पितृसत्ता र आचारसंहिता

बिन्दा पाण्डे

चार महिना अर्थात् असोज १५ देखि खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । सम्भवतः माघ १२ पछि प्रतिनिधिसभाले नयाँ सभामुख पाउनेछ र त्यसको केही दिनमा उपसभामुख । नेतृत्व सहज र स्थापित बाटो हिँडेको भए एक महिनाअघि नै यो काम भइसक्थ्यो । तर सहज मार्ग छाडेर सकसपूर्ण बाटो अवलम्बन गरिएका कारण संसदको लामो समय खेर गएको छ । 

ZenTravel

तत्कालीन सभामुखको व्यक्तिगत आचरणमा लागेको आरोपपछि ‘अनुसन्धान अवधिभरको लागि’ भन्ने वाक्यांशसहितको राजीनामापत्र आयो । तर राजीनामा अवधि तोकेर नहुने भन्दै उक्त वाक्यांश हटाउन लगाएर मात्र स्वीकृत गरिएपछि चर्चा चल्न थाल्यो, उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सुझबुझपूर्ण क्षमताको । सभामुख पद खाली हुनेबित्तिकै अर्को चर्चा पनि सुरु भयो— अब उपसभामुखले राजीनामा दिएर मन्त्री लिने र सभामुखमा दलले अर्को व्यक्ति चयन गर्ने छ । उक्त चर्चाको खण्डन हुने गरी तुम्बाहाङ्फेले सञ्चार माध्यमबाटै स्पष्ट गर्नुभयो, ‘म उपसभामुख पद मन्त्री पदसँग साट्दिनँ । बरु म आफै सभामुख पदका लागि स्वाभाविक दाबेदार हुँ ।’ यसलाई बाह्य समाजले प्रशंसा गर्‍यो । तर, दलभित्रबाट नजानिँदो तवरले राजीनामाका लागि दबाब सिर्जना हुन थाल्यो । समयसँगै सभामुखको दाबेदारका रूपमा मैदानमा अरू थुप्रै नाम पनि चर्चामा आए । त्यसपछि सञ्चार माध्यममार्फत बढ्दै गएको दबाबलाई मत्थर पार्दै तुम्बाहाङ्फेले अर्को प्रश्न गर्दै भन्नुभयो, ‘अर्काले गरेको गल्तीको सजाय मैले किन पाउने ? अरूका कमजोरीका कारण ममाथि अन्याय हुनु हुँदैन ।’

Meroghar


दलले यस सन्दर्भमा औपचारिक चर्चा नथालेपछि बाहिर मानिसहरूमा खुलदुली बढ्नु स्वाभाविकै थियो । दलका नेताहरूको रोजाइमा अरू नै व्यक्ति (पुरुषहरू) को नाम रहेको कुरा प्रायः सञ्चार माध्यममा आई नै रह्यो । त्यहीबीच ‘उपसभामुख तुम्बाहाङ्फेको पनि दाबी रहेको छ’ भन्ने कुराले भने हरेक समाचारको अन्त्यमा निरन्तरता पनि पाई नै रह्यो । अन्ततः मंसिर २६ गते राष्ट्रपतिबाट पुस ४ गतेका लागि संसद अधिवेशन आह्वान भएको सूचना आयो । तर पनि सभामुखको चयन दलको औपचारिक विषय बनेन । बरु उपसभामुखमाथि राजीनामा दिन र संसदको काम नगर्न दबाब बढ्न थाल्यो ।

यस क्रममा कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईलाई शपथ खुवाउनुपर्ने भयो । उपसभामुखलाई उक्त कामबाट रोक्ने प्रयत्न भयो । तर, पुस ४ मा सुरु हुने बैठकमा विद्याले भाग लिन पाउनुपर्ने र उपसभामुखबाट त्यो काम सम्पन्न गर्न संविधानको कुन धाराले रोकेको छ भन्ने प्रश्न अगाडि सारिएपछि उक्त बाटो खुल्यो । पुस १ मा विद्या भट्टराईको शपथ भयो ।

४ गते संसद अधिवेशन सुरु गर्नु थियो । संसद नियमावली अनुसार उपसभामुखले बैठकको सुरुआत र अन्त्य गर्न नमिल्ने भएकाले अधिवेशन थालनी हुनुपुर्व नै राजीनामा दिएर ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नुपर्छ भनी फेरि अर्को चर्चा गरियो । संविधानको धारा उद्धृत गर्दै सभामुखको अनुपस्थितिमा उपसभामुखले सभाको अध्यक्षता गर्ने प्रावधान रहेको र संविधानसँग बाझिएको हदसम्म नियमावली निष्क्रिय हुने तर्कका आधारमा उपसभामुखले बैठकको अध्यक्षता आफैले गर्ने अडान राखेपछि अन्ततः सहमति भयो । फेरि प्रश्न उठ्यो, बैठकको कार्यसूची तयार गर्न बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकको अध्यक्षता उपसभामुखले गर्न मिल्दैन । तसर्थ कानुनका ज्ञाता भनिएका व्यक्तिहरूबाट समेत अनौपचारिक बैठक बसेर कार्यसूची बनाउँदा राम्रो हुन्छ भन्ने सुझाव आए । तर, संसदको मूल बैठकको अध्यक्षता गर्न मिल्ने अनि त्यही सञ्चालन गर्न कार्यसूची बनाउन बस्ने परामर्श समितिको बैठकको अध्यक्षता चाहिँ गर्न नमिल्ने कसरी हुन्छ भन्ने प्रश्न उठेपछि अन्ततः दलहरूबीच छलफल गरेर टुंग्याउने कुरा भयो । पुस ४ गते एक बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले परामर्श समितिको अध्यक्षता गर्न अवरोध नहुने तर्क गरेपछि उपसभामुखको अध्यक्षतामा औपचारिक बैठक बसेर कार्यसूची तय भयो ।

त्यसपछिको विषय थियो, संसदमा खाली रहेको सभामुखको निर्वाचन प्रक्रियाको थालनी । उक्त प्रक्रिया सुरु गर्ने कार्यसूचीसहित पुस ११ का लागि बैठक बोलाइयो । बैठक बस्नुपूर्व नै उपसभामुखले राजीनामा दिनुपर्छ र अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुपर्छ भन्ने गाइँगुइँ फेरि सुरु भयो । यस सन्दर्भमा पुनः उपसभामुख तुम्बाहाङ्फेले दुइटा कुरा राख्नुभयो । एक, संविधानले नेतृत्वविहीन संसदको परिकल्पना नगरेका कारण सत्तापक्षीय दलले सभामुख लिने निर्णय गरी उम्मेदवार तय गरेपछि मात्र राजीनामा दिएर मार्गप्रशस्त गर्ने । दुई, अबको संसद बैठकको अध्यक्षता आफैले गर्ने र राजीनामा त्यहीँ दिने ।

तर, नेकपाकै कतिपय नेताबाट उक्त कुरालाई बेवास्ता गरी उपसभामुखले राजीनामा नदिएका कारण संसद चल्न नसकेको कुरा सञ्चार माध्यममार्फत सार्वजनिक गर्दै दबाब सिर्जना गर्ने प्रयत्न भयो । सहमति नभएपछि पुस ११ को बैठक १६ गतेका लागि सारियो । त्यति बेलासम्म सत्तापक्षीय दलले सभामुखको नाम होइन, पद आफूले लिनेसम्म पनि औपचारिक निर्णय गरेको थिएन । बैठक पुनः २७ गतेका लागि सारिएको सूचना टाँसियो । अन्ततः २६ गते नेकपाको सचिवालय बैठकले सभामुख आफ्नो दलले लिने र उपसभामुखलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको समाचार आयो । यस विषयमा तुम्बाहाङ्फेले ‘उपसभामुख पद कुनै दलको नभएकोले निर्देशन दिन नमिल्ने र सभामुखको उम्मेदवार चयन नभई आफूले राजीनामा नदिने’ जानकारी दलका नेतालाई गराउनुभयो ।

यसपछि केही वरिष्ठ नेताले राजीनामा नदिए संविधान अनुसार अगाडि बढ्ने र कनिष्ठहरूले समानुपातिक सूचीबाट सांसद बनेकाले दलले सांसदबाटै फिर्ता बेलाउन सक्नेसम्मका कुरा गरे । तर, संविधानको धारा र कानुनको दफा समाएर अडिग तुम्बाहाङ्फेले दलका नेताहरूलाई भेटेर फेरि पनि आफ्नो अडान दोहोर्‍याउँदै आफूलाई उपसभामुखबाट हटाउन तीन विकल्प रहेको जानकारी गराउनुभयो— सभामुखको उम्मेदवारको नाम तय गरिए आफैले राजीनामा दिने । अन्यथा संविधान बमोजिम महाभियोग लगाएर दुईतिहाइबाट हटाउन सक्ने कि सांसद पदबाटै फिर्ता बोलाएर पद खाली गराउन सकिने । पहिलो विकल्पमा आफू तयार रहेको । दोस्रो र तेस्रो विकल्पमा जान चाहे दल अगाडि बढ्न सक्ने र उक्त कुरा आफ्ना लागि स्वीकार्य हुने ।

यहाँसम्म आउँदा उपसभामुख तुम्बाहाङ्फेले नेताहरूसँग होस् वा सञ्चार माध्यममा, आफू सभामुखका लागि योग्य भएको, विगतको नजिर र वर्तमानको दायित्वका आधारमा पनि पहिलो दाबी आफ्नै रहेको कुरा राखी नै रहनुभयो । पुस २७ को बैठक पुनः माघ ६ गतेका लागि सारियो । नेतृत्वले न त उहाँ अयोग्य भएको कारण देखाउन सक्यो, न योग्यताको कदर नै गर्न सक्यो । अध्ययनका क्रममा १२ वर्ष पहिले आफूले निकालेको ‘राजतन्त्रभन्दा पितृसत्ता जब्बर रहेको र नेपालको राजनीतिक प्रणालीमा महिला शून्य र न्यून रहेको’ निचोड अझै सान्दर्भिक रहेको दाबी गर्दै र यसको सजीव प्रमाणका रूपमा नेकपाको महिलाशून्य सचिवालयलाई इंगित गर्दै तुम्बाहाङ्फेले ‘महिला शून्य भएकै कारण सचिवालयले सभामुखबारे निर्णय गरिरहँदा उपसभामुखको पनि निरन्तर दाबी रहेको छ’ भन्ने कुरा छलफलको एजेन्डासम्म नबनाएको नजिर प्रस्तुत गर्नुभयो ।

स्मरणीय छ, संसदमा सभामुख चयन विषयमा बहस चलिरहँदा असोज ३० देखि नेकपाको संगठन विभाग भने आन्तरिक आचारसंहिताबारे छलफल चलाउँदै थियो । माघ ५ मै जारी भइसकेको आचारसंहिताको बुँदा नम्बर ५ मा भनिएको छ, ‘समाजमा रहेका कुरीति, रूढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैँ खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।’

यसलाई सायद संयोग नै भन्नुपर्छ, यता संसदमा एउटी महिलाको आफू महिला भएकै कारण मात्र होइन, चर्चामा रहेका अरू कुनै पनि दाबेदारभन्दा योग्यता, क्षमता, अनुभव र राजनीतिक पृष्ठभूमि समेतका आधारमा कमजोर नभएको, दलले पाँच वर्षका लागि संसदको नेतृत्व गर्न पठाएको र (आफ्ना कारणले होइन, सम्बन्धित व्यक्तिकै कारण ‘आचारमाथि लागेको आरोप’ का कारण) खाली भएको ठाउँमा आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्ने दाबी कायम थियो । दलका वरिष्ठदेखि कनिष्ठ सदस्यसम्मबाट राजनीतिक रूपमा हिंसाजन्य अभिव्यक्तिमार्फत दबाब जारी थियो । राजीनामा दिँदै गर्दा तुम्बाहाङ्फेको प्रश्न थियो— त्यो दबाब हिंसाको दर्जामा पर्छ कि पर्दैन ? र, यस विषयमा यो आचारसंहिता आकर्षित हुन्छ कि हुँदैन ?

आज यो आम नागरिकबीच चासोको विषय बनेको छ । सायद निकट भविष्यमा हुन लागेको नेकपाको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउनेछ । र, सत्तासीन दल भएका कारण यसबारेको निचोडबाट आम नागरिकसमेत जानकार र लाभान्वित हुनेछन् । साथै नेकपाले जारी गरेको आचारसंहिता अनुसार यसको शिरदेखि तीरसम्मका सदस्यको आचरण हुने/नहुने र यसको कार्यान्वयन सबैका लागि समान रूपमा भए/नभएको हिसाब अबका दिनमा आम नागरिकले समेत राख्नेछन् भन्ने हेक्का सबैमा रहने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित : माघ १०, २०७६ ०८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शुक्रराजलाई सम्झेर

मल्ल के. सुन्दर

राणाविरुद्ध १९९७ सालको राजनीतिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने प्रथम व्यक्ति थिए— शुक्रराज ! आजैका दिन अर्थात् माघ १० गते काठमाडौंको पचली घाटको एक छेउमा रहेको रूखमा उनलाई झुन्ड्याइएको थियो । 

पारिवारिक पृष्ठभूमि
भारतको सिकन्दराबादस्थित विद्याव्रत स्नातक महाविद्यालय गुरुकुलबाट शास्त्री तह सकेका शुक्रराज आफ्नो परिचयमा ‘शास्त्री’ लेख्ने गर्थे । त्यही आधारमा उनको पारिवारिक पृष्ठभूमिबारे केही अलमल उब्जिँदै गयो । कतिपयले शुक्रराज ब्राह्मण परिवारका भएको बुझे । वास्तवमा उनी ललितपुरका चार नेवार जोशी खलकहरू (बकुं बहाल, टंगल, इल्हन र इखालखु) मध्ये बकुं बहाल जोशी खलकका माधवराजका माइला छोरा थिए । कुनै समय मल्ल दरबारको सेवामा रहेको त्यस परिवारलाई ‘राजदैवज्ञ’ उपाधि दिइएको थियो ।

भारतका दयानन्द सरस्वतीबाट प्रभावित माधवराज आफै विद्रोही स्वभावका थिए । कर्मकाण्ड, अन्धविश्वास, कुसंस्कार तथा पुरोहितवादको विरोधमा रहेका उनले बाबुको मृत्युमा समेत कुलपरम्पराको अनुसरण गरेनन् । ललितपुरको कुलस्थान छाडेर काठमाडौंको बाङ्गेमुढा, खिउँलमा स्थायी डेरा जमाइसकेपछि उनले त्यहीँ आर्य समाजको कार्यालय खोलेर जनचेतना फैलाउँदै हिँंडे । उनको त्यो व्यवहार पचाउन नसकेका सनातनपन्थीहरूले चन्द्रशमशेरकहाँ उजुरी हाले ।

राजा पृथ्वीवीरविक्रम समेतको उपस्थितिमा सिंहदरबारभित्र चन्द्रशमशेरले अन्य भाइभारदारसहित इजलास बसाए । १९६२ साउन १२ को कुरा हो यो । बडागुरुजु प्रयागराज पाण्डेको नेतत्वमा थुप्रै पण्डितजनले अभियुक्तसरह उभ्याइएका माधवराजसँग शास्त्रार्थ थाले । प्रत्येक प्रश्नको जवाफमा माधवराजले निर्धक्कसाथ मूर्तिपूजाको विरोध गर्दै ‘पशुपतिको शिवलिङ्ग ढुङ्गाको मूर्ति हो, ईश्वर होइन’ भनेपछि इजलास क्रुद्ध बन्यो । ‘राजादेखि प्रजासम्मले ईश्वर मानिआएका पशुपतिलाई ढुङ्गाको मूर्ति भन्नेलाई कुट्न पाऊँ’ भन्दै बडागुरुजुले आज्ञा मागे र पाएपछि लौरो र छाताले माधवराजलाई रक्ताम्य हुने गरी चुटे । माधवराजलाई दुई वर्षको जेल सजाय दिइयो ।

दरबार स्कुलका प्रधानाध्यापक बटुक बाबुलाई लगाएर माधवराजका छोराहरू अमरराज र शुक्रराजलाई कक्षाभित्र पानी नचल्ने बनाइयो । पछि स्कुलबाटै निकालियो । त्यसबाट आफन्त र फुकी खलकबीच एक खाले सामाजिक बहिष्कारको स्थिति सिर्जना भयो । आखिर माधवराजकी धर्मपत्नी रत्नकुमारी त्यही महिना छोराहरू अमरराज, शुक्रराज, वाक्पतिराज र चैतन्यराज तथा छोरी चन्द्रकान्तासहित उपत्यका छाड्न बाध्य भइन् । उनीहरू झन्डै डेढ वर्षभन्दा बढी वीरगन्जमा रूखोसुखो खाएर बसे । १९६४ चैतको एक दिन माधवराज बन्दी अवस्थाबाट फरार भई वीरगन्ज पुगे, श्रीमती र छोराछोरी भए ठाउँ । लगत्तै सपरिवार भारततिर लागे ।

भारतमा राम्रो सम्पर्क र सम्बन्ध भएका माधवराजले ठूला छोरालाई मेरठमा स्वामी तुलसीरामकहाँ पढ्न पठाए ।

वाक्पतिराजका लागि सिकन्दराबादको गुरुकुलमा व्यवस्था गरियो भने शुक्रराजलाई देहरादून पठाइयो, स्वामी अच्युतानन्दको गुरुकुलमा । छोरी चन्द्रकान्ता डा. रामचन्द्रले स्थापना गरेको मेरठको कन्या पाठशालामा पढ्न थालिन् । भर्खर पाँच वर्ष पुगेका कान्छा छोरा आमाबुबासँगै रहे ।

राजनीतिक भूमिका
उच्च शिक्षा हासिल गरिसकेपछि शुक्रराज केही समय इलाहबादमा आर्य समाज विद्यालयको प्रधानाध्यापकका रूपमा क्रियाशील रहे । त्यसपछि विशेषतः भारतकै देहरादून, पटना, कलकत्ता, दार्जिलिङ, खर्साङका अतिरिक्त सिक्किम र भुटानसम्म पुगेर नेपालीभाषीहरूलाई संगठन गर्नतिर लागे ।

‘ब्रह्मसूत्र शङ्कर भाष्य’ को भाषा अनुवाद गरेर छाप्न बसेका बेला कलकत्तामा शुक्रराजले महात्मा गान्धीलाई भेटे । उनी आफ्नो पुस्तकमा गान्धीको मन्तव्य राख्न चाहन्थे, तर गान्धीले भने, ‘मलाई संस्कृत भाषाको त्यति साह्रो ज्ञान नभएकोले थप अध्ययन गर्न पुस्तक छाडेर जानू, म हेर्छु ।’ नीलिमा घोष तथा बाबुलाल प्रधान लिखित ‘मानिस मानिसजस्तै’ पुस्तकमा उल्लेख भए अनुसार, शुक्रराज गान्धीलाई भेट्न नेपाली युवाहरूको प्रतिनिधिमण्डल लिएर गएका थिए, जसमा विश्वेश्वरप्रसाद कोइरालासमेत थिए । शुक्रराजले गान्धीसँग विशेषतः नेपालमा सामाजिक सुधारबारे कुरा उठाएका थिए । यसबारे कलकत्ताको ‘अमृत बजार’ पत्रिकाले समाचार लेखेको थियो । सोही भेटघाटबाट फर्कंदै गर्दा नेताजी सुभाषचन्द्र बोससँग पनि शुक्रराजको जम्काभेट भयो र अलग्गै भेट्ने चाहना राख्दा उनले भोलिपल्ट बिहान नौ बजेको समय पाए । यसरी १९३८ मार्च १८ का दिन नेताजी र शुक्रराजबीच भेट भएको थियो ।

भारतीय भूमिमा शुक्रराजको त्यस खाले राजनीतिक सक्रियताबारे राणाशासकसम्म कुरा पुगिहाल्यो । काठमाडौं फर्केपछि शुक्रराजलाई उपत्यकाभित्र नजरबन्दमा राखियो । तर उनी चुप लागेर बसेनन् । वीरगन्जका आर्य समाजी राजलाल कलवारसँग मिलेर असनको एउटा घरमा शुक्रराजले वि.सं. १९९४ मा नागरिक अधिकार समिति गठन गरे, जसको अध्यक्ष उनै भए । संगठन सचिव केदारमान व्यथित तथा प्रचार सचिव शङ्करप्रसाद नेपाल थिए ।

सदस्यहरूमा गङ्गालाल श्रेष्ठ (शहीद), राजलाल कलवार, मुरलीधर भट्टराई र आनन्दराम श्रेष्ठ थिए । नेपालमा नागरिक अधिकारका लागि अभियन्ताहरू संगठित रूपमा क्रियाशील भएको सम्भवतः यही पहिलो थियो । त्यो निरंकुश समयमा त्यस किसिमको चेष्टा कम साहसी थिएन ।

संयोग, शुक्रराज बस्ने बाङ्गेमुढा, खिउँलको घरको ठीक सामुन्ने चिनियाँलाल सिंह र फत्तेबहादुर सिंहको निवास थियो, जसले आफ्नै घरमा १९९३ फागुनदेखि महावीर इन्स्टिच्युट खोलेर मानिसहरूलाई सचेत तुल्याउने काम थालिसकेका थिए । गङ्गालाल श्रेष्ठले त्यहाँ पढाउँथे । शुक्रराजले पनि त्यहीँ शिक्षण थाले ।

जनचेतना जागृत गराउने उद्देश्यसहित शुक्रराज नागरिक अधिकार समितिमार्फत खुला कार्यक्रम लिएर हिँड्ने भए । त्यस क्रममा सर्वप्रथम १९९५ मंसिर १३ गते काठमाडौंको इन्द्रचोकमा शुक्रराज जनसमक्ष उभिए । गीताका श्लोकको उच्चारणबाट मन्तव्य थालेका उनले जनताको दुरवस्थालाई लिएर शासकहरूको आलोचना गरे तथा सबैलाई जागरुक बन्न आह्वान गरे । गङ्गालाल श्रेष्ठले पनि राणाशासनको भन्डाफोर गर्दा जोसिलो भाषण गर्न भ्याए ।

राणाशासनको विरोधमा क्रियाशील रहेका कारण शुक्रराजहरू पक्राउ परे । १९९७ माघ ७ गते सिंहदरबारको फुटबल मैदानमा विशेष इजलास बस्यो । राजा त्रिभुवन र जुद्धशमशेर सहितको उपस्थितिमा शुक्रराज, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र पूर्णनारायण प्रधानलाई सर्वस्वहरणसहित ज्यान सजाय सुइनाइयो । पछि पूर्णनारायणको सजाय भने आजन्म कैदमा बदलियो ।

भनिन्छ, शुक्रराजले मृत्युदण्ड पाउने समय माघ १० गते राति वाग्मतीमा नुहाएर पवित्र भइसकेपछि ‘ओम्’ उच्चारण गर्दै मन्त्र पाठ गरेका थिए । हातको घडी फुकालेर फाँसी चढाउन सँगै उभिएको पोडेलाई दिए । अनि फाँसीको पासो आफैले घाँटीमा लगाउँदै प्रसन्नताका साथ शुक्रराजले भनेका थिए, ‘युद्धशमशेर आज मेरो प्राण लिन बडो उत्सुक छ । तर म मर्दिनँ, मेरो आत्मा अमर रहनेछ । यो नश्वर देह मातृभूमिका चरणमा अर्पण गर्न पाउनु मेरो ठूलो सौभाग्य हो ।’

मातृभाषा शिक्षामा योगदान
शुक्रराजको अर्को योगदान हो— मातृभाषा शिक्षा, जसका बारेमा धेरैलाई हेक्का छैन र त्यति चर्चा गरिंँदैन पनि । आफ्नो ‘नेपालभाषा व्याकरण’ पुस्तकको भूमिकामा उनले लेखेका छन्— ‘...जसरी महाराष्ट्र भाषा तथा बङ्गाली भाषा आदि प्रान्तीय भाषाको उन्नति भइरहेको छ, सोही अनुरूप नेपाल देशभाषा पनि लोप हुन दिनु हुन्न । आ–आफ्नो प्रान्तीय भाषाबाट आ–आफ्नो प्रान्तमा शिक्षा प्रचार गर्न सहज हुने भएकोले नेपालभाषाको पनि उन्नति यथासाध्य हुन सकोस् ... ।’

झन्डै नब्बे वर्षअगाडि नेपालमा साधारण पुस्तकहरू त त्यति प्रकाशित हुँंदैनथे भने नेपालभाषामा पुस्तक लेख्नु र निकाल्नु झनै सहज थिएन । वि.सं. १९८४ मा उनले व्याकरणजस्तो चुनौतीपूर्ण विषयमा पुस्तक निकाल्ने प्रयत्न गरे । कलकत्ता पुगेर छपाए । व्याकरण पुस्तक लेख्ने पहिलो व्यक्ति बन्ने रहर पूरा गर्नभन्दा पनि मातृभाषाको माध्यमबाट शिक्षा प्रसार गर्नु प्रभावकारी र सहज हुन्छ भन्ने व्यावहारिक पक्षबाट उनी अभिप्रेरित थिए । उनले लेखेकै पनि छन्—
कर्म न्ह्योने तया नित्य भगवान नुगले तया ।
नेपालभाषा समुद्रे जि फल तोता क्वब्वाय्त्यना ।।
अर्थात्, कर्मलाई साक्षी राखेर, नित्य भगवान् हृदयमा राख्दै नेपालभाषा समुद्रमा मैले फल त्यागेर डुबुल्की मारें ।

यथार्थतः शुक्रराज मातृभाषा माध्यमबाट शिक्षा प्रसार–प्रसारमा प्रतिबद्ध थिए भन्ने कुरा उनले लेखेको ‘नेपाली वर्णमाला’ ले अझ बढी पुष्टि गर्छ । सानो तर देवनागरी वर्णमालासहित रोमन लिपि परिचय, गणितका लागि पहाडा पनि समावेश गरिएकाले त्यो निकै उपयोगी थियो । मातृभाषा शिक्षाप्रतिको दायित्वबोधमा उनले पछि ‘नेपालभाषा रिडर’ प्रथम र द्वितीय भाग पनि निकालेका थिए । सचित्र त्यो रिडर कुनै बेला उपत्यकाभित्र प्राथमिक तहको आधारभूत सामग्री थियो । त्यसको द्वितीय भागको तेस्रो पाठमा एउटा श्लोक थियो—
हे मचात ! दँ दँ, मिखा निगलं कँ कँ ।
तुटि न्यिपाँ चुचु, आखः ब्बोँवने नु नु ।।
अर्थात्, हे बालकहरू ! जागृत बन, जागृत बन । दुवै दृष्टि खोल, खोल । दुवै खुट्टामा उभिऊ, शिक्षा हासिल गर्न हिंडौं ।

उपर्युक्त श्लोक तेस्रो पाठको अन्तिम अंश हो, तर श्लोकको पूर्वार्द्धमा लाक्षणिक रूपमा मुलुकको दुर्दशालाई अन्धकारमय रात भन्दै त्यसको अन्त्य तथा दुनियाँको सुख–समृद्धिका लागि सबै जागृत बन्न आह्वान गरिएको थियो, जुन शुक्रराजले चाहेको शिक्षा प्रसारको भित्री उद्देश्य थियो ।

प्रकाशित : माघ १०, २०७६ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×