कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आधुनिक विज्ञान र ध्यान

३० भन्दा बढी देश र करिब २०० विश्वविद्यालयमा गरिएका अनुसन्धानबाट नियमित ध्यान अभ्यास सिकाइलाई प्रभावकारी बनाउन उपयाेगी हुने देखिएको छ ।

हाम्रा पूर्वजहरूले आत्मकल्याणका निम्ति प्रयोग गर्ने ध्यान–साधनाहरू अहिले स्नायुविज्ञानका लागि खोजको विषय भएका छन् । विश्वका नामुद स्नायुविज्ञहरू अहोरात्र यसबारे अनुसन्धानमा खटिएका छन् । ध्यान–साधनाले मानिसको मानसिक–शारीरिक स्वास्थ्य एवं चिन्तनमा पार्ने प्रभावदेखि उनीहरू अझै उत्साहित छन् ।

आधुनिक विज्ञान र ध्यान

नेपालका वन–पाखा, पहाडी एवं हिमाली कुटी, गुफाहरूमा साधुसन्तले अभ्यास गर्ने योग अहिले अन्तर्राष्ट्रिय योग दिवसको यात्रा तय गर्दै विश्वका हरेक जाति, समुदाय तथा सम्प्रदायमा पुग्न सफल भएको छ । १९२ भन्दा बढी देशले योग दिवसलाई मान्यता दिनुका पछाडिको कारण हो— योग एवं ध्यान आधुनिक विज्ञानका दृष्टिमा अति उपयोगी सिद्ध हुनु । हाम्रा पुर्खाको अथक प्रयास, सुझबुझबाटै यस विधाको विकास एवं संरक्षण सम्भव भएको हो । आध्यात्मिक ज्ञानका प्रणेताका रूपमा भगवान् शिवलाई आदिगुरु मानिन्छ । नेपाल भगवान् शिवको क्रीडास्थल हो । शिव र पार्वतीबीच आत्मरूपान्तरण विषयमा केन्द्रित १६२ श्लोक भएको वार्तालाप ‘विज्ञान भैरवतन्त्र’ मा समेटिएको छ । यसै ग्रन्थलाई ध्यानका विधिहरूको मूलस्रोत मानिन्छ । यद्यपि बजारमा अनेक प्रकारका ध्यानविधिबारे सुन्न पाइन्छ, तथापि ती सब शिवलविकसित गरेका ११२ विधिभित्रै पर्छन् ।


पूर्वीय दर्शनको पश्चिमा जगत्को यात्रा मूलतः आधुनिक भारतका सन्त स्वामी विवेकानन्दको अमेरिकी भ्रमणसँगै थालनी भएको मान्न सकिन्छ । उनी सन् १८९३ मा अमेरिकाको सिकागोमा भएको सर्वधर्म सम्मेलनमा हिन्दुहरूको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । उक्त सम्मेलनमा उनको ओजपूर्ण व्यक्तित्व एवं सारगर्भित सम्बोधनबाट धेरै पश्चिमा विद्वान् प्रभावित भई पूर्वीय दर्शनप्रति जिज्ञासु बने । यसैको कडीका रूपमा सर्बियाली अमेरिकी आविष्कारक, भौतिक वैज्ञानिक, यान्त्रिक अभियन्ता र विद्युत् अभियन्ता निकोला टेस्ला एवं स्वामी विवेकानन्दबीचको मित्रतालाई लिन सकिन्छ । कुशाग्र, अध्ययनशील निकोलाले पूर्वीय दर्शनको अध्ययन मात्र गरेनन्, स्वामी विवेकानन्दको आग्रहमा पदार्थ र चेतनाको गणितीय नमुना बनाउने प्रयास पनि गरे । उनी आधुनिक युरोपेली विज्ञान र अद्वैत वेदान्तबीचको सम्बन्धदेखि आश्चर्यचकित भएका थिए । यी घटनाले पूर्वीय ज्ञान र आधुनिक पश्चिमी विज्ञानको सहसम्बन्धलाई प्रशस्त गरेको छ ।


संसारकै ‘सबैभन्दा खुसी व्यक्ति’ को उपमा पाएका फ्रान्सेली वैज्ञानिक सन्त डा. म्याथ्यु रिकालाई २६ वर्षको उमेरमा आणविक आनुवंशिकी विषयमा विद्यावारिधि सकेर नोबेल पुरस्कार विजेता वैज्ञानिकहरूसँंग सहकार्य गर्ने क्रममा बुद्धिजमको चस्को पस्यो । उनी तत्कालै यसको खोजीमा निस्के र गृहस्थ जीवन परित्याग गरी आजपर्यन्त अध्यात्म र विज्ञानबीचको सम्बन्धमा अध्ययन तथा मानवसेवाका कार्यमा सक्रिय छन् । हाल नेपालमा बसोबास गर्ने म्याथ्यु रिकाले संसारभरिकै वैज्ञानिकहरूको सहकार्यमा अध्यात्म र विज्ञानबीचको सम्बन्धलाई केलाई केही पुस्तक प्रकाशन गरेका छन् । अमेरिकाको विस्कन्सिन मडिसन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डा. रिचार्ड डेविडसनको आग्रहमा आफैमाथि ध्यानको प्रभाव अध्ययन गर्न म्याथ्यु रिका सक्रिय सहभागी भएका थिए । रिचार्ड डेविडसनले पनि यिनै विषयमा अनेक अध्ययन गरी दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेका छन् । पछिलो समय तिब्बती धर्मगुरु दलाई लामाले पश्चिमा वैज्ञानिकहरूमाझ ध्यान र बुद्ध धर्मको अध्ययन तथा खोजका निम्ति देखाएको उदारतासँंगै गरिएका अध्ययनहरूको निचोडका रूपमा बुद्धिजमलाई ‘मनको विज्ञान’ भन्न थालिएको छ ।


ध्यान र आधुनिक विज्ञानबीचको सेतुलाई कसिलो बनाउनमा भारतीय सन्त महेश योगीको योगदान अतुलनीय छ । रसायनशास्त्रमा स्नातकोत्तर गरेपछि सांसारिक जीवनप्रति वैराग्य उत्पन्न भई संन्यास लिएका योगीले विकास गरेको भावातीत ध्यान विश्वव्यापी रूपमा सर्वाधिक प्रयोग गरिने विधिमध्ये पर्छ । उनको अगुवाइमा विश्वका २०० विश्वविद्यालय तथा ३० भन्दा बढी देशमा ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा गरिएका अनुसन्धान विश्वका ख्यातिप्राप्त अनुसन्धान पत्रिकाहरूमा प्रकाशित छन्, जसबाट नियमित ध्यान अभ्यासले मानसिक–शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै सिकाइलाई पनि प्रभावकारी बनाउन उपयोगी हुने देखिएको छ । महेश योगीको पहलमा वास्तु, आयुर्वेद लगायतका क्षेत्रमा पनि सयौं अनुसन्धान हुनुका साथै तिनका आधुनिक विधिहरूको पनि विकास गरिएको छ । महेश योगीले ‘चेतनामा आधारित शिक्षा’ को अवधारणालाई अघि सारेका छन् । उनैको प्रेरणा र रेखदेखमा अमेरिकी भौतिक वैज्ञानिक तथा महर्षि विश्वविद्यालयका अध्यक्ष डा. जोनहगेलिन, लेबनानी अमेरिकी स्नायुविज्ञ एवं भावातीत अभियानका प्रमुख डा. टोनी नडर लगायतका सयौं वैज्ञानिकका अनुसन्धानहरूबाट ध्यान, अध्यात्म र आधुनिक विज्ञानलाई नजिक ल्याउन यथेष्ट प्रयास भएको छ ।


आधुनिक चिकित्सा विज्ञानको उपचारमा ध्यानको सफलतम प्रयोगकर्ताहरूमा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा. हेर्बेर्ट बेन्सों, लन्डनको किङ्स कलेजकी संज्ञानात्मक स्नायु वैज्ञानिक प्रोफेसर डा. काट्य रुबिया, जोहन हप्किन्स विश्वविद्यालयकी कथेरिन मक्लिन आदि पर्छन् । त्यसै गरी अन्य ध्यानविधिमा भएका अनुसन्धानहरूले पनि नियमित ध्यान अभ्यासले मनो–शारीरिक स्वास्थ्यमा सकारात्मक परिणाम देखाएका छन् । बुद्धले प्रयोग गरेको विपश्यना ध्यान गुरु गोयन्काले सफलतम रूपमा जेलका कैदीहरूका बीचमा १०/१० दिनका शिविरका रूपमा चलाएका थिए, जसको प्रभाव मानसिक शान्ति र चारित्रिक सुधारमा निकै उत्साहपूर्ण छ । ध्यान स्वयंमाथि नै अनुसन्धान गर्ने उपाय हो, जसको जागृत र बोधपूर्ण अभ्यासले व्यक्तिको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ ।

प्रकाशित : माघ १३, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?