टार्न सकिन्छ आत्महत्या

अजय रिसाल

त्रिशूलीमा सामूहिक पारिवारिक आत्महत्याको त्यो भयावह तस्बिर अझै मेटिन सकेको छैन, मेरो मनमस्तिष्कबाट । दुई कलिला नानीहरूसहित नदीमा फाल हाल्न ती दम्पतीलाई केले विवश गरायो होला ?

तथ्यांकगत रूपमा विश्वव्यापी रूपमै बढ्दै गएको छ आत्महत्या । नेपालमा पनि उकालिइरहेकै छ । नेपाल प्रहरीको रेकर्डले देखाउँछ, एक दशकयता करिब दोब्बर नै भएको छ, आत्महत्या–दर नेपालमा । सरदर प्रतिदिन ८ बाट १६ पुगेको छ, आत्महत्याको संख्या–गणना । किशोर–युवावर्ग (१५–२९ उमेरसमूह) मा अझै बढी छ यो । माथि उल्लेख भएझैं सामूहिक आत्महत्याको यथार्थ विवरण उपलब्ध नभए पनि यस्ता घटना दुर्लभ भने छैनन्, नेपाली समाजमा । पोहोर चितवनमा अनि परार काभ्रेका दुई ठाउँमै परिवारका सबै जनाले एकैसाथ आत्महत्या गरेको समाचार आएको थियो ।


विश्वइतिहास हेर्दा पनि, धार्मिक–साम्प्रदायिक अनुबन्धनमा परेर अथवा ‘समुन्नत भविष्य’ अनि ‘आदर्श संसार’ या ‘मुक्ति’ को कामना गरी या अन्धविश्वासको चपेटामा परेर सामूहिक रूपमै मृत्युवरण गरेका कैयौं सन्दर्भ पाइन्छन् । हाम्रै संस्कृति–परम्परामा देखिएका सतीप्रथा, जोहर, संन्यास–मरण या मोक्षमार्ग आदि पनि सामूहिक आत्महत्याकै प्रकार रहेकामा अन्यथा छैन । त्यस्तै, राजनीतिक कारणले आत्मघाती विस्फोट गराउने या सामूहिक आत्मदाह गर्ने जस्ता उदाहरण पनि यदाकदा देख्न–सुन्न पाइन्छन् । तत्कालीन शासनसत्ताको विरोधमा सामाजिक–सांस्कृतिक सुधारको माग राखेर संघर्षरत महिलाहरूले योगमायाको नेतृत्वमा अरुण नदीमा फाल हाली आत्महत्या गरेको इतिहास पनि हाम्रो नै हो । तर सुरुमा उल्लेख गरिए जस्तो हृदयविदारक समाचार भने त्यस्तो सामूहिक आत्महत्या हुँदै होइन ।


आर्थिक दुरवस्था, व्यापारमा घाटा, तीव्र महत्त्वाकांक्षा, अरूको देखासिकी गर्ने प्रवृत्ति, धैर्यमा कमी, स्वास्थ्य समस्या अनि पारिवारिक सम्बन्धहरूमा आउने उतार–चढाव आदि कारणले पारिवारिक आत्महत्या बढ्दै गएको छ । त्रिशूली प्रकरणमा अत्यधिक ऋणभारको डरले थिचिएपछि त्यो परिवार आत्महत्या जस्तो दुरूह निर्णय लिन बाध्य भएको प्रतीत हुन्छ । हुन पनि, विश्व स्वास्थ्य संगठनले जनाएझैं, आत्महत्याको ७८ प्रतिशत कारण आर्थिक नै हुने गर्छ । त्यस्तै, डिप्रेसनजस्ता मानसिक रोग अनि व्यक्तित्वजन्य समस्या पनि आत्महत्याका कारक मानिएका छन् ।


आत्महत्या गर्ने प्रवृत्ति संक्रामक नै पनि हुन सक्छ । सामूहिक आत्महत्यामा यही संक्रामकता नै प्रमुख माध्यम हुन सक्ने अनुमान छ । प्रत्यक्ष या अप्रत्यक्ष रूपमा, अनि सामाजिक या व्यक्तिगत सामीप्य वा सम्बन्धहरूका कारण आत्महत्या गर्ने विचार, इच्छा या प्रवृत्ति एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । वाइफाई, स्मार्टफोन अनि सामाजिक सञ्जालको व्यापकता रहेको आजको समाजमा यसलाई गम्भीर बहसको विषय बनाइनुपर्छ । किशोर वर्गमा झनै भयावह रूपमा फैलन सक्छ, यो प्रवृत्ति ।


एकअर्काको नक्कल गर्ने प्रवृत्ति, अझ ठूलाबडाको अनुकरण गर्ने चलनले पनि सामूहिक आत्महत्यामा बढोत्तरी ल्याउन सक्छ । हारेका योद्धाहरूले सामूहिक आत्महत्या गर्ने गरेको इतिहासमा पढिएको पनि हो । त्यस्तै, राजनीतिक नेता या सिनेकर्मीहरू जस्ता प्रसिद्ध व्यक्तिको आत्महत्याको खबरले अन्य व्यक्तिलाई पनि त्यसतर्फ प्रवृत्त गराउन सक्ने अध्ययनहरूले औंल्याएका छन् । व्यक्तिगत स्वार्थभन्दा समूहगत स्वार्थ हावी भएको अवस्थामा या एकै किसिमका चिन्ता या तनावले ग्रस्त समूह (प्रायशः परिवारका सदस्यहरू) एकैसाथ मर्न तम्सिन सक्ने तथ्य पनि मनोवैज्ञानिकहरूले औंल्याएका छन् । माथिको पारिवारिक आत्महत्याको प्रसंगमा यही कारकले काम गरेको हुनसक्छ । यस्ता घटनाहरू दोहोरिन नदिन के गर्नुपर्ला त ?


आत्महत्याबारे कुरै गर्न नहुने या त्यसलाई लुकाउनैपर्ने गलत धारणा समाजमा व्याप्त छ, जुन गलत हो । अतः आत्महत्याको सम्भावना भएका व्यक्ति या समूहको पहिचान गरेर तिनलाई आफ्ना भावना या तनावजन्य परिस्थितिबारे खुलासा गर्न सक्ने वातावरण बनाइदिनुपर्छ । आत्महत्याको प्रयास असफल भएर अस्पतालमा ल्याइएका व्यक्तिहरूलाई मनोविमर्श या आवश्यक निदानजन्य क्रियाकलापमा समावेश गराउनुपर्छ । स्कुलकलेजमा मानसिक स्वास्थ्य अनि आत्महत्याबारे सुसूचित गराउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।


हाम्रा सामाजिक एवं सांस्कृतिक विधि–व्यवहार आदिले पनि आत्महत्या न्यूनीकरण गराउन सक्छन् । प्रौढावस्था या वयस्क समूहहरूसँग अनुभव आदानप्रदान गर्ने–गराउने अनि श्रीमद्भगवद्गीता जस्ता आध्यात्मिक स्रोत–सन्दर्भहरूको अध्ययन–सत्संग आदिका माध्यमले तनाव व्यवस्थापन गराई आत्महत्या न्यूनीकरणमा मद्दत पुर्‍याउन सकिन्छ ।


आत्महत्या संक्रामक हुनसक्ने तथ्यलाई बेवास्ता गर्न सकिन्न । गरिबी, असमानता, आर्थिक दुरवस्था जस्ता आत्महत्याका सामाजिक कारकहरूको निराकरण गर्न त दृढ राजनीतिक इच्छाशक्तिकै आवश्यकता पर्छ ।


रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।


प्रकाशित : माघ १०, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?