गान्धी कहिल्यै मर्दैनन् !

चन्द्रकिशोर

आज ३० जनवरी । आजकै दिन सन् १९४८ मा महात्मा गान्धी मारिए । गान्धीलाई गोली हानेर मार्ने नाथुराम गोडसे थिए । गोडसेसंँगै उनका भाइ गोपालले, जो घटनामा सहअभियुक्त थिए, किताब नै लेखे, ‘गान्धी वध किन ?’ भनिन्छ, गान्धीपुत्र देवदास आफूलाई थुनामा भेट्न आउँदा नाथुरामले व्यक्तिगत रूपमा दु:खमनाउ गर्दै भनेका थिए, ‘मार्नुको कारण केवल राजनीतिक हो ।’

गान्धी कहिल्यै मर्दैनन् !

केही समयतयता जनवरी ३० मा कोही गोडसे त कोही गान्धीको महिमामण्डन गर्ने गर्छन् । कोही त गान्धीको तस्बिरमै गोली चलाएर चर्चा बटुल्छन्, कोही गोडसेलाई देशभक्त भन्छन् । यस्तो काम बन्दकोठामा नभएर सार्वजनिक रूपमै गर्न थालिएको छ । गान्धी मारिएको दिल्लीस्थित भवनलाई संग्रहालयको रूप दिइएको आधा शताब्दी भैसके पनि अहिले त्यहाँ चलखेल सुरु भएको छ । गान्धीका पनाति तुषार गान्धीले हालै आरोप लगाए, ‘अनेकौं निहुँमा संग्रहालयबाट गान्धी हत्या र अन्तिम यात्राका तस्बिरहरू हटाइएका छन् ।’ एउटा पक्ष गान्धीकै देशमा गान्धी हत्याका तस्बिरहरू हटाउनुलाई हत्या सन्दर्भलाई ओझेलमा पार्ने रणनीतिको हिस्सा मान्छ । तुषारले त्यसैले यो कामप्रति असहमति मुखर गरिरहेका छन् ।


जब व्यक्तिविशेषको विचारको सामना विचारबाट गर्ने क्षमता रहँदैन, तब मार्ने बाटो समाइन्छ । जसरी पनि व्यक्ति र उसको विचार दुइटैलाई समाप्त पार्ने प्रक्रिया पूरा गर्न सकिन्छ भन्ने सोच्छन् यस्ता व्यक्तिहरू । यसैले त बर्नाड शाले भनेका छन्, ‘हत्या सेन्सरसिपको अन्तिम मार्ग हो ।’ गोडसे यही मान्यताका थिए । उनी यही विचारका प्रतिनिधि बने । हाम्रै मुलुकमा शिक्षक मुक्तिनाथ अधिकारीको हत्या गर्नेहरूले तिनलाई मारेर बहुल विचारको अवधारणालाई नै समाप्त पार्ने सोच राखेका थिए । अहिले भारतमा हिन्दुत्वको राजनीतिलाई गोडसेवादी कलेवर दिने योजनाबद्ध कामहरू हुँदै छन् । यसमा दुई धार छन्— गान्धीलाई वामन देखाउने र गोडसेलाई नायकका रूपमा प्रस्तुत गर्ने । यसरी महात्मा गान्धीमाथि अभूतपूर्व आक्रमण हुन थालेको छ । यो मूलत: सहिष्णु, समावेशी र सर्वधर्म समभावको भारतीय अवधारणामाथिको प्रहार हो ।


गान्धी भन्थे, ‘जसरी हिंसाको बाटो समाउँदा अर्काको ज्यान लिने प्रशिक्षण लिनु र दिनु पर्छ, त्यसै गरी अहिंसक संघर्षमा स्वयंको आहुति दिने मनोविज्ञान विकसित गर्न स्वयंलाई सचेततापूर्वक प्रशिक्षित गर्नुपर्छ ।’ उनी भयमुक्तिको कुरा गर्थे । संवाद र सामञ्जस्यको बाटो पछ्याउँथे । मर्नुभन्दा दुई दिनपहिला अमेरिकी पत्रकार विन्सेन्ट सिनसँंग आफ्ना कुरा राख्दै गान्धीले प्रस्ट्याएका थिए, ‘हिंसाको साधन प्रयोग गरियो भने त्यसको परिणाम पनि खराब नै हुन्छ ।’ सवाल साधनको हो । हतियार जुटाउने सामर्थ्य नभएर गान्धीले अहिंसाको बाटो समाएका थिएनन् । उनलाई बन्दुकको राजनीतिको सीमा र संकट थाहा थियो । उनी अहिंसाको अर्थ हिंसा होइन वा अहिंसा एउटा नकारात्मक प्रवृत्ति पनि होइन भनी अर्थ्याउँथे । हो पनि, नि:शस्त्र प्रतिकारको अर्थ अहिंसा होइन । नि:शस्त्रीकरणको आन्दोलन अथवा केवल शान्तिको आन्दोलन पनि अहिंसा होइन । अहिंसा मूलभूत रूपमा सकारात्मक शक्ति हो । यो नकारात्मक तत्त्वज्ञान होइन, यो प्रतिरोधको साटो उचित कामका लागि सत्यमा आधारित सकारात्मक पहल हो । गान्धीको अहिंसामा स्वयंको जीवनसंँगसँंगै अरूलाई बांँच्नमा सघाउ पुर्‍याउनु पनि थियो ।


हतियार उठाउने दुइटा कारण हुन्छन्— अन्याय गर्न र अन्यायको प्रतिकार गर्न । इतिहासको अनुभवले भन्छ— हतियारको प्रयोग जति अन्यायको प्रतिवादका लागि भएको छ, त्योभन्दा कैयौं गुणा ज्यादा अन्याय गर्न वा अन्यायी व्यवस्था कायम राख्न हुने गरेको छ । हिंसाका साधनहरूमा प्राय: वर्चस्वशालीकै एकाधिकार हुन्छ । जो कमजोर हुन्छ, ऊ स्वाभाविक रूपमा अहिंसक नभए पनि अहिंसक रहन बाध्य हुन्छ । त्यसैले कमजोर तप्काले आज न्यायका लागि हिंसाको बाटो समाउन थालेको छ । त्यसो नहोस् भन्नका लागि उनीहरूमा व्याप्त भयको सुरुमै उपचार जरुरी हुन्छ । संगठन निर्माणले आत्मबल प्रदान गर्छ र छोटा–छोटा शान्तिपूर्ण आन्दोलनका लागि उत्प्रेरित गर्छ ।


अहिले गान्धीसँंग को डराउँदै छन् ? भौतिक अवसान भएर पनि गान्धीको गुरुत्वबल किन दृढ हुँदै छ ? अन्तर्राष्ट्रिय स्तरमा गान्धीप्रति आकर्षण विस्तार हुँदै गर्दा स्वयं भारतभित्र उनका हत्यारा गोडसे किन महिमामण्डित हुँदै छन् ? गान्धीलाई ओझेल पारिँदा कस्तो सामाजिक व्याकरण निर्माण हुन्छ ? जो गोडसेगानमा लिप्त छन्, उनीहरू कस्तो समाज चाहन्छन् ? यस्ता प्रश्न किन उठ्न थालेका छन् भने, एउटा हत्यारालाई विचारपुञ्जका रूपमा स्थापित गरिँदै छ । भारतीय लोकतन्त्र ठूलो भीडमा अनुवाद हुँदै गएको छ, जसलाई गोडसेवादीहरू भेडाजस्तो डोर्‍याउन तम्सिएका छन् । राजनीतिक दलहरूका लागि देश मतदाताहरूको यस्तो बजार बनाइएको छ, जहां कुनै पनि मूल्य चुकाएर आफ्नो माल बेच्नु छ । भारतको दु:खान्त लोकतन्त्र फस्टाउँदै गरेको प्रत्येक मुलुकका लागि एउटा पाठ हो, जहांँ साध्य र साधनबीचको अन्तरसम्बन्धलाई बेवास्ता गरिन्छ । स्वतन्त्रता वा लोकतन्त्र बडो कठिन संघर्षले प्राप्त हुन्छ । भुइँमान्छेलाई भेडा बनाउन थालिए भुइँतहमा प्रतिरोधको स्वर बाक्लिँदै जान्छ र लोकतन्त्र त्यहीँ समाप्त हुन्छ । स्वतन्त्रता फगत यान्त्रिक अवस्था होइन ।


चार्ल्स डिकेन्सले आफ्नो उपन्यास ‘अ टेल अफ टु सिटिज’ मा लेखेका छन्, ‘त्यो सबैभन्दा उत्तम समय थियो, त्यो सबैभन्दा खराब समय थियो । त्यो ज्ञानको युग थियो, त्यो मूर्खहरूले भरिएको युग थियो । त्यो उज्यालोको अवधि थियो, त्यो अँध्यारोको अवधि थियो ।’ यही कुरा हाम्रो जमानाबारे पनि भन्न सकिन्छ । हाम्रो वर्तमानको नियति यस्तै छ । तथापि आफूवरिपरि यसो नियालौं, अहिले पनि सार्वजनिक जीवनको प्रत्येक क्षेत्रमा असल मान्छेहरू, मूल्यनिष्ठहरू छन्, जो आआफ्ना क्षेत्र र पेसामा उज्यालो छरिरहेका छन्, आशाका दीयो बनिरहेका छन् ।


दार्शनिक लांजा देल वास्तोले गान्धीको अन्तिम क्षणबारे लेखेका छन् । गोली लागेपछि गान्धीले ‘हे राम’ भनेका थिए, जुन उनको समाधि प्रस्तरमा कुँंदिएको पनि छ । तर त्योभन्दा पनि पहिला अर्थात् प्रार्थनासभामा जान पन्ध्र मिनट ढिलो भएपछि गान्धीले आफ्ना सहयोगी आभा र मनुलाई गुजरातीमा भनेका थिए, ‘मने मोडु थतु गंतो नक ।’ अर्थात्, मलाई कहीँ पनि ढिलो पुग्न मन पर्दैन । वास्तोले यस प्रसंगलाई नाटकीय रूप दिँदै भनेका छन्, ‘गान्धीले आफ्नो हत्यारातर्फ हेरे र भने— अरे, तिमी त ढिलो गरी आयौ, भाइ !’


वास्तोको सन्दर्भमा जोड्दै भन्न सकिन्छ— जसले पनि गान्धीको अन्त्य गर्न खोज्छ, ऊ ढिलो हुन जान्छ । गान्धी समयनिष्ठ थिए वा समयभन्दा अगाडि थिए । त्यसैले भन्न सकिन्छ, दुनियाँमा जहां कतै उनको खोजी गरिन्छ, उनी प्रेरणा दिन पुगेकै हुन्छन् । जहांकहीँ शान्तिपूर्ण अभ्यास हुन्छ, त्यहाँ गान्धीको नाम नलिइए पनि गान्धी उपस्थित भएकै हुन्छन् । यही हो, अहिले पनि गान्धी जीवित रहने कारण । त्यसैले कुनै पनि सत्ताले गोडसेको आवरणमा गान्धीको गोरेटोलाई निमिट्यान्न पार्न सक्दैन ।

प्रकाशित : माघ १६, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?