मार्क्सवाद, प्रणाली र सत्ता

अभि सुवेदी

देशहरूका इतिहासका गति नाप्ने आ–आफ्नै तरिका हुन्छन् । हाम्रा आफ्नै छन् । सबैलाई छुने तरिकाहरूबारे निस्किएका सिद्धान्तहरू पनि छन् । एउटा विषय लिऊँ । कार्ल मार्क्सको सिद्धान्त के हो भन्ने कुरा मान्न कमिनिष्ट हुँ भनेर फुलेल हुँदै धन कमाउने धन्दामा लागिबस्नु पथभ्रान्त हुनु हो ।

ZenTravel

मार्क्सलाई बुझ्नु भनेको तिनले भनेका इतिहास नाप्ने तरिकाहरू हिजो कति उपयुक्त थिए र आज कति उपयुक्त छन् भनेर बुझ्ने प्रयास गर्नु हो । तिनका सिद्धान्तले भनेका कुराले हेर्दा अहिलेका केही घटना ठिक्क नमिले पनि तिनका मानकलाई लिएर व्याख्या हुने गरेका छन् । विश्वमा अहिले मार्क्सका सिद्धान्तलाई मानक बनाएर हेर्दा केही कुरा भेटिन्छन्, जुन अनेकौं उदाहरणबाट देख्न सकिन्छ । एउटा ‘रिपोर्ट’बाट सुरु गर्छु । त्यसमा मार्क्सका सिद्धान्तको प्रयोग भएको छ र उनका भनाइ यहाँ नौलो सन्दर्भमा मानक भएर आएका छन् ।

ब्रिटेनको पत्रिकाद इकोनोमिस्ट (१६ जनवरी २०२०) को अङ्कमा एउटा शीर्षकले एक्कासी तानिएँ । शीर्षक तीन शब्दको छ, ‘ह्यारी, मेघन र मार्क्स’ जुन आफूलाई मनपर्ने शैली हो । भर्खरैको लेखको तीन शब्दे शीर्षकमा पनि ‘मार्क्स’ प्रयोग गरेको थिएँ । द इकोनोमिस्टमा महारानी एलिजाबेथका नाति ह्यारी र उनकी पत्नी मेघनका राजकीय पहिचान छाडेर आमनागरिक भएर बस्ने योजनाबारे लेखिएको छ । त्यसमा कम्युनिष्ट घोषणापत्रमा पुँजीवादले सामन्ती पद्धतिका सबै अवशेषहरूलाई ध्वस्त पार्नेछ भनेर लेखिएको भए पनि ब्रिटेनको राजतन्त्रले भने विपरीत वर्गमा बाँडिएर अल्मलिएका शक्तिका स्रोत जनतालाई ‘ग्लु’ वा टाँस्ने तत्त्व भएर जोड्ने काम गरेको देखाएको छ । यसले सामन्तवादपछि पुँजीवाद आउँछ भन्ने कुरालाई उल्टो गरिदियो । तामझाम, ‘रोमान्स, रहस्य र नाटक’ दिएर राजतन्त्रले ब्रिटिस जनतालाई पुँजीवादको यन्त्रको पार्टपुर्जा हुनबाट जोगाएको छ । ह्यारी र मेघनले भने मार्क्सको भनाइ सत्य सावित गर्नै आँटेको अवस्था छ । राजतन्त्रको ‘मोडर्निटी’सँगको तालमेललाई उनीहरूले भत्काउन लागेका छन्, किनकि उनीहरू स्वतन्त्र भएर व्यक्तिगत कमाइ गर्न चाहन्छन् । यसो गरेर उनीहरू राजतन्त्रको घरभित्र नै पुँजीवाद प्रवेश गराइदिन चाहन्छन् । उनीहरू पुँजीवादको अत्यन्त नयाँ रूपको प्रयोग गर्न चाहन्छन् । यो पुँजीवाद राष्ट्रिय हुँदैन, वैश्विक हुन्छ, पक्का हुँदैन, ‘भर्चुअल’ हुन्छ । यसले बजारको निम्ति लगातार नयाँ फेसन र धार बनाइरहन्छ ।

मेघन मनोरञ्जन उद्योग–फिल्मकी मानिस हुन्, जसले प्रयोग गर्ने पुँजीवाद मार्क्सले भविष्यवाणी गरेजस्तै हुनेछ । ‘सबै पवित्र मानिएका कुरा अपवित्र पारिनेछन् । अनि जुन खँदिलो छ, त्यो पग्लिएर तरल हुनेछ ।’ पत्रिका भन्छ, ‘ससेक्स रोयल भन्ने ब्रान्ड यसो सुन्दा अलिक आलु भनेजस्तो सुनिए पनि त्यो हलिउडको स्टार धुलोले चम्किनेछ ।’ भनाइको सार छ, त्यो एक पुँजीवादी बजारमुखी कम्पनी हुनेछ, जसले बेलायती राजतन्त्रलाई नौलो चुनौती दिनेछ । यो ‘ससेक्स रोयल’ कम्पनीलाई ‘हिट’ बनाइराख्न र बढोत्तरी गरिरहन उनीहरूले ब्रिटिस राजसंस्थाबाट ‘भ्यालु’ वा मूल्य बारम्बार थुतेर लिइरहनेछन्, जसमा त्यहाँभित्रका जातिवाद, लैङ्गिक विभेदहरू पनि पर्नेछन् ।

मार्क्सका सिद्धान्त र प्रयोगमा आएका परिवर्तनको ठूलो उदाहरण चीन हो । पछिल्लो समयमा आएर चीनको पुँजी र बजारप्रधान प्रयोगले मार्क्सको घोषणापत्रको सिद्धान्तलाई त्यही लयमा प्रयोग गरेको छैन । एउटा भर्खरैको उदाहरणबाट हेर्छौं । नेपालका कतिपय कमिनिष्ट नेताहरूले अमेरिकी सहयोगको राशि इन्डो–प्यासिफिकसँग जोडिन सक्ने शंकामा यसमाथि बहस गरिरहेको र यो अमेरिकी सहयोग लिँदा चीनको दृष्टि हामीमाथि कस्तो होला भनिरहेको अवस्थामा आकर्षक व्यक्तित्व र बुद्धि भएकी चीनकी राजदूतले यो रकम लिनुहोस्, तपाईंहरूलाई यो धन चाहिन्छ, यसले काम दिन्छ भनेर भिडियो प्रसारणबाट बोलेको सुनेपछि मेरो मनमा अनेकौं कुरा खुले । जनवरी १६ कै वासिङटन पोस्टमा फरिद जकरियाले चीनको विषयमा भनेका कुरा मननयोग्य लागे ।

तिनले लेखेका छन्, ‘चीनले पश्चिमीहरूले सन् १९४५ देखि स्थापित गरेको खुला अन्तर्राष्ट्रिय मानकलाई मानेर नै आर्थिक अभ्यास गरिरहेको प्रस्ट छ । चीन अहिलेको रूसजस्तो पश्चिमी प्रजातन्त्रमाथि हस्तक्षेप गरिबस्ने रोग राज्य होइन । यो अहिले राष्ट्र संघलाई धन दिने दोस्रो शक्ति हो । यसले १९७९ देखि कुनै युद्ध गरेको वा छिमेकीहरूमाथि हमला गर्ने काम गरेको छैन, जसले गर्दा चीनले सुरक्षा परिषदको स्थायी समितिमा एक रेकर्ड नै कायम गरेको छ ।’ फरिदले यसमा मार्क्सवादी चीनको कुरा गरेका छैनन्, एक उत्तरदायी आर्थिक सम्पन्नताको कडी बोकेको राज्यको कुरा गरेका छन् ।

यी सबै उदाहरणको सार हो, नेपालको मार्क्सवादी सरकार, यसका दल, अनि समाजवादी हुँ भन्ने नेपाली कांग्रेसका सैद्धान्तिक र व्यावहारिक दायित्वमा केही समानता हुनुपर्ने हो । तर नेपालको उदाहरण अनौठो छ । राजनीति र समाजको परिवर्तन थोरै समयमा भएको उदाहरण हो, नेपाल । यसमा संलग्नहरू नै शासन चलाउने, प्रतिपक्षमा बस्ने र आर्थिक कारोबार गर्ने जिम्मामा छन्, जुन स्वाभाविक हो । म ती सबै नरनारीलाई सम्मान गर्छु । तर अहिलेको मुख्य डर भनेको संविधानको सहज र प्रभावकारी प्रयोग नहुने हो कि भन्ने हो । अर्को कुरा दिनदिनै विना कुनै रोकटोक बढिरहेको जसरी पनि धन कमाउने दौड हो, जसमा सबै उत्तरदायी नेता, सरकार र ठेकेदारका सञ्जाल पर्छन् । समग्रमा समय उत्साहजनक लाग्दैन । आफू शैक्षिक क्षेत्रको मानिस भएकोले त्यतातिर बढिरहेको बेथितिबाट झन् दु:खित भएको छु । यसबारे लेखिरहनु पर्दैन । यो सर्वविदित र सबैले भनिआएको विषय हो । तर किन कहीँ ठिक बाटोमा केही परिवर्तन हुँदैनन् ? त्यो जटिल प्रश्न भएको छ, नेपालमा ।

मुख्य समस्या नेपालमा समय अनुसार मूल्यहरू परिवर्तन हुन नसक्नु हो । सिद्धान्त एउटा व्यवहार अर्को हुने अहिलेको नेपालको चरित्र हो । एउटा घटना वाचाल छ । भर्खरैको संसदको सभामुखको विषयले जन्माएका एकाध कुरा उठाउन चाहन्छु । कैयौं राजनीतिमा काम गर्ने नेता वा बुद्धिजीवीहरूसँग चिनजान भएको, यिनीहरूमध्ये कति विगतमा आफ्ना विद्यार्थीहरू नै रहेको अनि आफू एक स्वतन्त्र मनुवा भएको कारणले मेरानिम्ति कोही सभामुख हुनु, प्रधानमन्त्री वा अरु केही हुनुसँग केही चाख छैन । तर भर्खरै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले देशको सबभन्दा महत्त्वपूर्ण संवैधानिक अंग संसदको स्वतन्त्रताको निम्ति दिएको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको अनि अनाहक तिनले प्रश्नहरूको उल्टो सामना गर्नुपरेको अवस्थालाई हामी लिम्बुवानका मानिसहरूले ‘ह्युमिलिएसन’ गर्न खोजेको अर्थमा लिएका छौं ।

राष्ट्रिय तहमा नै कुरा गर्दा शिवमाया अहिलेको उद्बोधनको खडेरी पर्दै गएको नेपालमा एउटा प्रमेथियसको अग्निजस्तो चेतनाको अग्नि लिएर आइन् र मानौँ तिनले हेलिकन पहाडमा उठेर चेतनाको उद्घोष गरिन्— ‘यहाँ गहिरोगरी गाडिएको पितृसत्ता छ, जसलाई उखेल्न राजतन्त्र उखेल्नभन्दा गाह्रो रहेछ ।’ यो उनको आफ्नो लाभको निम्ति बोलिएको विषय थियो भन्ने गलत प्रचार पनि गरिए । यसरी हेर्दा उनको उद्घोषको अर्थ बुझिने छैन । एकछिन पनि संसदलाई नेतृत्वविहीन हुनदिन्न, मेरो दायित्व हो भन्ने उनको कुरालाई आज मूल्यहीन हुँदै गएको धन र लाभका पछि लागेको पुरुषसत्ताले कब्जा गरेको समाजले बुझ्न अत्यन्त आवश्यक छ ।

मेरो निम्ति शिवमाया आफ्नो त्यही ठाउँकी एक तुम्बाहाङ्फे महिला पनि हुन् । नेपालको राजनीतिमा तुम्बाहाङ्फेहरूको योगदान छ । म लिम्बुवानमा हुर्के–बढेको मानिस, मेरो गोधूली काव्यिक र महाकाव्यिक चेतनामा लिम्बु संस्कृति, लय, रंग, ध्वनि गान र कविताको प्रभाव छ । राजनीति भनेको चेतना हो र यो मानिसको कर्म हो, यसलाई मानिसको नैतिकताभन्दा पर लगेर हेर्नु हुँदैन भनेर मलाई सिकाउने गजेन्द्रबहादुर तुम्बाहाङ्फे हुन् । तेह्रथुम जिल्ला कमिनिष्ट पार्टीका सभापति विष्णुकुमार र मेरा कमिनिष्ट दाजु मित्रलालका गुरुसदृश थिए, गजेन्द्र दाइ । तर ती स्वतन्त्र चिन्तनका एक उदाहरण थिए । मैले ८८ वर्षका गजेन्द्रबहादुर दाइलाई २०६८ सालमा उनको निवासमा भेटेको अन्तिम थियो । कान्तिपुरमा लेखेँ । ती केही वर्षपछि दिवंगत भए । पितृसत्तासँग लड्ने विमला तुम्बाहाङ्फे दिदी उनकै बहिनी थिइन् । शिवमायाले संसदको मर्यादा राख्ने विषयमा एक्लै लड्दा एक शब्द पनि नबोल्ने कांग्रेसका महिला नेतृहरूलाई थाहै होला, विमला दिदी अत्यन्त अप्ठ्यारो र परिवर्तन कालमा नेपाली कांग्रेस तेह्रथुम जिल्लाकी सभापति थिइन् । तिनले २०४७ सालको परिवर्तनपछिको स्टेडियमको कांग्रेसको बृहत भेलामा दन्दनाएर भाषण गरेकी थिइन् । म सँगै थिएँ । नेपालको संसदका पहिला चुनाव जितेका कांग्रेसका तेजमान तुम्बाहाङ्फे दाइ ९५ वर्षको उमेरमा सक्रिय र सचेष्ट छन्, म्याङलुङमा ।

शिवमायाले भनिन्, ‘संवैधानिक पदमा रहने व्यक्तिमा स्वतन्त्र रहने साहस हुनुपर्छ ।’ उनको लडाइँ त्यही थियो । सभामुख प्रचण्डका मानिस हुन्छन् वा ओलीका त्यसमा शिवमायाको केही आग्रह थिएन । उनले संविधानसम्मत धैर्य गर अनि आफू निर्णय गरेर आओ भनेकी थिइन् । संवैधानिक स्थानमा रहने व्यक्ति स्वतन्त्र रहनुपर्छ भन्ने उनको आह्वान त्यस्तो नरहनेको निम्ति अबदेखि चुनौती भएको छ । त्यही आचरण भत्किँदै गएको देखेकी डा. शिवमायाको यो सन्देश एउटा घटना हो, लोकतन्त्रको ।

प्रकाशित : माघ ११, २०७६ ०८:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

इन्टरनेटसम्बन्धी मिथ्या ज्ञान

शुभ कायस्थ

क्याफे गई घन्टाको ३० रुपैयाँ तिरेर इन्टरनेट चलाउँदै गर्दा यसरी इन्टरनेट घर–घर र हात–हातमा पुग्छ भनेर मैले सोचेको पनि थिइन । अचेल बिहान आँखा खुल्ने बित्तिकै मेसेज वा सामाजिक सञ्जाल चेक गरिन्छ । इन्टरनेट भएन भने कार्यालयको कामसमेत ठप्पै हुन्छ । 


यति भनिरहँदा सहर–बजारमा इन्टरनेटबारे अर्को विचार याद गर्दैछु । इन्टरनेटले बालबालिका र युवायुवती बिगार्‍यो भन्ने विषय जोडतोडले उठ्दैछ । इन्टरनेट आउनुअघि मानिसहरू बच्चाले टिभी धेरै हेरेर आँखा बिगारे, पढाइ खत्तम पारे भन्थे । अहिले त्यो दोष मोबाइल र कम्प्युटरलाई दिने गरेको पाइन्छ । कोही इन्टरनेटलाई नै बालविवाह बढ्नुको कारक तत्त्व पनि हो भन्छन् । सहर–बजार होस् या गाउँमा अभिभावकलाई आफ्नो बालबच्चा इन्टरनेटको कारण उनीहरूकै भाषामा भन्नुपर्दा ‘नराम्रो बाटो लाग्ला’ कि भन्ने ठूलो चिन्ता छ । अलि ग्रामीण भेगतिर गएर कुरा गर्नुभयो भने त झन् ‘यो फेसबुकले गर्दा केटीहरू सबै पोइल गए’ भन्ने गरेकोसम्म पनि सुन्न पाउनुहुन्छ । मैले चाहिँ आफू काम गरिहिँड्ने क्रममा यस्तो धेरै सुनेको छु ।

‘इन्टरनेट चलाएर बच्चा बिग्रियो’ भन्ने कुरा हामीले प्राय: मिडियामा पढेको र देखेको भरमा भनिरहेका हुन्छौँ । समाचारको शीर्षक नै अत्याउने खालको हुने गर्छ । त्यसो भएपछि मान्छेहरू आत्तिन्छन् नै । त्यस्ता समाचारले कति सत्यतथ्य बोलेको छ वा समाचार लेख्नेको व्यक्तिगत विश्लेषण मात्र हो कि भनेर धेरै नसोची विश्वास गरिहाल्ने हाम्रो बानी छ । फेरि समाचार आफ्नै सन्तानसँग सम्बन्धित भएपछि आत्तिने त भइनै हाल्यो । जबकि अभिभावकलाई आफ्नो सन्तानले इन्टरनेट केको लागि प्रयोग गर्दैछ भन्ने कुरा थाहा नहुनाले यस्तो डर पैदा हुने हो । झन् किशोर अवस्थाको सन्तान छ भने त इन्टरनेटमा कोसँग कुरा गर्दैछ, कसैले उक्साएर गलत काममा लाग्ला, हिंसा अथवा यौनहिंसामा पर्ला कि भनी प्राय: अभिभावकमा डर हुने गरेको पाइन्छ । कतिलाई इन्टरनेट चलाउने क्रममा प्रविधि र भाषाको ज्ञान नभएको हुनसक्छ । आफूले नदेखेको वा नजानेको कुरामाथि शंका लाग्नु स्वाभाविक पनि हो । यस्तै डरका करण देशका विभिन्न ठाउँमा इन्टरनेटको प्रयोगले नै हिंसा बढेको भन्दै विरोध कार्यक्रमहरू पनि भएका छन् । मिडियामा आउने समाचार पढेर त्यो डर अझ बढ्ने गर्छ । सरकारले महिला हिंसा बढ्नुमा इन्टरनेटको दोष देखाउँदै पोर्नसाइटहरू बन्द गरेको पनि एक वर्षभन्दा बढी भइसक्यो । यस्ता कदम भनेको अधिकारमुखी नभई संरक्षणमुखी हुन्छ र यसले समस्याको जरा पत्ता लाउनभन्दा सतही रूपमा क्विक फिक्स गर्ने बाहेक केही गर्दैन ।

अब एकछिनको लागि आफ्नो बाल्यकाल र युवावस्था सम्झिम् त । तपाईंहरूमध्ये कतिले कक्षाकोठामा शिक्षकले नदेख्नेगरी कागजमा चिट लेखेर साथीहरूलाई पास गर्नुहुन्थ्यो ? त्यो गर्नुहुन्नथ्यो भने घर बाहिर, सडक नजिक दगुर्ने, गुच्चा खेल्ने त गर्नुहुन्थ्यो । अथवा रुख चढ्नुहुन्थ्यो । अब यो सब गतिविधि पनि त जोखिमपूर्ण नै छ नि होइन ? रुख चढ्दा लढ्न सक्छ । घर बाहिर सडक नजिक खेल्दा गाडीले हान्न सक्छ वा अपहरणमा पनि पर्न सकिन्थ्यो नि । तर त्यस्तो जोखिम हुन्छ भनेर घरमै बस्नुपरेको भए हाम्रो बाल्यकाल कस्तो हुन्थ्यो होला ? त्यस्तै कागजमा चिट लेखी साथीलाई पास गर्दा तपाईंको अभिभावक र शिक्षकले तपाईंलाई ‘अरुसँग गोप्य रूपमा कुरा नगर’ भन्दा कस्तो लाग्छ ? यी कुरा भनेको तपाईको छनोट र गोपनीयतासँग पनि जोडिएका कुरा हुन् भनी हामीले ख्याल गर्नुपर्छ ।

चक्कु, चुलेसी चलाउँदा चोट लाग्छ भने त्यो चक्कु, चुलेसीको दोष होइन । चलाउने व्यक्ति अथवा बाहिरी वातावरण कारण हुनसक्छ । फेरि केही कुराको रोकटोक लगाउँदैमा रोकिन्छ भन्ने हुँदैन । इन्टरनेट चलाउनबाट बालबालिका र किशोरीहरूलाई रोक लगाउँदैमा उनीहरूले अर्को बाटो खोज्दैनन् भन्ने हुन्न । नियन्त्रण गर्नाले झन् जोखिममा पर्न सक्छन् भन्ने बुझ्नुपर्छ ।

अब एकछिन इन्टरनेटबारे कुरा गरौं । प्राय:को लागि इन्टरनेट फेसबुक, युट्युब, अनि भाइबर जस्ता एपहरूमा सीमित हुन्छ । तर इन्टरनेट सागर जतिकै फराकिलो छ । मनोरञ्जन र मेसेज गर्ने बाहेक यो सूचना, समाचार र स्वास्थ्यको जानकारी पाउने, अध्ययन गर्ने, आफ्नो विचार व्यक्त गर्न अनि आफूजस्तै विचार राख्ने समुदायसँग सम्पर्क राख्ने ठाउँ पनि हो । इन्टरनेटको मद्दतबाट सामाजिक आन्दोलन गर्न सजिलो भएको छ । उदाहरणको लागि गुठी विधेयक विरुद्ध हजारौं जनता सडकमा उत्रिए । अरुभन्दा पनि अहिलेको जमानामा सामाजिक अन्तरक्रिया गर्ने तरिका भिन्न भएको छ । अनलाइनमा हुने घटना र समाचारले हाम्रो दैनिक जीवनको सामाजिक अन्तरक्रियालाई सोझै असर पारेको हुन्छ । यदि तपाईं अनलाइन हुनुहुन्न भने धेरै विषयमा अनविज्ञ हुनसक्ने अवस्था छ । अध्ययनहरूले के पनि देखाउँछ भने इन्टरनेटको प्रयोग गर्ने बालबालिकहरू झन् रचनात्मक हुने, अनि यसले उनीहरूको क्षमता विकास हुन्छ।

१८ वर्ष मुनिका सबै बालबालिकाको समूहभित्र पर्छन् । जसमा हरेक बच्चाको उमेर र परिवेश फरक हुन्छ । उसको आवश्यकता र स्वभाव फरक हुनसक्छ । त्यसैले सबै बालबालिका एकै खाले हुन्छन् र उनीहरूलाई एउटै नियमले काम गर्छ भन्ने हुन्न । सुरक्षालाई जोड दिने हो भने पनि के–के कुरामा मात्र ध्यान दिने त ? ध्यान दिएर पनि साध्य लाग्दैन । बरु बालबालिका र किशोर–किशोरीलाई आवश्यक जानकारीहरू पूर्णरूपमा दिने र उनीहरू आफ्नै हिसाबले सिक्न सक्ने कुरामा विश्वास गर्नुपर्छ । यसले उनीहरूको स्वनिर्णय गर्ने क्षमताको समेत विकास हुन्छ ।

पक्कै पनि महिला र बालबालिकाहरू अनलाइनमार्फत हुने हिंसाबाट बढी प्रभावित हुने गरेका छन् । यो भनेको हाम्रो सामाजिक संरचनाकै उपज हो । यसको मतलब उनीहरूलाई इन्टरनेट नै नचलाउ भन्नु भने गलत हो । फोन वा कम्प्युटर चलाउन बन्देज गर्नु गलत हो । उनीहरूको प्रविधि र इन्टरनेटमाथिको पहुँच रोक्नु समस्याको समाधान होइन । बरु इन्टरनेटलाई सुरक्षित तरिकाले प्रयोग गर्न सघाउने डिजिटल सेक्युरिटीका मापदण्ड अपनाएर अगाडि बढ्न दिने हो । त्यसैले नियन्त्रण नै सबै कुराको समाधान होइन ।

समाजमा यदि बालविवाह हुँदैछ भने त्यो इन्टरनेटका कारण नभई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे सचेतनाको कमीले हुनसक्छ । त्यस्तै बालबालिकाको पढाइ बिग्रेको छ भने त्यो स्कुलको वातावरण अनुकूल नभएको कारण अथवा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा भएको हुनसक्छ । पक्कै पनि आफ्नो सन्तान कुलतमा लाग्ला भन्ने चिन्ता प्राय: सबै अभिभावकलाई लाग्नु स्वाभाविक हो । यो उनीहरूको जिम्मेवारी पनि हो । तर चिन्तालाई चिन्तामा मात्र सीमित नराखी यसलाई जति खुलारूपमा छलफल गर्न सकियो, त्यति नै यसको जरो पत्ता लाउन र समाधानको बाटो खोज्न सहज हुन्छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×