कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जग नहाँसोस्, भ्रमण वर्षमा

अन्य मुलुकमा सवारी दुर्घटनालाई यदाकदा हुने असामान्य घटनाका रूपमा लिइन्छ । तर हाम्रो राजधानी र अन्य सहरहरूमा सडक दुर्घटना दिनानुदिन हुने नियमित घटना बन्न पुगेको छ । अन्य मुलुकमा सडक दुर्घटना घट्ने क्रममा रहेको पाइन्छ । हामीकहाँ दुर्घटना घट्नु सट्टा प्रत्येक वर्ष बढ्दै गइरहेको छ । विचारणीय कुरा त अधिकांश दुर्घटना पैदल यात्रीका लागि बाटो काट्ने प्रयोजनका लागि निर्धारित जेब्राक्रसिङमै हुने गरेका छन् ।

जग नहाँसोस्, भ्रमण वर्षमा

हालैको एक समाचार अनुसार सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी चेली तामाङ विगत ३ वर्षदेखि ट्रमा सेन्टरको बेड नं. ५१४ मा बसेर उपचार गराइरहेकी छिन् । जेब्राक्रसिङबाट बाटो काटिरहेको बेला तेजरफ्तारमा आएको मोटरले धक्का दिएपछि उनी सख्त घाइते भएकी थिइन् । अहिलेसम्ममा उनले उपचारमा ८० लाख खर्च गरिसकिन् । अझ कति लाग्ने हो, थाहा छैन । तथ्यांक अनुसार यही मंसिर महिनामा मात्रै ११ जना पदयात्रीले ज्यान गुमाएका छन् । दुर्घटना कम गर्ने प्रयास भइरहेको पढ्न–सुन्न पाइन्छ । तर दुर्घटना भने दिन–प्रतिदिन बढ्ने क्रममा छ ।


सरसर्ती हेर्दा यसको पहिलो कारण बाटो र फुटपाथको दुरवस्था नै हो । सडक निर्माण गर्ने र सडकको स्थितिको अनुगमन गरेर मर्मत–स्याहार गर्ने निकाय नभएका होइनन् । तर खाल्डाखुल्डीले भरिएका अधिकांश सडकहरू सडक भन्नलायक छैनन् । धुलाम्मे, हिलाम्मे सडकले वर्षैभरि राजधानीलाई गिज्याइरहेको जस्तो लाग्छ । स्थानीय बासिन्दाले कतिपटक सडकमै धान रोपाइँ गरेर विरोध प्रदर्शन गरे पनि यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षित भएको पाइँदैन । हुन त कुनै उच्चपदस्थ विदेशी नेताको आगमनको बेला हाम्रा यिनै निकायले एकरातमा कालोपत्रे गरेर आफ्नो कार्यकुशलता देखाइदिएका दृष्टान्त धेरै छन् । तर निकै ठूलो खर्च गरेर हतार–हतार बनाइएका त्यस्ता सडक पाहुना फर्कन नपाउँदै पुन: पहिलेकै दुरवस्थामा पुगेका उदाहरण पाइन्छ ।


उता सडक विस्तारका क्रममा फुटपाथ साँघुरिंँदै गइरहेका छन् । त्यसमा पनि निर्माण सामग्री थुपार्ने कामका साथै फुटपाथमा पसल थापेर व्यापार गर्नेगर्दा पदयात्रीलाई हिँंड्न सकस भइरहेको हुन्छ । यस्तो अवस्थामा पदयात्रीहरू फुटपाथबाट सडकमा उत्रिएर यात्रा गर्न बाध्य भइरहेका हुन्छन् । यसरी विचार गर्दा सडकको अवस्थालाई मात्र दुर्घटनाको कारण भन्न सकिन्न । सडक व्यवस्थापन सम्बन्धी हाम्रो मानसिकता र प्राथमिकताको धारणा पनि उत्तिकै जिम्मेदार छ । विकसित मुलुकहरूमा पैदलयात्री त्यसमा पनि बालवृद्धहरूलाई सर्वाधिक प्राथमिकता दिने गरिन्छ । पैदलयात्रीले जेब्रा क्रसिङमा टेक्ने बित्तिकै वाहनहरू तत्काल रोकिन्छन् । सवारी चालकले नै पैदलयात्रीहरूलाई सडकपार गर्नुस् भनेर इसारा गर्छन् । तर हामीकहाँ पैदलयात्रीभन्दा पनि गाडीहरूलाई प्राथमिकता दिएर ट्राफिक सञ्चालन गरिन्छ । उनीहरूको मुख्य प्राथमिकता नै गाडीहरूलाई छिटोभन्दा छिटो हिँडाएर ट्राफिक जाम हुन नदिनेतर्फ केन्द्रित भइरहेको हुन्छ । फेरि ट्राफिकको इसारा पाउने बित्तिकै दोबाटो, चौबाटोमा पनि कसले उछिनेर पहिले पार गर्ने भनेर गाडीहरूको म्याराथन दौड सुरु हुन्छ ।


अब यो गोलीको पर्रा छुटेको जस्तो वाहनको तँछाड–मछाडमा पैदलयात्रीहरूको लागि चुपचाप रमिता हेर्नुको विकल्प हुँदैन । सडक पार गर्नका लागि पैदलयात्रीहरूको पालो कहिले पनि आउँदैन । कोही अत्यावश्यक कामले हतार परेकाहरू यस्तैमा पनि ज्यान हत्केलामा लिएर सडक पार गर्न तम्सिन्छन् । र गाडी र मोटरसाइकलहरूको चेपाचेपमा परेर ज्यान गुमाउन पुग्छन् । त्यसो त राजधानीको नयाँबानेश्वर, त्रिपुरेश्वर जस्ता कति ठाउँमा ट्राफिक व्यवस्थापन गर्दा पैदलयात्रीका लागि पनि बाटो पार गर्ने अवसर प्रदान गर्ने गरिएका उदाहरण छन् । तर यही व्यवस्था अन्यत्र किन हुन नसकेको बुझ्न सकिन्न । यही प्रसंगमा एउटा कुरा विचारणीय हुन आउँछ, हामीकहाँ मान्छेले गरेको भन्दा ट्राफिक बत्तीले गरेको सडक व्यवस्थापन बढी प्रभावकारी र सुरक्षित सिद्ध भएको छ ।


अर्को कुरा, हामीकहाँ चालक इजाजतपत्र पाउन अत्यन्त कठिन र लामो समयसम्म कुर्नुपर्ने अवस्था छ । चालकको व्यावहारिक एवं सैद्धान्तिक ज्ञान र दक्षताको राम्रो जाँच परीक्षा गरेर प्रमाणपत्र दिने कुरा उपयुक्त हो । तर दुर्घटनाको प्रकृति र अवस्थालाई हेर्दा चालकहरूबाट साधारण गल्ती र लापरबाही नै धेरै हुने गरेको पाइन्छ । दुर्घटनाको प्रकृति र अवस्थालाई विचार गर्दा कुनै अदक्ष सिकारुले मनपरी गाडी चलाएको जस्तो प्रतीत हुन्छ । लामो जाँच पडताल र परीक्षापछि दक्ष र योग्य ठहरिएकालाई चालक प्रमाणपत्र दिने गरिएको अवस्थामा यस्तो त्रुटि कसरी हुने गर्छ ? यो कुरा विचारणीय छ ।


यसका साथै हाम्रोजस्तो भौगोलिक विविधता र विकटता भएको मुलुकमा नियमित रूपमा गाडीचालक र गाडीको जाँच एवं अनुगमन आवश्यक हुन्छ । तर यसतर्फ पर्याप्त ध्यान दिन सकिएको पाइँदैन । दुर्घटनाका मुख्य कारणमध्ये लामो यात्रा गर्दा चालक थाकेर उँग्न पुगेको, मादक पदार्थ सेवन गरेको, आवेश र उत्तेजनामा गाडी चलाएको, अप्ठेरो ठाउँमा गाडी ओभरटेक गर्न पुगेको जस्ता मानवीय कारणका साथै गाडीको ब्रेक, गेयर, स्टेरिङजस्ता उपकरणले काम नगरेको आदि पाइन्छ । हाम्रो जस्तो भौगोलिक विविधता भएको मुलुकमा यस्ता विषयको नियमित जाँच अनुगमन गरेर आवश्यक कारबाही गर्ने परम्परा स्थापित गर्नसके दुर्घटना धेरै हदसम्म कम गराउन सकिन्छ ।


दुर्घटनाको अर्को महत्त्वपूर्ण कारण क्षमताभन्दा बढी यात्रु कोच्ने प्रचलन हो । हाम्रा वाहनहरूको क्षमता असीमित देखिन्छ । भित्र गाडीमा कोचाकोच गरिएका यात्रु उकुस–मुकुस भएर छट्पटाइरहेका हुन्छन् । तर खलासी भने ठूलो स्वरमा सिट खाली छ भनेर चिच्याइरहेको हुन्छ । अर्को विकल्प नभएकोले त्यस्तै उकुस–मुकुसको कोचाकोचमा यात्रा गर्न यात्रुहरू विवश हुन्छन् । दुर्भाग्यवश, दुर्घटना भएमा ठूलो ज्यानधनको क्षति हुने गर्छ ।


सार्वजनिक यातायातको यस्तो हालत छ भने सार्वजनिक शौचालयको अवस्था झनै दयनीय छ । खुला दिसामुक्त भनेर घोषणा गरे पनि सहर–बजारमा शौचालयको दुरवस्था बयान गरेर साध्य छैन । एकाध ठाउँमा भएका शौचालयको अवस्था हेर्दा भित्र प्रवेश गर्नसमेत गाह्रो हुने स्थिति छ । सार्वजनिक यातायात, सार्वजनिक शौचालय, सार्वजनिक स्वास्थ्यसेवा, सार्वजनिक आवास र सार्वजनिक खानपिनका स्थलहरूलाई आधारभूत आवश्यकताको रूपमा लिने गरिन्छ । तर यसतर्फ कुनै ठोस व्यवस्था र नियमन गर्नेतर्फ हाम्रो ध्यान जानसकेको छैन । यस्तो स्थितिमा हामी नेपाल भ्रमणवर्ष मनाउने तरखर गरिरहेका छौं । झन्डै २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षाका साथ प्रचार–प्रसारमा जुटेका छौं । यति ठूलो संख्यामा पर्यटक भित्र्याउनका लागि के कस्ता आधारभूत सुविधा र साधनस्रोत जुटाउनपर्ने हुन्छ । हाल भएका पूर्वाधार र साधन सुविधाको अवस्था कस्तो छ भन्नेतर्फ समुचित ध्यान गइरहेको देखिंदैन ।


हाम्रो जस्तो प्राकृतिक सौन्दर्य, भौगोलिक एवं सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र साहसिक मनोरञ्जनका साधन भएको मुलुकका लागि २० लाख पर्यटक भित्र्याउने लक्ष्य त्यति कठिन देखिँंदैन । तर पर्यटकहरूको बसाइलाई सकेसम्म लम्ब्याएर सुखदपूर्ण बनाउन सकिएन भने यसबाट पर्याप्त लाभ हासिल गर्न कठिन पर्ने कुरा पनि त्यत्तिकै सान्दर्भिक छ । हामीले ठूलो महत्त्वाकांक्षा राखेका छौं । तर आत्मसमीक्षा गर्नु जरुरी छ । के हाम्रा तयारीहरू लक्ष्य अनुरुप छन् ? अन्यथा जगहँसाइ हुन बेर छैन । पर्यटकहरूले खाल्डाखुल्डी सडक, अव्यवस्थित सार्वजनिक यातायात, आधारभूत सार्वजनिक सुविधाको अभाव, फोहोर–मैलाको डंगुर, अस्वस्थकर खाद्य पदार्थ, बाटा–बाटामा घेरेर माग्ने र सामान बेच्नेहरूको दुर्व्यवहार र यस्तै दु:खदपूर्ण बसाइको नमिठो अनुभव लिएर फर्कनुपर्‍यो भने भ्रमणवर्ष कतिसम्म सार्थक होला ? बेलैमा ध्यान दिनु उचित होला । भ्रमणवर्ष त सुरु नै भइसक्यो । अब पनि नताते कहिले तात्ने !

प्रकाशित : माघ ११, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?