एसिड समय !- विचार - कान्तिपुर समाचार

एसिड समय !

सविता विमली

काठमाडौँ — पर्दामा ‘छपाक’ सुरु भयो । मेरा आँखा भिज्न सुरु गरे । मैले सीमालाई सम्झिएँ । उसलाई बिर्सिएकै पनि कहाँ थिएँ र ? 

२०७२ को साउन महिना । पढाइ सुरु भएको केही दिनपछि मेरो पहिलो घण्टी सकिने बेला नोबेल एकेडेमीका प्रशासन प्रमुख नारायण केसी एउटी किशोरीसहित ढोकामा उभिनुभयो । मैले नजिकै गएर नयाँ विद्यार्थीलाई भित्र आउन संकेत गरिनसक्दै नारायण सरले ‘सीमा’ भन्नुभयो । मैले उसलाई नियालेर हेरें । ऊ थिई— सीमा बस्नेत ।


एसिडका बाछिटाले निथ्रुक्कै भएकी सीमा उच्च माध्यमिक तह अध्ययनका लागि आइपुगेकी थिई । २०७१ फागुन १० गते बिहानै एसएलसीको तयारीका लागि ट्युसन पढ्न गएका किशोरीमाथि एसिड फ्याँकिएको थियो ।

अचानक आफ्नाअगाडि सीमालाई देखेर म भरिएँ । उसलाई न्यानो आलिंगन गर्ने इच्छालाई मेरा आँखाले रोकिदिए । चुपचाप उसलाई थपथपाएर निस्किएँ । त्यतिखेरै भरिएका गह अहिले बगिरहेछन् र आज यिनलाई मैले रोकेकी छैन ।


सीमाको अनुहारभरि राताराता डाम थिए । ऊ बीचबीचमा कलेज आउँदिनथी । भन्थी, ‘उपचारको लागि गएकी थिएँ ।’ उसको अनुहारका दागहरू अह्ररा थिए । कडा, एकदमै जब्बर । नाकको छेउको दागमा त सुई लगाउन खोज्दा सुई नै भाँचिएको उसले सुनाएकी थिई । एसिडका जब्बर चोटहरूलाई जित्दै अगाडि बढिरहेकी सीमामा भरिँदो आत्मविश्वाससँगै म संगीताको खबर पनि पढिरहेकी थिएँ । पीडकलाई सजाय भएकामा सीमा खुसी थिई । तर त्यो कैद सजाय कम भयो भन्ने उसलाई लागेको थियो ।


कलेजले उक्त एसिड आक्रमणका पीडित संगीता मगर र सीमा बस्नेतलाई नि:शुल्क दस जोड दुई अध्ययनको व्यवस्था गरेको थियो । एसिडको गम्भीर आक्रमणमा परेका किशोरीमध्ये सीमा मात्र पहिलो वर्ष पढ्न आइपुगेकी थिई । संगीतालाई निको हुन समय लागेको भएर अर्को वर्ष मात्र ऊ पढ्न कलेज आएको देख्न पाइयो । तर मेरो भागको कक्षामा ऊ थिइन । सलले अनुहार छोपेकी उसको छेउमा गएर उसका घाउ कोट्याउने हिम्मत मैले गर्न सकिनँ । सीमासँगको जस्तो सहुलियत संगीताका हकमा मलाई प्राप्त भएन ।


एसिडले डढाएका सपनामा पलाउँदै गरेका पालुवालाई किनारमा उभिएर हेर्न पाएकैमा मलाई सन्तोष थियो । यी दुवैलाई मिडियाले पछ्याइरहेका थिए । धेरै कुरा त मैले मिडियाबाटै थाहा पाएँ । संगीताका दैनिकी पढें । सीमाका गुनासा पढें । उनीहरूका सपना, हौसला पढ्रें । सीमा मसँग फेसबुकमा समेत जोडिएकी थिई । ऊ सक्रिय थिई ।


एसिड आक्रमणपछि अस्पतालको शय्याबाट सीमाले प्रधानमन्त्रीलाई चिठी लेखेकी थिई । अप्ठ्यारोमा सँगै उभिने त कति थिए होलान् र ? किशोरीहरूका शरीर मात्र होइन सपनामाथि पनि छ्यापिएको एसिडले सिंगो देश संवेदित भएको समयमा राजनीति पनि उनीहरूको नजिक पुग्यो । तत्कालीन एमालेनिकट विद्यार्थी संगठनप्रति सीमाको राजनीतिक झुकाव बढेको थियो । त्यो झुकाव उसले सामाजिक सञ्जालबाट पनि अभिव्यक्त गरिरही ।


भविष्यमा राजनीति गर्ने, नेतृत्व तहमा पुग्ने उसको सपनाले पखेटा हाल्न सुरु गरेका थिए । किशोर उमेर समूह राजनीतिप्रति बेपर्वाह रहने उमेर हो । यही उमेरकी सीमाको राजनीतिप्रतिको लगावले मलाई भने उत्साहित बनाइरहेको थियो । सँगसँगै गहिरो डरमा पनि थिएँ म, किनकि ऊ जुन तहमा राजनीतिमाथि विश्वास तथा भर गरिरहेकी थिई, त्यो तहसम्मको विश्वास तथा भरोसा गर्नलायक राजनीति न हिजो थियो न आज नै छ ।


अहिले विश्वास जितेर भोलिका दिनमा घात गर्न पटक्कै संकोच नमान्ने राजनीतिको अनुहार कति असुन्दर छ भन्ने कुराप्रति मेरी निर्दोष छात्रा असाध्य अनभिज्ञ थिई । भोलि त्यस्तो कुरूप राजनीतिसँग साक्षात्कार भएका दिन उसले महसुस गर्ने डाहले एसिडको डाहलाई माथ गर्दो हो कि नाइँ !


अहिले डा. शिवमाया तुम्बाहाङ्फेमाथि नेपाली राजनीतिले एसिड फ्याँकेको छ र उक्त एसिडका बाछिटाले नेपाली समाजको प्रत्येक नारी हृदयलाई पोलेको छ । एकपटक फेरि राजनीतिले नेपाली नारीलाई माथि उठ्नका लागि उसको स्वआर्जित क्षमतालाई ललकारेको छ । कसैकी पत्नी, विधवा, प्रेमिका (?), छोरी, बुहारी नहुनुले डामिएकी शिवमायाका लागि आफ्नै पार्टी पंक्तिका एकाध महिलाभन्दा अरू बोल्न नसक्नु नेपाली राजनीतिका लागि दुर्भाग्य हो । विद्यादेवी भण्डारी, सुजाता कोइराला, रेणु दाहाल, ओनसरी घर्ती, बिना मगर, विद्या भट्टराईहरूका राजनीतिक उचाइको बढ्दो ग्राफमा पति, पिता वा ससुराका नामको भरथेग नहुँदो हो त उक्त उचाइको ग्राफ उहिल्यै ओरालो लाग्ने थियो भन्ने कुरालाई यसले अझै स्पष्ट पारेको छ ।


शिवमाया तुम्बाहाङ्फे प्रकरण नेपाली राजनीतिले नारीमाथि गरेको सर्वाधिक चर्को घात हो । नारी माथि उठ्न उसको योग्यता र क्षमता होइन, उसलाई उचाल्ने घरभित्रकै बड्डाहरू चाहिन्छन् भन्ने क्षुद्र सत्य फेरि एकपटक चरितार्थ भएको छ । महिला मुक्तिका क्रान्तिकारी रटानहरूको धज्जी उडाउने कम्युनिस्ट भनिने नेतृत्वको यो कृत्यको हिसाब भविष्यमा नेपाली जनताले राख्लान्–नराख्लान् तर आफैंले निर्माण गरेका भाष्यमाथि बलात् आक्रमण गर्दै तिनको विनाशको बाटामा नेपाली कम्युनिस्ट राजनीति स्वयम् लागेको भने पक्कै हो ।


शिवमाया प्रकरणले के पुष्टि गर्छ भने, एसिड एक ज्वलनशील तरल पदार्थ मात्र होइन, यो एक सोच हो; व्यवहार हो ।


सबैभन्दा धेरै कलाले पूर्ण छ राजनीति । कतिखेर कसलाई उठाउने र कसलाई पछार्ने भलिभाँती जानेको राजनीतिले सीमालाई प्रयोग मात्रै गर्ला कि भन्ने चिन्ताका बीच उसले दश जोड दुई उत्तीर्ण गरी । थप अध्ययनका लागि रत्नराज्य क्याम्पसमा भर्ना भई । यहीबीच उसले देश छाडी । पढ्दै छे कि छोडी, थाहा छैन । सामाजिक सञ्जालबाट एकाएक हराई । ऊ रोजगारीका लागि भारतमा छे भन्ने सुन्नमा आएको छ ।


रोजगारीकै लागि संगीता पनि छट्पटाइरहेकी छ । एसिडले पछारेर उठ्न खोज्दै गरेका यी छोरीहरूले जीवनयापनका लागि गरिरहेको संघर्षमा न राजनीति साथमा उभिएको छ न त राज्य नै । नारी शरीरमाथि एसिड छ्यापिने क्रम रोकिएको छैन; झन् बढ्दो क्रममा छ । पीडकमाथि कारबाही भइरहेका पनि छन् । एसिडले दग्ध शरीर र मनमाथि राज्य अद्यापि अनुदार छ । उदासीन छ । एसिडले भन्दा बढी व्यक्ति तथा समाजका सोच तथा व्यवहारले पोल्छन् । यो एसिड समयले हामीलाई पोलिरहेछ ।


प्रकाशित : माघ १२, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

म किन नबोल्ने ?

सविता विमली

२०५० भदौको कुनै दिन । विद्यालयमा हामी केही थान विद्यार्थीमात्र उपस्थित भयौं । शिक्षक पनि कोही थिएनन् । फर्किंदा बाटोमा पर्ने घरहरूमा पनि ढोका लागेका थिए । सिंगो गाउँ चकमन्न थियो । गाउँबाट मानिस गए कहाँ ?

ती सबै मानिस नजिकैको गौरादह बहुमुखी क्याम्पसको प्रांगणमा पुगेका रहेछन् । तत्कालीन एमालेका महासचिव मदन भण्डारीको मृत्युपछि उनकी पत्नी विद्यादेवी भण्डारी पहिलोपटक आएकी रहिछन् । मेरो गाउँबाट एक्कासी मानिस हराउनुको कारण यही रहेछ । ‘स्वर्गीय भण्डारीको हत्यारा तत्कालीन सरकार नै भएको, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यस हत्याकाण्डको नाइके भएको’ जस्ता ‘खबर’ कानसम्म आइपुगे । यी चर्चा सेलाउन वर्षौं लाग्यो, हामीले थुप्रै कथा–उपकथा सुनिरह्यौं । भण्डारीको हत्यारा पत्ता लाग्ने दिनको प्रतीक्षा मेरो कलिलो मनमस्तिष्कले लामो कालखण्डसम्म गरिरह्यो । खैर ! कसैलाई चासो नरहेको यस्तो प्रतीक्षा मैमात्र किन गरिरहुँ ? मैले पनि भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लागेको समाचार सुन्ने दिनको प्रतीक्षा गर्न छाडिदिएँ ।

श्रीमती भण्डारीको यो आगमनले मलाई पहिलोपटक के सिकायो भने, बोल्न त पाइँदो रहेछ ! सिंगो सत्तालाई खबरदारी गरेको उक्त सभाका भाषणका तरंगले मेरो गाउँ लामो समयसम्म गर्माइरह्यो ।

२०५६ को आमनिर्वाचनका समयमा विद्यालयबाट फर्किरहेका हामीलाई तत्कालीन मालेका उम्मेदवार देवी ओझाको भाषण सुन्न लगियो । ओझालाई सुनिसकेपछि त म उनको ‘फ्यान’ नै भइगएँ । महाकाली सन्धिमा भएका राष्ट्रघातका फेहरिस्त सुनाएर उनले मोहनी नै लगाइदिए । एक भारी उनका तस्बिर अंकित पर्चा बोकेर ल्याएँ र घरभरि टाँस्ने काम गरें । भित्ताभरि पर्चा टाँसेको देखेपछि बुबाले कसको काम भनेर खोज्नुभयो । म हाजिर भएँ । बुबालाई मेरो काम मनपरेन । मैले आफूलाई मनपरेका उम्मेदवारको सरनी गरेंँ । उनले गरेका कुरा सुनाएँ र पर्चा टाँस्नुको औचित्य पुष्टि गरेँ । बुबाले अपनाएको राजनीतिक धारभन्दा फरक धारको वकालतमा पहिलोपटक कोही देखियो, जुन सामान्यत: अपेक्षित थिएन । स्कुले शिक्षा नसकेकी, बालिग पनि नभएकी कान्छी छोरीसँग बुबा त्यसपछिका तीन दिन बोल्नुभएन ।

लगत्तैको उपनिर्वाचनमा स्कुले लुगामै चुनावी सभामा पुगेंँ । नेपाल विद्यार्थी संघका नेता विश्वप्रकाश शर्माले बडो तातो भाषण गरे— २०४८ सालको लालकिल्ला २०५१ मा दुलो पार्‍यौं । २०५६ मा आधा भाँच्यौं । अब अझै लालकिल्ला भत्किँदै जानेछन् ...। अहो ! कत्रो तेज बोलीमा । सानो काँटको उक्त मानिसले बोलेरै आगो बालिदियो ।

वाह ! कसैलाई गाली नगरी पनि बोल्न सकिने रहेछ भन्ने लाग्यो ।

तत्कालीन झापा क्षेत्र नं. ६ हाल ५ नं. का चिर जनप्रतिनिधि मेरो देशका वर्तमान कार्यकारी प्रमुख खड्गप्रसाद ओलीको त के कुरा गरौं ! उनका बोली, भाषण, आलोचना र व्यंग्यका सम्झना मेरो क्षेत्रका कुनचाहिँ बासिन्दाले नगर्ला ?

निर्वाध रूपमा आलोचना गरेको देखेर/सुनेर हुर्किएकी मैले कहिलेदेखि बोल्न थालेंँ, यकिन थाहा छैन । जे होस्, मैले बोल्न सुरु गरेंँ । कक्षा आठमा जिल्लास्तरीय परीक्षाको शुल्क अघिल्लो सालको भन्दा बढेर आयो ।

प्रधानाध्यापकको झ्यालमा उभिएर मैले प्रश्न गरेंँ । अतिरिक्त क्रियाकलापका खेलकुदका सामग्री छात्राहरूका लागि थिएनन् । विद्यालयले छात्राहरूका लागि भाग नलगाएको र छात्रहरूले एकलौटी बनाएका खेलकुद सामग्रीमाथि छात्राहरूको हक दाबी गरेंँ । हातमा परेको भकुन्डो खेल्न कोही छात्रा साथी आइदिएनन् । म एक्लै परें ।

मीना सञ्चार अभियान विद्यालयसम्म आइपुग्यो । कथा सुन्ने–सुनाउने काम भयो । यस अभियानमा के कति रकम आयो, थाहा थिएन । यसका संयोजक शिक्षकले केही रकम उब्रिएको र उक्त रकम शिक्षक र मीना सञ्चार अभियानका कार्यसमितिका सदस्य विद्यार्थीलाई बाँड्न चाहेको कुरा गरे । यसरी आपसमै पैसा बाँड्न नहुने बरु नजिकैको बजारमा खाली खुट्टा हिँंड्ने बालबालिकाका लागि चप्पल किनिदिउँ भनेर बोलें ।

यसरी बोल्नुपर्छ भन्ने सिकाउने मेरो थातथलो कम्युनिस्ट बहुल क्षेत्र हो । मेरा जनप्रतिनिधि हाल मेरो देशका प्रधानमन्त्री भएको समय हो यो । सिंगो सत्तालाई संगीन आरोप लगाउन र आलोचना गर्न सक्ने व्यक्ति राष्ट्रपतिका रूपमा पाएको यो समयले भन्दैछ कि अब तँ नबोल् । नहेर् । नसुन् । दस वर्षको सशस्त्र द्वन्द्वको चपेटामा परेको मेरो पुस्ता चुपचाप रहन जन्मिएको हो त ?
अहँ होइन । हुँदै होइन ।

मेरो देशको सत्ता बोल्नैपर्ने काम गर्छ र नबोल भन्छ । ऊ गर्नैपर्ने काम गर्दैन र नबोल भन्छ । ऊ जे गर्दा शान्ति बिथोलिन्छ, त्यही गर्छ र नबोल भन्छ । ऊ जे गर्दा विवाद सुल्झन्छ, त्यही गर्दैन र नबोल भन्छ । मेरो देशको सत्ता स्वयम् जनतालाई बोल्ने खजाना दिइरहन्छ र नबोल भन्छ ।

जब सत्ता स्वार्थहरूको पूर्तिमा मात्र लिप्त हुन्छ, म किन नबोल्ने ?

देशमा काम होइन, काण्डैकाण्ड मात्र भइरहेछन् । धमिजा, लाउडा, लडाकुका रासन, चिनियाँ व्यापारीसँगको फोन, सुडान घोटाला, वाइड बडी, सुन तस्करी, बालुवाटार, यति–गोकर्ण, एनसेल कर छली, आईजीपी, प्रधानन्यायाधीशलाई महाअभियोग, छोरी निर्वाचन, बुहारी थमौती...। काण्डैकाण्डको सहर... काण्डैकाण्डको देश । सत्ता स्वयम् काण्डमा लिप्त छ र जनतालाई नबोल भन्छ ।

र यी काण्ड अहिले गाउँ पनि पुगेका छन् । वडामा पुगेका छन् । कागजमै मात्र काम गरिरहेको छ कि साँच्चै काम भएको छ भन्ने हेर्ने कसले ? वडाध्यक्षभन्दा माथिको निकाय कति स्वच्छ छ ? संघीय नेपालको संघको कार्यपालिका तथा सिंगो संसद नै निश्चित व्यक्ति तथा समूहको स्वार्थ पूरा गर्न लागेको छ । कानुन बनाएरै स्वार्थ समूहका स्वार्थ पूरा गर्न भ्याइ–नभ्याइ छ र यसमा खबरदारी गर्नेलाई पाँच वर्ष थुन्ने र १५ लाख जरिवाना गर्ने कानुन बन्नलागेको अवस्था छ ।

र मेरा लागि सर्वाधिक दुर्भाग्यको कुराचाहिँ मेरो जनप्रतिनिधिको नेतृत्वमा यी सबै भइरहेका छन् । जसले बोलेको देखेरै मैले बोल्न सिकेंँ, उनैले मेरो अभिव्यक्तिलाई कोर्रा लगाउँछु भनिरहेछन् । र यो कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन ।

चुनावमा गरेको सहयोग विधेयकका कतै दफा हटाएर, कतै थपेर फिर्ता गरिँदैछ । कसैका घरमा बसेबापत ठेक्का मिलाइएको छ । कसैले दिएको सापटी (?) तिर्न सिंगो संस्थाको संरचना ध्वस्त पारिँदैछ । छोरीलाई जिताउन राष्ट्रको कानुन पाइतालामुनि राखिएको छ । बुहारीलाई थमौती गर्न कार्यक्षमतामाथि आँखा चिम्लिइएको छ । र मेरो देशको सत्ता मलाई नबोल भन्छ ।
म किन नबोल्ने ?

आलंकारिक पद राजनीतिक नियुक्तिमा भाग खोज्छ ! पार्टीको बैठकबाट नेता झिकाउँछ र बहस गर्छ । ३३ होइन ५० प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउँछौं भन्ने पार्टीको सरकारमा दुईजना मन्त्री महिला छन् । ४४५ सदस्यीय केन्द्रीय समितिको १७ प्रतिशत, स्थायी समितिमा दुईजना, सचिवालयमा शून्य सहभागिता छ ।

सरकारी जमिनमा आफ्नो नाम लेखाएकाहरू निर्धक्क राजनीति गरिरहेछन् । आफ्नै इतिहासका कारण प्रतिपक्ष चुपचाप खुम्चिएको छ । यस्तो अवस्थामा बोल्ने को हो ? म किन नबोल्ने ?

प्रकाशित : पुस २६, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×