सडक कि एम्बुस ?

दीप्स शाह

पृथ्वी राजमार्गको धादिङस्थित जुगेखोला खण्ड । रित्तो जर्किन समाएको एउटा युवक रोकिराखेको बालुवा–गिट्टीवाला ट्रकबाट फुत्त हामफाल्यो । 

सडक कि एम्बुस ?

३०–३२ वर्षको ऊ विपरीत दिशाबाट आइरहेको ट्रकको चक्कामा बजारियो । ट्रक पलभरका लागि रोकिएर अगाडि बढिहाल्यो र सँगै युवक पनि लतारियो । ट्रक अलि पर पुगेर किनार लाग्यो । चालक र सहचालक फुत्त ओर्लेर त्यतै मकै बारीमा अलप भए । त्यो युवक केही क्षण चलमलाएपछि सदाका लागि शान्त भयो ।


धेरै वर्षअघि देखेको त्यो कहालीलाग्दो सडक दुर्घटनाले यदाकदा अझै पनि म विचलित हुने गर्छु । त्यति बेला पनि मेरो बालमस्तिष्कले आफैसँग प्रश्न गरेको थियो— यस्तो भयानक दुर्घटनाको जिम्मेवार को हो ? कसको गल्ती थियो त्यो निर्दोष ठिटोको अकाल मृत्युमा ? त्यति बेला मलाई सडक नै त्यो युवकको काल बनेजस्तो लाग्यो र सडकलाई घृणा गर्न थालेँ ।


जब वैदेशिक रोजगारीका क्रममा म इजरायल पुगेँ, त्यहाँको सडकको सञ्जाल र व्यवस्थापनबाट निकै प्रभावित भएँ । थेगिनसक्नु सवारी साधनका बावजुद सडक दुर्घटना निकै न्यून । मैले बुझेँ, कुनै पनि मुलुकको विकास प्रत्यक्षत: सडक सञ्जालमा जोडिएको हुने रहेछ । त्योसँगै सडकलाई चुस्तदुरुस्त र सुरक्षित राख्न सम्बन्धित निकाय, सरकार उत्तिकै संवेदनशील हुनुपर्ने रहेछ ।


हाम्रोमा एक पटक ट्रायल पास गरी लाइसेन्स लिएपछि सधैंका लागि चालक बनिन्छ । अझ कतिले त घूस खुवाएर हातहातै लाइसेन्स लिएका छन् । तर विकसित मुलुकमा सार्वजनिक सवारी चालकलाई सम्बन्धित निकायले बेलाबेला ओरिएन्टेसन क्लासहरू दिने, ड्राइभिङ क्षेत्रको अवस्था, समस्या र समाधानबारे छलफल गर्ने गर्दा रहेछन्, नियमित रूपमा । त्यसले चालकहरूमा हौसला मात्र बढाउने नभई जिम्मेवारी बोध पनि गराई आफ्नो पेसाप्रति गर्वको अनुभूति गराउँदो रहेछ । इजरायलमा ट्राफिक नियम सम्बन्धी अर्को महत्त्वपूर्ण र सुन्दर कुरा मैले के देखेँ भने, सडक र सवारी सम्बन्धी ज्ञान प्राथमिक विद्यालयदेखि नै दिइँदो रहेछ । प्रत्येक इजरायली विद्यार्थीलाई ‘यमिना भे स्मोला, यमिना भे स्मोला, कोदेम तिस्तकाल आँखार्काक तिलेख’ (दाहिने देब्रे दाहिने देब्रे, पहिले हेर अनि जाऊ) भन्ने गीत कण्ठस्थ हुने रहेछ । यसले गर्दा बालबालिका हिंड्दा, बाटो काट्दा आफै सचेत हुने रहेछन् । यति मसिनो सचेतनाले पनि सडक दुर्घटनाको कम गर्न दीर्घकालिन रूपमा मद्दत गर्ने रहेछ ।


तर हाम्रोमा ? हाम्रो देशमा सडक भनेको एम्बुस बराबर भइसकेको छ । कतिखेर को दुर्घटनामा पर्ने हो, टुंगो हुन्न । एक पटक डोजर लगाएर सडक जस्तो बनाइदिएपछि मानौं फर्केर हेर्नैपर्दैन । सडक समयसमयमा मर्मतसम्भार गर्ने, लेन र जेब्राक्रसको रङ चम्काउने, खाल्डाखुल्डी पुर्ने काम गर्ने मानौं कुनै निकाय छैन । सम्बन्धित कर्मचारीहरूको काम मानौं दिनभरि झिँगा मारेर तलब खानु हो । सार्वजनिक यातायातको जर्जर अवस्थालाई चुस्त पार्न कसैले पहल नगरे हुने हो ? कहालीलाग्दो गरी बढिरहेको सडक दुर्घटनाको ग्राफ देखेर सरकार गम्भीर हुनुपर्दैन ? सडक दुर्घटना घटाउनु सरकारको उत्तरदायित्व होइन र ?


सडक निर्माण जस्तो गम्भीर र जिम्मेवार काम पनि सम्बन्धित क्षेत्रको ज्ञानसम्म नभएका व्यक्तिहरूलाई दिइन्छ हामीकहाँ, नातावाद र कृपावादका आधारमा । त्यस्तो ठेकेदारी भनेको जनताको जीवनसँग खेल्ने अधिकार हो ? कैयौंका अभिभावक खोस्ने र कैयौं काख रित्तो बनाउन पाउने लाइसेन्स हो त्यो ?


तथ्यांकले भन्छ— पाँच वर्षयता ४७,००० वटा सडक दुर्घटना भएका छन् । लगभग हरेक दुर्घटनाले कसै न कसैको ज्यान लिएको छ, नभए अंगभंग त बनाइदिएकै छ । नेपालमा वार्षिक कुल मृत्युको लगभग ७ प्रतिशत सडक दुर्घटनामा हुने गर्छ । अझै पनि राज्य नबिउँझिने हो भने जनताप्रति त्यो जस्तो महापाप केही हुनेछैन ।

[email protected]

प्रकाशित : माघ १७, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?