प्रश्न हो । वनर्जी र डफ्लोले भनेजस्तै निजी विद्यालय र त्यसका अभिभावकको पनि शिक्षालाई सुरुङजस्तो लिने नै सोचाइ छ र निजी स्कुलले परिणाम देखाउने दौडमा कमजोर विद्यार्थी उपेक्षित नै रहन्छन् भन्ने धारणा छ । सार्वजनिक शिक्षाकी पक्षथर ठानिएकी एक सांसदले हालै शिक्षानीति सम्बन्धी एक अन्तरक्रियामा राज्यले आफ्ना केटाकेटी सार्वजनिक विद्यालयमै हाल्नुपर्ने प्रावधान राखे सांसद पद नै छाड्न तयार रहेको बताइन् (सार्वजनिक शिक्षाको पक्षमा लागेर कहिले मन्त्री नहोइने रहेछ भनेर हो कि ?) यस्तो अवस्थामा साना राजनीतिक निर्णय नगरी गर्न सकिने अक्रान्तिकारी कदम के हुन् भनेर थप विचार गर्नुपर्ने नै देखिन्छ । सरकारीकरण नै गर्नुपर्छ भन्ने त होइन, तर आखिर अत्यधिक बहुमतमा रहेको एकीकृत कम्युनिष्ट पार्टीले सार्वजनिक शिक्षा सुधार्ने दिशामा ठोस कदम चाल्न चाहँदैन वा सक्दैन भने त बृहत परिवर्तनको विकल्प खोज्नु बाहेक अरु के उपाय हुनसक्छ र ?


यस्ता अक्रान्तिकारी आर्थिक वा राजनीतिक कदमहरूमा गुणस्तरका लागि परीक्षा र प्रश्नको सुधार अहम् सवाल हो । हामी सम्पूर्ण घोकाइमा आधारित प्रश्न र मूल्याङ्कन पद्धतिबाट परमात्र गयौँ भने कमसेकम अक्षर चिनिसकेका बालबालिकाहरूले जस्तै पढाइ नहुँदा पनि स्वाध्याय गरेर ज्ञान र विश्लेषणको दायरा बढाउन सक्छन् । उदाहरणका लागि साना कक्षामा किताब र कापीको सम्वाद (कक्षा) मा ज्ञान केले दिन्छ भन्ने प्रश्न सोध्नुको साटो किताब बाहेक अरु के–केले ज्ञान दिन्छ भनेर सोधिएमा स्मरणसँगै सिर्जनात्मक बनाउन सक्छ । अलि उच्च शिक्षाको कुरा गर्ने हो भने मानविकी अध्ययनका प्रवर्द्धक चिकित्सक डा. अर्जुन कार्की भन्छन्— विद्यार्थीलाई पृथ्वीनारायण शाहले के कसरी कीर्तिपुर जिते भन्ने प्रश्नको औचित्य छैन, प्रश्न त उनले नजितेको भए के हुन्थ्यो भन्ने हुनुपर्छ । यो प्रश्नको उत्तर दिन उनले के कसरी जिते भन्ने त जान्नैपर्छ । तर थप तर्कसङ्गत परिकल्पना गर्नुपर्छ ।


यसका लागि मूल्याङ्कनका आधार पनि फरक तयार गर्नुपर्छ । धेरै वर्ष पहिले लेखकको एक असाइनमेन्टमा स्कटल्यान्डका एक प्राध्यापकले लेखकको काम र लेखकसँग पनि छलफल गरी तयार गरेको अर्को कामका लागि बराबर अङ्क दिए । केही नभन्दै लेखकको असन्तोष अन्दाज गरी उनले भने— म प्रश्नको उत्तरमा सही जवाफभन्दा उसको प्रयत्नलाई जोड दिन्छु । उनी ५० प्रतिशत मौलिकता र प्रयत्न बापत, २५ प्रतिशतमात्र तथ्य र ज्ञान बापत, बाँकी २५ प्रतिशत प्रस्तुति र सौन्दर्यका लागि दिन्छन् । उनले भने कि तिमीले जानिसकेको कुरा लेख्यौ, तिम्रो साथीले तिम्रो नतिजामा आउन तिमीलाई नै सोध्ने लगायतका प्रयत्नहरू गर्‍यो । सामान्यतः जसले आज यस्तो प्रयत्न गर्छ, उसले भोलि कसरी गर्ने भनेर सिक्न सक्छ ।


परीक्षा सुधार बाहेक विद्यालयको नक्साङ्कन र सेवाक्षेत्र निर्धारण, शिक्षकलाई न्यूनतम बेतन निर्धारण, सबै ठाउँमा शिक्षकको तालिमको अनिवार्यता र तालिमको उदारीकरण, बहुभाषिक शिक्षण (कमसेकम ०—५ कक्षामा) र साना कक्षामा मौखिक र लिखित परीक्षाको मिश्रण आदि पर्छन् । यस्ता सब काम गर्न कसैले फेरि नोबेल पुरस्कार पाउन्जेल पर्खन पर्दैन । वनर्जी र डफ्लोको कुरा गम्भीरतापूर्वक कार्यान्वयन गर्ने हो भने विद्यालय वा शिक्षकको मूल्याङ्कन कतिले ए ग्रेड ल्याए भनेर हेर्नुको साटो कति धेरैले सी वा माथिको ग्रेड ल्याए भनेर हेर्ने हो भने धेरै शिक्षकले कमजोरमा ध्यान दिन थाल्नेछन् । हाम्रा कांग्रेस लगायतका वामपन्थीहरूलाई यस्तो समाजवादी कुरा मनपर्ला कि नपला ?

प्रकाशित : माघ १८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

समान भएर हेरौं 

सुशीला शर्मा

गतवर्ष जुन महिनामा भारतको धर्मशालास्थित जगोरी तालिम केन्द्रमा प्रसिद्ध नारीवादी अभियन्ता श्री कमला भासिनको प्रशिक्षणमा नारीवादबारे केही सिक्ने मौका मिल्यो । भासिनले नारी र पुरुषबीच एसिया तथा संसारमै रहिरहेका असमानताका खाडलहरूलाई उजागर गरेर महिला र पुरुषबीच न्यायिक संसार बनाउनुपर्छ भन्ने मूल आशयका साथ महिलाहरूलाई यस आन्दोलनमा सामेल गराइरहनुभएको छ । महिला र पुरुषबीच समानता नभई शासकहरूले भन्ने गरेको समृद्ध समाजको नारा कहिले पूरा होला ?

हरेक समाजको मूल्य–मान्यता, धर्म, विश्वास फरक–फरक हुन्छन् । कतिपय शब्द र व्यवहार अनि सोच हाम्रो मस्तिष्कमा जोडिइ नै सक्यो कि हामी ती चिजहरूलाई पछाडि फर्केर हेर्न नै चाहँदैनौं । प्रकृतिमा विविधता छ, तर प्रकृतिकै बीच भेदभावचाहिँ छैन । तर समाजले समाजकै अन्य समुदाय या व्यक्ति–व्यक्तिबीच भेदभाव गराइदिन्छ । यदि समाज र प्रकृतिलाई अलग–अलग गरेर हेर्‍यो भने समाजले असमानतालाई प्रकृतीकरण गरेको र प्रकृतिले विविधतालाई पनि एकीकृत गरेको देख्न सकिन्छ ।

लैङ्गिकताबारे सोच्न सुरु गर्ने हो भने हामीले यी सवालबारे जवाफ दिनुपर्ने हुन्छ । बाल्यकालमा तपाईंको परिवारमा लैङ्गिकता के थियो र अहिले के छ ? महिला हुनु र पुरुष हुनुले तपाईंको जीवन र भोगाइलाई कति फरक पारेको छ ? हामीले कहिल्यै असमानताको, विभेदको इतिहासको, यथार्थको लडाइँको, विजयको बारेमा गहिराइमा पुगेर सोचेका छौं ? यी ज्ञानले हामीलाई आफ्नो धारणा मजबुत बनाउन या निर्माण गर्न पनि मद्दत पुग्छ । लैङ्गिकताभित्र मानव इतिहास, व्यक्तिगत सम्पत्ति, उद्योगधन्दा विकासका प्रसंग आउँछन् । विश्व साम्राज्य, पितृसत्ता र पुरुषत्व अनि पुँजीवाद र असमानताका कुरा पनि आउँछन् । पितृसत्ताभन्दा पुरुष अस्तित्वकै विरुद्धको अवधारणा ठानेर समाज भाँडेको, नैतिकता हराउँदै गएका महिलाहरू भन्ने भान पनि एकपक्षलाई पर्न सक्छ । प्रकृति प्रदत्त दुई प्राणी महिला र पुरुषमा एकथरी शक्तिमा हावी भएर पितृसत्ता निर्माण हुनपुग्यो र यो व्यवस्था झन्डै ४ हजार वर्ष पहिलेदेखि नै सञ्चालित छ भन्ने यथार्थलाई हाम्रो मनमस्तिष्कले स्वीकार्न मुस्किल छ ।

लैङ्गिकताले केवल महिलासंँग मात्र सम्बन्ध राख्दैन । नारीत्वको अस्तित्व नै पुरुषत्वको साथमा हुन्छ । यसमा एउटा विशेषणको छवि या शक्तिलाई अर्को विशेषणले तय गरिराखेको हुन्छ । महिलालाई कमजोर त्यतिबेला सम्झिइन्छ, जतिबेला पुरुषलाई बलवान या शक्तिशाली सम्झिइन्छ । महिला त्यतिबेला अधीनस्थ हुन्छन्, जतिबेला पुरुषलाई शासन गर्न सिकाइएको हुन्छ । धेरै वर्षदेखि महिला हिंसाको मुद्दालाई महिला संगठनले आवाज उठाउँदै आएका छन् । मानौं कि यसमा पुरुषको केही लिनुदिनु छैन । यो अवस्थालाई परिवर्तन गर्नु जरुरी छ । पुरुषहरूले पनि यस मुद्दाका लागि अगाडि आउनुपर्छ । पुरुषले पनि नारीवादी संघर्षमा भाग लिएर यस सामाजिक मुद्दामा सरिक हुनुपर्छ ।

हामी त्यस्तो पितृसत्तात्मक समाजमा छौं, जहाँ पुरुषले पनि पीडा तथा अन्यायहरू सहनु परिराखेको छ । पुरुषलाई भावनात्मक हुन, कमलो मन हुन, आफ्नो कमजोरी देखाउन, डर देखाउन या स्वीकार गर्न यस समाजले रोकिराखेको हुन्छ । उनीहरूलाई हमेसा परिवारको रक्षक, जवान, पालन–पोषणकर्ताको भूमिकामा रहन दबाब परिराखेको हुन्छ । धेरै पुरुषहरू शासकीय या शक्तिशाली पुरुषत्वको कथित मान्यताको मापदण्डमा पुग्न सक्दैनन्, यदि उनीहरू आक्रामक हुन सकेनन् भने । त्यस्तो अवस्थामा उनीहरूको खिल्ली उडाइन्छ, नारी, महिला, आइमाईजस्ता उपमा दिएर । सोझो, विनम्र केटाहरूलाई अन्य बलिया, दादा भनिएका पुरुषहरूले हिंसा गर्न पछि पर्दैनन् । पुरुषत्वलाई उनीहरूको यौनशक्तिसँंग पनि जोडेर हेरिने हुनाले कतिपय पुरुष आफूलाई यो मामिलामा असुरक्षित महसुस गर्छन् र चिन्ताको सिकार भइरहेका हुन्छन् । यस्ता मुद्दामा संवेदनशील भएर चर्चा गर्न जरुरी हुन्छ । विश्व महिला आन्दोलनको अर्थ पितृसत्ताको ठाउँमा मातृसत्ता स्थापना गर्नु होइन । यस महिला आन्दोलनको माग हो—समानता, विकास र शान्ति ।
जसरी पितृसत्ताले महिलामाथि के कस्ता अन्याय गर्छ भन्ने बुझ्नु जरुरी छ, त्यसैगरी पुरुषहरूको मस्तिष्क, सोच, मानसिकतामा पनि शताब्दियौंदेखि अभ्यासमा रहेको यस विचारधाराले के असर गरिरहेको छ भन्ने बुझ्नु त्यतिकै जरुरी छ । यदि हामी साँच्चै दिगो विकास चाहन्छौं भने पुरुष र पुरुषत्व तथा स्त्री या स्त्रीत्वको वास्तविकतालाई बुझ्नुपर्छ । महिलाहरू तथा पुरुषहरूबीच मित्रवत् र बराबरी भूमिकाको भावना विकसित गर्नुपर्ने हुन्छ । जसले महिला, पुरुष, बालबालिकाको लागि अझ सुन्दर समाज बनोस् । यस आन्दोलनको अगुवाइ महिलाले नै गर्नुपरे महिला तयार छन्, तर बढीभन्दा बढी पुरुषहरू यस समानताको लडाइँमा सरिक हुनु पर्नेछ ।
नारीवाद अनुसार स्त्रीको बारेमा अहिलेसम्मको परिभाषित गर्ने अधिकार पुरुषले लिएका छन् । जति पनि समाज र सामाजिक सिद्धान्तहरू बने, त्यसका सिद्धान्तकारहरू अधिकांश पुरुषहरू नै थिए । उनीहरूले आफू अनुसार नारीलाई परिभाषित गरेका छन् । संस्कृतिभित्र रहेको हिंसाजन्य अभ्यासहरूलाई अझै पनि हाम्रो समाजले हिंसा मान्न सकिरहेको छैन । यो सत्य हो कि सबै पुरुषहरू पीडक हुँदैनन् । केही पुरुष महिला हिंसा अन्त्यका लागि लागिरहेका पनि छन् । अध्ययन अनुसार जो पुरुष आफैंले हिंसा बेहोरेको छ, ऊ अरु पुरुष या महिलाप्रति हिंसा गर्न उद्दत हुने गर्छ । त्यसैले नारीवादको अवधारणाले विद्यमान पितृसत्तात्मक सामाजिक ढाँचालाई बदल्ने कोसिस गर्छ । समाजमा महिलालाई पनि पुरुष जत्तिकै समान सामाजिक तथा राजनीतिक हक हुनुपर्ने मान्यताको वकालत गर्छ । नारीवादी हुन विद्रोही नारीमात्र हुनुपर्छ भन्ने छैन, यहाँ महिला–पुरुष मानव बराबर हुन् र यी दुबैको यो धर्तीमा समान अस्तित्व छ भन्ने कुरालाई स्वीकार गर्ने जोकोही पनि नारीवादी हुन सक्छन् ।

प्रकाशित : माघ १८, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×